नेपाललाई अहिले कोभिड १९ विरुद्ध खोपको एकदम खाँचो छ। कोभिशिल्डको एक डोज लगाइसकेकाहरुले दोस्रो डोज लाउन पाएका छैनन्। अग्रिम रकम भुक्तानी गरिसक्दा पनि भारतमा बनेको खोप नआउने भइसक्यो। अरु देशले प्रयोग नगरेका अस्ट्राजेनेकाको खोप पाए त्यो लाउन हुन्थ्यो। तर त्यो पनि आउने सुरसार छैन। तर हल्लामा भने ६४ लाख डोज खोप आइसक्यो। केही अघि मात्रै अमेरिकाले ५० लाख डोज खोप दिने खबर मिडियामा आएको थियो। तर त्यो झुटो थियो। यही हप्ता फेरि डेनमार्कले १४ लाख डोज खोप दिने भनेको समाचार तपाईँहरुले पनि पक्कै पढ्नुभएको होला। तर खोजी हेर्दा त त्यो पनि सही होइन रहेछ।
डेनमार्कको हल्ला
डेनमार्कले नेपाललाई १४ लाख डोज एस्ट्राजेनेका खोप दिने समाचार आइतबारदेखि मिडियामा आउन थालेको हो। रातोपाटीले आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा.भिम सिंह तिंकरीलाई उद्धृत गर्दै १४ लाख खोप पठाउने बारे डेनमार्क सरकारले डेनमार्क सरकारले पत्र पठाइसकेको समाचार लेखेको थियो।
त्यसैगरी बाह्रखरी अनलाइनले ‘डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने’ शीर्षकको समाचारमा खोप विभागका प्रमुख डा. झलक गौतमलाई उद्धृत गर्दै डेनमार्कमा प्रयोग नभइरहेको अष्ट्राजेनिकाको खोप ल्याउनका लागि विभागले पहल गरिरहेको र सोही खोप १४ लाख डोज नेपालले पाउन लागेको बताएको उल्लेख छ।
त्यस्तै इमेज च्यानल टेलिभिजन र रेडियोको अनलाइन इमेजखबरले पनि ‘डेनमार्कले नेपाललाई १४ लाख डोज खोप उपलब्ध गराउने’ शीर्षकको समाचारमा पनि यस्तै दावी उल्लेख छ। कसैलाई उद्धृत नगरिएको यो समाचारमा ‘भारतको सेरम ईन्स्टिच्युटले बनाएको कोभिशिल्ड खोप नै डेनमार्कले दिन लागेको’समेत दावी गरिएको छ।
‘डेनमार्कले नेपाललाई अनुदानमा कोभिड विरुद्धको १४ लाख डोज खोप दिने’ शीर्षकमा नेपाललाइभले पनि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीलाई उद्धृत गर्दै यही समाचार लेखेको छ। नेपाललाइभको भगिनी संस्था स्वास्थ्यखबरमा पनि यही समाचारमा छ।
हेर्नुस् नेपाललाइभको समाचारको अर्काइभ लिङ्क
हेर्नुस् स्वास्थ्यखबरको समाचारको अर्काइभ लिङ्क
शिलापत्र अनलाइनले पनि ‘डेनमार्कले नेपाललाई १४ लाख खोप दिने’ शीर्षकमा आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. भिम सिंह तिंकरीलाई उद्धृत गर्दै युनिसेफमार्फत डेनिस सरकारले नेपाललाई सहायतामा १४ लाख खोप उपलब्ध गराउन लागेको दावी गरेको छ।
त्यसैगरी यही समाचार अरु थुप्रै अनलाइन मिडियाहरुमा पनि आएको छ। उदाहरणका लागि-
नेपाल समय : डेनमार्कले १४ लाख खोप सहयोग गर्ने
प्रशासन : डेनमार्कले नेपाललाई १४ लाख डोज खोप प्रदान गर्ने
खबरहब : डेनमार्कले नेपाललाई कोभिडविरुद्धको १४ लाख डोज खोप दिने
काठमाण्डुपाटी : डेनमार्कले नेपाललाई १४ लाख डोज खोप उपलब्ध गराउने
मेरोन्युज : नेपाललाई डेनमार्कले १४ लाख डोज खोप दिने
दृष्टिन्युज : डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना खोप दिने
खासमा कुरो के हो ?
यो समाचार बारे ‘डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिन लागेको हो?’ शीर्षकमा सेतोपाटीले समाचार लेखेको छ। त्यसमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णराज पौडेलले ‘डेनमार्क नेपाललाई खोप दिन इच्छुक रहे पनि त्यो कति परिणाममा दिने भने टुंगो नभएको’ बताएका छन्।
यो विषयमा समाचार लेखेको अनलाइनखबरले अहिले शीर्षक परिवर्तन गरी ‘नेपाललाई खोप उपलब्ध गराउन डेनमार्क सकारात्मक’ बनाएको छ र साथमा सूचना लेखेको छ-‘सरकारी अधिकारीले डेनमार्कले खोप उपलब्ध गराउने भनेपनि कति र कहिले भन्ने प्रष्ट नभएकाले यो समाचार सच्याएका छौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’
नेपाललाइभ टुडेले पनि समाचार सच्याएर सूचना राखेको छ- *Correction: Earlier, Nepal Live Today also reported that Denmark was sending over a million doses of vaccines to Nepal under grant assistance. The MoHP later confirmed to NL Today that there has been no official confirmation from Denmark. We regret the error.
यो विषयमा अस्पष्टता भएपछि हामीले डेनमार्कको विदेश मन्त्रालयलाई इमेल गरेका थियौँ। डेनिस विदेश मन्त्रालयको प्रेस विभागले यो समाचार गलत भएको पुष्टि गरेको छ।
डेनमार्कले प्रयोग नगरेका अस्ट्राजेनेकाको केही खोप नेपाललाई दिन चाहेको हुनसक्ला। तर मिडियामा त संख्या नै तोकेर १४ लाख नै दिने भनेर आयो। धन्न केही मिडियाले सच्याइसके त्यसलाई। तर केही मिडियाले भने अझै जस्ताको तस्तै समाचार राखेका छन्। एक पटक त्यो समाचार पढिसकेका पाठक फेरि-फेरि त्यही समाचारमा त जाँदैनन् होला। उनीहरु त ‘अहो, १४ लाख खोप आउने भयो है’ भनेरै बसिराखेका होलान्। तर त्यो समाचार सही त भएन नि !
अमेरिकाको ५० लाखको हल्ला

अमेरिकाले नेपाललाई ५० लाख डोज खोप सहयोग गर्न लागेको दावीसहितको ट्विट सबैभन्दा पहिला राष्ट्रपति विद्या भण्डारीका सञ्चार विज्ञ टीका ढकालले बिहीबार राति गरेका थिए। ट्विटरमा उनले ‘राष्ट्रपतिको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले..’ ‘अमेरिकाले नेपाललाई ५० लाख डोज खोप उपलब्ध गराउन’ लागेको दावी गरेका थिए।
उनको यो ट्विटसँगै धेरै अनलाइन मिडियाहरुमा यसबारे समाचार आउन थाल्यो। ‘देशसञ्चार’ले अमेरिकाबाट आउँदैछ ५० लाख कोभिड भ्याक्सिन शीर्षकमा समाचार राख्यो।
हेर्नुस् समाचारको अर्काइभ लिङ्क।
देशसञ्चारका सम्पादक युवराज घिमिरेले पनि यही समाचारको लिङ्कसहित ट्विट गरे-
अरु थुप्रै अनलाइनहरुले पनि यही व्यहोराको समाचार राखे-
के हो तथ्य ?
ह्वाइट हाउसले जुन ३, २०२१ मा आफ्नो आधिकारिक वेबसाइटमार्फत् एउटा विज्ञप्ति सार्वजनिक गरेको छ, जसमा विश्वभरी साढे दुई करोड डोज खोप बाँड्ने बारे उल्लेख छ। अमेरिकाले कूल ८ करोड डोज खोप विश्व भर बाँड्न लागेको हो जसमध्ये ७५ प्रतिशत कोभ्याक्स मार्फत् वितरण गर्नेछ। विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय संस्था, फाउन्डेशनहरू तथा निजी क्षेत्रबाट प्राप्त एवं सिईपिआई, गावी, युनिसेफ र विश्व स्वास्थ्य संगठनको सह-योजना मार्फत कोभ्याक्स अन्तर्गत विश्वमा खोप वितरण गरिँदैछ।
त्यसमध्ये करिब ७० लाख डोज खोप एसियाका निम्न देशहरुका लागि दिने विज्ञप्तिमा उल्लेख छ- भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र प्यासिफिक आइल्यान्डस्।
नेपालले ठ्याक्कै कति डोज खोप पाउने त्यसमा स्पष्ट उल्लेख छैन।
राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले पनि पछि ट्विट गर्दै आफ्नो कुरा सच्याएका छन्-
मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु ! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो I I stand corrected on the number ! https://t.co/haUmUCdKhL
— Tika P. Dhakal (@TikaDhakaal) June 3, 2021
देशसञ्चारले पछि आफ्नो समाचार सच्यायो । भोलिपल्ट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सोही व्यहोराको ट्विट गरेर पछि मेटे।
खासमा अमेरिकाले नेपाललाई कति डोज खोप पठाउने स्पष्ट छैन। ह्वाइट हाउसको विज्ञप्तिमा एसियाका विभिन्न देशमा पठाइने ७० लाख डोज खोपमध्ये नेपालको पनि नाम रहेको हो। तर नेपालमै ५० लाख खोप आउने भनेर समाचारहरु लेखिए।
बेलायतको २० लाख डोजको हल्ला
जतिबेला म विपश्यनामा थिएँ। त्यतिबेला यता अर्को हल्ला चल्या रैछ- बेलायतले २० लाख डोज खोप दिने भयो भनेर। बडेबडे हेडलाइन सहित समाचार पनि छापिएको रहेछ। यो हेर्नुस् नेपाललाइभको–
यो बाह्रखरीको-
यति ठूल्ठूला मिडियामा आएपछि हो त भन्ने भयो नेपालीहरुलाई। तर अन्ततः यो पनि हावा गफ नै साबित भयो। बेलायतले दिन लागेको खोप होइन रहेछ यो। कोभ्याक्स विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय संस्था, फाउन्डेशनहरू तथा निजी क्षेत्रबाट प्राप्त एवं सिईपिआई, गावी, युनिसेफ र विश्व स्वास्थ्य संगठनको सह-योजना मार्फत विश्वमा खोप वितरण गर्ने कार्यक्रम हो। यसमा कुनै देशले कुनै देशलाई यति खोप दे भन्न मिल्दै मिल्दैन। कोभ्याक्स मार्फत् नेपालले कति खोप पाउने हो भन्ने पहिले नै निश्चित भइसकेको छ। त्यो १९ लाख २० हजार रहेको युनिसेफले जनाएको छ।
पछि बेलायती राजदूतले ट्विट गरेर आफ्नो पुरानो ट्विटलाई सच्याइन् पनि।
?? is one of the biggest donors to Covax vaccine facility (£548m). To clarify confused media reporting on vaccine donations: UK support to Nepal is through #COVAX. We are working hard with other development partners to get more of Nepal’s covax allocation in to #Nepal.
— NicolaPollitt (@NicolaPollittUK) May 22, 2021
तर मिडियाले आफ्ना समाचार सच्याएनन्। पढ्नेले हो भन्ठाने।
ल अब गन्नुस् त- मिडियाले कति खोप ल्याइसके नेपालमा?
बेलायतको २० लाख + अमेरिकाको ५० लाख + डेनमार्कको १४ लाख = ८४ लाख। आम्मामा, ८४ लाख डोज खोप मिडियाले ल्याइसकेछ गाँठे !
The timestamp on Tika Dhakal’s two tweets is inconsistent to the content of the tweets. The correction is made 11:03 AM whereas the the false announcement of 5M doses was made on 9:35 PM, both of June 3. Could someone please clarify? Thanks.
कमिशनको चक्करले गर्दा खोप ल्याउन ढिलो भएको त उबेलाका स्वास्थ्य मन्त्रीले वालुवाटारलाई इङित गर्दै भनेका थिए|
सरकारले आँफैले समयमा ब्य्वस्थापन गर्न नसके पछि सबै तर्फबाट आलोचित भए, स्थिती भयावह हुँदै आयो| जती मान्छे समयमा खोप नपाएर मरे र पीडित भए, सरकारले जिम्मा लिएर क्षतिपुर्ती दिनपर्ने भन्ने बिषय जोडले उठ्यो| प्रधानमन्त्रीले संसदै बन्द गरिदिए जसले गर्दा बहस र सरकारको आलोचना हुनबाट त बचे तर स्थिती गम्भीर हुँदै गयो| कुट्नैतीक नर्म सबै तोडेर राष्ट्रपतिले नै अर्का राष्ट्रअध्यक्षलाई निर्लज्ज हात फैलाउन परने स्थिती आयो, राजदुतहरु त्यही रुपमा प्रस्तुत भए| सरकारले समयमा सोचेको भए यस्तो स्थिती पैदा हुने नै थिएन| कमिशनखोरहरुको मिचाईले ढिलो नगरेको भए यस्तो स्थिती नआउने थियो|
प्रधानमन्त्रीले मुखमा कोरोना र काम र ध्यान चै सत्ता टिकाउनमा लाए भन्ने सर्बविदितै छ| खोप ढिलाईको जिम्मा प्रधानमन्त्रीले लिनै पर्छ|
अहिले प्रधानमन्त्रीको ध्यान के मा केन्द्रित छ भने कसरी नागरिकता बांढेर मधिसे दलसँग चुनावी गठवन्धन गरेर फेरि चुनावमा वहुमत ल्याउ|
पूर्णत गलत प्राथमिकता जब मुलुक महामारीमा छ| कागभन्दा कोइली चनाखो भनिन्छ, ओलीले यसपाला प्रचन्ड र माधव झलनाथको समुह भन्दा छुट्टै चुनौतीको सामना गर्नुपर्नेछ|