– अनन्त लम्साल –
पुसको एक निर्मम बिहान, प्रस्टै उज्यालो भइसकेको थिएन । सडक वरिपरिका मान्छेहरू देख्दा, म जस्तै सबै गरिबीको रापले भुट्भुटिएर झिसमिसेमैं शितलताका खातिर निस्किएका हुन् कि भन्ने पनि लाग्यो । कसैलाई वाहनले तानिरहेको थियो भने कोही आफ्नै दुई पयरका सहायतामा घस्रिरहेका थिए । कोही फोहोरको थुप्रोमा आगो लगाउने प्रयत्न गर्दै धुवाँको मुस्लोमा निसास्सिरहेका देखिन्थे त कोही मर्निङवाकको वहानामा मूल सडकमा धूलो र धुवाँपान गरिरहेका थिए । वातावरण जसरी चलायमान थियो त्यो भन्दा द्रुत गतिमा मनमा अनेक विचारहरु खेलिरहेका थिए । खासमा ती विचार कम र तनावहरुको ओइरो ज्यादा थिए । सल्याङ्मल्याङ् गरिरहेका मान्छेहरूका लवाइ हेर्दा कताकता अन्तरिक्ष यात्रीहरुको हूलमा पो मिसिएँ कि !’ भन्ने पनि लाग्यो । आफूलाई लागेको कुरामा कित्त हाँस्दै बाटो पारि तर्नै लाग्दा एक जोडी आँखाले मलाई विस्फारित भएर हेरे ।
बीच सडकमा पुग्दा नपुग्दै दायाँतर्फबाट बेतोड आइरहेको ट्रक देखेपछि मेरो हाँसो अत्यासमा परिणत भयो । हेर्दाहेर्दै, ट्रक म माथिबाट दौडियो । त्यसका विशाल टायरहरुले मेरो शरीरलाई अचार शैलीमा लेप बनायो । यत्रतत्र छरिएका मेरा अङ्गांशहरु देखेर कोही पिच्च थुक्न थाले त कोही च्वच्वऽऽ गर्न थाले । होहल्ला मच्चियो, मान्छेहरु झुरुप्प भए, कोही फोटो लिन थाले त कोही फेसबुकमा लाइव जान थाले । म मरिसकेको थिएँ त्यसैले पनि मान्छेहरूका क्रियाकलापले मलाई उत्ति दुखित तुल्याउन सकेन । केहीबेरमा रातो बत्ती बाल्दै प्रहरीको भ्यान आयो, घटनास्थल वरिपरि मान्छेहरुको प्रवेशलाई निषेध गरियो । रगतमा भिजेको र मासु पिसिएर लपक्क भएको मेरो कपडाको खानतलासी पछि प्रहरीले एउटा मरन्च्याँसे वालेट (जुन मलाई गएको तिहारमा मेरी बहिनीले उपहार दिएकी थिई) र मोबाइल फोन बरामद गर्यो । म जस्तो जिन्दगीभर सर्वथा नाङ्गो मनुष्यको लुकाउनुपर्ने र बचाउनुपर्ने के थियो र ! प्रहरीले सजिलै मोबाइल खोल्यो ।
पुसको बिहान, आभा छोरीलाई लपक्क शरीरमा टाँसेर निदाइरहेकी होली, चारबर्षे छोरी आमाको जिउको तातोमा मस्त होली । यस्तो आनन्दको क्षणमा आभाको मोबाइल फोन नबजोस् भनेर मैंले प्रार्थना गरेँ, जिउँदो छँदा कुनै पनि प्रार्थनालाई चाकले पनि नसुन्ने भगवानले मरेपछि मेरो प्रार्थना सुन्यो शायद । प्रहरीले ‘बुढी’ को नाममा सेव भएको नंवर हेर्दै केही सोचेजस्तो गर्यो, र अर्को कुनै नंवर डायल गर्यो, फोन उठेन । फेरि हेर्यो, अर्को नंवर थिच्यो, उठेन । हुनसक्छ सबै बिहानीको मिठो निन्द्रामा डुबिरहेका थिए ।
मलाई सन्चो भैसकेको थियो । सबै दुखाइ, पीडा एकाएक गायब थिए । एककिसिमले आनन्दको अनुभूति भइरहेको थियो । घरसल्लाह नगरि लिएका ऋणहरु, हकिमको कचकच, बुढा बा–आमाप्रतिको दायित्व, श्रीमती र छोरीको पालनपोषण, कर्तव्य, जिम्मेवारी, दैनन्दिनका औपचारिकता, र सम्बन्धहरु । यी यावत् कुराहरुबाट मुक्ति पाएको उपलक्ष्यमा एकपटक मन खोलेर कराउँ जस्तो लाग्यो, कोसिस गरेँ, तर मरेपछि आवाज ननिस्कँदो रहेछ कि क्या ! म मनमनै खुसी भएँ । सारा झमेलाहरु सम्झेपछि लाग्यो म मरेर ठिकै भयो ।
मेरो खवर सुन्दासुन्दै आभा बेहोस् भई । आमाको अवस्था देखेर छोरी केही समय रोई र पछि एकोहोरो बस्न थाली । केही गिनेचुनेका साथीहरू छाँगाबाट खसेझैँ भए र आवाज ननिकाली एकनास आँसु बगाइरहे । बा’ले कान अलि कम सुन्न थाल्नुभएको थियो तर खै !यो खवर कसरी कसरी एकै पटकमा सुन्नु भयो, मोबाइल फालेर ‘शारदा ऽऽऽ’ भन्दै ढल्नुभयो । मेरी पिल्ल–पिल्ल रोइरहने आमाको हविगत के भन्नु ! जवान छोराको मृत्युले आमाहरू कसरी भत्कँदा रहेछन् भन्ने कुरा मैंले आमालाई देखेर अनुभूत गरेँ । बहिनी रुँदै माइती सकिएको खवर पाएर माइत आई । घरमुनिको गौँडो उक्लँदा गुलावझैँ फक्रने मेरी एकैमात्र बहिनीको आजको रुप र अवस्था देखेर मन अमिलो भयो, सानी भाञ्जीले उसलाई सहारा दिएर डोर्याइरहेकी थिइन् । परिवारका सबै सदस्यको हालत देख्दा मलाई पनि आफ्नो मृत्युमा दुःख लाग्यो, मलाई लाग्यो, म नमर्नु पर्ने थियो । तर मेरो कुनै विकल्प पनि त थिएन । अघिसम्म मरेर सारा सांसारिक बोझबाट पार पाएको अनुभूति गरिरहेको मेरो आत्मा फेरि उही सांसारिक सुख,दुःख,माया र मोहका यावत जालोहरुमा अड्कन थाल्यो ।
टिपटाप पारेर पोको पारिएको मेरो शरीर बुझ्ने बेलामा आभा फेरि एकपटक ढली, बा’ले त्यो हेर्न सक्नुभएन र बाहिरै बस्नुभयो । बा बेलाबेला नदी जस्तो सुसाउँदै भक्कानिरहनुभयो । प्लास्टिकभित्र पोको परेर म केही आफन्त, छिमेकी ,शुभचिन्तक र साथीहरुकोसाथ, एम्बुलेन्स चढेर घाट पुगेँ । त्यही घाट जहाँ हाम्रा बाजेबराजुले आफ्नो जीवनको अवशेष धुवाँमा उडाए । पशुपतिको शहरमा मरेर पनि म आफ्नै पूर्वज जलेको घाटमा लगिएँ । कारण, ‘मेरो एउटै छोरोलाई अकालमा खाने शहरभित्र म मेरो छोराको लाश पनि जलाउँदिन’ भन्ने बाको अडान थियो ।
डाँडा पारिका घामजस्ता बा’लाई कोरामा देख्नु पर्दा म शनैःशनै पग्लन थालेँ । बा’लाई मेरो आकस्मिक मृत्युको बोझ कतिसम्म भारी थियो भन्ने कुरा बा’का थकित भङ्गिमाहरुले देखाइरहेका थिए । कोरामा बसेर थरथरि काँपीरहेका बा’लाई देख्दा आफूले बा’माथि गरेको अन्यायप्रति ग्लानी अनुभूत गरिरहेँ र साथमा यो पनि सोचिरहेँ कि म नमर्न पाएको भए मैले बालाई यो अवस्थामा देख्नु पर्दैनथ्यो ।
तेह्र दिनको काम सकियो, बीच–बीचमा आफन्त, गाउँले र मेरा केही त्यस्ता अनन्य यारहरू पनि आए, बा आमा र आभालाई सान्त्वना दिए र गए । यो बीचमा एउटा अचम्म यो पनि भयो कि आभाका बाबुआमासमेत हाम्रो घरसम्म आइपुगे । हाम्रो या भनौं छोरीको खुसीलाई सधैं अस्विकार गरेर बस्न सकिरहेका उनीहरूले शायद दुःखलाई अस्विकार गर्न सकेनन् । आभा बाबु–आमाको अङ्गालोमा फाल हाली, आमासँग नियास्रीएको कुनै बालकले लामो समयपछि आमा भेट्दा जसरी रुन्छ ऊ उसैगरि हिक्क हिक्क गर्दै रोई । बा–आमाले पनि छोरीको अवस्थाप्रति मनलाई बाँधेर राख्न सकेनन् । यो दृश्य देखिरहँदा मेरा आँखा रसाए तर ओठहरु मुस्कुराइरहे ।
काम सकिएको दिन पुरेत बाजेको घरमा पलङ,कपडा,जुत्ता,भाँडाबर्तन र अन्य अकडम बकडमका साथ केही नगद पनि भित्रियो । यसो गर्दा छोराको आत्माले शान्ति पाउँछ भन्ने सामाजिक र धार्मिक मान्यतालाई अनुसरण गर्दै, ऋण गरेरै भएपनि दान र दक्षिणामा बा’ले कुनै कमी गर्नुभएन । इष्टमित्र, पाहुना सबै लाखापाखा लागे । जाने बेला आभाकी आमाले ससानो रुपैयाँको बिटो आभाको हातमा राखिदिंदै भन्नुभयो कि ‘बीचमा त्यस्तो केही पर्यो भने खवर गर्नु, यताबाट सिधै उता आउनू ।’ आभाले पैसा लिन मानिन । सबै प्रयत्न असफल भएपछि बाबुआमा आफैं रुँदै बाटो लागे ।
आँधिपछिको शून्यता घरभरि व्याप्त थियो, सबै मौन, सबैजना एकाग्र । लाग्दैथ्यो कि पूरा घर गहिरो ध्यानमा छ । त्यो ध्यान त्यतिबेला भङ्ग भयो जतिबेला गैराघरे काका ऋणधन सम्झाउन आइपुगे । आमाले बालाई हेर्ने, बा’ले आमालाई हेर्ने र आभाले बा–आमालाई हेराहेर गर्ने केही बेरको प्रक्रियापछि आमाले भन्नुभयो, ‘भर्खर काम सकियो बाबू ! एक हप्ता पर्खिदिनुस्, केही न केही ब्यबस्था गरौंला ।’
अर्कोदिन बिहानै आमाले खाना तयार गर्नुभयो,आभाले रूचि नरूचि चार गाँस च्यापी । धुवाँले कालो भएको मधुस उघारेर आमाले एउटा सानो थैली झिक्नुभयो र थैलीभित्रबाट सानो तिलहरी, जुन रातो पोतेमा झुण्डिरहेको थियो । आमाको हातको तिलहरी देखेर मलाई रोउँ–रोउँ लाग्यो । मेरो लागि सौभाग्यका सारा गहना बेचेर रित्तो देखिनुभएकी आमालाई कुनैदिन यो तिलहरी मैंले मेरो कमाइ र सानो सानो वचतबाट उपहार दिएको थिएँ । आमाले एकतमासले तिलहरी हेर्नुभयो र रुन थाल्नुभयो । आमा हिजो पनि रूनुभएथ्यो आजपनि रूनुभयो । आमाको आँसु देखेर म, मलाई आएको काललाई सत्तोसराप गर्न थालेँ । हिँड्ने बेलामा आभाको हातमा थैली राख्दै आमाले भन्नुभयो ‘यहाँ केही सुन छ, यसलाई बेचिदिनु, अहिलेलाई अरु उपाय पनि छैन । धेरै दिन बियाँलो नगर्नू !’
घरबाट जे जस्तो सोचेर हिँडेकी भए पनि काठमाडौं पुगेपछि छोरीलाई नभेटी फर्कन आभाको मनले मानेन । छोरीलाई यी घटना र यसका प्रभावदेखि टाढै राख्ने प्रयासस्वरूप उसले छोरीलाई बहिनीकोमा छाडेकी थिई । कोठामा पुगेर छोरीले ‘बाबा खै?’ भनेपछि ऊ खङ्रङ्ग भई । छोरीले कोठाको वरिपरि हेरी, आमालाई हेरी, आमाको उडेको अनुहार र सुख्खा आँखा हेरी,उसलाई चाँडै लिन नआएकोमा गुनासो गरी । छोरीलाई उसको आफ्नै प्राकृतिक बानीमा देख्दा मलाई गम्लङ्ग अँगालो हाल्न मन लाग्यो र उसैगरि उचालेर छातीमा टाँस्न मन लाग्यो । यत्तिकैमा, म अब यी सबै सौभाग्यबाट टाढा भइसकेको छु भन्ने सत्यबोधले मेरो छाती भारी भएर आयो । मैँले दाह्रा किटेर आँसु र आवाज रोक्ने प्रयत्न गरेँ र आफ्नो मृत्युुप्रति भयङ्कर दुखित भएँ ।
आभाले खै के सोची, उसले आमाको तिलहरीको सट्टा दराजबाट उसको टप झिकी र बजार गई । छोरीका लागि केही रङ्गीन र बा’का लागि केही न्याना सेता कपडा किनी । बिहानको खाना खाने बेलातिर बसले आमाछोरीलाई घरमुनिको बाटोमा ओरालिदियो ।
आभा घरबाट हिँडेदेखि बा’लाई सन्चो भएन । खानाको नाममा मुखमा जुठो लगाउने भन्दा बढ्ता केही भएन । आमा जानेजति खस्रो मसिनो बनाएर बा’को मुखमा जबर्जस्ती हाल्न खोज्नुहुन्थ्यो । बा दुई गाँस बढो कष्टसाथ निल्नुहुन्थ्यो र तेस्रो गाँसबाट वाक्क वाक्क गर्नुहुन्थ्यो । आमा आजित भएर रिसाउनुहुन्थ्यो र भाँडा बर्तन लगेर गाइको कुँडोमा खन्याउनु हुन्थ्यो । आमाका गहिरा सुस्केरा सुनेर र रसिला आँखा देखेर म उकुसमुकुस हुन्थेँ । गएर आमालाई अँगालो हालुँ, फलैंचामा लडिरहेका बा’लाई आफ्ना हातले उठाउँ र आँसु बगेर डोरो बसेका आँखाका दुबै कोस आफ्ना औंलाहरुले सफा गरिदिउँ र भनुँ कि ‘बा ! किन पीर मान्नु भएको म छु नि, तपाईंको छोरा सधैं तपाईंसँगै त छ नि !’ तर विडम्बना ! न मेरा हात चल्छन न मेरा पाउ बढ्छन । सपनामा ऐठन परेझैं म त्यसै त्यसै निसास्सिरहेको हुन्थें । आफ्नो यथार्थ झल्याँस्स भएपछि मलाई डाँको छोडेर क्वाँ क्वाँ रून मन लाग्थ्यो ।
आभा काठमाडौं हिँडेको दोस्रो दिनको रात बा’लाई एक्कासि गाह्रो भयो । रातको डेड बजेतिर शरिर भुङ्ग्रो जस्तो तातो भयो, पसिनाले बा’को मसिनो काया भिजेर लछप्प भयो । आमाको मुटु यसरी धड्कियो कि मानौं अब केहीछिनमा त्यो भुट् भुट् गर्दै बाहिर निस्कन्छ । हतारहतार रुमाल भिजाएर आमाले सम्पूर्ण शरिर पुछिदिनु भयो, कपडा फेरिदिनुभयो । अलिकता पानी पिएपछि बा’ले केही आराम अनुभव गर्नुभो शायद । आमाका हातहरु कहिले बा’का गोडा दबाइरहेका थिए भने कहिले निधार छामिरहेका थिए । केही पलको मौनतापछि एक्कासि बा’ले बान्ता गर्नुभयो । बान्ता गर्नको लागि उठेर जान न बा’को शक्ति थियो न भाँडो थाप्न आमालाई मौका । आमा झनै आत्तिनुभयो, के गरुँ ! कसो गरूँ ! भएर एकछिन अलमल्ल पर्नु भयो । बा’लाई कुल्ला गराएपछि एकछिन भान्छातिर हराउनु भयो । बा तकियामा ढाड अड्याएर लत्रक्क लत्रिरहनु भएको छ, उता आमा उम्लिरहेको पानी सँगै छड्किरहनु भएको छ । यो मध्यरात भन्दा बाक्लो अँधेरो आमाको मनमा र मुहारमा स्पस्ट देखिन्छ । आमाको मनमा के के कुरा खेलिरहेको होला भन्ने कल्पनाले सम्म पनि मेरा शरिरभरि काँडा उम्रिरहे ।
एक कप मनतातो पानी पिएर बा कोल्टे परेपछि आमाले अलिकता सन्तोषको सास फेर्नुभो । अनिँदा आँखा लिएर बा’का गोडा सुम्सुम्याउँदै छर्लङ्ग रात कटाएर झिसमिसेमा बस्तुभाउ र घरधन्धा गर्न निस्केकी मेरी बुढी आमाजत्ति बेसहारा मैले यो संसारमा कोही देखिन । मृत्युु सँगको मेरो क्षुव्धताको पारो झनै चरम हुँदै गयो ।
नातिनीलाई आँगनमा देखेर मझेरीबाट आमा दौडँदै बाहिर आउनुभयो । नातिनी ‘आमा ऽऽऽ’ भन्दै हजुरआमाको अंगालोमा पुगी । आमा आँखाबाट आँसु झार्दै हाँसिरहनुभयो ।
बा’ले फलैंचाबाट एकतमासले हजुरआमा र नातिनीलाई हेरिरहनु भयो । प्राप्ति चुलबुल चुलबुल पुतली जस्तै गरेर फलैँचामा उक्ली र बडो प्रेमले लय हालेर ‘बा ऽऽऽ’ भन्दै बा’का आँखाका कोसमा हमेसा टप्किरहने आँसु पुछ्न थाली । बा’का कलेटी परेका ओठ फिस्स हाँसे र थर्थराइरहेका हातले प्राप्तिका कलिला गाला सुम्सुम्याए । प्राप्तिले पुछिदिएपछि बा’का आँखाका कोसबाट झनै ज्यादा पानी बग्न थाले । म कुनै सिनेमाको सुखद दृश्य देखेर भावुकतासाथ मुस्कुराएझैं मुस्कुराएँ र मुस्कुराउँदा मुस्कुराउँदै हठात् आँखाबाट केही झरेको अनुभूति गरेँ । बा’ले हातको इशाराले पानी मागेपछि आभा भान्छातिर पसी ।
त्यो दिनभरि प्राप्ति आभासँग भन्दा आमासँग र बासँग लुट्पुटिइरही । बाआमाको मनलाई केही हदसम्म उसले आफ्नो बालसुलभ क्रियाकलापले ब्यस्त बनाइरही ।
राति बा’लाई फेरि चाप्यो, यसपालि आमा भन्दा धेरै आभा आत्तिई । आमालाई शायद बानी भएको हुनसक्छ या त बुहारी छे भन्ने ढाडस । अवस्था अस्तिकै झैँ भयो, बा’को यो अवस्था दोहोरिइरहनु पक्कै पनि डरलाग्दो संकेत हो भन्ने मेरो अनुमान रह्यो ।
बिहान सबेरै उठेर आभा गाउँकै स्वास्थ्यचौकीको अहेवलाई भेट्न उसकै कोठामा पुगी । बा’को अवस्थाको बारेमा भन्दा अहेवले आभाकोबारे बढ्ता चाख देखायो । उसले म मरेकोमा सहानुभूति त प्रकट गर्यो साथमा आभाको उमेर, जवानी र सुन्दरताको पनि काइते तारिफ गर्यो र गुटखाले खाएका घिनलाग्दा दाँत देखाएर हिहिहि गर्यो । एउटा स–सानो झोला भिरेर कोठाको ताल्चा मारेपछि उसले गोजीबाट गुटखाको प्याकेट झिक्यो र एकैचोटी ठाडो घाँटी लगाएर मुखमा ओइर्यायो ।
बा उसैगरि फलैँचामा लडिरहनु भएको थियो । अहेवले गएर नाडी छाम्यो, आँखा च्यातेर हेर्यो, जिब्रो देखाउन लगायो, छातीमा स्टेथस्कोप लगायो, एकछिन केही सोचेझैं गर्यो र स्टेथस्कोप झोलामा राख्यो । आमा, बा’को र अहेवको अनुहार पालैपालो हेर्दै अधैर्य मुद्रामा हुनुहुन्थ्यो । केहीबेर पछि अहेवले आभातिर हेर्दै भन्यो, ‘नआत्तिनू, म केही औषधी पठाइदिन्छु, भरे स्वास्थ्यचौकी आउनुस् न ।’
आमाले हतास भएर सोध्नुभयो ‘ठिक हुन्छ नि हैन बाबु ?’
ऊ गुटखा चपाएर मुखमा जम्मा भएको थुक पिच्च थुक्दै ‘हुँ हुँ’ गर्दै बाटो लाग्यो ।
आभा स्वास्थ्यचौकी पुग्दा तीन जति बजेको हुँदो हो । स्वास्थ्यचौकीमा आएका केही बिरामी हेरिसकेपछि अहेवले किच्च हाँसेर आभालाई बस्नको लागि कुर्ची देखायो । आभाले ‘हैन ठिकै छ’ भनेर उभिन नै सहज मानी । बस्नुस् कि बस्नुस् भनेर पिठ्युँमै छुँला जस्तो गरेपछि उनलाई बस्नुपर्ने बाध्यता आइलाग्यो । दराजबाट केही औषधीका पुरिया झिक्दै गर्दा उसले फेरि आभाको सुन्दरताको कुरा गर्न भुलेन ।
‘बुढा गलिसकेका छन्, यही पाराले खानेकुरा नखाने हो भने गाह्रो छ, तागतिलो के कसो हुन्छ खुवाउन बल गर्नू ।’
उसले कुन औषधी कतिबेला खाने भनेर औषधीको खोलमा लेखिदियो । औषधी थमाउने बेला अहेवले नजानिँदो पाराले आभाको हातमा स्पर्श गर्यो र उनको अनुहारमा हेर्यो । आभालाई शायद त्यो कुराको हेक्का भएन, उनको अनुहारको भङ्गिमामा कुनै परिवर्तन आएन ।
बा’ले औषधी मुखमा हाल्नै मान्नुभएन । लाख प्रयत्न गर्दा पनि बा’ले आफ्नो हठ नछोडेको देखेर आमा एक्कासी रून थाल्नुभयो । मलाई पनि रोउँ रोउँ लाग्यो र साथमा रीस पनि उठ्यो । तर म मरेको मान्छे, मसँग असमर्थता बाहेक केही थिएन । थियो त केवल छट्पटी, सकस र उकुसमुकुस ।
एक महिनाको यो अन्तरालमा बा’को कायापलट भएको थियो । आमाको सहारामा चारपाउ टेक्दै दिशापिसाव गर्नु, बेलाबेला दुईचार चम्चा पानी र खोलेजस्तो पातलो झोल बडा सकसले निल्नु र बाँकि समय फलैँचामा उत्तानो परिरहनु बा’को दिनचर्या हुनथाल्यो । बा अब बा नभएर पातलो झिल्ली जस्तो छालाले मोरिएको एउटा अस्थिपञ्जरको थुप्रो देखिन थाल्नुभएको थियो , जो धिमा श्वास फेर्छ, बेलाबेला अर्धमुदित आँखाले पुलुक्क हेर्छ तर कुनै प्रतिक्रिया जनाउँदैन ।
बेलुकीको खाना खाने समय भयो । बा जाउलो पनि निल्न सक्ने अवस्थामा हुनुभएन । आमाले चामलको पिठोको पातलो खोलेजस्तो बनाइदिनु भयो । सुतेको ठाउँबाट आफ्नै हातको सहाराले उठेर भित्तामा अडेस लागेको बा’लाई देखेर आमाको मुहारमा चन्द्रमा झुल्कियो ।
‘ज्यान नछोडिकन आफैंले पनि यसरी बल गर्नपर्छ, सकिहालिन्छ नि, खाइदिनु छैन अनि कताबाट आओस् अडिने बल !’ आमाले एकै वाक्यमा हौसला, चिन्ता र खुसी पोख्नुभयो ।
कचौरामा हालेको खोले लुपुलुपु खाएको देखेर आमाका अनुहारमा आश्चर्यका रेखाहरु देखिए । अरू दिन ३÷४ चम्चा खाएपछि वाक्क वाक्क गर्ने बा’ले आज, थपेको कचौराको पनि आधाआधि सक्नुभयो । बोली,ब्यवहार र शारीरिक हावभावबाट हठात् आमामा आएको शक्तिको अनुभूत सजिलै गरें मैले ।
बिहान करीब ५ बजेको छ । बा’को गोडामुनि बसेर उङ्दा–उङ्दै आमाले झिसमिसे बनाउनुभयो । आमासँग थकान छ, अनिन्द्रा छ, छट्पटी छ र घोर भय छ । यसका बावजुद पनि उनको मनमा आशाको सानो धिपधिपे छ । त्यही धिपधिपेको सहाराले मात्रै आमा श्वास लिइरहनु भएको हो कि भन्ने भान आमाको अनुहार देख्दा लाग्छ । बालाई सुताइएको ओछ्यानको बायाँपट्टि अँगेनो छ । मधुरो बल्व झनै मधुरो हुँदै गएको आभास हुन्छ । बा’को सिरानीको दायाँपट्टि सानो थर्मस छ र सँगै एउटा स्टिलको गिलास छ । घरको माहोल पूरापूर बिरामी छ । आभा छोरीलाई पिसाव गराएर तलै झरी ।
गाउँलेका भाले बासे, सासुबुहारी चिसो बिहानमा उठेर घरधन्दामा लागे । उठेर हिँड्ने बेला एकपटक बाको निधार छामेर आमाले ओढ्ने राम्रोसँग ओढाइदिनुभो । गाउँमा चिसो बढेको थियो, हुस्सुले बिहानलाई बिहान जस्तो पनि हुन दिइरहेको थिएन ।
आभा धारातिर लागी, आमा गाईबस्तुपट्टि लाग्नुभो । एकसरो धन्दा सकियो । चिसोले कठ्याङ्ग्रिएका हात सेक्न आमाले अँगेनामा केही सल्लेपीर सल्काउनुभयो, त्यसमाथि दाउराका ससाना चोइटा हाल्नुभयो । आगो हुर्र बल्यो । आभाले दिउरेमा तीन कप पानी हालेर अँगेनामा बसाली । अदुवा,मरिच,ल्वाङ पिसेर हाली । धुवाँले कालो भएको प्लास्टिकको बट्टाबाट चिनी हालि र थोरै चिया कागजको पुरियाबाटै खन्याइ । आमाका हातहरू अझै अँगेनाको तातोमा सेकिइरहेका छन् । बा ब्युँझनुभएको छ तर सन्चोसँग बसिरहनुभएको छैन । बा’को छट्पटाहट देखेर आमाका आँखाहरु आगाका ज्वालामा अडिएका भएपनि मन बडा अस्थिर भएर बा भन्दा धेरै छट्पटीइरहेको छ । आभाले तीनवटा स्टिलका गिलासमा कालो चीया खन्याई ।
‘अलिकता फिका च्या खानुस् त, पेट तातो गर्न पर्यो ।’ आमाले भन्नुभयो ।
‘मुखसम्म नधोइऽऽऽ’ बा सासले मात्र बोल्नुभयो ।
‘ओछ्यानमा परेको मान्छेलाई केही हुन्न, सक्दा पो..’ अम्खोराको पानीले हात भिजाएर बा’का आँखा पुछिदिँदै आमाले भन्नुभयो ।
चीयाको गिलास समाएर पिउन सक्ने अवस्थामा बा हुनुहुन्न । आमाले चीया कचौरामा खान्याउनुभयो , तीन चार पटक कचौरो र गिलासमा साराबारा पारेपछि चीया अलिक कम तातो भयो । चम्चाको सहाराले आमाले ५÷७ चम्चा खुवाएपछि बा’ले टाउको हल्लाउनु भयो । आमा चुपचाप चीया पिउन थाल्नुभयो । तीन निर्बल मनुवाका बीच एकप्रकारको डरलाग्दो शान्तिले वातावरण छपक्क छोपिएको थियो ।
एक्कासि बा’ले सासमा केही भन्नुभयो, आमाले बुझ्नुभएन । बा’को छाती डरलाग्दो पाराले तलमाथि गर्न थाल्यो । आमा बा’को निधार छाम्न थाल्नुभयो, उता आभा के गरौं के गरौं को मनस्थितिमा निकैबेर अल्मलिई । बा बोल्न प्रयत्न गरिरहनु भएको छ तर बा’को आवाजलाई कण्ठमा कुनै बस्तुले न्याकिरहेको छ र त्यसलाई बाहिर निस्कन दिइरहेको छैन । निकैबेरको घमासान पछि बा’ले यतिमात्र भन्न सक्नु भयो ‘बाहिर लैजाओ’।
सासू बुहारी मुखामुख गर्न थाले । बा’को श्वासको तीव्रता बाक्लो हुँदै गयो । मलाई अब लाग्न थाल्यो कि ‘अन्त्यमा मैंले बा’को प्राण लिएरै छाडेँ ।’
तुलसीको मठ छेउ आभाले हत्पतमा लिपेझैँ गरि ,गुन्द्री बिछ्याई । दौडँदै भित्र आई, बा’लाई पछाडिबाट समाई र आमाको पिठ्युँमा बोकाउन सघाई । आमाले बाको हड्डी मात्र भएको शरीर उठाउनु त भयो, तर आफैंलाई बोकेर हिँड्न सम्म सकस परिररहेको जीर्ण शरीर बालाई बोक्दा निकैबेर धर्मराए ।
बा’को अन्तिम घडि अब टाढा छैन भन्ने कुराको बोधले मलाई वाकवाकी आउन लाग्यो । म विशाल पत्थरमाथि खसेको शिसाझैँ अनेक टुक्राहरूमा टुक्रिरहेको थिएँ ।
आँगनमा बा लम्पसार हुनुहुन्छ, आमा तुलसीका पात चोपेर राखिएको पानी चम्चाको सहाराले मुखमा हालिदिँदै हुनुहुन्छ । आमाका हातहरू थर्थर काँपिरहेका छन्, पानी कहिले कता पर्छ कहिले कता । बा’ले टाउको हल्लाएर पुग्यो भन्ने सङ्केत गर्नुभयो ।
‘नातिनी’ यत्ति निस्कियो बाको मुखबाट अन्तिम वाक्य ।
आभाले छोरी बोकेर ल्याई । बा’ले होकि होकि झैँ गरेर अन्तिमपटक प्राप्तिलाई, आभालाई र आमालाई पालैपालो हेर्नु भयो र सदाका लागि आँखा चिम्लनुभयो । आमा भक्कानो परेर रूनै सक्नुभएन । बा’को छातीमा टाउको जोतेर आमा पुक्लुक्क ढल्नुभयो ।
‘बा , आमाऽऽ’
बडो आहत भएर निस्किएको आभाको चीत्कार गाउँका हर घरका कुनाकाप्चामा पुगे । त्यसमा अब प्राप्तिको क्रन्दन मिसियो । बिहानीको पहिलो प्रहरमा मेरो घरको आँगनीमा देखिएको यो दारुण दृश्यले म मर्माहत भएँ । मेरा हातपाउमा त यसैपनि ऐठन थियो , अब म कुनै काटिएको रूख ढलेझैं गर्लम्म ढलेँ । मेरो रुवाइमा आफैंप्रतिको ग्लानी, मृत्यु सँगको क्षोभ र परिवारको पीडा एक स्वर भएर निस्कियो । म निःसहाय रोइरहेको छु । लाग्छ, पीडाका टंकारले मेरो कण्ठ चिरा चिरा भएर चिरिइरहेका छन् ।
‘बाबा बाबाऽऽ !’
‘के भयो ?’
‘किन रूनुभएको ?’
‘उठ्नुस् न ।’
कता कता कोही बोलेजस्तो, कसैले झक्झक्याए जस्तो । मेरो अवचेतनमा छोरीको आवाज गुन्जिरहेछ । म अनिर्वचनीय पीडाले आहत भएर एकोहोरो रोइरहेछु ।
‘बाबा उठ्नुस् नऽऽ ! मामु हेर्नुस् न बाबालाई के भयो !’
कसैले मेरा दुबै हातका चोरी औंलाहरूलाई समातेर तानिरहेछ । मलाई होकि होकि झैँ मात्र लागिरहेछ ।
‘बाबाऽऽऽ’
आवाजमा करुणा थियो, पीडा थियो र एक किसिमको छट्पटी थियो ।
म झल्याँस्स भएँ । प्राप्ति मेरा दुबैहात तानेर उठाउने असफल तर निरन्तर प्रयत्न गरिरहेकी थिई ।
मैंले आफ्नो हातगोडा हेरेँ, शरिर छामेँ, कोठाको वरिपरि हेरेँ, सबै उस्तै थियो, सबै सामान्य । असामान्य थियो त केवल मेरो श्वासप्रश्वास र मनस्थिति ।
मैंले छोरीलाई गम्लङ्ग अंगालो हालेँ, ऊ झनै रुन थाली । आभा हातमा ट्रे बोकेर भित्र पसी । उसलाई के भइरहेछ भन्नेमै दुबिधा थियो, एकछिन अलमल्ल परी, टेवलमा ट्रे राखी र ‘के भयो हजुरलाई ? छोरीलाई के भयो ?’ भन्दै एकै अंगालोमा बेरिन आइपुगी । एक्कासि गुमाएका कुनै अतिव प्रिय चिज उसैगरि एक्कासि प्राप्त भएझैँ मैंले दुबैलाई भाग्लान् कि झैँ गरेर बेस्सरी च्यापेँ ।
हामी तीनैजना निकैबेर एकै अंगालोमा बेरिएर, मौन, आँसु झारिरह्यौं ।
टेवलबाट मोबाइल झिकेँ, बा’को नंवर डायल गरें ।
उताबाट आवाज आयो
‘हेलोऽऽ’
‘बाऽऽ सन्चै हुनुन्छ ?’ मेरो गला अवरुद्ध भयो ।
‘एऽऽ बाबु, ठिक छ ठिक छ, बिहानै फोन गरिस् त, त्यता सबै ठिक छ ?’
‘अनि आमा खै त ? आमालाई ठिक..’ मेरो हिक्का छुट्यो, म बोल्न सकिन ।
‘आमा पनि ठिक छे, के भयो तँलाई ? किन रून्छस् ? हामी बुढाबुढीलाई निकै छ, च्या पिउँदैछौं ।’
मैले फोन काटेँ, लामो निश्वास छाडेँ, छोरीलाई अझै बलियोसँग च्यापेँ र आँसु पुछ्न थालेँ ।
Lekh ek dam ramro chha Tara antyama sapana banayepachhi dhoka diyeko jasto bhayo. Sapana na banayera ma patra lai arko naam diyeko bhaye Ramro hunthyo
झन्डै आफुनै ऐठन परेको।
सिन्कोइवा भन्ने ठाउ बाट रेल चढेर योयोगी मा पुग्दा पढेर सके ४०मिन लागेहोला ।
कथाका पात्र को जिबन भोगाइ का उतार चडाब संगै बयाली खेलायो
आमा र आभा को सट्टा अलि फरक नाम भैदेको भए हुन्तो जस्तो लागो
Very well written! Gajjab! Keep writing.