Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हुँदै नभएको कुरा लेख्दा पनि माफी नमाग्ने नेपालका दुई मिडिया

Posted on June 5, 2021 by Salokya

बेलायतको एउटा ट्याब्ल्वाइड अखबार डेली मेलले कोरोना भाइरसको नेपाल भेरियन्ट भनेर सनसनीपूर्ण समाचार लेख्यो। यसको खण्डन नेपाल सरकार र डब्लुएचओको नेपाल कार्यालयले समेत गर्‍यो। यो कुरा त तपाईँहरुले थाहा पाइ नै सक्नुभयो होला। हाम्रो फ्याक्टचेक पनि छ यो विषयमा यहाँ क्लिक गरी पढ्नुस्। 

बेलायती मिडियालाई मात्र के उडाउनु, नेपाली मिडिया पनि कम्ताको छ र। आज त्यस्तै उदाहरण देखियो नेपाली मिडियाको।

यही विषयमा समाचार लेख्यो आज नेपालप्रेसले। शीर्षक थियो- समाचार सच्याउँदै डेली मेलले लेख्यो : नेपाल भेरिएन्ट पुष्टि छैन

डेली मेलको समाचार त मैले पनि फलो गरिरहेको थिएँ। यसले हिजो तीन वटा फलोअप समाचार लेखेको थियो। एउटामा सगरमाथाबाट फर्किएकाहरुबाट फैलिएको भनिएको थियो भने अर्कोमा २० जना बेलायतीलाई यो भेरियन्ट लागिसकेको भनी लेखिएको थियो। समाचार सच्याएको त कहीँ देखेको थिइनँ। कहाँबाट आयो भन्ठानेर समाचारमा भएको लिङ्कब्याकलाई क्लिक गरेको त बेलायतकै अर्को अखबार गार्जियन पो खुलिरा ! यहाँ छ लिङ्क

भो त अब। समाचार लेख्यो बेलायतको साँघुले। अर्को समाचार लेख्यो बेलायतको कान्तिपुरले। अनि नेपालप्रेस बेलायतको कान्तिपुरलाई बेलायतको साँघु भन्ठानेर झुक्कियो।

यो बारे ब्लग लेखौँला भन्दै थिएँ तर स्क्रिनसटहरु सेभ गरिएको थिएन। त्यो नभई लेख्न जाँगर चलिरहेको थिएन। तर मिडियाका समाचारहरु निगरानी गरिरहने एउटा ट्विटर ह्यान्डलमा स्क्रिनसट देखेँ-

समाचार सच्याउँदै @NepalPressnp ले लेख्यो- ‘डेली मेल’ले हैन ‘गार्जियन’ले लेख्यो, तर लोगो चैँ किन ‘डेली मेल’को हो? pic.twitter.com/t5Im8sZYMo

— KuSamachar (@KuSamachar) June 4, 2021

रमाइलो त के भयो भने डेली मेलले समाचार सच्यायो भनेर लेखेको समाचार नेपालप्रेस आफैले सच्याउनु पर्‍यो। हेडलाइन परिवर्तन गर्दै नेपालप्रेसले लेख्यो- बेलायती अखबार गार्जियनले लेख्यो : नेपाल भेरिएन्ट पुष्टि छैन।

तर पत्रिकाको नाम र तथ्यमा समेत गम्भीर गल्ती गरिसकेपछि पनि नेपालप्रेसले गल्ती भएकोमा माफी मागेको छैन। न समाचार सच्याएको सूचना नै राखेको छ। इन्टरनेटमा एक पटक प्रकाशित भइसकेको सामग्रीलाई हटाउन सकिँदैन भन्ने तथ्य नेपालप्रेसले भुलेको जस्तो लाग्यो।

गल्ती सबैबाट हुन्छ। कम्तिमा गल्ती भएको स्वीकार गरी माफी मागेर सच्याउनमा पत्रकारहरुलाई किन गाह्रो हुने होला।

नेपालप्रेसमात्र हैन, एउटा अर्को अनलाइन देखापढीले पनि यस्तै गल्ती गर्‍यो। देखापढीले पनि सुरुमा लेख्यो- ‘नेपालको खण्डन पछि डेली मेलले समाचार सच्यायो, भन्यो–नेपालमा नयाँ भेरिएन्ट पुष्टि भएको छैन’

देखापढीले यो समाचार सीधासीधा नेपालप्रेसबाटै कपि गरेको प्रष्टै हुन्छ। किनभने डेलीमेलले समाचारमा भनिए जसरी समाचार सच्याएकै थिएन। यो गलत समाचार नेपालको एक मात्र मिडिया नेपालप्रेसमा आएको थियो। गल्ती थाहा भएपछि देखापढीले पनि त्यसलाई सच्याएर गार्जियन भनेर लेख्यो। तर उसले पनि समाचार गलत भएकोमा माफी मागेन र समाचार सच्याइएको सूचनासम्म राखेन।

यसबाहेक अर्को एउटा गल्ती पनि देखापढीको समाचारमा छ। त्यो हो- गार्जियनले समाचार सच्यायो भन्ने तथ्य। गार्जियनले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको समाचार बनाएकै थिएन त कसरी सच्यायो? समाचार बनाउने डेली मेल पो हो। गार्जियनले गर्दै नगरेको गल्ती सच्यायो भन्दिने हाम्रा नेपाली मिडिया झन् गजब छैन त?

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme