Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१२ दिन हराउँदाका सात ‘बासी’ खबर

Posted on May 26, 2021May 27, 2021 by Salokya

म १२ दिन हराएँ। मोबाइल, इमेल, सोसल मिडिया मात्र होइन इन्टरनेटकै सम्पर्कबाट पनि आफूलाई विच्छेद गरेको थिएँ। त्यसैले देशविदेशमा के भएको थियो, मलाई केही पनि थाहा थिएन। माइसंसारलाई अमेरिकाबाट साथी कृष्ण ढुंगानाले अपडेट गरिरहेका थिए, म आफैभित्र संसार खोजिरहेको थिएँ। त्यसैले यो बीचमा भएका केही खबरहरु तपाईँहरुलाई बासी लाग्ला, मलाई चाहिँ ताजा लाग्यो। अन्तर्मनको यात्राबाट फर्किएपछि यसो चहारेँ इन्टरनेट हिजो। रमाइला र रोचक घटना पनि भएका रहेछन्। त्यस्ता केही खबर यता लिपिवद्ध गर्दैछु।

१) राष्ट्रपतिको ‘हिही’ काण्ड

जुन दिन पास देखाउँदै शितल निवास हुँदै मुहानपोखरीको शिविर पुग्दै थिएँ, त्यो दिन सडकमा कडा चेकिङ थियो। त्यही दिन शितल निवासमा राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्पमतको सरकारको शपथ गराउँदै थिइन्। त्यतिसम्म मलाई थाहा थियो। त्यसपछि त बाहिरी दुनियाँसँग सम्पर्क विच्छेद भइहाल्यो। यही बीचमा ‘हिही काण्ड’ भएको रहेछ।

शपथ ग्रहण गराउँदा राष्ट्रपति विद्या भण्डारीले ‘मुलुक र जनताप्रति पूर्ण वफदार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु कि’ भन्न लगाउँदा प्रधानमन्त्री ओलीले ‘सत्य निष्ठापूर्वक’सम्म मात्र भने। राष्ट्रपतिले फेरि ‘प्रतिज्ञा गर्छु’ शब्द दोहोर्‍याइन्। ओलीले ‘त्यो पर्दैन..’ पो भन्छन्। वाह, राष्ट्रपतिलाई अर्डर दिए जस्तो पो प्रमले ! अझ रमाइलो त ओलीले त्यो पर्दैन भन्दा राष्ट्रपतिको मुखबाट ‘हिही’ पो निस्कन्छ।

पहिले भए ओलीले ईश्वरको नाममा भन्ने शब्दमात्र उच्चारण गर्दैन थिए। यसपालि प्रतिज्ञा नै गरेनन्। अचम्म !

सोसल मिडियामा यसले यति काण्ड मच्चाएछ कि पछि प्रधानमन्त्रीले राष्ट्रपतिबाट अध्यादेशै जारी गराएर आफूले गरेको शपथलाई सही बनाउन खोजे। यसबारे अदालतमा मुद्दा पनि परेछ।

२) माधव नेपाल समूह फेरि कारबाहीमा

म जाँदासम्म माधव नेपाल समूहका नेताहरुलाई गरिएको कारबाही फिर्ता लिइएको थियो। कतै समाचार पनि पढेको थिएँ कि नयाँ सरकारमा नेपाल समूहका केही नेतालाई पनि मन्त्री बनाइँदैछ। फर्कँदा त समाचार देख्छु– फेरि झलनाथ खनाल, माधव नेपालहरुलाई साधारण सदस्यसमेत नरहने गरी निश्कासित पो गरिसकिएछ त !

३) फेरि प्रतिनिधि सभा भंग भइसकेछ

१२ दिनपछि समाचार सुन्दा त फेरि प्रतिनिधि सभा भंग पो भइसकेछ। यो बीचमा सबैभन्दा ठूलो घटना यही भएको रहेछ। शुक्रबारको दिन मध्यरात कटिसकेपछि बल्ल यसरी प्रतिनिधि सभालाई भंग गरिएको रहेछ। दोस्रो पटक प्रतिनिधि सभा भंग गरियो। पहिलो पटक भंग हुँदा म एउटा ट्रेनिङमा थिएँ। यस पटक अर्को कार्यक्रममा। पहिलो पटक दिउँसै भएको काम यसपालि मध्यरातमा भएछ। त्यसो त यो बारे ब्लग साथी कृष्णले माइसंसारमा त्यही रात लेखिसकेका थिए, म भने यो खबरबाट बेखबर थिएँ। यतिसम्म राजनीतिक परिवर्तन भइसक्ला जस्तो चाहिँ लागेको थिएन, तर ओलीले गर्ने काम अन्ततः यही हो भन्ने चाहिँ पूर्वानुमान थियो नै। अलि समय लाग्ला र संसदीय प्रक्रिया पनि पूरा होला भन्ने लागेको थियो।

खासमा ओलीले अल्पमतको सरकार गठनको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो संविधान अनुसार। उनले त्यो लिएनन्। त्यो पर्दैन भनेर निर्णय गराए। लिएको भए कुर्सी छाड्न पर्ने हुन्थ्यो। राष्ट्रपतिले सरकार बनाउन आह्वान गरिन्।

प्रममा देउवा र ओली दुवैको दाबी पर्‍यो। राष्ट्रपतिले दुबै अमान्य घोषणा गरिन्। ओलीद्वारा फेरि संसद विघटन सिफारिस भयो। अनि फेरि विघटन भयो।

४) गृहमन्त्री बादल लगायतका मन्त्रीहरुको पद पनि खुस्किसकेछ

ध्यानमा रहँदा अनेक तर्कना मनमा चल्छन्। कहिलेकाहीँ बेतुकका पनि। एक दिन अचानक ला..राष्ट्रिय सभाको उपनिर्वाचन भयो होला- कसले जित्यो होला है भन्ने लागेको थियो। त्यतिबेला मलाई ओली र माधव नेपाल समूह मिलेको कुरामात्र थाहा थियो। पछि बेमेल भएको कुरा थाहा थिएन। आएर हेर्छु त उपनिर्वाचनमा बादललाई खिमलाल देवकोटा (नेपाल समूहका उम्मेदवार-माओवादी र कांग्रेसको समर्थन) पराजितमात्र भएनन्, उनको त गृहमन्त्रीको पदसमेत खुस्किसकेछ। हैट ! यतिसम्म भइसकेको कुरा चाहिँ अनुमानै गरिएको थिएन।

खासमा हिही कान्डवाला शपथलगत्तै ओलीले पुरानै मन्त्रिहरुलाई राखेर मन्त्रिपरिषद् गठन गरेका थिए। त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेछ। अनि अन्तरिम आदेश जारी गरेपछि मन्त्रीहरुको पद खुस्किएको रहेछ। ती मन्त्रालय अहिले ओलीले नै सम्हालिरहेका रहेछन्। देशमा अहिले गृहमन्त्री नै रहेनछ।

५) अघिल्लो मुद्दाको पूर्ण पाठ नआउँदै फेरि विघटनको मुद्दा

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध फेरि १४६ सांसदको रिट पर्‍यो। रोचक के भने अघिल्लो पटक विघटन हुँदा सर्वोच्चले नै त्यसलाई ब्युँताइदिएको थियो। सर्वोच्चको त्यो फैसलाको पूर्ण पाठ अझै आइसकेको छैन। संक्षिप्त आदेशकै आधारमा विघटन उल्टिएको थियो।

तर फेरि विघटनको मुद्दा सर्वोच्चमा आइपरेको छ। फेरि सबैको आँखा सर्वोच्चमा तेर्सिएको छ।

६) नागरिकता अध्यादेश

यो बीचमा नागरिकता अध्यादेश ओली सरकारले ल्याएको रहेछ। यो विषयमा पनि धेरै चर्चा भएको रहेछ।

७) कोरोना घट्छ भन्ठानेको थिएँ तर…

यो बीचमा काठमाडौँ उपत्यकामा कोरोना उल्लेखनीय रुपमा घटेको होला र अब लकडाउन खुल्ला भन्ने ठानेको थिएँ। तर उल्टो झन् कडा लकडाउन गर्ने पो तयारी भएछ। प्रति दिन कोरोना लाग्नेको संख्या देशभर हेर्दा घटे पनि काठमाडौँ जिल्लामा हरेक दिन हजारभन्दा बढी नै संक्रमित भेटिरहेका रहेछन्।

यति त रहेछ, यत्रो १२/१२ दिन हराउँदा पनि खासै त्यस्तो उत्पात् त केही भएको रहेनछ जस्तो लागिरहेको बेला उत्तमबाबु श्रेष्ठले फेसबुक मेसेन्जरमा लेखे, 'वेलकम ब्याक, नेपालमा कति धेरै परिवर्तन भइसक्याे!'

म 'अनिच्च अनिच्च' भन्दै सब कुरा अनित्य भन्ने बुद्धको वाणीको व्यवहारिक अभ्यास गरेर भर्खर फर्किएको मान्छे, त्यस्तो परिवर्तन त शरीरकै स्तरमा कति थाहा पाइयो, पाइयो।

मैले जवाफ फर्काएँ, 'खास धेरै रहेनछ ?'

2 thoughts on “१२ दिन हराउँदाका सात ‘बासी’ खबर”

  1. Pingback: राष्ट्रपतिको विज्ञप्ति : ‘संविधान बमोजिम’ होइन, ‘फैसला बमोजिम’ देउवा प्रम नियुक्त – MySansar
  2. गौरव says:
    May 29, 2021 at 7:46 pm

    सबैभन्दा उपयुक्त शीर्षक चै १ नम्बर मै परेछ राष्ट्रपतिको ‘हिही’ काण्ड|
    एमाले समर्थकहरुले पनि अब त बुझ्न थाले होलान औकात भन्ने पनि केही चिज के हुँदोरहेछ|
    अर्को अत्यन्त महत्वपूर्ण बिषय न ७ को नागरिकता अध्यादेश| ओलीको चकलेटले दुरगामी प्रभाव पार्छ| यस्तो बिल्कुलै नहुन परने थियो तर ओलीले आफ्नो कुर्सी टिकाईराख्न जे पनि गर्न सक्ने देखियो| यो बेला नेपालीले नबोले कैले बोल्ने? ओलीले कसरी प्रणाली र संबिधानको धज्जी उढाएका छन अब न्यायालयले ध्यान दिन परने समय आयो तर जताततै
    सेटिङ र नियुक्तीको धांधली छ, ओली र राष्ट्रपतीको मुल्याङ्कन ईतिहास लाई छाडने होइन,
    एकपछी अर्को अध्यादेश र उटपट्याङ कार्य गर्न तु. बन्द गर्न पर्छ|
    दुईपल्ट् विश्वासको मत गुमाएका अवस्थामा प्रधानमन्त्रीले कसरी धमाधम नियुक्ती दिन मिल्छ र कसरी संसद बिघटन गर्न मिल्छ? यो त संबिधानको सरासर बर्खिलाप भयो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme