Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पीएमको ‘सिचुएसन अन्डर कन्ट्रोल’वाला अन्तर्वार्ता सुनेपछि चित्त नबुझेका चार कुरा

Posted on May 8, 2021May 9, 2021 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी न्युज च्यानल सीएनएनमा लाइभ अन्तर्वार्ता दिन लागेको कुरा ट्विटरबाटै थाहा पाएपछि धेरै दिनपछि टिभी खोलेरै हेर्न बसियो। नेपालमा आएको संकटबारे अन्तर्राष्ट्रिय मिडियाले चासो दिनु सकारात्मक कुरा हो। नत्र नेपालको खबर सगरमाथा र हिमालबाहेक खासै अरु हुन्न उनीहरुको। अहिले यत्रो मानवीय संकट आइपरेको छ। तर अन्तर्वार्ता हेर्दा चित्त बुझ्ने लागेन। चित्त नबुझेका चार कुरा यहाँ लेखेको छु।

१) सिचुएसन अन्डर कन्ट्रोल : तर कसको? सरकारको कि कोभिड-१९ को?

सीएनएनले एउटा सानो रिपोर्ट देखाउँदै त्यसमा प्रधानमन्त्री ओलीले भर्खरै गरेको अङ्ग्रेजी भाषाको सम्बोधनको थोरै अंश पनि बजाएको थियो जसमा अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको आह्वान गरिएको थियो। त्यसपछि प्रधानमन्त्री स्काइपमा प्रत्यक्ष जोडिए। करिब ६ मिनेटको अन्तर्वार्तामा प्रधानमन्त्रीले ठोस कुरै गरेनन्। सुरुमै प्रस्तोताले हाम्रो देशमा भएको क्षतिका लागि समवेदना दिए अनि शुक्रबार नयाँ संक्रमित पहिचान भएको संख्यामा रेकर्ड बसेको तथ्य राखे र सोधे, तपाईँको देशको स्रोत र चिकित्सा पूर्वाधारको हिसाबले कसरी यो वृद्धिलाई ह्यान्डल गरिरहनुभएको छ?

महामारीले कसैलाई छाड्दैन। ठूला, धनी र स्राेत भएका देशमा त स्रोत अपुग भएर लाचार हुने अवस्थामा हाम्रो जस्तो सानाे, स्राेत कम भएकाे र चिकित्सा पूर्वाधार पर्याप्त नभएको देशमा नियन्त्रण लिन नसक्नु स्वभाविक छ भनेर वास्तविक स्थितिबारे जानकारी दिएर अन्तर्राष्ट्रिय सहयोगको अपील गर्ने यो राम्रो अवसर थियो। तर प्रधानमन्त्रीले त ‘..covid-19 situation in Nepal is under control now, we must say…’ पो भने।

सिचुएसन अन्डर कन्ट्रोल भइदिएको भए यस्तो हुन्थ्यो त? अस्पतालमा बेड छैन। मान्छेको हारगुहार छ। मान्छेहरु आइसियु र भेन्टिलेटर खोज्दै हैरान भइरहेका छन्। अक्सिजन अभावले बिजोगको स्थिति छ। मान्छे धमाधम मर्दैछन्। परीक्षण गराएकामध्ये ५ जनामा २ जना पोजिटिभ देखिने रेट छ। दिनदिनै नयाँ केसहरुको संख्यामा रेकर्ड बन्दैछ। पोजिटिभ देखिने रेट ५ प्रतिशतभन्दा कम, स्वास्थ्य संरचनाले धान्ने स्थिति भएको भए पो सिचुएसन अन्डर कन्ट्रोलमा हुने! अहिले त कोभिड-१९ को कन्ट्रोलमा छ सिचुएसन।

अनि लागे ठोस कुराको सट्टा यताउताका कुरा गर्न। मृत्यु भएकाहरुको कुरा गर्दा trying to control भने, अनि फेरि we are trying to control it with our strength पनि भने। situation control मा छैन भन्ने कुरा त त्यहाँबाट देखिएन र? अनि किन control मा छ भन्नुपर्ने, कुरा नचपाई साँचो कुरा भने के बिग्रन्थ्यो?

तीन वटा तथ्याङ्क राख्छु सिचुएसन कस्तो छ भन्ने बारे-

यो नेपालभरको-

यो काठमाडौँको-

यो रुपन्देहीको-

२) कोरोनालाई नियन्त्रणमा लिइसकेको भ्रम, मृत्यु दर कसरी सून्य?

प्रधानमन्त्रीले पहिलो प्रश्नमा लामो जवाफ दिएपछि नै ‘राइट राइट’ भन्दै रोक्न खोजिरहेका प्रस्तोताले दोस्रो प्रश्न सोधे, संख्या त डरलाग्ने खालको छ। एक महिनाअघि नेपालमा एक दिनमा १०० केसमात्र थिए, शुक्रबार (हिजो) ९ हजारभन्दा बढी भयो। पछिल्लो साता नेपालमा परीक्षण गरिएका मध्ये ४३ प्रतिशत पोजिटिभ भेटिए। के गल्ती भयो र यसलाई उल्ट्याउन तपाईँ के गर्नुहुन्छ?

जवाफमा प्रधानमन्त्रीले जे भने, त्यसबाट के गल्ती भयो नै थाहा नभएको जस्तो देखियो। उनले भने, गत वर्ष हामीहरुले महामारी नियन्त्रणमा लिन सफल भयौँ भने। यो सही होइन। गत वर्ष केसहरु नदेखिँदै लामो लकडाउन गरिएको थियो। त्यतिबेला लकडाउनलाई मात्र महत्त्व दिएर अरु कुरामा ध्यान नदिँदा लकडाउन खुलेको केही समयमै संक्रमण फैलिएर दिनमा ५ हजारभन्दा बढीसम्मको भएको थियो। विज्ञहरुले दोस्रो लहर आउँछ भनेर बारम्बार सतर्क गराउँदा गराउँदै पनि वास्ता नगरेको कारण पनि यसपालि धेरै संक्रमण फैलिएको हो।

त्यसैगरी प्रधानमन्त्रीले मोर्टालिटी रेट (मोर्टालिटी रेट) पनि जेरोमा भएको दावी गरेका थिए। त्यसो होइन। सुरुमा कडा लकडाउन हुँदा मृत्यु भएको थिएन। तर पछि लकडाउन खुलेपछि संक्रमण बढेसँगै मृत्यु पनि बढेको थियो। सरकारले त मृत्यु संख्या लुकाएको पनि थियो। शव व्यवस्थापन गर्ने जिम्मा पाएको सेनाकोमा कोरोनाबाट मरेकाहरुको तथ्याङ्क एउटा, स्वास्थ्य मन्त्रालयसँग अर्को भएपछि फेब्रुअरी २२ का दिन एकै पटक ७२२ जना छुटपुट भएको मृत्युको विवरण तथ्याङ्क अपडेट गरेको WHO को वेबसाइटमा गएर अझै पनि हेर्न सकिन्छ। अनि मृत्यु दर ० भनेर ढाँट्न कहाँ पाइन्छ?

३) जनतालाई मात्र दोष, मन्त्री र नेताहरु चाहिँ चोख्खै?

प्रधानमन्त्रीले यो प्रश्नको जवाफमा  negligency of people was increased भन्दै दोस्रो लहर आउनुमा जनतालाई मात्र दोष दिए। जनताले पनि लापरवाही गरेको पक्कै हो। तर स्वयं प्रधानमन्त्री, उनका मन्त्री र नेताहरुले चाहिँ के गरे त? स्थिति भयावह हुनसक्छ स्कूल बन्द गरौँ भन्दै स्वास्थ्य मन्त्रालयले भन्दा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गलल मान्छे हसाउँने गरी यस्तो भनेका हैनन्?

@arthasarokarविद्यालय बन्द गरेर काम छैन, विद्यार्थी घरमा भन्दा स्कुलमा बढी सुरक्षित छन् : शिक्षामन्त्री #Arthasarokar♬ original sound – Artha Sarokar

ठूल्ठूला सभाहरु गरेका हैनन् काठमाडौँमा? त्यसका लागि गाउँगाउँबाट मान्छे उतारेका हैनन् सरकार र सरकारबाहिर रहेको पार्टी दुवैले? धेरै पछाडि किन जाने? सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भनेर आदेश जारी गरिसकेपछि रामको मूर्ति माडी पठाएका हैनन् ठूलो भेला गरेर? त्यसबारे प्रश्न सोध्दा सुवास नेम्वाङले राजपत्रमा छापिएको छैन, त्यही भएर लागू हुन्न भनेर अन्तर्वार्ता दिएको हामीले समाचार नपढेको हो र। लकडाउन हुनुभन्दा अघि वैशाख ११ गते निर्माण पूरै भइनसकेको धरहरा उद्घाटन गर्न हतार गर्दा भएको भिडभाड हामीले नदेखेका हौँ र। अनि जनतालाई मात्र दोष दिने? जनताले जानेनन् होला, सिकाउनु पर्ने कसले? सरकारको दायित्व होइन? हिमालमा ठोक्किएको हावा खाएको नेपालीको इम्युनिटी बलियो हुन्छ भन्ने, अम्बाको पातले गार्गल गरे कोरोना हट्छ भनेर नेग्लिजेन्सलाई बढावा दिने को रहेछ?

धरहरा उद्घाटन (माथि), रामको मूर्ति माडी पठाउँदाको भिड र कार्यकर्ता भेलाको सामाजिक सञ्जालमा भाइरल फोटो

४) के गल्ती भयो नै थाहा छैन ?

सबभन्दा अनौठो त अन्तिम प्रश्नमा भयो। के गलत भयो भनेर सोधिएको प्रश्नमा प्रधानमन्त्रीले आफ्नै पारामा यताउताका गफ दिएपछि प्रस्तोताले सोधे, गएको महिना धेरै ठूला सार्वजनिक कार्यक्रमहरु भए, यो महिना पनि जात्राहरुको समय छ जसलाई रद्द गरिएको छैन, के तपाईँलाई यो गलत भएको जस्तो लाग्छ?

प्रधानमन्त्रीले प्रश्नै बुझेनन्। तीन पटकसम्म प्रश्न सोधेपछि बल्ल उनले जवाफ दिए।

उनले यसलाई राजनीतिसँग लगेर जोडिदिए। महामारीको समयलाई राजनीतिक फाइदाका लागि उपयोग गर्न नहुने उपदेश दिए। तर बिर्सिए उनै प्रधानमन्त्रीले अर्को पक्षको भन्दा ठूलो सभा हामी गर्छौँ, आउनुस् भनेर खुला आह्वान गरेको।

बोल्दाबोल्दै off course there are some mistakes from political side भन्ने कुरा चाहिँ प्रधानमन्त्रीको मुखबाट चिप्लियो। तर त्यसलाई and other side also भनेर चाहिँ ब्यालेन्स गरे। आखिर आफ्नै गल्ती त देखाउनु भएन नि। खासमा गल्ती चाहिँ कहाँ भएको भन्ने नै थाहा नभएको हो कि के हो? यो दोस्रो लहर आउनमा के कस्तो गल्ती भयो भनेर विज्ञहरुको सल्लाह अनुसार विश्लेषण गरेर त्यही अनुसार तयारी नगरे तेस्रो लहरमा झन् ठूलो क्षति हुन सक्दैन र?

गुमेको अवसर

प्रधानमन्त्रीले कुनै घरेलु मिडियालाई अन्तर्वार्ता दिएका हैनन्, स्थिति नियन्त्रणमा छ भन्दै राजनीतिक अस्थिरताका गफहरु सुनाउन। मलाई लाग्छ प्रधानमन्त्रीले एउटा अवसर गुमाए देशको यथार्थ स्थिति बताएर अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्ने। यो एउटा युद्ध हो भाइरसविरुद्ध। यो मानवीय संकट हो। भूकम्पका अन्तर्राष्ट्रिय सहयोग माग्न नलजाउने, यसमा सहयोग माग्दा देशको शिर झुक्ने भन्ने हुँदैन। स्रोत साधनको अभाव भएकोले चिकित्साकर्मी, चिकित्सा सामग्रीलगायत सम्भव सबै कुराको सहयोगको अपिल गर्नुपर्थ्यो। अहिले पनि कुनै कुनै देशले प्रयोग नगरी यत्तिकै भ्याक्सिन होर्डिङ गरी राखेका छन्। भ्याक्सिनमा धनी देश र गरीब देशबीच असमान वितरणको कुरा उठाएर झकझकाउने काम गर्न सक्थे। तर यो अवसर पनि गुम्यो। अन्तर्राष्ट्रिय मिडियामा बोल्दा के बोल्ने भनेर विज्ञहरुसित अलि सल्लाह गरी बोलेको भए पनि हुन्थ्यो होला। तर….

सिएनएनको अन्तर्वार्ता हेर्न छुटाउनुभएको भए अडियो

mysansarblog · सिएनएनमा प्रधानमन्त्रीको अन्तर्वार्ता

2 thoughts on “पीएमको ‘सिचुएसन अन्डर कन्ट्रोल’वाला अन्तर्वार्ता सुनेपछि चित्त नबुझेका चार कुरा”

  1. Anil says:
    May 10, 2021 at 3:19 pm

    Corona control cha bhanne feri 15 din lockdown badhaune? Kasto wahiyat logic ho yo

    Reply
  2. गोवर्धन says:
    May 9, 2021 at 8:35 am

    ओलीजी अहिलेको भयावह स्थितीसँग अवगत छैनन? के हो सिचुएसन अन्डर कन्ट्रोल भन्या!
    परराष्ट्र मन्त्री भईसकेकाको न्युज मेडियामा बोल्ने ताल यस्तो छ| शैली र कन्टेन्ट दुवै अपेक्षाकृत स्तरभन्दा तल छन|प्रश्न comprehend गर्न सकेनन, बरु, नेपालीमै बोलेको भए हुन्थ्यो| नेपाली मेडियालाई आलोचना गर्दै गफ टुक्का सुनाउने बानी, आफु अनुकुल अन्तर्वाताकारलाई भाषण दिने कुसंस्कार र बेथीती बसालेको प्रधानमन्त्रीले जग हँसाएछन| वढदो कोरोना सन्क्रमण र अब्यवस्थाको दोष त जनता माथि थुपारेछन, वास्तवमा अहिलेसम्म कुर्सिमा बस्न दिएकोमा जनतालाई दोष दिन पर्ने हो| आईतवारवाट ओलीलाई विदा दिनै पर्छ तर विडम्बना के भने खराबलाई खराबले पालो दिएको सरह हुने त होइन?

    कोरोना सन्क्रमण तीब्र रुपमा बढेको एउटा मुख्य कारण सरकारले समयमै सही पाईला नचालेर हो| खोप किन्न पनि किन कमिशनले ढिलाई गर्‍यो? यसको जिम्मा सरकारको नेत्रित्व गर्नेले लिनैपर्छ| किन यती अब्यवस्था, उदघाटन र शिलान्यासमा किन हतारो? ओलीजीको नाउँ ईतिहासमा कालो अक्षरले लेखिनेछ|
    एउटा जनता छानविन आयोग गठन गरेर दोषीलाई सजाय दिनपर्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme