Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारले क्रिकेट खेलाडीलाई ४ लाख दिन लागेको होइन, मिडियाहरु झुक्किएका मात्र हुन्

Posted on April 29, 2021April 29, 2021 by Salokya

“त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ।

के हिजो तपाईँले यस्तो समाचार पढ्नुभएको थियो?

पढ्नुभएको भए विश्वास पनि गर्नुभएको थियो होला। तर सरकारले होइन, मिडियाले मात्रै दिएको रहेछ क्रिकेट खेलाडीलाई पुरस्कार। सरकारले फुटबल खेलाडीलाई दिएको, मिडियाले क्रिकेट भन्ठान्यो। मिडिया आफू मात्रै झुक्किएन, समाचार लेखेर त्यो पढ्ने सबैलाई झुक्याइदियो।


यो हो अहिले सरकारसम्बन्धी समाचारहरु लेखेर चर्चामा आएको नयाँ अनलाइन नेपालप्रेसले लेखेको समाचार। यो ब्लग लेखिरहँदा बिहीबार मध्याह्नसम्म यो समाचार जस्ताको तस्तै छ। यहाँ क्लिक गरी पढ्नुस्।

समाचारमा लेखिएको छ, ‘हालै त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ प्रदान गरिने भएको छ। टोलीका २३ जना खेलाडीलाई सो नगद पुरस्कार दिने निर्णय मन्त्रीपरिषदले गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।’

अर्थात् यसमा त सरकारका प्रवक्तालाई समेत कोट गरिएको छ।

तर यो गलत हो। सरकारका प्रवक्ताले गरेको पत्रकार सम्मेलनको भिडियो सेतोपाटीले हालेको छ। त्यसमा उनले स्पष्ट भनेका छन्, ‘त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी विजेता २३ जना खेलाडीलाई प्रति व्यक्ति चार लाख तथा तीन जना प्रशिक्षकलाई प्रतिव्यक्ति दुई लाखको दरले प्रमाणपत्रसहित नगद पुरस्कार प्रोत्साहन गर्ने निर्णय भएको छ।’

हेर्नुस् भिडियो-

मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। त्यसमा पनि वैशाख ९ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयमा क्रिकेट खेलाडी होइन, फुटबल खेलाडीलाई नै पुरस्कार दिने लेखिएको छ।

गत चैतमा नेपाल, बंगलादेश र किर्गिजस्तान बीच त्रिदेशीय कप फुटबल प्रतियोगिता भएको थियो जसमा नेपालले बंगलादेशलाई फाइनलमा हराउँदै उपाधि जितेको थियो। उपाधि जित्ने खेलाडीहरुले केपी बा, आइ लभ यु नारा समेत लगाएका थिए।

नेपाल, मलेसिया र नेदरल्यान्डस सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज भने अस्ति वैशाखमा बल्ल भएको हो। यसमा पनि नेदरल्यान्डसलाई फाइनलमा हराएर नेपालले उपाधि जितेको थियो।

यद्यपि पुरस्कार भने क्रिकेट टोलीलाई नभई फुटबल टोलीलाई दिने निर्णय भएको हो।

यो हो युवामाझ लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्दको पोस्ट। अहिले भने यो पोस्ट हटाइसकिएको छ।  हेर्दा फेसबुक पेज जस्तो मात्र भए पनि यो पनि सूचना विभागमा दर्ता भएको अनलाइन सञ्चार माध्यम हो। सूचना विभागमा रहेको  २०७७ मंसिर ३० गतेसम्म दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुको सूचीमा यसको पनि नाम रहेको छ। तर त्यसमा उल्लेख भएको  वेबसाइट भने बनिसकेकै छैन।

त्यसैगरी अनलाइनखबरले पनि क्रिकेट खेलाडीहरुलाई नै पुरस्कार रकम दिइने समाचार राखेको थियो।

तर अहिले भने त्यो समाचारलाई सच्याइएको छ र फोटो समेत परिवर्तन गरी फुटबल टोलीको राखिएको छ। साथै समाचारको पुछारमा लेखिएको पनि छ- त्रिदेशीय फुटबल लेख्नुपर्नेमा यसअघि भुलवश त्रिकोणात्मक क्रिकेट सिरिज भएकाले सच्याइएको छ। हेर्नुस् अहिलेको समाचार

अनलाइनखबरकै समाचारलाई नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पनि सेयर गरेका थिए। तर अहिले उनले फेसबुकबाट त्यो पोस्ट हटाएका छन्-

पारस मात्र हैन नेपाली क्रिकेट टिमका वर्तमान क्याप्टेन ज्ञानेन्द्र मल्लले समेत यस्तै समाचार पढेर सरकारले नगरेको कामका लागि धन्यवाद दिन भ्याए। अहिले भने उनको ट्विट हटिसकेको छ।

खेलकूदकै समाचार मात्र राख्ने  हाम्रोखेलकूद डट कमले पनि क्रिकेट खेलाडीलाई पुरस्कार दिने निर्णय भएको समाचार राखेको थियो। तर अहिले लाजले होला, त्यो समाचार सच्याएर माफी माग्नुको साटो हटाएको छ।

अहिले–

त्यति मात्र हैन, अरु थुप्रै न्युज साइटहरुले पनि क्रिकेट खेलाडीलाई नै पुरस्कार रकम दिन लागेको लेखेका छन्-

देख्नुभो त, सरकारका प्रवक्ताले प्रष्ट शब्दमा फुटबल भनेकोलाई पनि मिडियाले कसरी क्रिकेट भनेर दिउँसै रात पार्ने रहेछन्। कानमा अलि समस्या भएको भए मन्त्रिपरिषद्का निर्णय राख्ने गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा गएर हेर्दा पनि हुने हो। तर त्यति पनि हेरिदिएनन्। पहिला कुन चैँ पत्रकार झुक्कियो, सँगै कपिपेस्ट गर्ने धूनमा के हो कुरा नबुझी भएभरका अनलाइन मिडिया डुबे।

रमाइलो छैन त ?

त्यसरी दिँदै नदिएको पुरस्कारको समाचार लेखेर हेप्‍नी ? औडाहा गर्नी? अब यो समाचार लेख्ने सब मिडियालाई डिस हान्नुपरो जरिवाना स्वरुप रकम उठाएर। त्यो रकम चाहिँ क्रिकेट खेलाडीलाई दिँदा कसो होला? 🙂

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme