Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिडिया र एयरलाइन्सलाई कति हतार भा’को, आफै राख्‍दिन मिल्छ र प्रदेश १ को नाम?

Posted on April 18, 2021April 18, 2021 by Salokya


नेपालका सात प्रदेशहरु मध्ये बाँकी सबैको नाम राखिसकियो। तर अझै पनि नाम राख्‍न बाँकी प्रदेशहरु प्रदेश १ र प्रदेश २ हुन्। चुनाव भएको तीन वर्ष भइसक्दा पनि नाम नराखेकोले औडाहा भएर हो कि के हो, आज केही अनलाइन मिडिया र एयरलाइन्सले मिलेर प्रदेश १ को न्वारान गरिदिए। कति रमाइलो के!

सरकारले राख्‍न नसकेको नाम यताबाट राख्दैमा मान्य हुने हो र भन्या! गत वर्ष नाम राख्ने प्रयास असफल भएको थियो। त्यसपछि अहिलेसम्म नाम राख्न सकिएको छैन। तर आजका केही अनलाइन मिडियाका समाचार हेर्नुस्।


यो हो आर्थिक न्युज पोर्टल बिजमान्डुको समाचार। ‘सेवा विस्तारमा आक्रमक बुद्ध एयर, बैशाख १८ देखि पोखराबाट चार उडानले तीन प्रदेश जोडिने’ शीर्षकको समाचारमा लेखिएको छ- ‘कम्पनीले आउँदो बैशाख १८ गते ‘मे १ तारिख’ देखि पोखरा बेस रही प्रदेश २(सिमरा), कोशी प्रदेश (विराटनगर), लुम्बिनी प्रदेश(नेपालगञ्ज), लुम्बिनी प्रदेश( भैरहवा) लगायत चारवटा गन्तब्यमा नियमित उडान सुरु गर्न लागेको कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए।’

हैट, अनि कम्पनीका प्रबन्ध निर्देशक बस्‍नेतले जे बतायो, त्यही प्रकाशन गर्नुपर्छ त? हुनत नभनेको कुरा राख्‍न भएन। तर भनेको कुरा सही हो कि होइन त हेर्न पर्‍यो नि, परेन र? बस्नेतले ब्राकेटमा भनेका थिए कि थिएनन् चाहिँ थाहा भएन।

विराटनगरलाई कोशी प्रदेशमा भन्दिने? के थाहा यो प्रदेशको नाम सगरमाथा रहने पो हो कि वा किरात पो हुने हो कि। कोशी नै भए पनि प्रदेश सभाले दुई तिहाईले पारित नगरेसम्म त कसरी यही नाम रहेको भन्न सकियो र।


हेर्दै गर्दा अर्को एउटा अनलाइनमा पनि यस्तै लेखिएको समाचार भेटियो। यो हो लोकान्तरमा प्रकाशित समाचार। ‘थप ६ अन्तर प्रदेश हवाई सेवा विस्तार गर्दै बुद्ध एयर, यस्तो छ भाडा दर’ शीर्षकमा प्रकाशित समाचारमा ‘पोखराबाट – विराटनगर, कोशी प्रदेश’ लेखिएको छ।

यसमा भने माथिको समाचारमा जस्तो प्रबन्ध निर्देशक वा अरु कसैलाई कोट गरिएको छैन।

हुँदै नभएको प्रदेश १ को नाम कसरी आयो त भनेर खोज्दै जाँदा फेसबुकमा बुद्ध एयरले जारी गरेको प्रेस विज्ञप्ति फेला पर्‍यो। ए आम्मा हो, बुद्ध एयर आफैले पो जान्ने भइटोपलेर विराटनगरलाई कोशी प्रदेशमा रहेको भनी नामाकरण गरेको रहेछ।

अनि यी मिडियाहरु चाहिँ प्रेस विज्ञप्तिमा जे आयो, आँखा चिम्लेर विश्वास गरेर त्यही समाचार बनाएर राखिहाल्नेमा परेछन्। मेसिन भनौँ न। मान्छे भएको भए त दिमाग प्रयोग हुन्थ्यो र दिमागले भन्थ्यो- ओए, प्रदेश १ को त नामाकरणै भएको छैन। मेसिन भएकोले विज्ञप्तिमा जे आयो त्यही समाचार बन्यो।

यस्तै मानिस हैन मेसिन बन्दा रामेछापमा हुँदै नभएको बागजोर नगरपालिकाको समाचार बनेको तपाईँहरुलाई यादै होला, प्रहरीको प्रेस विज्ञप्तिमा विश्वास गरेर। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्-

हुँदै नभएको नगरपालिकामा बस्‍ने मान्छेले ‘युरेनियम’ बेच्‍न हिँडेका? कति हाँस्‍नु!
पुलिसले सुटुक्क सच्यायो हुँदै नभएको नगरपालिका, मिडियाले चैँ सच्याउलान् त?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme