Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्त्रीको यो भाषण अनुसार काम हुनथाल्यो भने त….के होला ? यसो अनुमान गरौँ

Posted on April 13, 2021 by Salokya

अचेल खासै नयाँ समाचार केही हुँदैनन्। उही पुरानै कुरामा देश अल्झिरहेको छ। तैपनि यसो अनलाइनहरु हेर्दै गर्दा एउटा यो समाचार भेटियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भनेका रहेछन्- सही सूचना दिने गरी समाचार प्रसारण गर्नुस्।

हैट ! के भन्या यस्तो ? यस्तो नहुने कुरा पनि गर्ने हो ?

तर पनि एकैछिन अनुमान गरौँ न- के हुन्छ होला यसो भइदियो भने।

यसो भइदियो भने सबैभन्दा पहिलो मारमा त प्रधानमन्त्री केपी शर्मा ओली आफै पनि पर्छन् होला।

समाचार यस्तो हुनेछ अनि- प्रधानमन्त्रीद्वारा फलानो कार्यक्रममा सम्बोधन, अम्बाको पातले टुँट टुँट टुँट….

लौ किन सेन्सर ?

सही कुरा दिनु पर्‍यो नि त समाचार। अम्बाको पातले गार्गल गरेर कोरोना हट्छ भन्ने सही सूचना त होइन। त्यसरी हट्ने भइदेको भए त किन खोप लाउनु पर्थ्यो ! आफू चाहिँ खोप लाउने अनि खोप लाउन नपाउने जनतालाई चाहिँ अम्बाको पातको उपाय दिन त भएन नि। प्रधानमन्त्रीको भाषणको नै समाचार बनिदिएन भने कस्तो स्थिति आउला? गाह्रो हुन्छ नि हौ।

ऋषि धमलाको जनता जान्न चाहन्छ भन्ने कार्यक्रम पनि बन्द हुन्थ्यो होला। किनभने त्यसमा न सही प्रश्न सोधिन्छ, न मोहन बस्नेत र केशव बडाल जस्ता अतिथिहरुले बाङ्गा बाङ्गा कुरा चर्को स्वरमा बोल्न बाहेक अरु केही गर्छन्।

अनि लौ न ती बिचरा युट्युबरहरुको पो बिल्लीबाँठ हुन्छ त। सही सूचना मात्र दिने हो भने त विजय शाहीलाई कसले नासामा पुर्‍याउने होला? रटट टटटटट गर्दै कसले पढ्ने होला? पुण्य गौतमले न सही कुराहरु गरेर कसरी मनोरञ्जन दिने होला? युट्युबरहरुले एमसिसी पास गरेर काठमाडौँमा अमेरिकी सेना उतारिसके, भारतीय सेनासँग कालापानीमा युद्ध लडिसके, निर्मलाको हत्यारालाई सजाय दिइसके, नेपालमै कोरोनाको भ्याक्सिन बनाइसके। भ्याक्सिन त उहिल्यै बनेको हो। तर अहिले विदेशी भ्याक्सिन पर्खिरहनु परेको छ। किन नेपाली भ्याक्सिन नलगाइएको होला त? किनभने त्यो गलत खबर थियो।

युट्युबहरुको के कुरा, सही सूचनामात्र दिने हो भने त मूलधारका कतिपय सामग्री पनि खाली राख्नुपर्ने स्थिति आउँछ। चोलेन्द्रशमशेरलाई प्रधानमन्त्री भनेर दुई दुई वटा राष्ट्रिय दैनिकले लेखेको यही आँखाले देखेको हो। पठाओ भोलिदेखि बन्द गर्ने भनेर मूलधारकै अनलाइनहरुले समाचार लेखेको तपाईँहरुले पढ्नु भएकै होला। भयो त बन्द?

लकडाउन अवधिको भाडा नलिन सर्वोच्च अदालतले आदेश दियो भनेर टेलिभिजन, रेडियोदेखि अनलाइनहरुसम्मले समाचार लेखेका/पढेका हुन्। भाडा तिर्नुभएन र तपाईँले? तिर्नुभयो नि है। अनि सही खबर भयो त यो?

पुलिसले समेत रामेछापको हुँदै नभएको बागजोर नगरपालिका भनेर सही सूचना दिएन। याद छ नि तपाईँलाई युरेनियम काण्ड। त्यो काण्डमा मिडियाले प्रहरीले पक्राउ गरेकाबाट बरामद भएको युरेनियम कति क्यारेटको भनेर समेत लेखे। युरेनियम सुन जस्तो क्यारेटमा कहाँ जोखिन्छ र। अर्ब अर्बको भाउ बढाबढ गरेर समाचार लेखे। त्यो त सबै हराउँथ्यो यदि सही समाचार मात्र दिएको भए।

ए, अँ-  अनि झण्डै बिर्सेको ! कुलमानलाई विद्युत प्राधिकरणको हाकिम नियुक्त गरिसकेका थिए हैन मिडियाले ? त्यस्तो समाचारमा लाइक र कमेन्ट कति ठोक्नुभएको थियो होला तपाईँले। अनि भयो त कुलमानको नियुक्ति? भएन नि है। अनि सही समाचार भयो त यो?

त्यति मात्र होइन, अर्को समस्या पनि छ हजुर। मन्त्रीज्यु, यसरी नहुने कुरा नगर्नुस् त। सही समाचार मात्र दिन थाल्यो भने त मैले के लेख्नु नि 🙂

3 thoughts on “मन्त्रीको यो भाषण अनुसार काम हुनथाल्यो भने त….के होला ? यसो अनुमान गरौँ”

  1. Jagan says:
    April 13, 2021 at 10:51 pm

    सही सुचना यो हो|
    प्रधानमन्त्रीले जे पायो तेही बोल्दै हिँडेपछी अरुको के कुरा गर्ने? बोलेको कुराको consequence हुनपर्‍यो, जिम्मेवारी लिनपरो| तर यँहा जे बके पनि हुन्छ| तथ्य उजागर गर्न र वहस निम्त्याउन अनि सरकार जवाफदेही हुनपर्ने हो|
    कैले ठोरी भन्या छ, कैले अंबा पात, बेसार र हाँछ्यु| कैले जलहरी, गैले राइनो| काम छैन?
    HMV (His Master’s Voice)हरुले पनि जे पायो त्यही बोल्या छ| देशमा ओलीको र बोलीको खेती छ, जनताको खती छ|

    Reply
  2. Ramesh Adhikari says:
    April 13, 2021 at 2:30 pm

    सहि समाचार आयो भने एउटा काम पक्कै हुन्छ, तपाई को भोलि देखि जागिर चैट 😀

    Reply
    1. Salokya says:
      April 13, 2021 at 3:31 pm

      त्यही भन्या ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme