बीबीसी वनमा जनवरीमा प्रसारण भएको केही समयपछि नै डाउनलोड गरी राखेको थिएँ आठ भागको सिरिज ‘द सर्पेन्ट’। चार्ल्स शोभराजको जीवनीमा आधारित भएकोले पनि मलाई यो सिरिजमा चासो बढेको थियो। तर हेर्ने समय नै जुरेन।
केही अघि नेटफ्लिक्समा पनि यो उपलब्ध भएपछि समय मिलाएरै दुई दिन लगाएर हेरी भ्याएँ। शोभराज त्यस्ता अपराधी हुन् जसले धेरैको क्रुरतापूर्वक हत्या गरे। तर संसारको कुनै पनि देशमा उनलाई अदालतले दोषी ठहर गरेको थिएन। कुन दशा लागेछ र उनी नेपाल आएछन्। पुरानो पाप धुरीबाट करायो र अहिले धेरै वर्षदेखि उनी जन्मकैद भुक्तान गर्दैछन्। अब त छुट्ने बेला पनि भइसक्यो।
२०३२ साल पुस ८ गते।
बिहान सात बजे हवल्दार गुणहरि अधिकारी गस्ती गर्दै थिए। काठमाडौंबाट भक्तपुर जानलाई अहिले जस्तो जापानले बनाइदिएको ६ लेनको बाटो थिएन। तर त्यतिबेलाको नयाँ चाइनिज रोड भनिने ठाउँबाट सिनामंगल जाने बाटोमुनि मनहरा खोलादेखि पश्चिम, पीच सडकदेखि पूर्व, सडकमुनि केही मानिस भेला भएको देखे।
भीडलाई पन्छाउँदै हेर्दा त्यहाँ एक महिलाको लाश देखियो। अन्दाजी १८/२० वर्षकी। उनले प्रहरी प्रतिवेदनमा लेखे- ‘नाङ्गो शरीर, पेट्रोल हाली आगो लगाएको, शरीरको पछाडिको भाग डढेको, गन्जीसमेत आगोले डढेको, मृतक लाशको भुँडीको बीच मुटुको भागमा छुराले हानी कर्तव्य गरी मारेको जस्तो देखिने, जात छुट्याउन नसकिने, हेर्दा युरोपियन देखिने।
प्रहरीले लाश जाँच प्रकृति मुचुल्का उठायो जसमा थप विवरण थियो – गोडा उत्तानो परेको, कपालको रौंहरू डढेको, आँखा चिम्लिएको, टाउकोदेखि पैतालासम्म डढेको, नाकको दाहिने प्वालबाट रगत निस्केको, फिँज आएको र बायाँ नाकको प्वालबाट तरल पदार्थ आई दुबै प्वाल बन्द भएको, दाँतले जिब्रो टोकेको।
विभत्स विवरण यतिमा सीमित थिएन। अगाडि लेखिएको थियो, ‘ पूरै शरीरको भाग नाङ्गो, दुबै दूधको मुन्टा नदेखिएको, दूधको दाहिने पट्टी भागमा अन्दाजी ३ अंगुल जति कोरिएको, मुटुको भाग नेर ४ वटा छुरी रोपको जस्तो, दुबै हात खुम्चिएको र हातका औंलाहरू डढेको, योनीको भाग पूरै डढेको, बायाँ कान डढेको, बायाँ खुट्टा डढेको अन्दाजी १८/२० वर्षकी जात नचिनिने, हेर्दा टुरिष्ट जस्तो जनाना व्यक्तिको लाश।’
‘बायाँ गोडामा कपडाको डोरी बनाई बाँधेको, सो डोरी जली अन्दाजी १ कुरेत जति बाँकी रहेको, बायाँ तिघ्राको भित्रीभागमा घिस्रिएको दाग चिन्ह देखिएको, बायाँ गोडाको बायाँ साइडको माथिल्लो पैतालादेखि देब्रे चाकको पुठ्ठासम्म आगोले जली भित्रको हाड तथा नशाहरू देखिने, दुबै हातको कुमको पछाडि पाता र पुठ्ठाको बीच भाग वा कम्मरको बीचमा आगोले जली भित्रको मासु देखिने, बायाँ पाखुराको बीचमा पूरै डढेको, दायाँ गोडाको औंलादेखि तीघ्रासम्म आगोले डढी फोका उठी फुटेको…’
फोटो साभार : इन्डिया टाइम्स
राजधानीमा सनसनी
राजा वीरेन्द्रको शासनकाल। नगेन्द्रप्रसाद रिजाललाई हटाएर वीरेन्द्रले तुल्सी गिरीलाई तेस्रो पटक प्रधानमन्त्री बनाएको भर्खर २३ दिन भएको थियो। घटनाले राजधानीमा सनसनी मच्चियो।
अनुसन्धान सुरु गर्नुपर्ने प्रहरी सुरुमै अलमलिएको थियो। कहाँबाट सुरु गर्ने अनुसन्धान? लाश कसको हो नै पत्ता लागेको थिएन। नेपाली भए त हराएको उजुरी चौकीमा पर्थ्यो होला। तर विदेशीको जस्तो देखिन्थ्यो।
काठमाडौँका होटलहरुमा कुनै पर्यटक हराएको छ कि छैन खोज्न थालियो। त्यतिबेला अहिलेको ठमेलभन्दा लोकप्रिय फ्रिकस्ट्रिट अर्थात् झोँछेको ओरियन्टल लजका प्रोपाइटरले एक अमेरिकी युवती कोन्नी जो ब्रोन्जीच र क्यानेडियन नागरिक क्यारियरे लरेन्ट त्यहाँ बसेको र धुलिखेल जान्छु भनी गएकोमा नफर्किएको बयान दिए।
क्रिस्टी एम.म्याकमिलन नामका एक अस्ट्रेलियनले ब्रोन्जीचलाई देखे चिन्छु भनिन्। भोलिपल्ट अर्थात् पुस ९ गते उनले लाश कोन्नी जो ब्रोन्जीचकै हो भनी सनाखत गरिदिइन्। एक बेलायती र एक अस्ट्रेलियाली नागरिकले पनि सनाखत गरिदिएपछि लाश ब्रोन्जीचकै हो भन्नेमा शंका भएन।
लाशको पोस्टमार्टमको प्रतिवेदन पनि भोलिपल्टै आयो, जसमा लेखिएको थियो- मुटुको चोटको कारणबाट रक्तश्राव भई आकस्मिक आघातको कारणबाट मृत्यु भएको।
लाश फेला परेको पर्सिपल्ट अमेरिकन दूतावासका अधिकारीले बुझेर लगे।
जसमाथि शंका उसैको हत्या
पुस १८ गते सब इन्सपेक्टर नन्दराम श्रेष्ठले प्रतिवेदनमा लेखे- पुस ५ गतेका दिन क्यारियरे लरेण्ट ओरियन्टल लजबाट धुलिखेल जान्छु भनी निस्केपछि फेरि उक्त लजमा फर्की नआएको। लाश भेटिएको दिन पुस ८ गते बिहान ११:३० बजे उनी बैंकक जाने प्लेनबाट बैंककतर्फ गैसकेको बुझिएको। कोन्नी जो ब्रोन्जीच लाई निज क्यारियरे लरेण्टले कर्तव्य गरी मारी भागी गएको।’
यहाँसम्म प्रहरी पूरै गुमराहमा थियो। क्यारियरे लरेन्टको त पुस ६ गते नै भक्तपुरस्थित साँगा भञ्ज्याङको सडक किनारामा लाश भेटिसकेको थियो। अर्थत् सुरुमा प्रहरीले जोमाथि शंका गरेको थियो, उसको पनि हत्या भइसकेको थियो।
को थियो त हत्यारा ?
अमेरिकी युवती कोन्नीको सोल्टी होटलमा बस्ने एक भियतनामी युवकसँग चीनजान थियो। एक अस्ट्रेलियाली युवती जेनले यो कुरा खुलाएपछि प्रहरीको अनुसन्धान त्यतातिर लाग्यो। सोल्टी होटलमा भियतनामी पर्यटक नबसेको, तर हिन्द–चीन अनुहारसँग मिल्दोजुल्दो एक युवक र निजको साथमा एक युरोपियन केटी डिसेम्वर १८ देखि बसी २४ मा होटल मल्लमा सरेको र २५ तारीखमा पुनः सोल्टी होटलमा आई कोठा नं. ४१५ मा बसेको थाहा भयो।
केटाले आफ्नो नाम हेनरिकस बिटञ्जा बतायो। केटीले कुकी हेमकर। दुवैले आफू हल्यान्डका नागरिक बताए।
केही अघिसम्म हत्यारा ठानिएका लरेन्ट क्यायिरको हत्याराले उसैको पासपोर्ट लिई आफ्नो फोटो टाँसी कीर्ते हस्ताक्षर गरी बैंकक गएको र भोलिपल्ट नै फिर्ता भै अमेरिकी युवती कोन्नी जोको हत्यारा लरेन्ट क्यारियर नै हो भन्ने भ्रम पार्ने उद्देश्य लिएको निचोडमा प्रहरी पुग्यो।
बिटन्जा र हेमकर। यी दुईलाई थाइल्यान्डमा हत्या गरी शोभराज र उनका सहयोगी उनीहरुको नामबाट सोल्टी होटलमा बसेका थिए।
निगरानी मै बेपत्ता
शंकाको घेरामा यही हेनरिकस बिटञ्जा र कुकी हेमकर थिए। तर ठोस सबूद र पर्याप्त शंकाको अभावले गर्दा हिरासतमा राख्न मिलेन। दुवैलाई सोल्टी होटलमा नै बस्न दिई सामान्य निगरानीमा राखिएको थियो। तर २७ डिसेम्वर राति १० बजेसम्म दुवै जना कोठामा रहेको थाहा थियो, त्यसपछि कतिबेला निस्के प्रहरीलाई पत्तै भएन।
उनीहरु बसेको कोठा नम्बर ४१५ मा छापा मार्दा तीन वटा सुटकेश, जुत्ता तथा अन्य कपडा भेटियो। एउटा मनी ब्याग पनि भेटियो जुन सांगामा भेटिएको लाश लरेन्ट क्यारियरको भएको भन्ने उनका दाजु गील्स एम क्यारियरले पुष्टि गरे।
थाइल्यान्डको बैँककमा पनि विदेशीहरुको हत्या भएको थियो। सबैलाई नशालु पदार्थ खुवाई जीउमा ग्यासोलिन हाली आगो लगाई छोडी दिएका थिए हत्याराले। सन् १९७६ मे ७ र ८ को पत्रिका बैंकक पोष्ट मगाई हेर्दा त्यहाँ एलेन गोटियरको नाममा जुन फोटो छापिएको थियो, उही व्यक्ति काठमाडौँमा हेनरिकस बिटञ्जाको नामले बसेको रहेछ। र मोनिक लेक्लर्क यहाँ कुकी हेमकरको नामले बसेकी थिइन्।
एलेन गोटियर तथा मोनिक लेक्लर्कलाई दिल्ली पुलिसले गिरफ्तार गरिसकेको थियो। उनीहरुको वास्तविक नाम थियो चार्ल्स शोभराज र मेरी एण्ड्रे लुसी लेक्लर्क।
एसपी चन्द्रवीर राईले २०३३ साउन २० गते संकलित प्रमाणहरूको आधारमा सुश्री कोन्नी जो ब्रोन्जीचको जघन्य अपराधमा चार्ल्स शोभराज जो काठमाडौं बस्दा हेनरिकस बिटञ्जाको नामले बसेको थियो, भारतीय नागरिक अजय चौधरीको सहयोगमा हत्या गरेको सिद्ध भएको भन्दै गृह पञ्चायत मन्त्रालयलाई सम्बोधन गरी भारतमा पक्राउ भएका ती अपराधीहरूलाई नेपालमा कारवाही गर्न नेपाल भारत अपराधी आदान प्रदान (सुपुर्दगी ऐन) अन्तर्गत कारवाही शुरु गरिदिन हुन भनेर प्रतिवेदन लेखे।
अपराधीहरू सुपुर्द भई आएपछि कारवाहीको लागि पेश गरिने भन्ने उल्लेख भएअनुसार मुद्दा हाल तामेलीमा राखिदिनु भन्ने आदेश काठमाडौ जिल्ला अदालतले २०३४ असार १४ गते दियो।
जाग्यो पुरानो मुद्दा
सुपुर्दगी त के हुनु। तर २६ वर्षपछि २०६० सालमा दरबारमार्गको रोयल क्यासिनोबाट चार्ल्स शोभराज पक्राउ परे। त्यसपछि यो मुद्दा तामेलीबाट फेरि जाग्यो।
शोभराजले आफू पहिले नेपालमा आउँदै नआएको भन्दै हत्या आरोप अस्वीकार गरे।
तर जिल्ला अदालतले २०६१ साउन २८ गते हत्या गरेको नै ठहर गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनायो।
कसूर प्रमाणित गर्ने कुनै प्रत्यक्ष प्रमाण पनि नभएको भन्दै शोभराजले पुनरावेदन अदातलमा चुनौति दिए, त्यहाँ पनि उनको विरुद्ध फैसला आयो। त्यसपछि सर्वोच्चमा गए, परिस्थितिजन्य प्रमाणहरूबाट हत्या भएको स्थापित हुन आएको भन्दै फैसला सदर भयो २०६७ साउनमा।
***
शृङ्खलावद्ध हत्याका दोषी हुन्। सिरियल किलर। अझ उनले त बिकिनी किलरको उपमा समेत पाएका छन्।
भारतीय पिता र अविवाहित भियतनामी आमाको कोखबाट सन् १९४४ को अप्रिल ६ तारिखमा गुरुमुख शोभराजका रुपमा उनको जन्म भएको हो। जन्मेको केही समयपछि नै भारतीय पिताले आमालाई छाडे। आमाकी नयाँ ब्वाइफ्रेन्डले झड्केलो बाबुका रुपमा शोभराजलाई हुर्काए। उनी फ्रान्सेली नागरिक थिए। झड्केलो बाबु र आफ्नै आमाका अरु सन्तानको तुलनामा उनलाई कम महत्त्व दिइएकोले हो कि किशोर उमेर मै उनमा समस्या आइपर्यो।
जेल उनको पुरानो घर हो। उनी पहिलो पल्ट सन् १९६३ मा चोरीको आरोपमा जेल परेका थिए। चोरी र डकैती गर्दै आएका शोभराजले पहिलो हत्या सन् १९७५ मा गरेको पत्ता लागेको छ। उनको पहिलो शिकार सियाटलकी टेरेसा नोल्टन थिइन्। आफ्ना धेरै शिकारलाई हत्या गरेर जलाइदिन्थे शोभराज।
डच विद्यार्थीहरु हेनरिकस बिटञ्जा र उनकी प्रेमिका कुकी हेमकरलाई थाइल्यान्डमा हत्या गरेर उनीहरु कै पासपोर्ट लिएर नेपाल पसेका थिए शोभराज र उनका सहयोगी। यहाँ आएर क्यानाडेली र अमेरिकी दुई नागरिकको हत्या गरेर उनीहरु भागेका थिए।
भारत लगायत अरु थुप्रै देशमा अरु थुप्रैको पनि उनले हत्या गरे। तर भारतमा उनलाई मृत्युदण्डको सट्टा १२ वर्षको जेल सजाय सुनाइयो।
भारतको जेलमा गार्डहरुलाई घुस खुवाएर जेलभित्रै टिभी, मीठो खाना, आरामदायी बाससहित विलासी जेल जीवन उनले बिताए। जेलै उनका लागि ठीक पनि थियो। किनभने थाइल्यान्डमा उनले गरेको हत्याको लागि त्यहाँको सरकारले २० वर्षका लागि अरेस्ट वारेन्ट जारी गरेको थियो। उनी भारतबाट रिहा भएको भए निश्चित रुपमा थाइल्यान्डलाई सुपुर्दगी गरिन्थ्यो र त्यहाँ उनले मृत्युदण्ड पाउँथे। चलाख शोभराजले रिहा हुन २ वर्ष बाँकी छँदा मार्च १९८६ मा कैदी र गार्डहरुका लागि पार्टी दिएर स्लिपिङ पिल खुवाएर जेलबाट टाप ठोके। तर उनलाई तुरुन्तै गोवामा गिरफ्तार गरियो र उनलाई थप १० वर्ष जेल सजाय सुनाइयो।
सन् १९९७ को फेब्रुअरी १७ मा ५२ वर्षको उमेरमा उनी भारतीय जेलबाट रिहा हुँदा उनीविरुद्धका धेरै वारेन्ट, प्रमाण र प्रत्यक्षदर्शी हराइसकेका थिए। सुपुर्दगी गर्ने कुनै देश नरहेकोले भारतीय अधिकारीहरुले उनलाई फ्रान्स फर्कन दिएका थिए।
शोभराजलाई अदालत लगिँदै। फाइल फोटो साभार mensxp.com
पाप धुरीबाट करायो
फ्रान्स फर्केपछि उनी विलासी जीवन बिताइरहेका थिए। उनले आफ्नो अन्तर्वार्ता, कथाका लागि मोटो रकम असुल्थे। तर पाप धुरीबाट कराउन बाँकी थियो। त्यसैले उनी नेपाल आए। सन् २००३ को सेप्टेम्बर १७ मा दि हिमालयन टाइम्सका पत्रकारले शोभराजलाई काठमाडौँको सडकमा भेट्टाए। पत्रिकाले यो स्कूप समाचार छापेको दुई दिनपछि प्रहरीले उनलाई दरबारमार्गको याक एन्ड यति होटलको क्यासिनोबाट उनलाई गिरफ्तार गरेको थियो।
त्यसयता उनको बास सुन्धाराको केन्द्रीय कारागारस्थित गोलघरमा छ। स्क्यान्डल मच्चाउन खप्पिस शोभराजको एक युवती निहिता विश्वाससित प्रेम र बिहेको प्रसंग पनि एकताका चर्चामा थियो। तर अहिले त्यो सेलाइसकेको छ।
नेपालको कानुन अनुसार जन्मकैद भनेको २० वर्षको जेल सजाय हो। सन् २००३ देखि जेलमा रहेका उनी बीचमा सजाय कम गर्ने कुनै निर्णय भए छुट्ने बेला भइसक्यो।
कयौँको बाँच्ने इच्छालाई क्रुरतापूर्वक निमोठेका उनलाई अहिले मृत्युको भयले सताएको छ। त्यसैले पछिल्लो समयमा उनले भन्ने गरेका छन्- म जेलमा मर्न चाहन्नँ।
२०७४ को भदौको पहिलो साता शोभराज कैद हटाउन माग गर्दै आमरण अनशनमा बसेका थिए। तर यो त्यतिकै तुहियो। किनभने कसैले उनको मागलाई वास्ताव्यस्ता गरेनन्। अझ सुरक्षाकर्मीले त भन्नलाई आमरण अनशन बसे पनि लुकेर खाने गरेको देखेको समेत दावी गरे।
किन आएको नेपाल?
चार्ल्स नेपालमा आएको बेलाको सिरिजमा देखाइएको दृश्य
उनी नेपाल चाहिँ किन आएको भन्ने कुरा उनैलाई मात्र थाहा छ। चार्ल्स शोभराजको मुटुको अपरेसन गरेका नेपाली चिकित्सक रामेश कोइरालाले आफ्नो पुस्तकमा स्क्यान्डल प्रेमी शोभराज आफैले चर्चामा आउन नेपाल आएको अनुमान गरेका छन्। यो सिरिजमा पनि त्यस्तै देखाइएको छ। आफूविरुद्ध कुनै पनि प्रमाण नहुने र सजिलै छुट्ने भन्ठानेर उनले आफै आफू नेपालमा आएको हल्ला गर्न लगाएको तर फँसेको देखाइएको छ।
खासमा नेपालमा पनि त्यस्तो दह्रो केही प्रमाण भएको हैन। तर परिस्थितिजन्य प्रमाणकै आधारमा उनलाई दोषी ठहर गरी सजाय दिइयो।
सिरिजमा देखाइएको काठमाडौँ विमानस्थल।
यो सिरिजमा भने एक डच डिप्लोम्याटको यो प्रकरणमा भूमिकाबारे चित्रण गरिएको छ। हर्मन निप्पेनबर्ग त्यतिबेला थाइल्यान्डको डच एम्बेसीका जुनियर डिप्लोमेट थिए। राजदूतको अनुमति बिना हराइरहेका डच पर्यटकको बारेमा उनले आफै निजी अनुसन्धान गरे। पछि उनकै अनुसन्धानको आधारमा इन्टरपोलले नोटिस जारी गर्यो। भारतमा उनी पक्राउ परे। थाइल्यान्डमा मृत्युदण्डबाट बच्न उनी मुद्दाको हदम्यादसम्म भारतमै जेलमा बसिरहने प्रपञ्च रचिरहे।
काठमाडौँमा उनी पक्राउ परेपछि पनि निप्पेनबर्गले नै आफूले गरेको निजी अनुसन्धानका केही कागजातहरु नेपाल प्रहरीलाई पठाइदिएको र त्यसैको सहयोगमा पनि उनीमाथि मुद्दा चलेको यो सिरिजमा देखाइएको छ।
यो सिरिज हेर्नुअघि मलाई शोभराज केसमा निप्पेनबर्गको भूमिकाबारे केही थाहा थिएन। यो हेरिसकेपछि केही समाचारहरु हेरेँ। यो सिरिजपछि उनी फेरि चर्चामा आएका रहेछन्।
यो सिरिजमा नेपाली कलाकारहरुको खासै भूमिका छैन। सिरिज थाइल्यान्ड र भारतमा सुटिङ भएको छ। नेपालका केही दृश्य त छन् तर उतै सेट राखेर बनाइएको जस्तो छ। नेपाल बुझ्ने प्रोडक्सन मेनेजरहरु पनि राखेनन् जस्तो छ। किनभने यसमा नेपाल प्रहरीको ठाउँमा नेपाली पुलिस लेखेको देखिन्छ। नेपाली पुलिसको कार्यालय पनि भारततिरै सुटिङ भएको जस्तो देखिन्छ।
नेपाली इन्सपेक्टर थापाको भूमिकामा भारतीय कलाकार प्रवीश राना छन्। त्यसैले फिल्मको एउटा मात्र नेपाली डायलग पनि भारतीय टोनको सुनिन्छ। धन्न ‘मले दराजबाट सामान मगाको, कस्तो रेच’ खालको छैन।
यसमा भएको एक मात्र नेपाली कलाकार भनेका दीपिका पराजुली हुन्, जसको भूमिका जीवित देवी कुमारीको भूमिकामा झ्यालबाट एकछिन देखिनुमा सीमित छ।
*************************************
माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा यसमा रहेको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।
नेपाली सिनेमाले कथै नभेटेर विजोग छ, शोभराजले सिरिजै ओगटेछ ।