Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब के हुन्छ नेपाली राजनीतिमा? तीन सम्भावना

Posted on April 5, 2021April 5, 2021 by Salokya

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको खुसियालीमा लड्डु खाएका प्रचण्ड र माधव नेपाललाई त्यो लड्डु निल्नु न ओकल्नु बनाउने गरी अर्को फैसला आयो। त्यसपछि राजनीति स्थिर भइरहेको छ। संसद पनि बसेको छ तर खास केही भएको छैन। न अविश्वासको प्रस्ताव आएको छ, न माओवादीले समर्थन फिर्ता लिएको छ, न अरु केही। जस्ताको तस्तै।

यही बीचमा राजनीतिलाई अलि चलायमान बनाउने खालको निर्णय आयो- नेपाली कांग्रेसबाट। कांग्रेसले चैत २० गते प्रम ओलीले राजीनामा दिनुपर्ने र सरकारको नेतृत्व आफैले लिन अग्रसरता देखाउने औपचारिक निर्णय गर्‍यो। अब के हुन्छ त ? तीन वटा सम्भावना छ।

सबैभन्दा पहिला त कांग्रेसले निर्णय गर्दैमा सरकार उसको बनिहाल्दैन। कांग्रेससित त अविश्वासको प्रस्ताव ल्याउन पुग्ने संख्या समेत छैन। प्रस्ताव ल्याउन प्रतिनिधि सभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यको हस्ताक्षर आवश्यक हुन्छ। त्यो भनेको ६९ हो। कांग्रेससित जम्मा ६३ सदस्य छन्। त्यसमा पनि केही त निलम्बित छन्।

कांग्रेसले सरकार बनाउनका लागि तीन वटा पार्टी एक हुनुपर्छ- माओवादी, जसपा र कांग्रेस।

तर एमालेलाई सरकार टिकाइ राख्न जसपाको एक खेमा मात्रको समर्थन भए पनि पुग्छ। त्यसैले कांग्रेसले चाहँदैमा सरकार परिवर्तन नहुन पनि सक्छ। अहिलेको अवस्था हेर्दा तीन वटा विकल्प देखिन्छ।

विकल्प १ : एमाले बाहेकको सरकार

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल एमालेलाई बाहेक गरेर सरकार बन्न असम्भव छैन तर त्यति सहज पनि छैन। एमाले एक्लैसित १२१ सिट छ। सरकार गठन गर्न १३८ सिट आवश्यक हुन्छ।

एमाले बाहेकको सरकार बन्न प्रतिनिधि सभामा रहेका बाँकी सबै दलहरु माओवादी, कांग्रेस र जसपा मिल्नु पर्ने हुन्छ। सरकारको नेतृत्व र पदको भागवण्डाका कारण यसरी बन्ने सरकार गठन गाह्रो हुनसक्छ। त्यस्तै कुनै एउटा निहुँमा सरकारमा रहेको कुनै दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत लिन नसकेका सरकार ढल्छ।

विकल्प २ : एमालेकै सरकार कायम

दोस्रो विकल्प हो- हालकै ओली सरकार कायम रहने। यसका लागि एमालेले प्रतिनिधि सभामा रहेका तीन दलमध्ये एकको समर्थन लिनुपर्ने हुन्छ। माओवादीसित भर्खरै ट्राजिडी परेकोले त्यो सम्भव देखिन्न। कांग्रेस प्रमुख प्रतिपक्षी र प्रतिस्पर्धी भएकोले दुई पार्टी सरकारमा सामेल हुने सम्भावना अलि कम छ। तर अघोषित रुपमा सहकार्य हुनसक्छ। अख्तियारका आयुक्तहरुको नियुक्तिमा देउवाकै सिफारिशका मान्छेहरु परेको उदाहरण ताजै छ।

अहिले जसपाका नेताहरु र सरकारबीच घनीभूत वार्ता भइरहेको छ। यसले पनि जसपा र ओलीबीच सहकार्य हुने सम्भावना बलियो बनाएको छ। एमालेलाई जसपा सिङ्गैको समर्थन पनि आवश्यक छैन। जसपा फेरि टुक्रियो भने एक खेमा अर्थात् १७ जनाको मात्रै समर्थन पाए पनि ओली सरकार कायमै हुनसक्छ।

अथवा यस्तो पनि हुनसक्छ- ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने। तर फ्लोर क्रस वा केही सांसद अनुपस्थित भएर वा त्यस्तै केही भएर अविश्वास प्रस्ताव पारित गर्न आवश्यक मत पुग्न नसक्ने। त्यसो भएपछि आगामी एक वर्षका लागि अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक ग्यारेन्टी भइगो।

विकल्प ३ : कसैको सरकार नबनेर ‘अर्ली इलेक्सन’

अर्को सम्भावना हो, सरकार कसैको बन्न नसक्ने स्थिति आउने र अन्ततः चुनावमा जाने। संसदको कार्यकाल पनि सकिन लागेकोले मध्यावधि चुनाव होइन समयबाट केही अघि मात्रै हुने चुनाव- अर्ली इलेक्सन।

यस्तो कसरी हुनसक्छ- केही सम्भावना हेरौँ।

क) माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने, ओलीले राजीनामा दिने (समर्थन फिर्ता लिए राजीनामा दिन्छु भनेर सार्वजनिक घोषणा ओलीले गरिसकेका छन्)। त्यसपछि नयाँ सरकार बनाउने कसरत सुरु हुन्छ। कसैले सरकार बनाउन आवश्यक समर्थन जुटाउन सक्दैनन्। त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताका रुपमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्छन्। उनले ३० दिनभित्र विश्वासको मत लिन खोज्छन्। विश्वासको मत लिन नसकेपछि सरकार ढल्छ। अर्को सरकार बन्न सक्दैन। त्यसपछि ओलीले मंसिर महिनामा चुनाव गराउने गरी प्रतिनिधि सभा विघटन गर्छन्।

ख) माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने, ओलीले विश्वासको मत लिने। विश्वासको मत लिन असफल भएपछि सरकार ढल्छ। तर नयाँ सरकार बनाउन आवश्यक समर्थन कसैले जुटाउन सक्दैन। त्यसपछि फेरि उही माथिकै कुरा- राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताका रुपमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्छन्। उनले ३० दिनभित्र विश्वासको मत लिन खोज्छन्। विश्वासको मत लिन नसकेपछि सरकार ढल्छ। अर्को सरकार बन्न सक्दैन। त्यसपछि ओलीले मंसिर महिनामा चुनाव गराउने गरी प्रतिनिधि सभा विघटन गर्छन्।

ग) सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने, पारित हुने, सरकार ढल्ने। अविश्वास प्रस्तावमा नाम रहेका प्रधानमन्त्री नियुक्त हुने। तर उसले संसदमा विश्वासको मत पाउन नसक्ने। त्यसपछि फेरि उही माथिकै कुरा- राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताका रुपमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्छन्। उनले ३० दिनभित्र विश्वासको मत लिन खोज्छन्। विश्वासको मत लिन नसकेपछि सरकार ढल्छ। अर्को सरकार बन्न सक्दैन। त्यसपछि ओलीले मंसिर महिनामा चुनाव गराउने गरी प्रतिनिधि सभा विघटन गर्छन्।

तपाईँलाई के लाग्छ कुन्नि ? मलाई चाहिँ धेरै सम्भावना तेस्रो विकल्पको लाग्छ। त्यो भइहालेन भने चाहिँ दोस्रो विकल्पतिर देश डोरिएला।

3 thoughts on “अब के हुन्छ नेपाली राजनीतिमा? तीन सम्भावना”

  1. यम. आर. says:
    April 5, 2021 at 11:24 pm

    जुनसुकै सरकार आओस वा अर्ली चुनाव घोषणा होस कुनै हालतमा ओली प्रधानमन्त्री रहिरहन हुँदैन|ओलीले बबन्डर मचाएका छन, दुई तिहाईको खिल्ली उडाएका छन| अब यस्तो प्रमाणित भयो प्रचण्डे र माधव नेपाल झलनाथ, भुसालहरुले नरोकेको भए ओलीले यस्तो बबन्डर र बबाल शुरुमै मचाउने रहेछन| एउटा गणतन्त्रको प्रधानमन्त्रीमा हुनपर्ने सहिष्णुता, राजनेतापन, समावेशिता, विशाल ह्रीदय, ठुलो छाहरी, सबैलाई मिलाएर सम्हालेर लैजाने क्षमता र आवश्यकीय अगुवाई कला केही पनि ओलीमा पाईएन| मपाई, संकिर्णता, सन्देही, अपारदर्शी, आपसमै जुधाउने, छेडखानी घोचपेच कला, समुह र गुट चलाऊने, स्वेच्छाचारी, निरंकुश, आफ्नो बिपक्षीलाई सिद्ध्याउने इत्यादी विद्यमान छन| यस्ता तालले देशको नेत्रित्व गर्न सकिदैन| एमाले ओली पक्षका खाईपाई आएका कार्यकर्ता र नेताहरुका ओलीका कृयाकलाप बिरुद्ध किन मुख बन्द छन|आज नभए भोलि त सत्य र यथार्थको सामना गर्नै पर्छ| माधव नेपाल प्रचन्ड आदि दुधले धोएका छन भन्ने कदापि होइन तर ओलीमा चरम अहंकार र दम्भ छ| यो दम्भ र अहंकारले देश चुर्लुम्म डुबाएको छ| ओलीमा राजनेतामा हुनपर्ने गुण जिरो छ|१६५ वटा सडकको शिलान्यास गरेर आफ्नो नाम ३ ४ को धातुमा खोपाउने उदेश्यले भन्दा पहिले भएका सडकहरु हिलो धुलोमुक्त, सुरक्षित र ब्यवस्थित गराउनतिर लागे हुन्थ्यो| धातुमा रङ उढ्ने संगै सडक परियोजना पनि खत्तम हुनेछन|
    जुनै पनि कोणबाट ओलीको नेत्र्तिवलाई तीनबर्षको मुल्याङ्कन गर्दा दुईतिहाइ पाएका उनी असफल भएका छन| असफलताको जवाफदेहिता उनैले लिनपर्छ| दुईतिहाईको दुरुपयोग गरेका छन| एब्सोल्युटली नो मोर ओली|
    अब आँफै असक्षम रहेका ज्ञानेन्द्रले समेत सार्वजनिक रुपमा असक्षम घोषणा गरेका शेरेको पालो आउछ होला, ज्योतीषले दान पाउने भए| यो भन्दा ठुलो विडम्बना अरु के होला? जसपाको खिचडी पनि पाक्दैछ| सबैलाई मन्त्री हुन हतार र पीए राख्न हतारो| नातालाई जागिर दिन हतार| झन्डीवाल गाडी चढन हतार| घुस खाएर मोटाउन हतार| कुनै दिन यस्तो आउँला जब मन्त्रीलाई सुक्ष्म रुपमा निगरानीमा राखेर नेपाली जनता र मेडियाले गोकुल बाँस्कोटा हरकत गर्न निषेध गर्ला, तब मन्त्री जिम्मेवार बनला|
    ओलीले जती गफ दिएपनी फेरी चुनावमा दुई तिहाई पाउला भन्ने सोच्दै नसोचे पनि हुन्छ|
    दुईतिहाइ पाएका ओली असफल भएका छन|असफलताको जवाफदेहिता उनैले लिनपर्छ| दुईतिहाईको दुरुपयोग गरेका छन| एब्सोल्युटली नो मोर ओली|

    Reply
  2. बासु says:
    April 5, 2021 at 8:44 pm

    तर अर्को समस्या भनेको एमालेमा नेपाल र ओली समुह दुई फ्याक पनि छ । १२१ त के गनाई भयो र? ओलीपक्षको जम्मा ७८ मात्र छ क्यारे ।
    यसले पनि समस्या नै देखाउँछ ।

    Reply
  3. Santosh says:
    April 5, 2021 at 3:42 pm

    Dherai din pachi hajur ko lekh aaye chha Nepal ko ahile ko bartaman rajnitik awastha ko bare ma. Khusi laagyo. Kripaya update gardai garnu hola kinaki yaha ta aru kunai medialai bishwas garna sarai garo chha.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme