Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुलिसले सुटुक्क सच्यायो हुँदै नभएको नगरपालिका, मिडियाले चैँ सच्याउलान् त?

Posted on March 18, 2021March 18, 2021 by Salokya
एआइजी साबको पत्रकार सम्मेलन।

अस्ति भर्खरैको कुरा हो- अमेरिकी दूतावासले आफ्नो प्रेस विज्ञप्तिमा एउटा गल्ती गर्दा माफी मागेर त्यसलाई सच्याएको सूचना सामाजिक सञ्जालमा राखेको। विज्ञप्तिलाई आँखा चिम्लेर विश्वास गरी समाचार बनाउँदा नेपालका मिडिया फेरि एक पटक नराम्रोसित चिप्लिए।

यस पटक मिडियालाई चिप्लाउने काम अरुले हैन, नेपाल प्रहरीले गरेको थियो।

तपाईँहरुलाई याद छ नि- पत्रकारहरुले त्यो अर्बौँ अर्बको बढाबढ गरेर समाचार लेखेको! हो त्यही समाचारमा एउटा ठूलो गल्ती गरेको थियो प्रहरीले। प्रहरीको आधिकारिक विज्ञप्तिमा नेपाल भर कहीँ हुँदै नभएको नगरपालिकाको नाम राखिएको थियो।


बागजोर नगरपालिका। हो यही नामसहित नेपाल प्रहरीको मेट्रो अर्थात् महानगरीय प्रहरी कार्यालयले विज्ञप्ति पठाएको थियो। विज्ञप्तिका अनुसार रामेछापको बागजोर नगरपालिका-४ बस्ने एक जनालाई प्रहरीले पक्रेको थियो।

तर रामेछापमा जम्मा दुई वटा नगरपालिका छन्- रामेछाप र मन्थली। बागजोर नाम गरेको त नेपालभरीमा कुनै नगरपालिका नै छैन। न त्यो नाम गरेको कुनै गाविस नै छ।

माइसंसारले यो बारे ब्लग लेखेपछि प्रहरीले सुटुक्क आफ्नो विज्ञप्ति सच्याएको छ। प्रहरीले विज्ञप्ति सच्याएर यस्तो बनाएको छ-

नेपाल प्रहरीको महानगरीय प्रहरी कार्यालयको आधिकारिक साइटमा अहिले राखिएको समाचारमा जिल्ला रामेछाप, मन्थली नगरपालिका -४ बस्ने भनेर ठेगाना परिवर्तन गरिएको छ। हेर्नुस् आधिकारिक साइट। यो साइटमा पहिला के लेखिएको थियो, अर्काइभ लिङ्क हेर्नुस्।

अर्थात् पुलिसले हुँदै नभएको नगरपालिकाको नाम राख्यो भनेर ब्लग लेखिसकेपछि बागजोर नगरपालिका-४ को नाम परिवर्तन भएर मन्थली नगरपालिका-४ बनाइएको छ।

तर यसरी नगरपालिकाको नामै गलत राखेर सारा मिडियालाई झुक्याएकोमा प्रहरीले माफी भने माग्न कञ्जुस्याइँ गरेको छ।

तपाईँलाई के लाग्छ? माफी मागेर सच्याउनु पर्ने होइन र ?

प्रहरीको गल्तीले कस्तो असर पर्‍यो त? यहाँ हेर्नुस्-

बागजोर नाम गरेको नगरपालिका नेपालमा कतै छँदैछैन। तर अहिले इन्टरनेटमा ‘बागजोर नगरपालिका’ लेखेर सर्च गर्नुभयो भने ४ सय भन्दा बढी नतिजा देखाउँछ।

अर्थात् प्रहरीको एक गल्तीले ४ सय भन्दा बढी ठाउँमा ठाउँको गलत नाम रहन गयो।

यसरी गल्ती गर्नेहरुमा नाम चलेका मिडियाहरु पनि थिए- जस्तै अनलाइनखबर, नेपाललाइभ, देशसञ्चार आदि।

अनलाइनखबर।

देशसञ्चार।

नेपाललाइभ।

गोरखापत्र।

इकागज

पुलिसले त गल्ती सच्यायो। तर के पुलिसको विज्ञप्ति जस्ताको तस्तै हालेका यी मिडियाले पनि गल्ती सच्याउलान् त ? विज्ञप्ति आयो, त्यही हालेका हौँ भन्ने पाइयो त मिडियाले? मिडियाको आफ्नो जिम्मेवारी केही हुन्न ? विज्ञप्तिमा पोखरा जिल्लाको काठमाडौँ महानगरपालिका लेखियो भने हो कि होइन नहेरी त्यही हाल्दिन मिल्यो त? मिलेन नि हैन र ? अब यो बागजोर लेखेका मिडियाहरुले पनि सच्याउलान् त ?

अरुको त के कुरा, मेट्रो बाहेक नेपाल प्रहरीकै केन्द्रीय समाचार कक्षले त अझैसम्म सच्याएको रहेनछ नाम। अझै बागजोर नगरपालिका नै देखिन्छ, हेर्नुस् लिङ्क। अर्काइभ लिङ्क।

अपडेट : यस पटक भने नेपाललाइभले पहिले जस्तै केही तथ्य अन्यथा परेकोले सच्याएको छ भनेर अमूर्त र अस्पष्ट पाराले नलेखी राम्रैसँग लेखेर माफी मागेको छ-

अब पालो अरु मिडियाको।

के नामको ठाउँ रहेछ खासमा ?

खासमा यो ठाउँको नाम के रहेछ भन्ने निकै खसखस लाग्यो मलाई। रामेछापकै पत्रकार शंकर बरुवालका अनुसार बागजोर नामको कुनै ठाउँ रामेछापमा छैन। कठजोर नामको गाविस चाहिँ थियो। तर २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ स्थानीय तह लागू गर्दा यो गाविस विघटन गरिएको थियो।

पक्राउ परिएका भनिएका व्यक्ति साबिक कठजोर गाविस वडा नम्बर ४ का बासिन्दा रहेछन् उनका अनुसार। हाल यो ठाउँ मन्थली नगरपालिका वडा नम्बर ३ मा पर्छ। प्रहरीले अझै पनि मन्थली-४ लेखेको छ। जुन उनका अनुसार अझै गल्ती नै हो। मन्थली-३ हुनुपर्ने हो सही। कि साबिक कठजोर गाविस-४ हुनुपर्ने हो।
सम्बन्धित ब्लग 
 हुँदै नभएको नगरपालिकामा बस्‍ने मान्छेले ‘युरेनियम’ बेच्‍न हिँडेका? कति हाँस्‍नु!
हाम्रा मिडिया साह्रै खतरा : मलालाले पाउँदै नपाएको पुरस्कार आफैले बाँडिदिए मुस्कानको नाममा
 ‘कान्तिपुर’ लाज पचाएर चुप बस्ने, ‘काठमान्डु पोस्ट’ माफी माग्ने : ‘मलाला कान्ड’मा नेपाली मिडिया कसले के गरे?

3 thoughts on “पुलिसले सुटुक्क सच्यायो हुँदै नभएको नगरपालिका, मिडियाले चैँ सच्याउलान् त?”

  1. Pingback: प्रहरीले नै गर्‍यो कानुनको उल्लङ्घन अनि मिडिया लाग्यो पछि-पछि – MySansar
  2. Pingback: मिडिया र एयरलाइन्सलाई कति हतार भा’को, आफै राख्‍दिन मिल्छ र प्रदेश १ को नाम? « Mysansar
  3. जेबी says:
    March 19, 2021 at 1:21 am

    जे होस माईसंसारले औल्याएर प्रहरीले सच्याएछन, सर्वज्ञानी हाकिमलाई थाहै दिएनन होला| गँहु र कोदो नकेलाई जस्तातस्तै पस्कने अन्य मेडिया दंग परे होलान|
    मलालाको गलत लास्टनेम हिज्जेमा पनि अमेरिकी राजदुतावासले माफी माग्न कन्जुसाई नगरी सच्चाएको भए हुन्थ्यो? राजदुतावासको प्रेस विज्ञप्तिमा हुनपर्ने मलाला युसुफजाई, तर भएको छ मलाला युसज्फाइ| छाडो झिनामसिना चुहेको पसिना भनेर कँहा उम्कन पाईन्छ? हाम्ले हेरीराख्या छैनौ र भन्या?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme