
आजभोलिका पत्रकारहरु के साह्रो मेसिन भा’का हौ, अचम्म लाग्छ कहिलेकाहीँ। मेसिन मतलब भएको दिमाग नचलाउने। जे आयो, त्यही लेखेर प्रकाशन गरिदिने !
कति अर्बको पो हो, युरेनियम फेला पर्यो रे भनेर एआइजी हरिबहादुर पालले पत्रकार सम्मेलन गरेछन् शुक्रबार। आइजी मुनिका एआइजीले गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी भनेर हो कि के हो, आँखा चिम्म गरेर पत्याइहाले हाम्रा पत्रकारहरुले। अस्ति नै एउटा ब्लग लेखेको थिएँ – ‘गोपी कृष्ण कहो’ भन भनेर बोल्न सिकाएपछि सुगाले त्यही बोल्छ। के हाम्रा क्राइम रिपोर्टर पनि सुगा हुन् र प्रहरीले जे सिकायो, त्यही बोल्नुपर्ने ? छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नु होला। त्यसैमा सोधेको थिएँ- प्रहरीले झुटो पनि बोल्न सक्छ भन्ने चेत नेपालका क्राइम रिपोर्टरहरुमा कहिले आउने हो?
कहिले-कहिले ! यी यही युरेनियम प्रकरणमा देखिहालियो नि।

युरेनियमको बारेमा पछि कुरा गरौँ। सबैभन्दा पहिला प्रहरीले युरेनियम भनेको पदार्थसहित पक्राउ परेकाहरुको नाम ठेगाना हेरौँ। सबै मिडियामा आएको नाम हो- रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने।
केही देख्नुभो यो नाम र ठेगानामा ?
मानिस हो भने देख्नुहुन्छ, मेसिन हो भने देख्नुहुन्न।
रामेछापको बागजोर नगरपालिका-४ रे। भो त अब ! कहाँ छ रामेछापमा बागजोर नाम गरेको नगरपालिका ?
रामेछाप मेरो ससुराली जिल्ला। त्यहाँ जम्मा दुई वटा नगरपालिका छ- मन्थली नगरपालिका र रामेछाप नगरपालिका।
अनि ६ वटा गाउँपालिका छन्- उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका र सुनापती गाउँपालिका।
नगरपालिकाको त कुरै छाडिदिउँ, गाउँपालिका पनि त्यो नामको छैन रामेछापमा।
अझ रामेछापमा मात्र हैन, पूरै नेपालमा पनि यो बागजोर नामको नगरपालिका देखिनँ है मैले। अनि प्रहरीले कहाँबाट बागजोर नगरपालिकाको मान्छे समात्यो हँ ?
अनलाइनखबरको समाचारमा हुँदै नभएको बागजोर नगरपालिका
अनलाइनखबरमात्र होइन, अरु थुप्रै अनलाइनले पनि यस्तै हालेछन्-
अरु पनि छन्
यो त गुगल सर्च गर्दा देखिएको एक पेजको मात्र । यस्ता तीन पेज छन्।
यत्रो सब मिडियाले विश्वास गरेका छन् एआइजी साबको कार्यालयले पठाएको प्रेस रिलिजलाई। अब एआइजी साबले कहाँबाट रामेछाप जिल्लामा बागजोर नगरपालिका बनाएर त्यसको ४ नम्बर वडा खोज्नुभो, पत्रकारहरुले नै सोध्नुहोला नि !
कति अर्ब रे? बढाबढ प्रतिस्पर्धा !
अनि त्यो बरामद गरिएको वस्तु कति मोल पर्ने भन्ने बारे मिडियाहरुले गरेको प्रतिस्पर्धा हेर्नु न फेरि, अर्को हाँस्नुपर्ने कुरा 🙂
१२ खरीले १२ को आधा ६ अर्ब भनेर लेख्यो।
अनि बिजनेस पोर्टल बिजमान्डुले भने घटाएर ५ अर्ब लेख्यो। यसो हेर्दा अङ्क १ मात्र घटे जस्तो छ नि है। तर १ होइन नि यो, १ अर्ब पो हो त। अर्ब ! आम्मामा !
बिजमान्डुको समाचारमा अर्को एउटा रमाइलो कुरा पनि छ। त्यसमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आइजी हरिबहादुर पालका अनुसार २ सय ३८ क्यारेटको युरेनियम जफत भएको छ… रे।
कति हाँस्नु !
महानगरीय प्रहरी कार्यालयका प्रमुख कहिलेदेखि आइजी (प्रहरी महानिरीक्षक) हुन थाले? अनि शैलेश थापा क्षेत्रीलाई हटाएर हरिबहादुर पाल कहिलेदेखि आइजी भएछन् ? अर्को हाँसउठ्दो कुरा त २ सय ३८ क्यारेटको युरेनियम रे 😛 साथीहरुले सुन जस्तै युरेनियम पनि क्यारेटको हुने भन्ठानेछन्।
यो दुइटैलाई जित्ने अर्को भने नेपालखबर रहेछ। के चानचुन १, २ अर्बमा हान्ने भनेर उसले त ड्याम्मै ३६ अर्ब पो ठोक्दिएछ बाब्बै !
युरेनियम नै हो त ?
युरेनियम नै हो, पुष्टि भइसक्यो भनेर समाचार लेख्नेहरुले पुलिस दाइको दावीमात्रै लेखेका हुन्। यो विषयका जानकारहरुसित कुरा गरेको थिएँ मैले। उनीहरुले पनि पत्याएनन्। शंका नै गरे।
रसायन शास्त्र विधाका वैज्ञानिक वसन्त गिरीले युरेनियम हो कि होइन भनेर पुष्टि गर्नका लागि आईसीपीएमएस मेसिन चाहिने जानकारी दिए। त्यो मेसिन नेपालमा छ कि छैन भन्ने मै शंका रहेछ।
हिमालखबरमा प्रकाशित रिपोर्टमा खानी तथा भूगर्भ विभागका अधिकारीले नेपालमा युरेनियमको पारमाणविक भारलाई छुट्याएर विश्लेषण गर्ने ल्याब र त्यस्तो खाले रसायनिक संरचना नै छैन भनेका छन्।
मिडिया कुन ल्याबमा परीक्षण गरियो भन्नेमा पनि अलमल रहेछ। नेपाललाइभको यो समाचार हेर्नुस्-
यसमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको लेखिएको छ। तर प्रयोगशालासँग आवद्धसित कुरा गर्दा त्यहाँ परीक्षण नभएको जानकारी पाइयो।
यही बारेमा समाचार लेखेका एक पत्रकारले एआइजीलाई सोध्दा रोनास्टको ल्याबमा भने रे। भो त अब ! देशमा गणतन्त्र आएपछि रोनास्टको रो हटेकै कति वर्ष भइसक्यो ! अब त नास्ट हो।
नास्टका प्रविधि प्रमुख वरिष्ठ वैज्ञानिक रविन्द्र ढकालसित कुरा भयो। उनलाई पनि यो कुरा हावा नै लागेको रहेछ- अचेलको रेड मर्करीवाला फन्डा जस्तो। युरेनियम जस्तो कुरामा पनि त्यसरी दुई किलोमा बोक्दै किनबेच गर्न हिँड्छन् त भन्ने उनलाई लागेको रहेछ। तर उनी निजी कामले पोखरामा रहेछन्। त्यसैले ठ्याक्कै नास्टमा के भएको थियो भन्ने चाहिँ थाहा भएन।
नास्टका प्रवक्तासित मैले फोनमा सम्पर्क गर्न खोज्दा हुनै सकेन। तर हिमालले प्रवक्ता डा. सुरेशकुमार ढुंगेललाई सोध्दा उनले “यो उच्च रेडियोधर्मी विकिरणयुक्त पदार्थ मात्रै भएको हाम्रो परीक्षणले देखाएको छ, युरेनियमकै कच्चा पदार्थ पनि हो कि होइन भनी यकिनसाथ भन्न सकिँदैन” भनेका रहेछन्।
वास्तवमा युरेनियम नै हो वा होइन, भए पनि त्यो कस्तो वर्गीकरणको हो भनेर हेर्ने हाम्रो क्षमता छैन भनेर नास्टकै प्रवक्ताले भनेपछि कुरो प्रष्ट भएन र? पुलिसले यत्तिकै उत्तेजित भएर युरेनियम भन्दिए, हाम्रा क्राइम रिपोर्टर त्यो भन्दा भावुक भएर अर्ब अर्बको बोली लगाउँदै समाचार लेख्न थाले।
प्रहरीले बनाएको कथा पनि गजबकै छ। २० वर्षअघि भारतमा काम गर्ने एक जनाले ल्याएर घरमा लुकाएर राखेको रे। त्यो युरेनियम हो भने त त्यसरी राख्नु जोखिमको कुरा भयो नि। वैज्ञानिक गिरीका अनुसार युरेनियम स्वास्थ्यका लागि हानिकारक हुन्छ। यो श्वासका माध्यमबाट मान्छेको फोक्सोमा गयो भने त्यसले नराम्रो असर गर्छ। यस्तो जोखिमको कुरा हो भने पुलिसले सुनचाँदी पक्रेको जस्तो गरेर अगाडि राखेर के सार्वजनिक गरेका होलान् ! अनि पत्रकारहरु पनि कस्ता ! हेरौँ न हेरौँ भनेर पोका खोलेर फोटो खिचेछन्। हैट, अजब नेपालको गजब कथा !
८ वर्षअघिको युरेनियम ब्लग
लास्टमा यो युरेनियम फन्डा पनि ८ वर्षअघि मैले माइसंसारमा लेखेको ब्लग पाराको हुन बेर छैन। त्यतिबेलाको ब्लगमा लेखेको कुरा यता कपिपेस्ट है त।
सन् ७० को दशकमा काठमाडौँस्थित अमेरिकी दूतावासमा एक जना नेपालीले भारतबाट चोरेको युरेनियम बेच्छु भन्दै आएछन्। जेसी ठाकुर रहेछ उसको नाम। लौ लिने भए लिऊ, नत्र अर्कै एम्बेसीतिर जाउँला पनि भनेछन्। लौ भएन त बर्बाद ! युरेनियम ! हतियार बनाउन प्रयोग हुने सामान पो त ! खैलाबैला नै मच्चिएछ नि।
लौ यस्तो कुरा आयो, के गर्ने भनेर यहाँको दूतावासले अमेरिकाको विदेश मन्त्रालयलाई सोधेछ। ठाकुरले टेस्ट गर्नका लागि स्याम्पल पनि दिन्छु भनेका रहेछन्। नमूना लिएर आयो भने कसरी तपाईँहरुकहाँ परीक्षण गर्न पठाउने ? त्यो युरेनियम रहेछ भने कसरी त्यसलाई ह्यान्डल गर्ने ? खुला हातले छुन हुन्छ कि हुन्न ? कस्तो सावधानी अपनाउनु पर्छ आदि प्रश्नसहितको केबल यताको दूतावासबाट उता वासिङ्गटन पठाइयो।
उताबाट पनि यस्तो यस्तो सावधानी अपनाउनू भनेर जवाफ पठाइयो। नभन्दै ठाकुरले नमूना पनि लिएर आए। कुरा धुत्न खोजेपनि केही कुरा पत्ता लगाउन सकेनछन्।
यताको दूतावासले भारतको अमेरिकी दूतावासमा कुरा गरेछ। त्यहाँबाट भारतीय सुरक्षाका ठूला निकायसम्म कुरा पुगेछ। लौ भारतीयहरु पनि हैरान! को रहेछ त्यो लौ न सूचना दिनुस् भनेर भनेछन्।
जापानका लागि नेपाली राजदूतको भाइ हो कि दाइ भनेर चिनाउने ठाकुरे उतिबेला ४० हजार डलर प्रति किलोमा यु-२३५ बेच्छु भनेका रहेछन्।
लास्टमा त्यो नमूना परीक्षणका लागि पठाइएछ। अनि त्यहाँ परीक्षण गर्दा त….यस्तो नतिजा भेटियो पनि केबल पठाइएको रहेछ –
ANALYSIS OF PURPORTED U-235
Date:1973 October 18, 21:14 (Thursday)
AEC REPORTS THEIR ANALYSIS OF PURPORTED U-235 SHOWS THE
SAMPLE TO BE PRIMARILY IRON WITH SMALL QUANTITIES OF
MANGANESE. NO URANIUM DETECTED. SETHNA MAY BE INFORMED.
KISSINGER
CONFIDENTIAL
अर्थात् यो युरेनियमै हैन रहेछ ! तैपनि ठाकुरले निकै ठूलो हङ्गामा मच्चाइदिएका रहेछन् उतिबेला। सम्बन्धित केबलहरु यहाँबाट हेर्न सकिन्छ।
अब अहिले पनि उस्तै होला जस्तो छ। पुलिसले हुँदै नभएको रामेछापको बागजोर नगरपालिकामा बस्ने मान्छेलाई समातेर युरेनियम पक्रिएको हल्ला गरे। धेरै पत्रकारले पत्याएर जस्ताको तस्तै समाचार लेखे। धन्न केही पत्रकारले प्रहरीको कुरामा शंका गरे। अब सुगा बनेका पत्रकारहरुले पनि फलोअप गर्लान् नि। आशा गरौँ।
२०/२५ बर्ष अघि ठमेल मा एउटा हल्ला ब्यापक थियो, ५/७ जना को टोली ले चाइनीज र इराकी मुद्रा को स्यामपल देखाउँदै एक गोदाम स्टॉक रहेकोले तेस्लाई के कसरी साटन सकिन्छ भनेर तेस्का पछि थुप्रै दलाल हरु लागेका थिए यस्मा को कति फसे त्यों त थाहा भएन तर यो यूरोनियम हल्ला पनि कसैलाई फसाउने नियत ले गरेको प्रोपोगंडा हो मात्र भन्छु म
माइ सन्सार येउताइ मात्र हो जुन अरु भन्दा फरक छ। नेपालमा पत्रकारहरुले घरमा बसि बियेरको चुस्की मा रिपोर्त लेखेपछी येस्तै हुन्छ। हाम्रो देशको पत्रकारिताको स्थिती भारतको भन्दा नराम्रो भइसके जस्तो लाग्छ। नेपालमा न्याये र सन्चार अब पुर्ण रुपमा पैसामानै बिकेको छ।
यस्तै यस्तै उडन्ते र मनगढन्ते समाचार दिने गरेकाले नै कथित मूलधार भनिएका पत्रपत्रिकाका समाचारमा धेरैले विश्वास गर्न छोड्सके। जे होस् सालोक्यजीको यो सूक्ष्म खोजीको तारिफ गर्नै पर्छ। हत्त न पत्त स्कूप मार्नेहरु हैरान परेका होलान्।
पत्रुकारहरुको सनसनी फनफनी र प्रहरीको हिरोइज्म मान्नै पर्छ| केपी ओलीले यो रडाको मचायो, सर्बस्व हात पार्यो, अब उनलाई कसैले सक्दैन, देशै जित्यो, भडखालोमा हाल्यो, अन्धेरो सुरुङमा पस्यो, खत्तम पर्यो जस्ता गुडन्ते फिरन्ते समाचारबाट आजित र लज्जित भएका जनताको ध्यान अन्तै खिंच्न भने सफल भएको छ| लिम्पियाधुरा र कालापानी ईतिहास भएकै हो? पूर्व परराष्ट्र मन्त्री र ओली नियुक्त वर्तमान चीनका राजदुतले भने अनुसार राजा महेन्द्रले सुनको वदलामा
हाम्रा भुमि साटेका हुन त? होइन भने यस्तो गैरजिम्मेवारी वक्तब्य दिनेलाई वाहवाही होइन कारवाही गर्नपर्यो| कुरा मोढ्नु नै थियो भने उक्त मुद्दाका कथ्य तथ्य सवुत प्रमाण अनुसन्धान गरेर प्रकाशमा ल्याई सनसनी फैलाए हुने थियो|
युरेनियम भनेको गैंडाको खाग र हात्तीको बँगरा जस्तै हो?