Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई जनालाई सैनिक अदालतले, एक जनालाई मिडिया आफैले बर्खास्त गरिदिएछ

Posted on March 12, 2021March 12, 2021 by Salokya

हाम्रा मिडियाले पनि रमाइलो गर्छ अचेल। अस्ति भर्खर मिडियाले मलाला युसुफजाईलाई अमेरिकाले दिँदै नदिएको अवार्ड दिलाइदियो। आज फेरि एक महिला सैनिक अधिकृतलाई मिडिया आफैले बर्खास्त गरिदिएछ भन्या।

समाचारहरु हेर्नुहुन्छ तपाईँले पक्कै पनि देख्नुभयो होला- २०७७ फागुन २८ गते शुक्रबार देशका प्रमुख मिडियाहरुमा नेपाली सेनाले एक सहायक रथी (जर्नेल) र दुई महिला अधिकृतहरुलाई बर्खास्त गरेको समाचार। ती मिडियाहरुले लेखे अनुसार ‘यौन प्रकरणमा मुछिएका’ ती तीन जनालाई कारबाही गरिएको हो।

तर कुरो त्यस्तो होइन।

कारबाही जम्माजम्मी दुई जनालाई भएको हो, दुई महिलालाई होइन। एक जर्नेल र एक अधिकृत। सैनिक अदालतले यस्तो सजाय गरेको हो।

सैनिक अदालतको इजलास सम्बन्धित सैनिक अदालतको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्छ। सोही इजलासले मुद्दामा कसुर ठहराउने वा सफाइ दिने काम गर्छ।

सैनिक अदालतको गठन, इजलास बसेको र फैसला भएको विषयबारे जानकारी सर्वोच्च अदालतको मातहतमा रहेका अन्य अदालतहरुको जस्तो सार्वजनिक रुपमा उपलब्ध हुन्नन्। यसबारे सेनाले आधिकारिक प्रेस विज्ञप्ति पनि सार्वजनिक गरेको छैन।

त्यसैले यो विषयमा आधिकारिक जानकारी पाउन नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेललाई सोध्दा उनले नेपाली सेनाका एक जना सहायक रथी र एक जना महिला सैनिक अधिकृत गरी दुई जनालाई मात्रै बर्खास्त गरेको जानकारी दिए।

प्रवक्ता पौडेलको भनाई अडियोमा सुन्नुस्-

@salokyaa##NepalFactCheck के मिडियामा आए जस्तै नेपाली सेनाले ‘यौन प्रकरण’मा मुछिएका तीन जनालाई बर्खास्त गरेको हो?♬ original sound Umesh Shrestha

उनले सैनिक अदालतले ‘पदीय मर्यादा पालना नगरेको र सैनिक अनुशासन र आचरण तथा आचार संहितासमेत विपरीतको कार्य गरेको’ कसुरमा मिति २०७७ फागुन  १६ गतेबाट लागू हुने गरी भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरेको बताए। मिडियामा तीन जना भनेर संख्या तोकेरै समाचार आएको बारे सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘जम्माजम्मी हामीले यस प्रकरणमा कारबाही गरेको नेपाली सेनाका एक जना सहायक रथी र एक जना महिला सैनिक अधिकृत मात्रै नै हो।’

कुन मिडियामा कस्ता समाचार?

यो समाचार सबैभन्दा पहिला मैले कान्तिपुरको अनलाइन संस्करणमा देखेको हुँ। कान्तिपुरको अनलाइन संस्करणमा बिहीबार राति यो समाचार छ जसमा ‘जर्नेल (पंकज) कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्को महिला सैनिकलाई यौन दुर्व्यवहार गरेको अनुसन्धानमा पत्ता लागेको हो’ लेखिएको छ।

भोलिपल्टको कान्तिपुर राष्ट्रिय दैनिकको पहिलो पेजमा पनि यो समाचार छापियो- ‘सहकर्मीमाथि यौन दुर्व्यवहार गर्ने जर्नेल बर्खास्त’ शीर्षकमा। समाचारको दोस्रो प्याराग्राफमा ‘कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिक पनि बर्खास्तीमा परेका छन् । कोर्ट अफ इन्क्वायरीले अनुसन्धानका क्रममा कार्कीसँगै ती महिला सैनिकहरूको पनि आचरणमा गलत मनशाय देखिएको स्रोतले बतायो’ लेखिएको छ।

राजधानी राष्ट्रिय दैनिकले ‘यौन प्रकरणमा मुछिएका जर्नेलसहित तीन जना बर्खास्त’ शीर्षकको समाचार लेखेको छ। समाचारको लिडलाइनमा ‘नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतहित तीन जनालाई बर्खास्त गरेको छ’ लेखिएको छ।

समाचारको तेस्रो अनुच्छेदमा ‘अनुसन्धानका क्रममा जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्की महिला सैनिकलाई यौन दुर्व्यवहार गरेको तथ्य फेला परेको’ भन्दै ‘सैनिक स्रोत’ लाई आधार बनाइएको छ।

त्यसैगरी नयाँ पत्रिका राष्ट्रिय दैनिकले पनि तेस्रो पेजमा ‘यौन प्रकरणमा मुछिए सेनाका जर्नेल, सहायक रथी कार्की र दुई महिला अधिकृत बर्खास्त’ शीर्षकको समाचार राखेको छ।

समाचारमा लेखिएको छ, ‘सैनिक अदालतले सहायकरथी पंकज कार्कीलाई यौन प्रकरणको मुद्दामा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेको छ । उनी तत्कालीन २७ नम्बर बाहिनीपति थिए । कार्कीसँग यौन प्रकरणमा जोडिएका दुईजना महिला सैनिक अधिकृत पनि बर्खास्त भएका छन्।’ समाचारमा ‘जागिर गुमाएकी एकजना महिला अधिकृत सेनानी (मेजर) तहकी हुन् । अर्की महिलाबारे सेनाले केही बोलेको छैन ’ लेखिएको छ।

अर्थात् अर्की महिला को हो भन्ने बारे सेनाले केही नबोलेको मात्र होइन, समाचार लेख्नेलाई पनि खासै ज्ञान रहेनछ।

त्यसैगरी रेडियो कान्तिपुरको अनलाइन, न्युज २४ टेलिभिजनको अनलाइन, इमेज च्यानलको अनलाइन इमेजखबर, लोकान्तरमा पनि तीन जनालाई बर्खास्त गरिएको समाचार प्रकाशित छ। न्युज २४ र इमेजखबरले चाहिँ राजधानीको कपिपेस्ट गरेका रहेछन् समाचार।

काठमाण्डुपाटी अनलाइनले बिहीबार ‘सहकर्मीलाई यौन दुर्व्यवहार गर्ने सहायकरथी कार्कीसहित दुई जना महिला सैनिक बर्खास्त’ शीर्षकमा समाचार राखेको थियो, जसमा नेपाली सेनाका प्रवक्तालाई उद्‍धृत गर्दै ‘कार्कीसँगै दुई जना महिला सैनिक पनि बर्खास्तीमा परेका छन्। कार्कीसँगै उनीहरुको पनि भूमिका देखिएकोले बर्खास्त गरेको प्रवक्ता पौडेलले जानकारी दिए’ उल्लेख गरिएको छ। तर शुक्रबार बिहान हामीले हेर्दासम्म उक्त समाचार हटाइसकिएको थियो। पत्रकार आचार संहिता अनुसार अनलाइनबाट त्यसरी समाचार हटाउन पाइन्न।

तर हटाएर के भो त, गुगल क्यासमा भने यो समाचार भेटिहालिन्छ। हेर्नुस् अर्काइभ लिङ्क

गुगल क्यास सर्भरमा रहेको काठमान्डुपाटीको समाचार।

देख्नुभो नि, खासमा बर्खास्त दुई जनालाई गरेको रहेछ सैनिक अदालतले। समाचारमा तीन जना आएको छ। भनेपछि एक जना थप चाहिँ मिडियाले नै बर्खास्त गरेको मान्नु पर्‍यो।

योबारे नेपाल फ्याक्ट चेकमा तथ्य जाँच गर्ने क्रममा हामीले यसलाई भ्रामक समाचारको रुपमा वर्गीकरण गर्‍यौँ। किनभने यो समाचारमा केही तथ्य जस्तै कारबाही गरिएको कुरा सत्य हो भने केही तथ्य गलत जस्तै तीन जना होइन, दुई जनाको मात्रै पुष्टि भएको कुरा छ। हाम्रो वर्गीकरणका अर्थबारे बुझ्न यहाँ क्लिक गर्नुस्। हाम्रो तथ्य जाँच पढ्न यहाँ क्लिक गर्नुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ। हामीलाई भाइबर वा ह्वाटसएपबाट पनि फ्याक्ट चेक अनुरोध पठाउन सक्नुहुन्छ। भाइबरका लागि यहाँ र ह्वाट्सएपका लागि यहाँ क्लिक गर्नुस्।)

1 thought on “दुई जनालाई सैनिक अदालतले, एक जनालाई मिडिया आफैले बर्खास्त गरिदिएछ”

  1. रेशम says:
    March 13, 2021 at 1:43 am

    कार्वाहीमा परेकि महिला सैनिक अधिकृत यौन शोषण पीडित होइनन भन्ने बुझिन्छ| नत्र भए बर्खास्त हुनेसम्म पुग्न परने स्थिती आउने थिएन होला|एउटा अधिकृतले नमुना रुपमा पेश हुनपर्छ| अपराध प्रमाणित भएर नै दण्डभागी भएकी होली| त्यसकारण, नाउ खुलाउदा फरक नपर्नु पर्ने हो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme