Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाम्रा मिडिया साह्रै खतरा : मलालाले पाउँदै नपाएको पुरस्कार आफैले बाँडिदिए मुस्कानको नाममा

Posted on March 9, 2021 by Salokya

अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार खासमा अमेरिकी सरकारले दिने हो। तर यसपालि नेपाली मिडियाले बाँडेछ।

पत्याउनु भएन?

पख्नुस्, म पत्याउने गरी बुझाइदिन्छु।

अमेरिकाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मार्च ८ तारिखमा यो पुरस्कार दिने गर्छ। सन् २००७ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कन्डोलिजा राइसले सुरु गरेको यो अवार्ड पाउनेमा यसपालि पहिलो पटक नेपालीले पाइन्। किशोरी मुस्कान खातुनले। त्यसबारे प्रशस्त समाचार नेपालका मिडियाहरुमा तपाईँले देख्नुभयो होला। त्यही समाचारमा एउटा वाक्य जोडेर राखिएको पनि याद गर्नुभयो होला- यसअघि यो पुरस्कार नोबेल पुरस्कार विजेता मलाला युसाफजाईले पाएकी थिइन्।

खासमा यो पुरस्कार मलालाले पाएकै छैनन्।

खास कुरा के हो ?

यो पुरस्कार कुन वर्ष कसलाई दिइयो भन्ने कुरा अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा छ। त्यसो त विकिपिडियामा पनि छ। तर विकिपिडिया भनेको जसले पनि सम्पादन गर्न पाउने ठाउँ भएकोले यसमा भएकै कुरालाई धेरै भर पर्न भने हुन्न। त्यसैले विश्वासिलो स्रोत खोज्नका लागि अमेरिकी विदेश मन्त्रालयकै साइटमा हेरौँ। २००७ को चाहिँ मैले अर्कै वेबसाइटमा मात्रै भेट्टाएँ। अरु सबै अमेरिकी सरकारकै वेबसाइटमा छन्।

सन् २००७ मा पाउने १० जना

सन् २००८ मा पाउने ८ जना 

सन् २००९ मा पाउने ८ जना 

सन् २०१० मा पाउने १० जना

सन् २०११ मा पाउने १० जना

सन् २०१२ मा पाउने १० जना

सन् २०१३ मा पाउने ९ जना

सन् २०१४ मा पाउने १० जना

सन् २०१५ मा पाउने १० जना

सन् २०१६ मा पाउने १४ जना

सन् २०१७ मा पाउने १३ जना

सन् २०१८ मा पाउने १० जना

सन् २०१९ मा पाउने १० जना

सन् २०२० मा पाउने १२ जना

हालसम्म पुरस्कार पाउनेहरुको नामावली हेर्दा नेपालीले पहिलो पटक यो अवार्ड पाएको सही हो। तर, नेपाली मिडियामा दावी गरिए जस्तो पाकिस्तानकी मलाला युसुफजाइको नाम अवार्ड पाउनेको सूचीमा देखिन्न।

मलालाले सन् २०१४ मा नोबल शान्ति पुरस्कार पाएकी थिइन्। त्यसयता यो अवार्ड पाउने पाकिस्तानी महिलामा तबस्सुम अदनान (सन् २०१४) र जलिला हैदर (सन् २०२०) मात्रै छिन्।

अघिल्लो वर्ष पाकिस्तानकी नारीले पुरस्कार पाएको सही हो, तर उनी मलाला नभई जलिला हैदर हुन्। जलिला र मलालामा लास्टको ला मात्रै मिल्छ। त्यसमा त नझुक्किनु पर्ने।

मलाला नामसित मिल्ने मलाली बहादुरी नामकी महिलाले यो पुरस्कार सन् २०१३ मा पाएकी थिइन्। तर उनी पाकिस्तानकी नभएर अफगानिस्तानकी हुन्। उनी किशोरी नभएर हजुरआमा भइसकिन्। यसमा चाहिँ दुई वटा शब्द म र ला मिल्छ। लास्टको ला पनि मिल्थ्यो तर त्यसमा ईकार जोडिएर ली भएको छ। यसमा पनि नझुक्किनु पर्ने।

माथिको प्रमाणले मलालालाई यो पुरस्कार अमेरिकी सरकारले हैन, नेपाली मिडियाले मात्रै दिएको प्रष्टै भएन र?

कुन-कुन मिडियाले दिए अमेरिकाले नदिएको पुरस्कार मलालालाई?

२०२१ मार्च ६ शनिबारको कान्तिपुरको पहिलो पेजमा छापिएको ‘नजलेको मुस्कान’ शीर्षकको समाचारको दोस्रो अनुच्छेदमा लेखिएको छ- ‘मुस्कान खातुनले भर्खरै मात्र अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला ‘आईडब्लूओसी’ अवार्ड पाइन् । यो अर्वाड पाउने उनी नेपालबाट पहिलो महिला हुन् । र, अहिलेसम्मकै कान्छी पनि । पुरस्कार पाएपछि भनिन्, ‘असाध्यै खुसी छु । अझै दायित्व थपिएका छन् ।’ यसअघि यो पुरस्कार नोबेल पुरस्कार विजेता मलाला युसाफजाईले पाएकी थिइन्।‘

समाचारको अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

त्यसैगरी सोही समाचार सँगै छापिएको ‘बिहानै गुड न्युज’ शीर्षकको अर्को समाचारमा पनि ‘पाकिस्तानी बालशिक्षा अभियानकर्ता मलाला युसुफजाईले पनि पाइसकेको यो अवार्ड आफूले पाउन लाग्दा हर्षविभोर भएको मुस्कानले सुनाइन्’ लेखिएको छ।

हेर्नुस् अर्काइभ लिङ्क

अर्थात् एकै दिन दुई दुई वटा झुटो समाचार छाप्देछ कान्तिपुरले।

त्यसैगरी कान्तिपुरकै सह प्रकाशन अङ्ग्रेजी दैनिक काठमाण्डु पोस्टको ‘Nepal’s Muskan Khatun among the recipients of 2021 International Women of Courage Award’  शीर्षकको समाचारमा लेखिएको छ- ‘Previous winners include Malala Yousafzai, the youngest Nobel laureate, for her advocacy work for women and girls in Pakistan.’ हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी अनलाइनखबरले पनि ‘मुस्कान खातुनलाई अमेरिकाको प्रतिष्ठित पुरस्कार’ शीर्षकको समाचारमा लेखेको छ- अघिल्ला वर्षमा पाकिस्तानकी किशोरी मलाला युसुफजईलाई पनि यही पुरस्कारबाट सम्मान गरिएको थियो।

हेर्नुस् अर्काइभ लिङ्क

बीबीसी नेपालीले पनि ‘मुस्कान खातुन: ‘मलालाले पाएको पुरस्कार पाएँ भनेर खुसी लागेको छ, अब अझ धेरै सङ्घर्ष गर्छु’ शीर्षकमा समाचार राखेको छ।

हेर्नुस् अर्काइभ लिङ्क

हिमालखबरले लेखेको छ– यसअघि यो अवार्ड पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि मलाला युसुफजाईलाई प्रदान गरिएको थियो। उनी नोबेल पुरस्कार विजेता हुन्। हेर्नुस् अर्काइभ लिङ्क

नेपाललाइभ लेख्छ– यसअघि उक्त पुरस्कार पाकिस्तानमा महिला तथा किशोरीका लागि वकालत गर्ने मलाला युसुफजईले पाएकी थिइन्। पढ्नुस् समाचार। 

यस्तै माइरिपब्लिकाको ‘Acid attack survivor Muskan Khatun wins 2021 International Women of Courage Award’ शीर्षकको समाचारमा लेखिएको छ- ‘Previous winners include Malala Yousafzai, the youngest Nobel laureate, for her advocacy work for women and girls in Pakistan.’ हेर्नुस् अर्काइभ लिङ्क

निजी मिडियाको मात्र के कुरा गर्नु, सरकारी मिडिया गोरखापत्रको अनलाइन पनि हेरौँ न। गोरखापत्र लेख्छ– यसका अघिल्ला विजेताहरूमध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन् जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन्। पढ्नुस् समाचार

अझ देखापढीको युट्युबमा राखिएको यो भिडियो हेर्नुस् न। क्या बढाइचढाइ गर्नै प्रस्तोताले यसअघि यो अवार्ड पाकिस्तानकी मलालाले पाइसकेको दावी गरेकी छिन् !

 

नेपाली मिडियाले यो समाचार राख्दा यो के खालको पुरस्कार हो? कहिलेदेखि सुरु भएको हो? यो पुरस्कार यो वर्ष हाम्री मुस्कानले मात्रै पाएकी हुन् कि अरु धेरै जनासँगै उनलाई पनि दिइएको हो भन्ने बारे केही पनि जानकारी राखेको देखिएन। त्यसरी अधुरो जानकारी राखेको त ल नमिले पनि सहौँला, तर पुरस्कारै नपाएकी मलालाले पाइसकेको भनेर झुटो खबर त दिन भएन नि। कसैले भनेकै भए पनि हो कि होइन भनेर त जाँच्‍नु पर्थ्यो नि, पर्थेन र?

अब हेर्नुस् है, यति धेरै मिडियाले यो गलत समाचार राखेका छन्, कसले चाहिँ गल्ती भएको हो भनेर स्वीकारेर माफी माग्दै सच्याउँछ होला त। गल्ती भएपछि त सच्याउनु पर्ने हो नि, होइन र?

 

3 thoughts on “हाम्रा मिडिया साह्रै खतरा : मलालाले पाउँदै नपाएको पुरस्कार आफैले बाँडिदिए मुस्कानको नाममा”

  1. Pingback: नेपाली मिडियाले गर्‍यो मलाला युसुफजाईको ‘हत्या’ – MySansar
  2. Pingback: दुई जनालाई सैनिक अदालतले, एक जनालाई मिडिया आफैले बर्खास्त गरिदिएछ « Mysansar
  3. Pingback: ‘कान्तिपुर’ लाज पचाएर चुप बस्ने, ‘काठमान्डु पोस्ट’ माफी माग्ने : ‘मलाला कान्ड’मा नेपाली मिडिया कसले के गरे? « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme