Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो छ प्रतिनिधि सभाको अङ्कगणित : १०/१२ सांसद यता-उताले राख्दैन अर्थ

Posted on March 7, 2021 by Salokya

Made with Flourish

सर्वोच्च अदालतले दिएको आदेश अनुसार प्रतिनिधि सभाको बैठक आज २०७७ फागुन २३ गते आइतबार अपराह्न ४ बजे बस्दैछ। अहिलेसम्म राजनीति कता मोडिने हो भन्ने बारे यकिन कसैलाई थाहा भएको छैन। सत्तारुढ नेकपा औपचारिक रुपमा फुटिसकेको छैन। तर व्यवहारिक रुपमा दुई छुट्टाछुट्टै समूह अस्तित्वमा छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केही निर्णय गर्न सकेको छैन। अविश्वास प्रस्तावको पनि टुङ्गो छैन। विश्वासको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले नलिने बताइसकेका छन्। सर्वोच्चको आदेशपछि पनि प्रधानमन्त्रीले राजीनामा दिएका छैनन्। यस्तो अवस्थामा सरकार कायम रहने वा ढलेर नयाँ सरकार बन्नलाई कस्तो समीकरण आवश्यक हुन्छ? प्रतिनिधि सभाको अङ्कगणित कस्तो छ? आउनुस् हेरौँ।

माथिको पार्लियामेन्ट चार्टमा प्रतिनिधि सभाको अङ्कगणित खुलाइएको छ। त्यसमा तीन वटा विकल्प छान्न सक्नुहुन्छ- अहिले, पार्टी एकीकरणपछि र चुनाव लगत्तैको। चार्ट नखुले यता क्लिक गरी हेर्नुस्।

अहिलेकोमा देखाइएको प्रचण्ड-माधव नेपाल समूह र ओली समूहको संख्या अनुमानित हो। दुवैले आफ्नो बहुमत रहेको दावी गरेका छन्। दुवैको लगभग उस्तै संख्या भएको अनुमान छ। त्यसैले नेकपाको कूल सदस्य संख्या १७४ लाई आधा-आधा बाँडेर ८७ राखिएको छ।

यसमा १०/१२ सदस्य संख्या यता-उता थपिएर केही हुनेवाला छैन। किनभने सरकार बनाउनका लागि तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्या २ सय ७२ को बहुमत १ सय ३७ हो। यो संख्या नेकपा एक भएको अवस्थामा बाहेक अरु केही गरी पनि पुग्नेवाला छैन।

कांग्रेसको साथ जरुरी

तपाईँहरुले सुन्नुभएको छ नि एउटा कथा- दुई बिरालोको झगडामा बाँदरले रोटी उछिट्याएको। हो, यस्तै हुने भएको छ नेकपाको दुई समूह दुई बिरालोको भूमिकामा छन्। बाँदरको भूमिकामा नेपाली कांग्रेस। अब कांग्रेसले जसलाई साथ दियो त्यहीसित सत्ता समीकरण बन्नेवाला छ।

किनभने कांग्रेससित ६३ सांसद छन्। नेकपाको कुनै एउटा समूहले बाँकी सबै दलका सांसदहरुको (जनता समाजवादी पार्टीको ३१ र अरु साना दलहरु) समर्थन जुटाए पनि १ सय ३७ पुर्‍याउन सक्दैनन्।

सत्ताको साँचो भएको कांग्रेसले ओली समूहलाई साथ दिँदा पनि सरकार बन्न सक्छ भने प्रचण्ड-माधव नेपाल समूहलाई साथ दिँदा पनि बन्न सक्छ। दुवै समूहले देउवालाई प्रधानमन्त्री बन्न अफर गरिसकेको समाचारहरु पनि पढ्न पाइएको छ। देउवा आफैले चाहिँ शनिबार भन्नलाई म प्रधानमन्त्रीको रेसमा छैन भनेका छन्।

कांग्रेसले अहिलेसम्म के गर्ने भन्ने निर्णय गरिसकेको छैन।

कांग्रेस चुप बस्यो भने के हुन्छ ?

अहिलेको अवस्थामा कांग्रेस चुप बस्यो भने ओली सरकारको निरन्तरता हुन्छ। प्रचण्ड-माधव नेपाल समूहले अविश्वास प्रस्ताव ल्याएमा फेल हुन्छ। किनभने कांग्रेसको साथ बिना यो प्रस्ताव पास हुन सक्दैन। यदि अविश्वास प्रस्ताव फेल भयो भने संविधान अनुसार अर्को एक वर्षसम्म अर्को प्रस्ताव ल्याउन पाइने छैन। त्यतिन्जेल नयाँ चुनावको बेला पनि भइसक्छ।

अविश्वास प्रस्ताव आयो भने के हुन्छ?

कांग्रेसको समर्थन बिना अविश्वास प्रस्ताव ल्याएर फाइदा छैन, त्यो पास हुनेवाला छैन। यदि कांग्रेसले प्रचण्ड-माधव नेपाल समूहसँग मिलेर अविश्वास प्रस्ताव ल्यायो भने त्यो पारित हुनेछ। अविश्वास प्रस्ताव ल्याउँदा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गरेकोे हुनु पर्ने संविधानमा प्रावधान छ। अविश्वास प्रस्ताव पारित भएपछि प्रधानमन्त्री ओली पदमुक्त हुनेछन् र जसको नाम प्रस्तावित गरिएको हो, ऊ प्रधानमन्त्री नियुक्त हुनेछ। नयाँ प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ।

प्रधानमन्त्रीले राजीनामा दिए भने ?
यो ब्लग लेख्दासम्म प्रधानमन्त्रीले राजीनामा दिने कुनै संकेत देखाएका छैनन्। तर राजनीतिमा के भर हुन्छ र। यही पारामा गए कांग्रेसलाई प्रधानमन्त्री दिनुपर्ने स्थिति आउने भएकोले अकस्मात् प्रधानमन्त्रीले राजीनामा दिए भने नेकपा औपचारिक रुपमा नफुटिसकेकोले नेकपा भित्रैबाट नयाँ प्रधानमन्त्री नियुक्त हुनसक्छ। किनभने संसदको सबैभन्दा ठूलो दल नेकपा नै हो र यसैको संसदीय दलको नयाँ नेतालाई राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ।

व्यवहारिक रुपमा फुटिसकेको नेकपा जोडिने अवसर पनि यो हुनसक्छ। तर अहिले संसदीय दलको बहुमत कुन पक्षसँग छ नै स्पष्ट छैन। एकले अर्कालाई कारबाही गर्ने काम भइरहेको छ।

त्यसैले राजनीतिको नयाँ नयाँ मोड ट्विस्ट एन्ड टर्न हेर्नलाई आइतबार र त्यसपछिका दिनहरु महत्त्वपूर्ण हुनेछन्।

तीन सम्भावना

१) कांग्रेस र नेकपा ओली समूहको समीकरण

२) कांग्रेस र प्रचण्ड-माधव नेपाल समूहको समीकरण

३) ओलीको राजीनामापछि नेकपा भित्रैको नयाँ प्रधानमन्त्री

प्रतिनिधि सभाको रेकर्डमा कसको सांसद कति ?
नेकपा : १७३
कांग्रेस ६४
जनता समाजवादी पार्टी : ३१
राप्रपा : १
नेमकिपा : १
राजमो : १
स्वतन्त्र : १

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme