वनमन्त्री प्रेमबहादुर आले अहिले सोसल मिडियामा खुबै उडाइएको छ। नउडाउन् पनि किन, उनले गरेको भाषणै त्यस्तै थियो।
गएको मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रममा भाषण दिने क्रममा उनले भने, ‘यो सरकार जनताप्रति उत्तरदायी सरकार हो भन्ने लाग्छ भने, त्यो तपाईंको ठूलो भूल हो।’ होइन भन्नुपर्नेमा हो भनिदिएछन्। क्या हुस्सु !
त्यही भाषणमा उनले अर्को एउटा पनि कुरा गरे। त्यसलाई पनि साह्रै उडाएका छन् मानिसहरुले। उनले भनेका थिए, ‘जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौं, जुन रुखलाई हामी अक्सिजन दिन्छौं । त्यही रुख यदि रहेन भने के हुन्छ हालत ?’
वनमन्त्रीले गल्ती कुरा बोलेकै हुन्। त्यसैले उनलाई उडाइयो।
हुँदाहुँदा आज सरकारसित तीन बूँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवलाई समेत जंगलमा रुखले कार्बन डाइअक्साइड फाल्न थालेपछि सहर पसेको भन्दै व्यङ्ग्य गरेको देखियो।
तर वनमन्त्रीलाई उडाउने नाममा धेरैले एउटा तथ्य भने बिर्सेको देखियो।
खासमा वनमन्त्रीले भने जस्तो रुखले हामीलाई कार्बन डाइअक्साइड होइन, अक्सिजन दिने हो। तर रुखले कार्बन डाइअक्साइड फाल्दै नफाल्ने भने होइन। अहिले उडाउनेहरु धेरैलाई यो कुरा थाहा नभएको झैँ देखियो। तर स्कूल लेभलको बायोलोजीमा नै पढाइने पाठ हो है यो।
स्कूलमा पढेको बिर्सेको भए सम्झाइदिउँ दुई वटा शब्द- फोटोसिन्थेसिस (photosynthesis) र रेस्पिरेसन (respiration)
Designed by Freepik
रुख (बिरुवासमेत)ले हावाबाट कार्बन डाइअक्साइड लिने र अक्सिजन फाल्ने कुरा धेरैलाई थाहा छ। किन त्यसो गर्छन् भन्ने कुरा चाहिँ धेरैले बिर्सन्छन्। खासमा यो तिनीहरुले आफूलाई आवश्यक खाना बनाउनका लागि गर्ने हो। जराबाट सोसिएको पानी र हावामा भएको कार्बन डाइअक्साइडलाई प्रयोग गरेर सूर्यको उज्यालोमा रुखबिरुवाले खाना बनाउने प्रक्रियालाई नै फोटोसिन्थेसिस भन्ने गरिन्छ। बाइप्रडक्टका रुपमा त्यही प्रक्रियामा अक्सिजन फ्याँकिने हो।
माथि अर्को शब्द पनि छ रेस्पिरेसन। सजिलो भाषामा भन्नु पर्दा फोटोसिन्थेसिसको प्रक्रियामा उत्पादन हुने खाना (ग्लुकोज वा सुगर) रुखबिरुवाको कोषहरु (cells)ले खाने प्रक्रियालाई रेस्पिरेसन भनेर बुझ्दा हुन्छ। यो क्रममा भने रुखबिरुवाले कार्बन डाइअक्साइड फ्याँक्ने गर्छ।
अर्थात् रुखबिरुवाले अक्सिजन र कार्बन डाइअक्साइड दुवै फ्याँक्ने गर्छ। फोटोसिन्थेसिसको क्रममा अक्सिजन फाल्छ भने रेस्पिरेसनको क्रममा कार्बन डाइअक्साइड।
रुखबिरुवाका सेलहरु दिन र रात दुवै समयमा सक्रिय हुने भएकोले दिनको समयमा पनि कार्बन डाइअक्साइड त फ्याँक्ने नै हो। तर उज्यालो भएको बेला फोटोसिन्थेसिस गर्दा कार्बन डाइअक्साइडको तुलनामा अक्सिजन धेरै फ्याँकिन्छ।
तर जब रात पर्छ, त्यतिबेला सूर्यको प्रकाशको अभावमा फोटोसिन्थेसिसको प्रक्रिया हुन सक्दैन। त्यसैले अक्सिजन उत्पादन हुन सक्दैन। रातको समयमा रेस्पिरेसन भने हुन्छ। त्यसैले रुखले राति कार्बन डाइअक्साइड भने फ्याँक्छ।
समग्रमा रुखबिरुवाले अक्सिजन फाल्ने (उत्पादन गर्ने) र कार्बन डाइअक्साइड लिने (उपभोग गर्ने) कुरा साँचो हो। तर रातको समयमा रुखबिरुवाले अक्सिजन हैन कार्बन डाइअक्साइड फाल्ने गर्छ।
थप जानकारी बीबीसीको यो बाइटसाइजमा वा एडभान्स्ड ट्रि केयरको वेबसाइटमा हेर्न सक्नुहुन्छ।
अथवा यो बच्चाहरुलाई बुझाउन बनाइएको युट्युब भिडियो हेर्नुस्-
यो त सामन्य ज्ञान भयो नी तर रुख विरुवाले जति कार्वन डाइअक्साइड लिन्छन त्यो भन्दा धेरै अक्सिजन फ्याल्छन अनि दिनभरीमा जति अक्सिजन फ्याल्छन राती त्यो भन्दा निकै कम मात्र लिन्छन ।।
त्यसै विप्लबले जङ्गल छाड्या हो त? हाम्रा नेताहरु आफ्नो बाहेक अरुको सोच्दैनन्, अब विप्लबले रुखको लागी कार्बन डाइअक्साइड दिनु परेपछि कहाँ जङ्गल बस्छन त ।।।