Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘साइबर सेना’बाट असली सेना नै हैरान

Posted on February 22, 2021February 22, 2021 by Salokya

द्वन्द्वकालमा देशमा ‘शाही नेपाली सेना’ र माओवादीको ‘जनसेना’ गरी देशमा दुई थरि सेना हुन्थे। माओवादी शान्ति प्रक्रिया हुँदै मूलधारको राजनीतिमा आएपछि देशमा एउटा मात्र सेना रह्यो जसको नाम ‘नेपाली सेना’ छ।

तर अचेल एउटा अर्को ‘सेना’ को पनि नाम निकै चलेको छ- ‘साइबर सेना’। कानुनी रुपमा नभए पनि व्यवहारिक रुपमा सत्तारुढ नेकपा फुटेपछि प्रधानमन्त्री केपी ओली पक्षले ‘साइबर सेना’ शब्द चलाउन थालेको हो। ओली पक्षको राष्ट्रिय युवा संघ,नेपालको आधिकारिक डकुमेन्टमा नै ‘साइबर सेना’ शब्द प्रयोग यसरी भएको छ, ‘प्रत्येक तहको कमिटी प्रणालीमा छुट्टै ‘साइबर सेना’को युनिट निर्माण गर्दै…एकढिक्का भई प्रतिकार गर्न युवाशक्ति परिचालन गर्ने।’

यी ‘साइबर सेना’ यति खतरा भइदिए कि असली सेना नै हैरान भएका छन्। भर्खरैको एउटा उदाहरण।

तपाईँहरुले याद गर्नुभएको छ कि छैन, केही समयअघिदेखि सामाजिक सञ्जालहरुमा एउटा कुरा निकै भाइरल भएको छ। त्यसमा प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहास कै सबैभन्दा निडर प्रधानमन्त्री भएको र आफूले गर्व गर्ने बताएको दावी गरिएको छ। यो बारे नेपाल फ्याक्ट चेकमा तथ्य जाँच गर्ने क्रममा कहिले कसले यो सेयर गरेको भन्ने देखियो।

यो हो ओलीपक्षीय विद्यार्थी नेता ऐन महरको ८ फेब्रुअरी बिहान १० बजेर २ मिनेटमा लेखिएको स्टायटस-

‘राष्ट्रले इतिहासकै सबैभन्दा निडर प्रधानमन्त्री पाएको छ, हामी गर्व गर्छौँ – प्रधानसेनापति’ लेखिएको  स्टायटस फेब्रुअरी २१ सम्ममा १६२ पटक सेयर भएको छ भने त्यसमा ४१८ कमेन्ट र ३ हजार ४ सय रियाक्सन छन्। यसलाई भाइरलै भएको भन्न पर्‍यो।

त्यसैगरी ‘आई सपोर्ट केपी ओली’ नाम रहेको फेसबुक पेजमा यही लेखिएको स्टायटस ८६ पटक सेयर भएको छ भने ३३१ कमेन्ट र ४ हजार ४ सय रियाक्सन छन्।

अर्काइभ लिङ्क

फेसबुकमा ‘राष्ट्रले इतिहासकै सबैभन्दा निडर प्रधानमन्त्री पाएको छ’ लेखी सर्च गरी हेर्दा फोटोका रुपमा यही स्टायटस राखेर सेयर भएका प्रशस्त स्टायटसहरु भेटियो।

त्यसैगरी अरु थुप्रैले पनि फेसबुकमा यही लेखेर पोस्ट गरेका छन्। हेर्नुस् लिङ्क ।

‘साइबर सेना’कै नाममा पनि

केही पोस्टहरु त साइबर सेना नाम राखेकै फेसबुक ग्रुपहरुमा पनि भएको छ। केही उदाहरण-

सुदूरपश्चिम साइबर सेना 

केपी बा समर्थक साइबर सेना

नेकपाका साइबर सेना

कपि पेस्ट अथवा सेयर

ध्यान दिएर हेर्ने हो भने यी स्टायटसहरुमा समानता देखिन्छ। यी सबै स्टाटसहरु फेब्रुअरी ८ वा त्यसपछि लेखिएका देखिन्छन्। अनि सबै स्टायटस कपिपेस्ट गरिएको वा सेयर गरिएको कसरी थाहा हुन्छ भने सबैमा व्याकरण र हिज्जेसमेत एउटै छ। सबैमा ‘सबै’ र ‘भन्दा’लाई छुट्याएर ‘सबै भन्दा’ लेखेको देखिन्छ। जबकि व्याकरण सही हुने हो भने दुई शब्द जोडेर ‘सबैभन्दा’ लेखिनु पर्ने हो।

त्यसैगरी ट्विटरमा पनि धेरैले हुबहु यही व्यहोराको वाक्यसहित ट्विट गरेका छन्।

“राष्ट्रले इतिहासकै सबै भन्दा निडर प्रधानमन्त्री पाएको छ, हामी गर्व गर्छौं” #प्रधानसेनापति

— Naresh Rokaya (@NareshRokaya99) February 8, 2021

नरेश रोकायाको यो ट्विटमा फेब्रुअरी २१ सम्म १५ रिट्विट र १५७ लाइक देखिन्छ। विद्यार्थी नेता रोकाया हाल नेपाल ट्रस्टका बोर्ड सदस्य छन्। अखिलको राजनीति गर्दागर्दै रोकायालाई सरकारले राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र उनीहरुको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई राष्ट्रहितमा प्रयोग गर्न बनाइएको नेपाल ट्रस्टको बोर्ड सदस्य बनाएको हो।

प्रदीप भट्टराईको ट्विट भनेअलि फरक छ। यसमा भने अलि फरक शब्दहरु प्रयोग भएका छन्। ३० रिट्विट र ३५९ लाइक भएको यो ट्विटमा प्रधानमन्त्री हैन प्रधान सेनापतिको पनि प्रशंसा गरिएको छ भिमसेन थापा भन्दै।

नेपालको इतिहासमा भिमसेन थापा जस्तो आर्मी चिफ र “केपि शर्मा ओलि जस्तो निडर प्रधानमन्त्री पाएको छ,हामी गर्व गर्छौं ।” -प्रधान सेनापति पुर्ण चन्द्र थापा ।

— Pradip Bhattarai (@realpbhattarai) February 8, 2021

सेना प्रमुखको भन्दै  ट्विटरमा एकै छिनमा यो भनाई यति छिटो फैलियो कि सेना नै दङ्ग पर्‍यो होला। हेर्नुस् त ट्विटरमा “इतिहासकै सबै भन्दा निडर प्रधानमन्त्री”  लेखेर सर्च गर्दा भेटिएको एक अंश-

तथ्य के हो ?

जुन दिन बिहानदेखि प्रधान सेनापतिको भनिएको यो भनाई भाइरल भयो, त्यसको अघिल्लो दिन अर्थात् फेब्रुअरी ७ तारिख (माघ २५ गते) नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् सेमिनार समापन समारोहको आयोजना गरेको थियो। जङ्गी अड्डामा भएको यो कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा र प्रधान मन्त्री केपी शर्मा ओलीसमेत उपस्थित थिए।

मैले नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेललाई सोधेँ। उनले उक्त कार्यक्रममा प्रधान सेनापतिले बोल्ने कार्यक्रम नै नभएको दावी गरे। उनले दावी गरेर मात्र भएन, प्रमाण पनि हुनुपर्‍यो। यसो खोजिहेर्दा यो कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गरेको रहेछ। नेपाल टेलिभिजनको फेसबुक पेजमा यो कार्यक्रम हेर्न सकिन्छ। १ घण्टा ३७ मिनेटको यो भिडियोमा रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मात्रै सम्बोधन गरेको देखिन्छ। प्रधान सेनापतिले कार्यक्रममा सम्बोधन गरेका छैनन्। अर्थात् यो कार्यक्रममा प्रधान सेनापतिले बोलेकै रहेनछन्।

प्रवक्ता पौडेलका अनुसार सोही दिन बिहान प्रधान सेनापति थापा प्रधानमन्त्री सहभागी अर्को कार्यक्रम पनि थियो। जङ्गी अड्डामा भएको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयको दुई दिने सेमिनारको उद्घाटन समारोहमा प्रधान सेनापतिले पनि उद्घाटन मन्तव्य राखेका थिए।

सो कार्यक्रमको भिडियो सेनाले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको छ।

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापासँगै प्रधान सेनापति पूर्णचन्द्र थापाको पनि मन्तव्यका केही अंश राखिएको छ। प्रधान सेनापतिको मन्तव्यको करिब तीन मिनेटको अंशमा भाइरल भएको दावीमा जस्तो प्रधानमन्त्री बारे बोलेको पाइँदैन।

उक्त भिडियोमा प्रधान सेनापतिले लिखित मन्तव्य वाचन गरेको देखिन्छ। उक्त मन्तव्यको पूर्ण विवरण सार्वजनिक रुपमा कतै उपलब्ध थिएन। तर हामीले फ्याक्ट चेक गरिसकेपछि नेपाली सेनाका प्रवक्ताको आधिकारिक ट्विटर ह्यान्डलबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले उक्त दिन राखेको मन्तव्यको पूर्णपाठसहितको नेपाली सेनाको आधिकारिक वेबसाइटको लिङ्क सार्वजनिक भयो। त्यसमा ‘प्रधानमन्त्री’ शब्द एक ठाउँमा मात्र उल्लेख छ। मन्तव्यको अन्त्यमा लेखिएको छ, ‘अन्त्यमा, यस कार्यक्रममा उपस्थित भई आफ्नो महत्त्वपूर्ण समय प्रदान गरिदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै सम्पूर्ण विशिष्ट महानुभावहरुमा नेपाली सेनाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।’ यसबाहेक दावी गरिए जस्तो ‘इतिहास कै सबैभन्दा निडर प्रधानमन्त्री भएको र आफूले गर्व गर्ने’ व्यहोरा त्यसमा देखिएन।

“नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु” बिषयक दुईदिने सेमिनारको शुभारम्भको क्रममा मिती २०७७ माघ २५ गते प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले राख्नु भएको मन्तव्यको पूर्णपाठको लागि यस लिङ्कमा जानुहोस https://t.co/2qqlJkgqxa https://t.co/aGTHSkJs79

— NASpokesperson (@NaSpokesperson) February 22, 2021

 

मिथ्या कि अपुष्ट सूचना ?

यति भइसक्दा पनि हामीले यसलाई ‘मिथ्या’ अथवा ‘गलत सूचना’ को रुपमा नभई अपुष्ट अर्थात् ‘अनभेरिफाइड’ का रुपमा तथ्य जाँच राख्यौँ।

किन?

सामान्य रुपमा हेर्दा त यो मिथ्या अथवा गलत नै लाग्छ। प्रधानसेनापतिले अहिलेको राजनीतिक अवस्थामा प्रेसको अगाडि कुनै एक जना नेताको प्रशंसा गर्छन् होला त। त्यति कच्चा हुन्छ र सेना?

सेनाका अधिकारीहरुसँग अनौपचारिक कुरा गर्दा साइबर सेनाबाट असली सेना नै हैरान भएको देखियो। सेनाले प्रधान सेनापतिको नाममा यस्तो भ्रम फैलाउने सूचना कसले कसरी फैलायो भन्ने बारे खोजेको रहेछ।

हामीले सर्सर्ती हेर्दा सहजै अनुमान गर्न सक्छौँ- अहिलेको राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पक्षमा रहेकाहरुले प्रधानमन्त्रीको समर्थनमा जनमत आकर्षित गर्न यस्तो गरेका हुनसक्छन्। कतिले जानेर नियतवश फैलाए, कतिले आफ्नो आस्थाका आधारमा अन्जानमै सही होस् कि गलत मतलब नभएर यसलाई फैलाए।

कुरो यस्तो हो, तर यो फ्याक्ट चेक भनेको बहुत अप्ठेरो काम हो। यसमा उपलब्ध प्रमाणका आधारमा मात्र यस्तो हो भनेर निर्णय दिन पाइन्छ। यदि सामाजिक सञ्जालमा भाइरल भएको भनाईमा प्रधान सेनापतिले फलानो कार्यक्रममा यसो भने भनेर लेखिएको भए त्यो कार्यक्रमको भिडियो हेरेर हामी सार्वजनिक रुपमा चाहिँ यस्तो भनेका थिएनन् भनेर त्यसलाई मिथ्या सूचना लेख्न सक्छौँ। तर भाइरल भएको स्टायटसमा कुन कार्यक्रममा भनिएको नै प्रष्ट उल्लेख छैन।

औपचारिक रुपमा हैन, अनौपचारिक रुपमा कुराकानी गर्दा भनेको भए कहाँ, कसले प्रधान सेनापतिले त्यसो भनेको सुनेको हो, त्यो उल्लेख हुनुपर्‍यो। त्यो छ भनेर कोही एक जनाले दावी गरेर मात्र भएन, अरुले पनि सुनेको हुनुपर्‍यो वा केही प्रमाण हुनुपर्‍यो।

तर जसरी यसो बोलियो भन्ने कुराको कुनै प्रमाण छैन त्यसरी नै यसरी होइन, बोलेकै छैन भन्ने कुराको पनि ठ्याक्कै ठोस प्रमाण छैन। बिना प्रमाण हामी फ्याक्ट चेकरले यसै हो भनेर ठोकुवा गर्न पाउँदैनौँ। यो हाम्रो आचारसंहिताले दिँदैन। फ्याक्ट चेकरले गरेको फ्याक्ट चेकलाई सार्वजनिक रुपमा उपलब्ध जानकारीका आधारमा अरुले पनि जाँच गर्न सक्ने हुनुपर्छ। फ्याक्ट चेकरको फ्याक्ट चेक पाठकले गरिरहेका हुन्छन्।

बरु यसरी बोलियो भन्ने कुराको कुनै प्रमाण छैन। जे लेखिएको छ, त्यो पुष्टि हुँदैन। अर्थात् प्रधान सेनापतिले प्रधानमन्त्रीको बारेमा यस्तो भनेको भन्ने कुराको पुष्टि कतैबाट हुन सकेन भनेर अपुष्ट सूचनाका रुपमा हामीले यसलाई वर्गीकरण गर्‍यौँ।

सम्बन्धित फ्याक्ट चेक

के प्रधान सेनापतिले प्रधानमन्त्रीलाई ‘इतिहासकै सबैभन्दा निडर’ भनेका हुन्?

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ। हामीलाई भाइबर वा ह्वाटसएपबाट पनि फ्याक्ट चेक अनुरोध पठाउन सक्नुहुन्छ। भाइबरका लागि यहाँ र ह्वाट्सएपका लागि यहाँ क्लिक गर्नुस्।)

2 thoughts on “‘साइबर सेना’बाट असली सेना नै हैरान”

  1. sanumaya says:
    February 24, 2021 at 10:01 am

    नेपाली भाषामा नक्कलीको विपरितार्थ शब्द सक्कली हुन्छ,असलको उल्टो खराब । अरूले गर्ने गल्ती माईसंसारले नगरेकै राम्रो लाग्छ ।
    लेखको बारेमा त केही भन्नै परेन, धेरै राम्रो छ ।

    Reply
  2. नबिश says:
    February 23, 2021 at 11:52 pm

    अनुसन्धानमूलक न्यूज धन्यवाद

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme