बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया भागरथी भट्टको शव भेटिएको दुई सातापछि प्रहरीले आज बुधबार एक किशोरलाई आरोपीका रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बैतडीको घटनाबारे मैले मिडिया हेरेर मात्र जानकारी पाएको हुँ। कञ्चनपुरमा साढे दुई वर्षअघि भएको यस्तै खालको निर्मला पन्त प्रकरणको भने मैले नजिकबाट घटनास्थलसम्म पनि धेरै पटक पुगेर रिपोर्टिङ गरेँ। त्यसैले त्यो घटनाबारे भने मसित धेरै जानकारी छ। दुई घटनाको तुलना गरेर हेर्दा कति कुरा उस्तै छ तर पनि परिस्थिति फरक छ। निर्मलाको घटनामा पनि शव भेटिएको तेस्रो सातामा प्रहरीले एक आरोपीलाई सार्वजनिक गरेको थियो। भागरथी प्रकरणमा पनि बैतडीमा हत्यारा सार्वजनिक गर्नलाई आन्दोलन भइरहेको थियो। निर्मला प्रकरणमा पनि त्यतिबेला हत्यारा सार्वजनिक गर्न दबाब दिन आन्दोलन भइरहेको थियो।
निर्मला प्रकरणमा प्रहरीले २०७५ भदौ ४ गते पत्रकार सम्मेलन गरी आरोपीलाई सार्वजनिक गरिसकेपछि त्यो ‘पागल’ले बलात्कार र हत्या गर्नै नसक्ने, उसको शारीरिक स्थिति नै त्यस्तो छैन भन्ने समेतका अफवाह फैलाइयो। निर्दोषलाई फँसाइयो भनेर झन् आन्दोलन चर्काइयो। त्यतिबेला त मलाई पनि होला त नि भन्ने लागेको थियो। पछि जब विस्तृत रुपमा बुझ्दै गएँ, कञ्चनपुर पुगेर दिलिपसित नै भेटेर कुरा गरेँ, तब थाहा भयो- त्यतिबेला चलाइएका हल्ला कति गलत रहेछन् भनेर। हेर्नुस् दिलिपसित गरेको कुराकानीको भिडियो।
यसपालि मिडिया र सोसल मिडिया निर्मला प्रकरणमा जस्तो धेरै बहकिएनन्। प्रहरीले पनि निर्मला प्रकरणमा जस्तो कतिपय कुरामा लापरवाही नगरी सतर्क भएको देखियो। सबभन्दा प्रमुख कुरा त यो घटनामा निर्मला प्रकरणमा जस्तो खेम भण्डारी शैलीका पत्रकार भएनन्। हल्लाका आधारमा यही हो भनेर ठोकुवा गर्ने अधिकारकर्मीहरु भएनन्। नत्र निर्मला प्रकरणकै कुरा दोहोरिने हो भने यसमा पनि खै प्रमाण भन्दै त्यो १६ वर्षको केटोले त्यसरी बलात्कार र हत्या गर्न सक्दै सक्दैन भनेर ठोकुवा हुन्थ्यो। भिआइपी अपराधीको खोजी हुन्थ्यो। नक्कली आरोपीलाई फँसाउन लागेको भन्दै आन्दोलन हुन्थ्यो। निर्मला प्रकरणमा त मान्छेसमेत मर्ने गरी आन्दोलन भयो।
के छ त आधार? खै प्रमाण ?
भागरथी हत्याका आरोपी सार्वजनिक गर्ने क्रममा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले संक्षिप्त प्रारम्भिक प्रतिवेदनसहित पत्रकार सम्मेलन गरे। त्यो घटना १६ वर्षका किशोरले नै गरेको हो भन्नलाई प्रहरीसित के आधार छ भनेर पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका थिए। त्यसको जवाफमा डिआइजी सुवेदीले भने, अहिलेसम्मको घटनास्थल जाँच, घटनास्थलमा आरोपीको उपस्थिति, तत्काल सोधपुछको क्रममा दिएको बयान, टेक्निकल अनुसन्धानमा खुलेको उसको लोकेसन र साविती कुराहरूको आधारमा आरोपित बनाएका हौँ। भिडियो हेर्नुस्
अर्थात् एक महिलाले मैले लगभग त्यही समय घटनास्थल वरपर त्यो केटोलाई देखेको थिएँ भनेकी रहिछिन्। यसले घटनास्थलमा आरोपीको उपस्थिति (presence) स्थापित गरायो।
टेक्निकल अनुसन्धानमा उसको लोकेसन खुलेको भन्नुको मतलब उसको मोबाइलको सेल आइडी (CID) र लोकेसन एरिया कोड (LAC) भनेको होला।
अनि साबिती बयान भनेको उसले मैले गरेको हो भनेको होला।
यति मात्रले घटना उसैले गराएको हो भन्ने प्रमाणित हुने भए त निर्मला प्रकरणमा दिलिपसिंह विष्टको पनि यो भन्दा गतिलो प्रमाण बन्न सक्दैन थियो र?
यो घटनामा त प्रहरीले साबिती बयानको भिडियो पनि सार्वजनिक गरेको छैन। दिलिपसिंह विष्टका त भिडियोहरु नै सार्वजनिक भएका थिए। दिलिपको मात्र किन? पछि प्रदीप रावलले पनि निर्मलाको हत्या र बलात्कार गरेको साबिती बयान दियो, भिडियो नै छ भनेर तत्कालीन आइजी सर्वेन्द्र खनालले नै मिडियामा समाचार लिक गराएका हैनन् र?
घटनास्थलमा आरोपीको उपस्थिति (presence) स्थापित गराउने हो भने त निर्मला प्रकरणमा पनि दिलिपलाई त्यो बाटो गइरहेको देख्ने दुई जनाको बयान कागज भइसकेको छ। त्यो केटोमात्र होइन, त्यो बाटो त भागिरथीको हत्या भएको दिन कति जना हिँडेका होलान् त। उमात्रै हिँडेको होला त?
निर्मला र दिलिप दुवैले मोबाइल नबोक्ने भएकोले मोबाइलको लोकेसन त्यो घटनामा भेटिएन। तर अहिलेको यो घटनामा पनि त्यो केटोको लोकेसन घटनास्थलमा भेटियो भन्नु प्रविधि नजानेकोलाई उल्लु बनाएको जस्तो मात्र त होइन भन्ने पनि बुझ्नु पर्छ। किनभने त्यो गाउँमा हुने भनेको एउटा बिटिएस टावर हो। त्यो टावरबाट त्यही केटाको मात्र होइन, गाउँभरीका मान्छेको पनि त्यो बेला त्यही घटनास्थलकै सेल आइडी र लोकेसन एरिया कोड देखिन्छ होला खोज्ने हो भने।
अनि त्यो बाहेक केही पनि छैन त निर्मलाको घटनामा जस्तो माग गरिएका ‘फिजिकल एभिडेन्स’। न त्यो केटाको केही चिज त्यहाँ भेटिएको छ, न फरेन्सिक परीक्षणबाट त्यो केटाको उपस्थिति त्यहाँ भेटिएको भनेर वैज्ञानिक रुपले प्रमाणित गर्न सकिएको छ। हाम्रो प्रहरीको ल्याबको डिएनए परीक्षणको हैसियत के रहेछ भनेर त निर्मला प्रकरणमा, त्योभन्दा अघि ललितपुरको गोदामचौर प्रकरणमा आरोपीको डिएनए नमिलेकोबाटै प्रष्ट भइसकेको छ। अझ पछिल्लो समय अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राईको बलात्कार केसमा पनि डिएनए नमिलेको रिपोर्ट आएको थियो। निर्मला केसमा बाहेक पछिल्ला दुई केसमा आरोपीहरु जेल चलान भएका छन्।
प्रमाण नभई हुन्न त?
टेलिभिजनमा क्राइम पेट्रोल र सिआइडीमा हेरे जस्तो खतरा खालका केही पनि प्रमाण आज पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको देखिएन त।
निर्मलाको घटनामा त दिलिपसिंह विष्ट पहिले नै भिनाजुको हत्या गरेर जेल परिसकेको व्यक्ति, अहिले पनि उसले गर्ने यौन आशक्त हुने किसिमका कुराकानी, उसको व्यवहारले उसलाई शंकास्पद बनाउँछ। तर त्यो घटनामा त दिलिप हुनै नसक्ने, फिजिकल प्रमाणै चाहिने भनेर यत्तिकै राखिएको छ। अहिले त त्यो १६ वर्षको भनिएको केटाको ब्याकग्राउन्ड पनि त्यस्तो भेटिएको सार्वजनिक भएको छैन। हुनत प्रहरीले परिवारको सदस्यलाई बलात्कार गरेको अनि त्यसैको बदला लिन लागेको ‘स्टोरी’ मिडियामा लिक गराएको छ। तर पत्रकार सम्मेलनमा त्यो भनिएन। लजिकल्ली केही नमिल्ने जस्तो देखिएर पो हो कि।
त्यो आरोपी केटासँग सम्बन्धित केही कुरा घटनास्थलमा भेटिएको भए पो त्यसलाई प्रमाणका रुपमा स्थापित गर्न सकिन्थ्यो। तर सबै घटनामा यस्तो प्रमाण हुन्छ भन्ने हुँदैन।
प्रमाण भनेको प्रहरीले बनाउने चिज हो कि घटनास्थलमा हुने चिज हो, त्यो पनि ध्यान दिनुपर्ला। बनाउने हो भने त प्रहरीले ल्याएर बनाएर राख्नै पर्ने भयो त सबै केसमा।
तर छैन र प्रमाण बिना अपराधै प्रमाणित नहुने हो भने त सबै हत्या, बलात्कार आदि अपराधका घटनामा सिसिटिभी फुटेज नै खोज्नुपर्यो वा आँखाले देखेकै प्रत्यक्षदर्शी हुनुपर्यो। त्यो हुने हो भने त धेरै घटनाको अपराधी नै फेला नपर्ने भए। उदाहरणका लागि पछिल्ला केही चर्चित घटनाहरु हेरौँ।
निर्मलाको घटनाको केही महिनापछि पोखरामा भएको श्रेया सुनारको उस्तै बलात्कार र हत्या सम्बन्धी घटनामा पनि के नै प्रमाण थियो र? न डिएनए, न अन्य कुनै प्रमाण। मात्र साबिती बयान थियो त्यसमा। त्यतिकै भरमा अदालतले पुर्पक्षका लागि जेल चलान गरिदियो।
अनि काठमाडौँमा भएको पूर्वराजदूत केशव झाको हत्याको केसमा के थियो त प्रमाण प्रहरीले आरोपी भनेको सानुकान्छा तामाङविरुद्ध? यो केसमा त नार्को परीक्षण गर्दासमेत केही नखुलेको हैन र?
केही प्रमाणै नभए पनि परिस्थितिजन्य प्रमाणका आधारमा भान्छे सानुकान्छा तामाङलाई पक्राउ गरेर मुद्दा चलाएपछि अदालतले थुनामा पठाउने आदेश पनि गरिसकेको छ।
अनि अर्को मैले नबुझेको चाहिँ कुनै केसमा प्रमाणै चाहिने, प्रमाण नभई नहुने, कुनै केसमा चाहिँ प्रमाण नभए पनि हुने किन रहेछ? भागरथीको घटनामा प्रमाण नभए पनि हुने, निर्मलाको घटनामा चाहिँ प्रमाण बिना हुँदै नहुने- उस्तै खालका दुई अपराधमा दुई किसिमको मानसिकता किन हुँदो रहेछ?
भागरथीको घटनामा सुदूर पश्चिम प्रहरी प्रमुख डिआइजी नै पुगेर अनुसन्धान गरेकोले पो यसरी प्रमाणै नभए पनि हुने भएको हो कि। त्यसो भन्ने हो भने त फेरि निर्मला प्रकरणमा पनि पछिल्लो समय आइजी सर्वेन्द्र खनालै गएकै हुन्। आइजी गएर चाहिँ नहुने पो हो कि! यो पनि बुझ्न सकिएन।
बैतडीमा भागरथीको घटना र कञ्चनपुरमा निर्मलाको घटना लगभग उस्तै छ। दुवै स्कूलबाट दिउँसो घर फर्कने क्रममा हराएका थिए। दुवैको पछि शव भेटिएको थियो। दुवैको शव भेटिएपछि स्थानीय आन्दोलित भएका थिए। फरक के छ भने कञ्चनपुरमा खेम भण्डारी र मानसखण्ड भन्ने पत्रिका थियो, बैतडीमा छैन। प्रहरीले निर्मलाको केसबाट सिकेर घटनास्थललाई सुरक्षित गर्ने, चिकित्सक र सरकारी वकिललाई घटनास्थलमा लग्ने आदि काम गरेको देखियो। मिडिया पनि अलि सचेतै भए मान्नुपर्छ यो घटनामा, हल्ला र रेको कुरा आएनन् यो घटनामा।
तर त्यसबाहेक अरु कुरा त उही हो नि। दिलिपसिंह विष्टको जति पनि आधार यो घटनामा त्यो केटाको देखाउन सकेका छैनन् अहिलेसम्म। हुनत अहिले अनुसन्धानका क्रममा रहेकोले सार्वजनिक गर्न नसकिएको भन्ने डिआइजी सुवेदीको कुरालाई पनि मनन् गरौँ। तर केटोले गरेको कन्फेसन (साबिती बयान)सँग घटनास्थललाई रिलेट गराएको देखिएन। ‘स्टोरी’ पनि राम्रोसित बनेको, त्यसलाई डिफेन्ड गर्न सकेको देखिएन। कसरी घटना भयो, पहिला धकेलेर तल खसालेको भए घाइतेसँग फेरि किन रेप गर्नुपर्यो होला, रेप पहिला भयो कि मर्डर, यस्ता कुराहरु पनि खुलेका छैनन्। यद्यपि अनुसन्धान गर्ने निकाय भनेको प्रहरी नै हो। प्रहरीले प्रमाण पुग्ने गरेर अनुसन्धान गरेको भए अदालतले सजाय दिन्छ, नगरेको भए छाडिदिन्छ।
अहिले जति कुरा सार्वजनिक भएको छ, त्यतिको भरमा भागरथीको घटनामा त्यो १६ वर्षे केटोलाई आरोपी मान्ने हो भने निर्मलाको घटनामा पनि दिलिपसिंह विष्टलाई आरोपी मान्न नसकिने कारण के छ? यदि दिलिपसिंह विष्टलाई आरोपी मान्न नसकिने हो भने भागरथीको घटनामा त्यो अहिलेको १६ वर्षे केटोलाई पनि कसरी आरोपी मान्न सकिएला र। मलाई त यस्तो पो लागिरहेको छ, तपाईँहरुलाई के लागेको छ कुन्नि?
यो ब्लगको उद्देश्य प्रहरीले राम्रै गरेको कामलाई सर्हाना गर्ने भन्दा पनि कुरा बंग्याएर नकारात्मक कुरा सम्प्रेषण गर्ने जस्तो देखियो. फेरी निर्मलाको केस एउटा असफल र गिजोलिएको केस हो भनेर त सबैले मानेकै छ नि। हरेक केस लाई निर्मला कै केस संग तुलना गर्नु पर्छ र ?
१०० अपराधी छुटुन् तर एउटा निर्दोष ले सजाय नपाओस् ।
पुलिसले समात्यो, साबिती बयान लियो, अनुहार छोप्यो, पत्रकार सम्मेलन गर्यो। पुलिसले आफ्नो काम गर्यो भनेर गाउँलेले पुलिसलाई सिन्दुरीजात्रा गराए।
१६ बर्षे केटो अदालत नै नपुगी दोषी साबित भइसक्यो रे ..