कान्तिपुरको आज (२०७७ माघ २६) को पहिलो पेजमा एउटा समाचार छ, जसको शीर्षक छ- ‘प्रधान न्यायाधीशको प्रश्न’ सानो अक्षरमा अनि उद्धरण चिह्न भित्र ‘अहिलेको वातावरणमा निर्वाचन सम्भव छ?’
समाचारको लिडलाइन (पहिलो प्याराग्राफ) मा लेखिएको छ- ‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही रहेको तर्क गर्न बहसमा आएका सरकारी वकिललाई अहिले निर्वाचनको वातावरण छ कि छैन भनेर प्रश्न गरेका छन्।’
पहिला कुरा के हो बुझौँ, अनि यो समाचार सही हो कि होइन भन्ने निश्कर्ष तपाईँ आफै निकाल्नुहोला, म केही भन्दिनँ।
केही हप्ता भइसक्यो- सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनको विषयमा बहस भइरहेको छ। सुरुमा निवेदकहरुको बहस सकियो, अब अहिले पालो सरकारी वकिलहरुको छ।
यसै क्रममा हिजो आइतबार सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले यसो भनेको उद्धृत गरिएको छ, ‘इजलाससामु यस्तो अपेक्षा छ कि अब आउने फैसला सैद्धान्तिक रूपमा स्वीकार गर्न, बौद्धिक रूपमा आदर गर्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिने खालको होस्।’
भट्टराई यो वर्षको सर्वोत्कृष्ट सरकारी वकिल घोषित भएका व्यक्ति पनि हुन्।
तर काम सरकारको पक्षमा बहस गर्नुपर्ने।
यद्यपि उनले सैद्धान्तिक रुपमा निकै बचेर सरकारको प्रतिरक्षा गरेका थिए। ‘इजलाससामु यस्तो अपेक्षा छ कि अब आउने फैसला सैद्धान्तिक रूपमा स्वीकार गर्न, बौद्धिक रूपमा आदर गर्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिने खालको होस्’ उनको यो वाक्य जे अर्थ लाए पनि मिल्ने किसिमको छ।
यही विषयको समाचार कान्तिपुरको अनलाइन संस्करण इकान्तिपुरमा पनि यसरी प्रकाशित छ-
समाचारको स्क्रिनसट। अर्काइभ लिङ्कका लागि यहाँ क्लिक गर्नुस्।
छापा संस्करणमा समाचार आउनुभन्दा अघिल्लो दिन आइतबार राति प्रकाशित यो समाचारमा त्यो वाक्यको अर्थ समाचार लेखकले खुलाएका छन्, ‘त्यो भनेको वैशाखमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको निर्वाचनका लागि अदालतले बाटो खोल्नु रहेको आशय व्यक्त गर्दै।’
अर्थात् समाचारमा ठोस कुरा भन्दा पनि आशयको कुरा आएको छ। बोलेको कुरालाई समाचार लेखक वा सम्पादनकर्ताले आफ्नो अर्थमा अर्थ्याउन खोजेका छन्।
अनलाइनको समाचारमा लेखिएको छ- भट्टराईले माग राखिरहेकै बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रोकेर सोधे, ‘त्यसको लागि तपाईंले भन्नुभयो नि, जुन तीनवटा एक्सपेक्टेसन (अपेक्षा) छ त्यो त फ्लोर (सार्वजनिक रूपमा)मा वातावरण हुनुपर्यो नि ! हैन ? अहिले जुन वातावरण छ नि यो सम्भावना छ ?’
अब जाउँ पत्रिकामा छापिएको समाचारतर्फ।
यसमा पनि कोटेसन मार्क भित्र राखिएको प्रधान न्यायाधीशको उद्धरण यस्तो छ, ‘त्यसको लागि तपाईंले भन्नुभयो नि, जुन तीनवटा एक्सपेक्टेसन (अपेक्षा) छ त्यो त फ्लोर (सार्वजनिक रूपमा)मा वातावरण हुनुपर्यो नि ! हैन ? अहिले जुन वातावरण छ नि यो सम्भावना छ ?’
ध्यान दिएर पढ्नुस् त यो वाक्य। यसमा कतै निर्वाचन भन्ने शब्द परेको छ?
अहँ, मैले त देखिनँ।
तर कान्तिपुरको पहिलो पेजको भङ्गेरा टाउके अक्षरमा के छ?-
प्रधानन्यायाधीशको प्रश्न माथि सानो अक्षरमा लेख्दै ठूलो अक्षरमा कोटेसन मार्कभित्र लेखिएको छ, ‘अहिलेको वातावरणमा निर्वाचन सम्भव छ?’
प्रधानन्यायाधीशले त्यही भनेका हुन् त ? अहिलेको वातावरणमा निर्वाचन सम्भव छ भनेरै सोधेका हुन् त?
समाचारकै अंशमा प्रधानन्यायाधीशलाई उद्धृत गर्दा निर्वाचनको ‘न’ पनि उल्लेख भएको देखिन्न। (एक पटक फेरि हेर्नुस् माथिको बोल्ड गरिएको अक्षर)
राष्ट्रिय मिडियाको पत्रिकाले समाचारमै नभनेको कुरालाई अर्थ्याउन मिल्छ भने मैले पनि ब्लगमा यसो आफ्नो अर्थमा अर्थ्याउन पाइयो नि।
सरकारी वकिलले भने, ‘इजलाससामु यस्तो अपेक्षा छ कि अब आउने फैसला सैद्धान्तिक रूपमा स्वीकार गर्न, बौद्धिक रूपमा आदर गर्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिने खालको होस्।’
प्रधानन्यायाधीशले सोधे, ‘ त्यसको लागि तपाईंले भन्नुभयो नि, जुन तीनवटा एक्सपेक्टेसन (अपेक्षा) छ त्यो त फ्लोर (सार्वजनिक रूपमा)मा वातावरण हुनुपर्यो नि ! हैन ? अहिले जुन वातावरण छ नि यो सम्भावना छ ?’
तीन वटा एक्सपेक्टेसन भनेको- अब आउने फैसला
१) सैद्धान्तिक रूपमा स्वीकार गर्न,
२) बौद्धिक रूपमा आदर गर्न
३) व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिने खालको होस्
त्यो भनेको समाचारमा अर्थ्याइए जस्तो ‘वैशाखमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको निर्वाचनका लागि अदालतले बाटो खोल्नु’ मात्रै हो त ?
मैले पाएको सूचना अनुसार त ती सरकारी वकिल विघटनको विपक्षमा थिए र भन्थे रे, ‘मैले गरेको बहसको कपी बाहिर कसैले देखाएमा मैले रातो मुख लगाउन नपरोस्।’
अनि प्रधानन्यायाधीशले ती एक्सपेक्टेसन पूरा हुन त वातावरण हुनुपर्ने कुरा उठाउँदै अहिले जुन वातावरण छ, त्यो सम्भावना छ भनेर सोधेका रहेछन्।
भन्न खोजेको चाहिँ ‘सबैतिर आन्दोलन छ, सडक प्रदर्शन छ। दुवै पक्षले स्वीकार्ने फैसला आउने अवस्था त कहाँ होला भन्ने टोनमा हो भन्ने हो कि भन्ने अनुमानसम्म गर्न सकिन्छ। किनभने स्वभाविक रुपमा सदर गरे एउटा रिसाउँछ बदर गरे अर्को। राष्ट्रिय दैनिक भन्दा म बढी जान्ने, अजासु पो भएँ कि क्या हो?
अर्थ्याउने कुरा एक ठाउँमा। तर उद्धरणभित्र प्रधान न्यायाधीशले बोल्दै नबोलेको कुरा ‘अहिलेको वातावरणमा निर्वाचन सम्भव छ?’ भनेर राख्न पाइन्छ र?
केही अघिमात्रै इकान्तिपुरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ‘अख्तियारमा धूलो परेका फाइल निकाल्दै छौं’ भनेर कोटेसन मार्कभित्र राखेर समाचार प्रकाशित गर्दा मैले लेखेको थिएँ- समाचारमा कसैको भनाई उद्दरण चिह्न राखेर उद्धृत गर्दा जे भनेको हो त्यही लेख्नुपर्ने मान्यता छ। युनिभर्सिटी अफ रिचमण्डको राइटिङ इन डिसिप्लेनमा लेखिएको छ- ‘लेख्नेहरुले स्रोतको मुखमा आफ्ना शब्दहरु राख्न पाउँदैनन्।’ (पछि कान्तिपुरले माफी माग्दै समाचारको शीर्षक र अंश सच्यायो)
यहाँ पनि समाचारभित्र कोटेसन मार्कभित्रका वाक्य ठीक छ। तर हेडलाइन हेर्नुस् त-
यो बोल्दै नबोलेको कुरा मिडियाले घुसाएको हो कि होइन?
अनि लिडलाइन हेर्नुस्-
उद्धरणमा उद्धृत वाक्यसित यो वाक्य मिल्छ?
कुनै व्यक्तिले एउटा कुरा बोलेमा त्यसलाई अर्कै कुराले अर्थ्याएर त्यसो भनेको भनेर उद्धरण चिह्न भित्र राखेर शीर्षक बनाउन र लिडलाइन लेख्न मिल्छ?
के कान्तिपुरको यो समाचार सही छ?
मैले त प्रश्न मात्रै उठाएको हुँ, जवाफ तपाईँहरु आफैले दिनुहोला है।
र, अन्त्यमा एउटा डिस्क्लेमर पनि : यो फ्याक्ट चेक होइन ब्लग हो। ब्लग र फ्याक्ट चेक फरक विधा हुन्। मैले लेखेका सबै कुरा फ्याक्ट चेक हुँदैनन्। यसमा विभिन्न मापदण्ड अनुसारका निश्चित प्रक्रिया पुर्याउनु पर्ने हुन्छ।
अरु मिडियामा यही समाचार कसरी आएको छ पनि हेरौँ-
फैसलाबाट सरकारी वकिलको ३ अपेक्षा, प्रधानन्यायाधीशले सोधे – त्यस्तो वातावरण छ ? (अनलाइनखबर)
प्रधानमन्त्री ओलीका वकिलले भने- संविधानमा विघटनको अधिकार छ भन्ने हो भने कुट्लान भन्ने स्थिति छ श्रीमान्! (सेतोपाटी)
राम्राे विश्लेषण गर्याै याराे। nice…
you are really अजासु, but in sincere term. And you are definitely better than any of our nation daily.