Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘वाक युद्ध’पछि नेकपाका दुवै पक्षको ‘फेक युद्ध’ सुरु भएको छ, सावधान हुनुस्

Posted on February 5, 2021February 5, 2021 by Salokya

नेकपाका दुवै समूह वाक युद्धमा त अलि पहिलेदेखि नै थिए, अब इन्टरनेटमा फेक युद्ध सुरु गरे झैँ देखिएको छ। प्रचण्ड-माधव नेपाल समूहले बिहीबार आम हड्तालको नाम दिएर नेपाल बन्द गर्‍यो। कार्यकर्ता बाहेक जनता कसैले यसलाई रुचाएको देखिएन। तरकारी फ्याँकेकोदेखि बिरामीलाई बोकेकोसम्मका पुराना फोटोहरु आजकै जस्तो गरी राखेर भ्रम छरियो। हेर्नुस् दिनभर भाइरल भएका केही फोटो र भिडियोबारे फ्याक्टचेक। अर्को समूह पनि के कम- भोलि शुक्रबारको ओली समूहको कार्यक्रमकै बारेमा फेक खबर फैलाउन थाल्यो। त्यो पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकै फेक प्रोफाइल बनाएर।

‘सुर्य थापाको जानकारी’ लेखेर सर्च गर्दा यति धेरै प्रोफाइल स्क्रिनसट भेटियो-

त्यसमा ‘भोलि काठमाडौँमा हुने भनिएको बृहत् आमसभा सुरक्षा सहित विविध कारणले स्थगित भएको जानकारी गराउन चाहन्छु’ लेखिएको छ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको प्रोफाइलबाट जस्तो गरी उनकै फोटो र नाम राखिएको छ।

अर्काइभ लिङ्क

अर्काइभ लिङ्क

तर सूर्य थापाले आफ्नो फेसबुकमा ‘जनप्रदर्शनबारे भ्रम फिजाउन’ यस्तो गरिएको लेखेका छन्। उनले लेखेका छन्, ‘मेराे फेसबुक आइडीलाई स्क्रीन सट गरी नक्कली म्यासेज बनाई साेसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्ताे अपराधिक गिराेह कुत्सित सक्रियतामा संलग्न रहेकाेमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु।’

यसमा उनले ‘माधवकुमार नेपालका कान्छा भाइ सराेज उपाध्यायसहितकाे यस घिनलाग्दाे अपराध कर्मकाे निन्दा गर्दछु’ लेखेका छन् र उपाध्यायको फेसबुकको स्क्रिनसट पनि राखेका छन्

मैले हेर्दा भने उपाध्यायको फेसबुकमा यो सेयर भएको देखिनँ।

त्यसैगरी अनेरास्ववियु त्रि-चन्द्र क्याम्पस कमिटीका अध्यक्ष गोविन्द थपलियाले बिहानै पौने ९ बजे पुराना फोटोहरु सहित यस्तो लेखेर फेसबुकमा राखे-

राति हुँदासम्म अर्को पक्षले पनि उनै विरुद्ध यस्तो लेखी हाल्न थाले।

अर्काइभ लिङ्क

अर्काइभ लिङ्क

अर्काइभ लिङ्क

यस्तो प्रचार भएपछि थपलियाले आफ्नो फेसबुकमा लेखे– राजनीति पनि कतिसम्म घृणित अनि घिनलाग्दो गर्न खोजेको होला? केही नपाएर व्यक्तिको चरित्र हत्या गर्ने पनि एउटा हद हुन्छ नि? जे पनि लेख्ने ?जे पनि भन्ने ?सामाजिक संजालको चरम दुरुपयोग गर्ने?

फेकदेखि सावधान

ओली समूहको भोलिको सभा स्थगित हुने र गोंगबुमा गाडी जलाउने ओली पक्षकै विद्यार्थी नेता भएको समाचार कुनै पनि विश्वासिलो मिडियामा आएको छैन। सब सामाजिक सञ्जालमा मात्रै आएका हुन्। यो एक पक्षले अर्को पक्षविरुद्ध गरेको फेक युद्ध मात्रै हो।

यो युद्धमा दुई पक्ष हुन्छ। उनीहरु एकले अर्कोलाई तल गिराउन खोज्छन्। त्यसैले अहिले चलिरहेको फेक युद्धबाट सावधान हुनुस्। तपाईँ हामी के गर्न सक्छौँ त ?

मिथ्या सूचना व्यापक हुनबाट रोक्नु नागरिक, पत्रकार, मिडिया, राजनीतिक दल र अधिकारकर्मी सबैको कर्तव्य हो । मिथ्या सूचनाले दिने झुटो जानकारीले नागरिकलाई गलत निर्णय गर्न प्रेरित गर्छ । यसर्थ लोकतन्त्र बलियो बनाउन मिथ्या सूचनाबाट जोगिन जरुरी हुन्छ ।

– कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस्, प्रकाशित सामग्री मिथ्या हुन सक्छन् भनेर सचेत हुनुहोस् ।

– समय छ भने सामग्री सही छन् कि छैनन् भनेर परीक्षण गर्नुहोस् ।

– कुनै पनि सामग्री आफ्नो सोसल मिडियामा सेयर गर्न वा त्यसका सूचनाका आधारमा आफ्नो विचार राख्न हतार नगर्नुहोस् ।

-सोसल मिडियामा कतिपय अवस्थामा प्रयोगकर्ताले पढेका आधारमा समाचार धेरैमा देखिने हुँदा शीर्षकमा शङ्का लागेका वा गलत साइटमा प्रकाशित सामग्री पढ्न खोजेर समय खेर नफाल्नुहोस् ।

-सोसल मिडियामा सेयर गरिएका विचार वा सामग्री को र कति जनामा पुग्छ भन्ने कुराको अनुमान गर्न कठिन हुन्छ । यसर्थ अनावश्यक कुरा वा गलत सूचना रमाइलो वा अन्य कुनै कारणले पनि लेख्ने वा सेयर गर्ने नगर्नुहोस् ।

-मिथ्या समाचार हो भन्ने थाहा पाउनेबित्तिकै आफ्नो सोसल मिडियामा त्यो मिथ्या समाचार हो भनेर जानकारी गराउनुहोस् । तर यसरी जानकारी गराउँदा त्यो समाचारको लिङ्क भने नराख्नुहोस् ।

– कुनै पनि सामग्री सोसल मिडियामा सेयर गर्दा वा लेख्दा त्यो सामग्री सही र तथ्यपरक छ भन्ने पूर्ण विश्वस्त भएपछि मात्रै राख्नुहोस् । अलिकति पनि शङ्का छ भने कुनै पनि अवस्थामा (यो के हो भनेर सोध्नसमेत) त्यो सामग्री सेयर नगर्नुहोस् ।

– कुनै पनि सामग्री सेयर गरेपछि त्यसमा आएका प्रतिक्रिया हेर्नुहोस् र कसैको भनाइले शङ्का उत्पन्न गरेमा तुरुन्तै सच्याउनुहोस् । अरु कसैले सेयर गरेको सामग्री मिथ्या भएको थाहा भए उसलाई जानकारी गराउनुहोस् तर त्यसमा रियाक्सन गर्ने वा कमेन्ट लेख्ने काम नगर्नुहोस्। त्यसो गर्दा त्यो पोस्ट झन् धेरै फैलिन सक्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme