Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आम हड्तालको दिन भाइरल भएका फोटो र भिडियो- कुन सही, कुन भ्रामक?

Posted on February 4, 2021February 5, 2021 by Salokya

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको समूहले बिहीबार (फेब्रुअरी ४) गरेको देशव्यापी आम हड्तालको क्रममा सामाजिक सञ्जालमा विभिन्न फोटो र भिडियो भाइरल भएका छन्।

हामीले त्यसमध्ये केही फोटो र भिडियोको तथ्य जाँच (फ्याक्टचेक) गरेका छौँ।

ट्याक्सीमा आगजनी

युवा संघ नेपालको सचिवालय सदस्य रहेको परिचय फेसबुकमा राखेका रोशन बस्नेतले राखेको पोस्ट बिहीबार अपराह्नसम्म ५४९ पटक सेयर भएको छ।

यो पोस्टमा एउटा भिडियो र दुई वटा फोटो रहेका छन्।

यहाँ राखिएको भिडियो अलग्गै ६१० पटक सेयर भइसकेको छ।

भिडियोमा ट्याक्सी जलाइएको बारे पीडितले बोलेका छन्। भिडियोमा अनलाइनखबरको लोगो रहेको छ। अनलाइनखबरको युट्युब च्यानलमा खोज्दा यही भिडियो ६ वर्षअघि अर्थात् सन् २०१५ अप्रिल ७ तारिखमा अपलोड भएको देखिन्छ। युट्युब लिङ्क यहाँ क्लिक गरी हेर्नुस्।

तत्कालीन एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आन्दोलनका क्रममा बालकुमारीमा ट्याक्सीमा आगजनी गरेको बेलाको यो समाचार २०७१ चैत २४ गते प्रकाशित भएको अनलाइनखबरमा हेर्न सकिन्छ।

तथ्य जाँच : भ्रामक । यो भिडियोमा बोलिएका कुरा सही हुन् तर घटना आजको नभएर ६ वर्षअघिको हो ।

उनले राखेको दोस्रो फोटो एउटा जलेको ट्याक्सीको हो।

यस्तै खालको फोटो साझापथ अनलाइनमा पनि प्रकाशित छ।  उस्तै देखिने ट्याक्सी तर फरक एङ्गलका फोटोहरु सेतोपाटी र हिमालखबरमा छन्। बिहान गोंगबुमा प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको समाचार पहिलोपोस्टमा पनि छ। बीबीसी नेपालीले गोङ्गगबुमा आगजनी गरिएको एक ट्याक्सीका चालक धादिङका कुम्भनारायण श्रेष्ठले ग्राहक बनेर आएका दुई जनाले झुक्याएर ट्याक्सीमा आगो लगाइदिएको बताएका छन्।

तथ्यजाँच : सही । गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरिएको विभिन्न मिडियामा समाचार छन्।

एम्बुलेन्स तोडफोड

उनले राखेको अर्को फोटो एम्बुलेन्सभित्र बसिरहेकी महिलाले कागजात देखाउँदै गरेको हो।

यही फोटो अभियन्ताका रुपमा चिनिने ज्ञानेन्द्र शाहीले पनि आफ्नो फेसबुकमा राख्दै ‘जनता बिरामी भएको प्रमाण देखाउँदासम्म पनि हस्पिटल पुग्न नदिनु तपाईँको समाजवाद यही होला हैन कमरेड’ लेखेका छन्। उनको यो पोस्टमा १७२ सेयर र २६० कमेन्ट र २ हजारभन्दा बढी रियाक्सन छन्।

काठमाडौँपाटीका सम्पादक रोशन खड्काले पनि ट्विटरमा यही फोटो राख्दै ‘अराजकताको पनि हद हुन्छ नि, ननभेज आन्दोलन भनेको यही होला शायद’ लेखेका छन्।

यो फोटोको स्रोत खोज्ने क्रममा हामी युनाइटिङ युथ- युनाइटिङ नेपाली नामको फेसबुक पेजमा पुग्यौँ। त्यहाँ यही फोटो नौ वर्षअघि अर्थात् २१ मे २०१२ मा अपलोड भएको देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क। 

तथ्य जाँच : भ्रामक । यो फोटो ९ वर्षअघि नै फेसबुकमा अपलोड भएको देखिन्छ।

तरकारी फ्याँकेका फोटो

सामाजिक सञ्जालमा तरकारी फ्याँकेका फोटो पनि भाइरल भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बिहीबार किसान महासंघले राजधानीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै तरकारी सडकभरी फ्याँकेर प्रचण्डले क्रान्तिकारिता देखाएको भाषण गरेका थिए। हेर्नुस् भिडियो। 

सुरेश भण्डारी नाम रहेको ट्विटर अकाउन्टबाट बिहीबार बिहान यी दुई फोटोसहित गरिएको ट्विटमा साँझसम्म ४१ रिट्विट र १०८ लाइक देखिन्छ।

यी फोटोहरुलाई गुगलमा रिभर्स इमेज सर्च गरी खोज्दा एउटा भारतको र एउटा नेपालकै पुरानो फोटो भएको भेटियो।

यहाँ प्रयोग भएको एउटा फोटो भारतको फिनान्सियल एक्सप्रेसमा सन् २०१७ को जुन ३ मा प्रकाशित भएको देखिन्छ। फोटो भारतको महाराष्ट्र राज्यमा त्यतिबेला गरिएको किसान आन्दोलनको थियो ।

 

त्यसैगरी अर्को फोटो सहकारी नेपालमा ३ वर्षअघि अर्थात् २०१८ अगस्त २५ मा प्रकाशित भएको देखिन्छ। त्यसमा प्रकाशित समाचार अनुसार सर्लाहीको लालबन्दीका किसानले बेच्नका लागि बजार ल्याएको घिरौला व्यापारीले नकिनेपछि राजमार्गमै तरकारी फालेर विरोध जनाएका थिए।

अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीले पनि तरकारी फ्याँकेको अर्को फोटो फेसबुकमा सेयर गरेका छन्।

त्यसैगरी यही फोटो काठमाडौँपाटीका सम्पादक रोशन खड्काले ट्विटरमा र अरु थुप्रैले पनि सामाजिक सञ्जालमा राखेका छन्।

डा. सुधांशु केसीले यही फोटोसहित गरेको ट्विटमा पनि बिहीबार रातिसम्म ८२ रिट्विट, ४२९ लाइक छ-

फोटोमा देखिएको दृश्यका आधारमा खोज्ने क्रममा हामीले यो फोटोमा देखिएको जस्तै दृश्य काठमाडौँकै नापी विभागको पारी पट्टीको मध्य बानेश्वर छिर्ने गल्लीमा रहेको भेट्यौँ।

यो गल्लीमा अल इन वान मार्ट र कृषि विकास बैँक पनि रहेको छ।

फोटो पत्रकार विकास कार्कीले बिहीबार साँझ खिचेको फोटो। उनका अनुसार त्यहाँ तरकारी फ्याँकिएको कुनै संकेत छैन। नजिकै रहेको कृषि विकास बैँकका सुरक्षा गार्ड राजनकुमार थापाले आफू बिहानैदेखि त्यहीँ ड्युटीमा रहेको र तरकारी फ्याँकेको आफूले नदेखेको बताए।

तथ्य जाँच : भ्रामक । यो फोटो काठमाडौँको त हो तर तरकारी फ्याँकेको घटना कहिलेको हो भनेर हामीले पत्ता लगाउन सकेनौँ। त्यहाँ नजिकै रहेका सुरक्षा गार्डले तरकारी फ्याँक्ने जस्ता कुनै घटना त्यहाँ नभएको बताएका छन्।

बिरामी बोकेको फोटो

सामाजिक सञ्जालमा आजको बन्द भन्दै भाइरल भएको अर्को फोटोमा खुट्टामा प्लास्टर गरिएको एक बिरामीलाई बोक्दै लगेको देखिन्छ। यो फोटोलाई रिभर्स इमेज सर्च गरी खोज्दा हामी गेट्टी इमेजेजको यो पेजमा पुग्यौँ। 

त्यसमा राखिएको जानकारी अनुसार यो फोटो एएफपीका लागि प्रकाश माथेमाले १२ वर्षअघि अर्थात् सन् २००९ को जुन २१ मा खिचेका हुन्। तत्कालीन प्रधान सेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गर्ने सरकारको निर्णय राष्ट्रपतिले उल्टाएपछि सरकार छाड्न बाध्य तत्कालीन माओवादीले त्यसैको विरोधमा प्रदर्शन गर्दाको फोटो थियो यो।

तथ्य जाँच : भ्रामक । यो फोटो आजको बन्दको नभई १२ वर्षअघिको हो।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ।)

2 thoughts on “आम हड्तालको दिन भाइरल भएका फोटो र भिडियो- कुन सही, कुन भ्रामक?”

  1. Pingback: प्रधानमन्त्रीलाई समेत झुक्याउने तरकारीको खास रहस्य बल्ल पो थाहा पाइयो, यस्तो रहेछ « Mysansar
  2. Pingback: ‘वाक युद्ध’पछि नेकपाका दुवै पक्षको ‘फेक युद्ध’ सुरु भएको छ, सावधान हुनुस् « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme