१. के मैले कोभिड-१९ अर्थात् कोरोना भाइरस रोग विरुद्धको खोप लिन जरूरी छ?
यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिश गरिएको छ ।
२. कति छिटो हामीले यो खोप पाउँछौ ?
सबै नेपालीलाई पुग्ने गरी खोपको परिमाण एकै पटक उपलब्ध हुन नसक्ने भएकोले यो खोप प्राथमिकताका आधारमा चरणबद्ध रुपमा सबैलाई क्रमशः दिइनेछ । नेपालमा कोरोना भाइरस रोगको जोखिम, संक्रमितहरूमा भएको मृत्यु तथा सिकिस्त हुने दरको आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकिकरण गरिएको हो । यो प्राथमिकिकरण विश्व स्वास्थ्य संगठनको सिफारिशको आधारमा पनि गरिएको हो।
पहिलो प्राथमिकतामा हाम्रो जीवन र स्वास्थ्यसंग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, स्वास्थ्यकर्मीसहित स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई राखिएको छ । कोरोना भाइरस रोग संक्रमण हुने र अरुलाई पनि संक्रमित गराउने सक्ने जोखिम बढी हुने र स्वास्थ्यकर्मी संक्रमित हुँदा स्वास्थ्य सेवा नै अवरुद्ध हुन गई हामी सबै स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुने भएकोले पनि स्वास्थ्यकर्मीहरूलाई पहिलो प्राथमिकतामा राखिएको हो।
उनीहरूसँगै एम्बुलेन्स चालक तथा सहचालकहरू, शव व्यवस्थापन गर्ने व्यक्तिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, वृद्धाश्रममा कार्यरत कर्मचारीहरू, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरू र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरूलाई यसै प्राथमिकतामा राखिएको छ।
दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका महिला तथा पुरुषहरूलाई राखिएको छ । यो उमेर समुहमा कोरोना भाइरस रोगको संक्रमण हुँदा मृत्युदर र जटिलता उच्च भएको देखिएको छ । साथै, ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोग भएका व्यक्तिहरूलाई पनि दोस्रो प्राथमिकतामा राखी यो खोप लगाइने छ । दीर्घरोग भएका शरणार्थी र प्रवासी कामदारहरूलाई पनि यसै चरणमा खोप लगाइने छ।
तेस्रो प्राथमिकतामा खोपको मात्रा उपलब्ध भएसँगै १८ वर्ष उमेर समूहभन्दा माथिका सबैलाई खोप सेवा प्रदान गरिने छ । १८ वर्ष मुनिका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भैरहेकोले उक्त उमेर समूहलाई हाल यो खोप दिइने छैन ।
३. के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ ?
पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन/थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ।
४. यो खोप कुन उमेर समूहलाई दिइन्छ ?
नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ ।
५. यो खोप लिएपछि फेरि कोरोना संक्रमण हुन्छ ?
हुन सक्छ । यो खोप लिएपछि पनि केहि व्यक्तिहरूमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ
६. यो खोप कहाँ लगाउन पाइन्छ ?
यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट नि:शुल्क दिइन्छ।
७. यो खोप कसले लगाउनु हुँदैन ?
अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजना भएका महिलाहरू लिनुहुँदैन । साथै, यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनुहुँदैन। यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन ।
८. के स्वास्थ्य समस्या भएकाहरुले खोप लिन हुन्छ ?
हुन्छ । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू विरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरूले यो खोप लिन जरुरी छ।
९.यो खोप कतिको सुरक्षित छ ?
सुरक्षित छ । यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो। विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो।
१०. यो खोपको कति मात्र लगाउनुपर्छ ?
कम्तिमा ४ हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ ।
११. यो खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ?
कोभिड-१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।
१२. के यो खोपको दीर्घकालिन असरहरू पनि छन् ?
कोभिड-१९ नयाँ खोप भएकोले यसका हुनसक्ने दीर्घकालिन असरहरूका बारेमा थप समयपछि मात्र थाहा हुन्छ । खुशिको कुरा, अनुमति प्राप्त सबै खोपहरू विभिन्न चरणको क्लिनिकल परीक्षणमा सुरक्षित पाइएको छ।
१३. के यो खोपको पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौ ?
पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ । पहिलो मात्रा लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरू: दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने व्यवहारहरूको नियमित पालना गर्नेपर्छ ।
१४. यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?
खोपको कारणले वृद्धि भएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझैपनि यकिन भएको छैन ।
१५. के यो खोप अभियानले नियमित खोप सेवालाई कुनै प्रभाव पार्छ?
पार्दैन । यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलाहरूलाई दिइने खोप सेवा नियमित चलिरहन्छ ।
१६. खोप सेवाका वारेमा थप जानकारी कहाँबाट पाउन सकिन्छ ?
आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्था वा आमसञ्चारका माध्यमहरू मार्फत कोरोना भाइरस रोग विरुद्धको खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ। यदि तपाई खोप पाउने प्राथमिकिकरणमा पर्नु भएको छ भने, समूह अनुसारको सूचिमा आफ्नो नाम भए नभएको स्वास्थ्य संस्था वा नगरपालिका वा गाउँपालिकामा गई यकिन गर्नुहोस्।
थप बुझ्नका लागि यो ब्लग पनि हेर्नुहोस्-
नेपाल आइपुगेको खोप : के हो, कस्तो हो- बुझ्न सजिलो पार्ने १५ तथ्य
I think there has not been any study regarding transmission of the virus from vaccinated people.So, there is still a possibility that vaccinated people can still pass the virus .Hence,it is important to have atleast 75-80% of population vaccinated to achieve herd immunity.
Bholi khop ko karan byakti birami r apanga bhay k garne sarkarble jimma linxa? hoien bhane kin line khop?
लिन मन नलाग्नेलाई जबर्जस्ती गरेको छैन त। नलिए भो ।