Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेकपा जस्तै ‘सीधा कुरा’ पनि दुइटा : एउटा रविको, अर्को रवि बिनाको, कुन आधिकारिक?

Posted on January 25, 2021 by Salokya

देशको सत्ता चलाइरहेको दल नेकपा कानुनी रुपमा एउटै भए पनि व्यवहारिक रुपमा दुइटा छन्। टेलिभिजनको एउटा लोकप्रिय कार्यक्रम ‘सीधा कुरा जनतासँग’पनि अब दुइटा भएको छ। रवि लामिछानेले बिहीबार (जनवरी २१ मा) टिमसहित न्युज २४ टेलिभिजन छाडेपछि सो टेलिभिजनले आइतबार (जनवरी २४ मा) पहिलो पटक रवि लामिछाने बिनाको कार्यक्रम प्रसारण गर्‍यो।

रवि लामिछानेले परिष्कृत सोच र स्वरुपमा फेरि आउँछौँ भनेर सीधा कुरा जनतासँगको पुरानै लोगोसहित सूचना र नयाँ फोन नम्बर सार्वजनिक गर्दैगर्दा न्युज २४ टेलिभिजनले पनि ‘उही विश्वास उही रफ्तार’ भन्दै सोही लोगोसहितको कार्यक्रमको प्रचार गर्‍यो। नेकपाका दुवै समूहले आफू आधिकारिक भने झैँ यो सीधा कुरा चाहिँ कसको आधिकारिक हुने त? खोज्दै जाँदा यस्तो भेटियो।

रवि लामिछानेले सीधा कुरा जनतासँग परिस्कृत सोच र स्वरुपमा फेरि आउँछौँ भनी गरेको प्रचार।

न्युज २४ टेलिभिजनले ‘उही विश्वास, उही रफ्तार’ र अझ बढी जिम्मेवारीका साथ निरन्तर भन्दै गरेको प्रचार।

न्युज २४ टिभी र रवि लामिछानेको कुरा कहाँ नमिलेको भित्री कुरा थाहा भएन। तर यसो हेर्दा बुझिने कुरा  उनी ‘सीधा कुरा जनतासँग’लाई केही समय ब्रेक दिन चाहन्थे र परिस्कृत सोच र स्वरुपमा ल्याउन चाहन्थे। उनले आफ्नै नयाँ टेलिभिजन चलाउन लागेको कुरा पनि छ।

न्युज २४ टिभीले भने आफ्नो टेलिभिजनको सबैभन्दा लोकप्रिय कार्यक्रम गुमाउन नचाहेको जस्तो देखियो। त्यसैले उसले निरन्तरतामा जोड दियो, कार्यक्रम सञ्चालकले आफ्नो टेलिभिजन छाडे पनि।

शायद् त्यसैले गएको बिहीबार रविलाई अन्तिम कार्यक्रम लाइभ गर्न दिइएन। रेकर्डेड कार्यक्रम प्रसारण हुँदा पनि सेन्सर गरियो। रविले आफ्नो सीधा कुराको अहिलेसम्मको यात्राको बारेमा तयार पारेको रिपोर्टलाई टेलिभिजनमा प्रसारण हुन दिएन। तर उनले त्यसलाई फेसबुकमार्फत् सार्वजनिक गरे।

यो द्वन्द्व बढ्दै जाँदा आइतबार एउटा अर्को रुप देखियो। न्युज २४ टेलिभिजनले नयाँ प्रस्तोताका साथ कार्यक्रम प्रसारण गर्‍यो- नियमित सेड्युलमै, उही सेटमा।

‘सीधा कुरा’ रविको कि न्युज २४ को त?

नेकपा ओलीको कि प्रचण्ड-माधव नेपालको भने जस्तो अब प्रश्न आउँछ ‘सीधा कुरा’ रवि लामिछानेको कि न्युज २४ टिभीको त ?

यो विवाद पहिले पनि उठेको हो। सीधा कुरा खासमा ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ भनेर नेपाल टेलिभिजनमा रवि लामिछानेले नै सुरु गरेको कार्यक्रम थियो। त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली थिए।

रवि लामिछाने  र प्रम केपी ओलीसहितको कार्यक्रम

ओली सरकार ढलेर प्रचण्ड प्रधानमन्त्री भएपछि त्यो कार्यक्रम रवि लामिछानेलाई चलाउन दिइएन।  वासुदेव शर्मा ‘बबिन’ ले प्रचण्डसँग ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ चलाए।

प्रचण्ड र बबिनसहितको कार्यक्रम

‘सीधा कुरा प्रधानमन्त्रीसँग’ चलाउन नपाएपछि रवि लामिछाने न्युज २४ टेलिभिजनमा गए र  ‘सीधा कुरा जनतासँग’ चलाउन थाले। यहीँबाट हो उनको टर्निङ प्वाइन्ट सुरु भएको। उनले नेतासँग नै कार्यक्रम चलाइरहेको भए यति लोकप्रियता शायदै पाउँथे। उनले जनतासँग कार्यक्रम चलाए। जनताको चासो, गुनासोलाई प्राथमिकता दिए।


यस्तो थियो सन् २०१६ मा प्रसारण भएको सीधा कुरा जनतासँगको पहिलो भाग।

त्यतिबेला रमाइलो हुन्थ्यो, उस्तै लोगो, उस्तै थिम म्युजिकमा दुई वटा कार्यक्रम दुई वटा टिभीमा आउँथे। नाम भने फरक थियो। एउटा प्रधानमन्त्रीसँग नेपाल टेलिभिजनमा अनि अर्को जनतासँग न्युज २४ टेलिभिजनमा।

ट्रेडमार्क दर्ता रविको कम्पनीको नाममा

अहिले पनि त्यस्तै अवस्था हो त ?

खोज्दै जाँदा त्यस्तो अवस्था देखिएन।

प्रधानमन्त्री र जनतासँगको नाममा विवाद हुँदा शायद् त्यो कार्यक्रमको ट्रेडमार्क दर्ता गरिएको थिएन। तर अहिले त्यस्तो अवस्था होइन।

औद्योगिक सम्पति बुलेटिनमा प्रकाशित सूचना अनुसार २०७४ साल जेठ १६ गते नै सीधा कुरा जनतासँग भनेर देवनागरीमा लेखिएको मार्क र लोगोसहितको ट्रेडमार्क रुचि एन्ड रिया प्रोडक्सन प्रा लि, काठमाडौँ नेपालको नाममा दर्ता भएको छ।

रुचि र रिया रवि लामिछानेकी छोरीहरुको नाम हो।

अर्थात् कानुनी रुपमा सीधा कुरा जनतासँगको अधिकार न्युज २४ टेलिभिजनसित हैन, रवि लामिछानेसित नै छ।

न्युज २४ लाई के होला ?

मनोज गजुरेलले भने जस्तै केही नहुन्जेल त केही पनि हुन्न। तर यदि कानुनी रुपमा समाधान खोजियो भने न्युज २४ लाई कारबाही हुनसक्छ। के छ त कानुनी व्यवस्था ?

पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ अनुसार कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न वा आफ्नो नाममा नामसारी नगराई वा प्रयोगको निमित्त लिखित रुपमा  अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन हुँदैन।

गर्‍यो भने के हुन्छ त ?

कानुनमा कसुरको मात्र हेरेर एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने उल्लेख छ।

त्यतिमा हैन ट्रेडमार्कको दर्तावालाले वास्तविक रुपमा सहनु परेको नोक्सानीको उचित रकम सो उल्लङ्घन गर्ने व्यक्तिबाट दर्तावालालाई हर्जानाको रुपमा भराइदिनसक्ने पनि व्यवस्था छ।

यो हिसाबले हेर्दा रवि लामिछानेको कानुनी आधार बलियो, न्युज २४ को कमजोर देखिन्छ। रविले चाहेमा न्युज २४ टेलिभिजन अप्ठेरोमा पर्न सक्ने देखिन्छ।

2 thoughts on “नेकपा जस्तै ‘सीधा कुरा’ पनि दुइटा : एउटा रविको, अर्को रवि बिनाको, कुन आधिकारिक?”

  1. sushil says:
    January 26, 2021 at 1:49 pm

    Bijaya Kumar le jasari Disha Nirdesh jun television ma gaye pani tei naam baata chalauchan, rabi lai pani diye bhaigo. Feri Unkai naam ko company ma darta raicha. k lyang lyang hola..

    Reply
  2. बीरबहादुर शेरचन योन्जन says:
    January 26, 2021 at 1:47 am

    सिधा कुरा चलेको रबी लामिछानेको प्रस्तुतीकरण शैलीले गर्दा हो| डाइरेक्ट, कम्ब्याटिभ, र बिषयवस्तु कडा पकडिएर उनले राखेका प्रश्नमा दिईएका उत्तरमा तीखो जिरिह जिकिर गर्ने कारणले दर्शकवर्गले झन मन पराएका हुन| उनका कार्यक्रम नेपाल बाहिरका ५० लाख नेपालीले नछुटाई हेर्छन| उनीहरुको दैनिक पीडा, चासो र गुनासोलाई समेटेर उनले सम्प्रेषण र सम्बोधन गर्ने गरेका छ| बिराएका वा बिराउन उन्मुख राजनीति ब्यक्ति, बेपारी र कर्मचारीहरुलाई थर्थर कमाईदिन्छन|
    रबी लामिछाने बाहेक हाम्रा नेपालका विरलै अन्तर्वाताहरुमा मात्र यो देख्न सुन्न सकिन्छ जँहा अन्तर्वाताकारले सादर आफ्ना उत्तरदातालाई उनीहरुकै आलटाले र गैरजिम्मेवारी उत्तरप्रति चुनौती दिन्छन|
    जनता जान्न चाहन्छन भन्ने कार्यक्रम छ् जो कुनै ताल न सुरको हो| प्रश्नकर्तालाई यो बिषयमा तपाईंले पढनु भएको छ? भनेर उल्टो प्रश्न गर्‍यो भने चिल्लै छन, जिल्लै पर्छन| लाज साज मान्दैनन| एकतर्फी बन्दुकको गोली जस्तो प्रश्न प्रहार गरेर मात्र होइन, उत्तरलाई केलाएर तत्कालै त्यस्को तथ्यता माथि प्रश्न गर्न सक्नुपर्छ| झन भारतीयहरुसँग हिन्दीमा गरेको अन्तर्वाता शर्मानाक छ्|
    हालैमा प्रधानमन्त्रीको अन्तर्वाता दुईटा कार्यक्रममा हेरियो| दुवै संचालक नाम चलेका नेपाली टीभी अन्तर्वाताकार हुन| बिषयमा माहिर छन| तर चाहिदो जिकिर गरिएन| प्रायोजितको गन्ध आयो वा भनौ सहजै जान दिए| संस्थापन पक्षलाई दिईेएको यो कस्तो पत्रुकारीक सुविधा हो? धेरैले प्रश्न गरेका छन| त्यसपछी लगत्तै चौधरीको अन्तर्वाता त सगरमाथा उडानको वदलामा थिए भन्ने सबैले बुझेका छन| रबीले तिनै चौधरीलाई मज्जाले नङ्याईदिए|
    अन्त्यमा कुरो आयो सिधा कुरामा नँया प्रस्तोताको| सम्झनाजीको शोर र प्रस्तितिकरण राम्रै छ| बोल्दा खेरी हात हल्लाउने, जीउ मर्काउने र अनुहार आँखाको भावभंगी आदि तालिम वर्कशपमा सिकाए अनुसार नै छन|अलि अस्वाभिविक जस्तो लाग्छ तर नराम्रो भने छैन| तर यस्तो जनता सँगका चासो गुनासोको कार्यक्रममा प्रस्तोताले दर्शक वा आफ्ना बिषयवस्तुसँग जोडले कनेक्ट गर्न सक्नुपर्छ| रबीको तुलनामा भन्न् खोजेको होइन, उनालाई पनि ट्याम लाग्यो| तर यस्ता कार्यक्रमको प्रस्तोताले न्युज रिडर जस्तो हुन भएन| बोलचालको भाषा र भाका दुवै अपनाउनपर्छ|पहिलो गाँसमै कसरी ढुङ्गा पर्‍यो? पहिले कार्यक्रममा वेपत्ता ब्यक्तिको नाम उमेर प्रष्ट भएन| न्युज रिडिङ र दर्शक सँग इन्टेर्याक्ट गर्ने कार्यक्रम अलगै हुन| लाइभको पनि भैपरिका लागि रिसर्च र पूर्व तयारी हुनपर्छ| पहिलो कार्यक्रम फितलो देखियो, प्रोड्युसरको कमजोरीले हो कि? यस्तै ताल हो भने चाँडै धारामा पानी सुक्छ|
    अब हेरौ कुन टीम अघि आउने हो| हाम्रो लागि जति स्वस्थ प्रतिस्पर्धा हुन सक्यो उती राम्रो|
    रबिजीका नँया कार्यक्रमको अपेक्षामा छौ|

    भ्रष्टचार, अनियमितता, स्वास्थ्य, रोजगारी, शोषण, विभेद, अन्याय, कुरीती आदि आम जनताले दिनहु दु:ख पाईरहेका बिषयलाई राख्ने मात्र होइन, सम्बोधन गर्ने तर्फ पनि कार्यक्रमले जोड दिनपर्छ| हाम्रा मेडिया दिनरात खालि राजनैतीक ब्यक्तिका अन्तर्वाता, भाषण, बिष्लेषण र पदछाप पहिल्याउने मात्र हुन भएन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme