अचेल सोसल मिडियामा बाघ काण्ड निकै भाइरल छ। बर्दियाको बाघ काण्डबारे पोस्टहरु कति हो कति। हिजो शनिबार (२०७७ माघ १० गते) भने सोसल मिडिया र विभिन्न अनलाइन मिडियाहरुमा अर्को बाघ काण्डको चर्चा थियो। तर यो बर्दियाको नभएर बाराको थियो। बारा भए पनि पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडकखण्डबाट शनिबार बिहान बाघले झम्टिएर एक जना पुरुषलाई जंगलतर्फ लग्यो रे भन्ने समाचारहरु आएको रहेछ। आज यही विषयमा नेपालफ्याक्टचेकमा फ्याक्टचेक गर्ने काम आइलाग्यो।
सबभन्दा पहिला आँखा गयो यो ‘सीधा कुरा जनता’सँग नामको फेसबुक ग्रुपमा। नाम यस्तो भए पनि यसको रवि लामिछाने र उनले सञ्चालन गर्ने ‘सीधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रमसित केही सम्बन्ध छैन।
यसमा राखिएको समाचारको हेडलाइन हेर्नु न- ‘बाघले आक्रमण गरी बारामा एक युवकलाई जंगलतिर लग्यो, खोजी कार्य सुरु’ रे।
अन्जुलीअनलाइनमा प्रकाशित समाचारमा लेखिएको छ-
बाराको अमलेखगञ्ज–पथलैया सडकखण्डमा बाघले शनिबार बिहान एक पुरुषलाई आक्रमण गरी जंगलतिर लगेको छ ।
पहि’चान खु’ल्न नसकेको अन्दाजी ४५ वर्षीय ती पुरुषलाई बाघले आ’क्रमण गरी जंगलतिर लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो।
अनि फोटो पनि राखिएको छ मान्छेलाई झम्टँदै गरेको। तर अलिकति बुद्धि भएकोले फोटो हेरेरै थाहा पाउँछन्- त्यो बाघ होइन, चितुवाको फोटो हो। फोटोको मुनि हैन समाचार पुछारमा अङ्ग्रेजीमा (file-photo) लेखिएको रहेछ। तर कहाँको कति बेलाको फोटो हो- केही लेखिएको छैन। थाहा नपाउनेहरुलाई बाराकै फोटो हो कि भन्ने लाग्न सक्छ।
फोटो कहाँको रहेछ भनेर खोजी हेर्दा हामी द ग्लोब एन्ड मेलको यो समाचारमा पुग्यौँ-
त्यसैगरी इजरायलको वेबसाइटमा पनि एसोसिएटेड प्रेसको यही फोटोसहित समाचार छ। समाचार अनुसार यो फोटो सन् २०११ मा उत्तरपूर्वी भारतको प्रकाशनगर गाउँमा चितुवाले वन पालेलाई आक्रमण गर्दाको रहेछ। न्युज एजेन्सी एपीका फोटोग्राफरले खिचेको फोटो रहेछ यो।
हेर्नुस् त, भारतको फोटोलाई ल्याएर नेपालको समाचारमा जोडेर कहाँको फोटो भन्ने प्रसंग नखुलाई राख्न मिल्छ त?
त्यसैगरी केटिएम दैनिकले पनि ‘पथलैया-अमलेखगञ्ज सडकमा पिसाव फेर्न जंगल पसेका पुरुषलाई बाघले तानेर लग्यो’ शीर्षकमा समाचार राखेको छ।
समाचारको शीर्षकले त बाघले तानेर लगेकै जस्तो लाग्छ नि है।
यो समाचार केही मूलधार मिडियाका अनलाइन संस्करणमा पनि आएका छन्। तर ती समाचारहरुमा यसमा जस्तो बाघले तानेरै लग्यो भनिएको छैन, आशंका भनेर शीर्षकमै खुलाएका छन्।
अन्नपूर्ण पोस्टको अनलाइनमा ‘बाघले मान्छे लगेको आशंका, निकुञ्जको टोलीद्वारा खोजी सुरु’ शीर्षकमा समाचार छ।
त्यसैगरी नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणमा पनि ‘पिसाब फेर्न जंगल पसेका पुरुषलाई बाघले लगेको आशंकामा खोजी सुरु’ शीर्षकमा समाचार राखिएको छ।
दुवै समाचारमा सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेको, केही बेरमै ठूलो आवाजमा ती पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले प्रहरीलाई खबर गरेको लेखिएको छ। कुनै पनि समाचारमा खासमा बाघले कसलाई चाहिँ तानेर लगेको हो भन्ने उल्लेख छैन।
भएको के रहेछ ?
के भएको हो पत्ता लगाउनका लागि हाम्रा एक जना साथीले पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत रमेशकुमार यादवलाई सोधे- के पर्सामा बाघले मान्छे लगेको हो?
‘छैन,छैन। त्यो फेक न्युज हो,’ उनले त यसो पो भने।
यादवका अनुसार एक महिलाले भनेको भनेर खबर आएपछि खोज्दै जाँदा फेक न्युज भएको पत्ता लागेको हो।
यादवले अरु कुरा पनि थपे, जुन महिलाले यो खबर ल्याएको थियो। ती महिला पनि ‘त्यस्तै’ रहिछिन्।
‘त्यस्तै’ भन्या चाहिँ कस्तै बुझिएन।
उनले अर्को एउटा कुरा पनि पछि खोज्दा थाहा भएको बताए- त्यही दिन बिहान मुन्ना पण्डित नामका एक पुरुष त्यही हाइवेबाट जाँदै गर्दा त्यही ठाउँमा चितुवा देखेपछि बाइकबाट लडेको र त्यही हल्ला फैलिएको रहेछ।
यति कुरा थाहा भएपछि थप खोज्न पर्ने भयो। मैले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रलाई फोन गरेँ। पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने भए पनि घटना भएको भनिएको ठाउँ भने सिमरा, बारामा पर्छ।
मिश्रका अनुसार बाघले लगेको भनेर खबर गर्ने महिलाको सूचनाको आधारमा शनिबार दिनभर निकुञ्ज, प्रहरी, सेना सबै मिलेर चार वटा हात्ती प्रयोग गरी खोजी गरिएको रहेछ।
बाघले झम्टेर तानेर लगेको भनेपछि त बाटोमा केही संकेत हुनुपर्ने, रगतहरु हुनुपर्ने, त्यो मान्छेले टोपी लगाएको थियो भनेर भनेको थियो रे महिलाले, त्यही टोपी कतै खसेको हुनुपर्ने। अहँ केही पनि भेटिएनछ। ‘दसी प्रमाणहरु कुनै पनि नभेटिसकेपछि त्यो फेक न्युज रहेछ भनेर निकुञ्जले हामीलाई भनेको हो,’ उनले भने।
अनि अर्को पनि कुरा, कोही व्यक्ति हराएको भए आफन्त वा अरु कसैले हराएको भनेर प्रहरीमा रिपोर्ट पनि हुनुपर्ने हो, त्यस्तो रिपोर्ट पनि कसैको नआएको प्रवक्ता यादवले सुनाए।
‘त्यही ठाउँमा एउटा बाइकमा चितुवाले बाटो क्रस गर्दा लडेर सामान्य घाइते भएको भन्ने कुरा पनि आयो। त्यसपछि कुरो चाहिँ यो रहेछ, त्यतातिर डाइभर्ट भएछ भन्ने पनि निकुञ्जको भनाई हो’, उनले भने।
सूचना पाएपछि घटनास्थलमै पुगेका प्रहरीसित पनि कुरा भयो। सूचना आएपछि हेर्दा त्यो ठाउँमा हेर्दा बाघले लगेको केही संकेतै रहेनछ। ती महिलाले हुलिया पनि खुलाउन सकिनन् रे। टोपी लगाएको, ब्याग बोकेको भन्थिन् रे।
खासमा बाघले लगेको भनेर कसैले देखेको भने रहेनछ।
अर्कोले सुनाए- चिच्याएको सुनेँ भन्ने महिला चाहिँ त्यहाँका बस, ट्रकका ड्राइभरहरुसित त्यस्तै गर्ने खालको रहेछ रे। त्यस्तो भनेको चाहिँ कस्तो मैले फेरि पनि बुझिनँ। ‘त्यस्तो गरेर’ त्यहाँ झरेको रे। त्यसपछि के भएछ कुरो बुझिएन।
महिलाले मैले चिच्याएको देखेको भनेर नै भन्छिन् रे। महिलाले त्यति भन्नु अनि केही दिनअगाडि त्यहाँ एक जना व्यक्तिले चितुवा देखेको अनि बाइक लडेर सामान्य घाइते पनि भएको। त्यहाँमाथि सोसल मिडियाभरी बाघले बर्दियामा मान्छे खाएको कुरा भाइरल भइरहेको। बस्, के छ र- यहाँ पनि मान्छे बाघले लग्यो भनेर हल्ला भइदियो।
सूचना आएपछि खोज्नु त पर्यो। रेञ्जर, प्रहरी, सेना भएर चार वटा हात्ती प्रयोग गरेर धुइँपत्ताल खोजे। हात्ती चैँ किन भने हाइवेको अलि नजिक पो यसो हेर्न सकियो। भित्र पस्न त त्यो ठाउँ अलि डरलाग्दै रहेछ। जंगली जनावर हुनसक्ने। एक्लैदुक्लै जाँदा खतरा। त्यसैले हात्ती ल्याएरसमेत भित्र-भित्रसम्म गएर खोजे।
तर अहँ, केही पनि भेटिएन। केही न केही त संकेत हुनुपर्थ्यो नि- केही पनि छैन। न को मान्छे हराएको भन्ने थाहा छ, न कसैले देखेको छ। हल्लैहल्लामा बाघले मान्छे लगिदिएछ। खासमा वनको बाघले हैन मनको बाघले चाहिँ लगेको रहेछ।
त्यसपछि यसलाई पुष्टि नभएको अर्थात् अपुष्ट श्रेणीमा राखेर फ्याक्टचेक प्रकाशन गरियो। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ-
के पर्सामा बाघले आक्रमण गरी मान्छे लगेको हो?
थपिएको
लेखेर पोस्ट पनि गरिसकेपछि युट्युबमा मकालु टेलिभिजनको एउटा भिडियो देख्न पुगेँ।
अहो, यसमा त माथिको एउटा अनलाइनले झैँ चितुवाको हैन, बाघले मान्छे तान्दै लगेको फोटो पनि देखाइएको छ। सामान्य मान्छेले के बुझ्ने यो टेलिभिजनको समाचार हेरेर ? पक्कै बारामा नै यसरी बाघले तानेर लगेको बुझ्ने होइन? समाचारसँग यो फोटोसँग सम्बन्ध छैन भनेर कहीँ कतै लेखिएको छैन। असम्बन्धित फोटो त समाचारमा देखाउनु नै किन पर्यो र ?
यो फोटो कहाँको भनेर खोज्दै जाँदा त स्रोत नखुलाई भारतको एउटा वेबसाइटमा यहाँ राखेको भेटियो सन् २०२० मै।
त्यसैले पनि यो फोटो नेपालको होइन भन्ने थाहा हुन्छ। यसरी अरु ठाउँको फोटो देखाउन हुन्छ त यो टिभीले ?
@salokyaa