सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनबारे भइरहेको बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनर्स्थापना हुँदैन भनिरहेको कुरा उठाइएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘बाहिरको कुराले तपाईं प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं’ भने।
तपाईँले यस्तो व्यहोराको समाचार आज कतै पढ्नुभएको वा सुन्नुभएको छ?
छ भने तपाईँले गलत समाचार पाउनु भयो। प्रधान न्यायाधीशले त्यसो भनेकै होइनन्।
कसरी यस्तो गल्ती भयो भन्ने विषयमा जानुभन्दा अगाडि कुन कुन अनलाइनले यसबारे लेखे, त्यो हेरौँ।
सबैभन्दा पहिला यो समाचार अनलाइनखबरले लेखेको थियो-
अनलाइन मिडियाका पाठकहरु एक पटक पढिसकेपछि पुनः सोही समाचार पढ्न जाँदैनन्। त्यसैले तपाईँले यही समाचार पढिसक्नुभएको भए त्यही सही भन्ठानिरहनुभएको हुनसक्छ। तर कहिलेकाहीँ गल्ती पनि हुनसक्छ। जस्तै यो समाचारमा भयो। अहिले अनलाइनखबरमा यही समाचारको लिङ्कमा क्लिक गर्नुभयो भने यस्तो देखिन्छ-
देख्नुभयो? समाचारको शीर्षक र फोटोमात्र परिवर्तन भएको छैन, मुनि एउटा सूचना पनि राखिएको छ- यसअघि भूलवश प्रधानन्यायाधीश उल्लेख भएकाले सच्याइएको छ।
धेरै अनलाइन मिडियाले गल्ती सच्याउँदा यसो लेख्ने गर्दैनन्, सुटुक्कै सच्याउँछन्। अनलाइनखबरले भने गल्ती सच्याउँदा पनि पारदर्शी रुपमा गल्ती भएको कुरा जानकारी दिएर सच्याएको छ। लिडिङ अनलाइन भएकोले अनलाइनखबरको यस्तो कामले अरु अनलाइन मिडियाहरुलाई पनि प्रेरित गर्ने आशा गरौँ।
यो त भयो अनलाइनखबरको प्रकरण। कुरा सामान्य छ- गल्ती लेख्यो, जानकारी दिएरै सच्यायो।
तर लिडिङ अनलाइन भएकोले यसले लेखेको समाचारको प्रभाव त्यतिमा सीमित रहेन। अरु अनलाइनहरु पनि यसकै पछि पछि लागे। परिणाम- यो ब्लग लेख्दासम्म यी कुनै पनि अनलाइनहरुले आफ्नो समाचार सच्याएका छैनन्। केही उदाहरण
उदाहरण १ : अन्नपूर्ण पोस्ट
पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुस्।
उदाहरण २ : काठमाडौँप्रेस
उदाहरण ३ : रिपोर्टर्सनेपाल
पूरा समाचार यहाँ क्लिक गरी पढ्नुस्।
उदाहरण ४ : नेपालीपत्र
उदाहरण ५ : टिभी अन्नपूर्ण
नझुक्किनुहोला, माथिको अन्नपूर्ण पोस्ट र यो टिभी अन्नपूर्ण एउटै मिडिया हाउसको होइन। टिभी अन्नपूर्ण भन्ने छुट्टै अनलाइन मिडिया हो।
माथिका त केही उदाहरण मात्र हुन्। यसबाहेक अरु थुप्रै अनलाइन मिडियाहरुमा यो समाचार आएको छ। टेलिभिजन र एफएमहरुमा पनि यो समाचार पढियो होला। यति धेरै मिडियाबाट आएपछि नभएकै कुरा पनि हो जस्तो लाग्न सक्छ।
तर सबैले गल्ती लेखेका भने होइनन्, कान्तिपुर, शिलापत्र, पहिलोपोस्ट, नेपाललाइभले चाहिँ त्यो भनाई न्यायाधीश अनिलकुमार सिन्हाकै भएको समाचार लेखेका छन्।
कसरी भयो गल्ती ?
२०५१ सालमा गिरिजाप्रसाद कोइरालाले संसद विघटन गर्दा त्यसविरुद्ध परेको मुद्दामा ११ जना न्यायाधीशको विशेष इजलासले अहिले जस्तै लामो सुनुवाई पछि फैसला सुनाएको थियो। त्यतिबेला अहिले जस्तो सूचनाका स्रोतहरु धेरै थिएनन्। थोरै पत्रिका थिए। भोलिपल्ट बल्ल त्यसबारे समाचार पढ्न पाइन्थ्यो। अहिले त थुप्रै मिडियाहरु छन्,धेरै वटा मिडिया पढेर हामी धेरै कुरा थाहा पाउन सक्छौँ।
कपिपेस्ट गर्नेका कुरा छाडिदिउँ। साँच्चै अदालतमा गएर रिपोर्टिङ गर्नेहरुको दुःख अलग्गै छ। रिपोर्टरहरु बार एसोसिएसन भवनमा दिनभर बहस सुनेर समाचार लेख्छन्। इजलासमा भएको बहसको अडियो त्यहाँ राखिएको स्पिकरबाट सुन्न मिल्छ भने इजलासमा राखिएको सिसिक्यामेराबाट खिचिएको दृश्य त्यहाँ राखिएको स्क्रिनमा हेर्न मिल्छ। स्क्रिनमा न्यायाधीशहरुको अनुहार खासै देखिँदैन। अडियोमा आएको आवाजबाट कसले बोलेको भनेर अनुमान गर्नुपर्ने हुन्छ।
नियमित रिपोर्टिङमा जानेहरुले त आवाजबाटै कुन चाहिँ श्रीमानको आवाज भनेर चिनिसकेका हुन्छन्। आवाजबाट चिन्न नसके अदालतका कर्मचारी र वकिललाई सोधेर थाहा पाउँछन्। त्यसले पनि नभए बहसमा सहभागी वकिललाई साेधेर कन्फर्म गर्छन् रिपोर्टिङमा जानेहरु।
बुधबार चाहिँ कसरी गल्ती भयो त?
भएछ के भने चाेलेन्द्र श्रीमानको स्टाइलमा अलि ठूलो स्वरमा श्रीमान् अनिलकुमार सिन्हाले त्यो बेला बोलेका रहेछन्। रिपोर्टिङमै गएका एक साथीले भने, त्यसैले हाे कि प्रधान न्यायाधीश नै भन्ठानेर समाचार गएको!
एउटाले गल्ती गरेका के थिए, सबै त्यसैको पछि लागे।
तर गल्ती गर्नेले सच्याइसकेपछि अरुले पनि सच्याउनु पर्नेमा उनीहरुले चाहिँ कहिले सच्याउने होला? कि त्यही गीत गुनगुनाइ बस्ने- ‘हामी त यस्तै हो नि ब्रो’ 😛
1 thought on “पत्रकारले न्यायाधीशको आवाज नचिन्दा आपत, हेर्नुस् त कति धेरै गलत समाचार !”