Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘जी न्युज’ले माग्दै नमागेको माफी मगाइदिने नेपाली मिडिया

Posted on January 14, 2021January 14, 2021 by Salokya

यतिबेला नेपालमा निकै रमाइलो भइरहेको छ। प्रधानमन्त्री ओलीको समर्थन र विरोधमा मिडिया र सोसल मिडियामा प्रशस्तै खुराक आउँछन्। सेयर बजारमा कुनै कम्पनीको भाउ जस्तो कहिले समर्थन उकालो लाग्छ, कहिले ओरालो झर्छ। समर्थन ओरालो लाग्दा विरोध उकालो चढ्छ।

राष्ट्रवाद नामको एउटा भावनाले कहिले कुन पक्षलाई उकालो चढाइदिन्छ त कहिले ठीक विपरीत अर्कै पक्षलाई। यो हप्ता टाइम एउटा भारतीय मिडिया जी न्युज र त्यसका सम्पादक सुधीर चौधरीको रह्यो। एक जना भारतीय पत्रकारले सिङ्गै नेपाल हल्लाए जस्तो देखिन्छ मिडिया र सोसल मिडिया मात्र हेर्ने हो भने।

सुरुमा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता बज्यो जी न्युजमा। भयङ्कर राष्ट्रवादी भन्दै प्रशंसा भयो। आलोचकहरु रातारात समर्थक भए।

अनि आयो टर्निङ प्वाइन्ट : जुन पत्रकारले ओलीको अन्तर्वार्ता लिएका थिए, उसैले सगरमाथामा भारतीय दावी ठोक्यो भन्ने समाचार आयो। राष्ट्रवाद बुमर्‍याङ भयो। त्यस्तो मान्छेलाई रातो कार्पेट राखेर स्वागत गरेर अन्तर्वार्ता दिने भन्दै आलोचना भयो।

राष्ट्रवादी भावनाबाट प्रशंसा पाएका ओलीलाई राष्ट्रवादी भावनाबाटै आलोचित बनाइयो।

आलोचना हुँदाहुँदै फेरि थपियो- जी न्युजका ती पत्रकारहरु त अनुमति नलिइकनै पो सगरमाथा क्षेत्रमा गएका रहेछन्।

कुनै एउटा पक्ष नलिइकन यसो विश्लेषण गरी टोपल्ने हो भने न भारतमै आलोचित एक पत्रकारले लिएको त्यो अन्तर्वार्तालाई त्यति महत्त्व दिनुपर्ने थियो, न त्यसमा दिइएका गफका कारण त्यतिविधि वाहवाह गर्नुपर्ने थियो। न चाहिँ एउटा पत्रकारले वर्षौँदेखि चलिरहेको माउन्ट एभरेस्ट नामलाई अकस्मात् माउन्ट सिकदर राखौँ भनेर अभियान चलाउँदैमा त्यतिविधि आलोचना गर्नुपर्ने थियो। नेपालमा जस्तै भारतमा पनि राष्ट्रवाद बिक्छ। एक भारतीय पत्रकारले सगरमाथा नजिक पुग्दा भारतीय राष्ट्रवादको एङ्गलमा रिपोर्टिङ गरे। अनुमति नै नलिइकन त्यसरी कालापत्थर क्षेत्र र सगरमाथा नजिक हेलिकप्टर उडाएको कुरा भने चिन्ताजनक र गम्भीर थियो।

अनि बुधबार राति पर्दासम्म फेरि अर्को समाचार आयो नेपाली मिडियाहरुमा- जी न्युजले माफी माग्यो।

अहो, राष्ट्रवादी अन्तर्वार्ताको प्रशंसा लगत्तै राष्ट्रवादी पेलान खाइरहेकाहरुलाई राहत।

कम्तिमा तीन वटा मिडिया र छ्यापछ्याप्ती सोसल मिडियामा देखियो माफी मागेको कुरा।

यो नेपालप्रेसको–

यो फरकधारको

अनि भोलिपल्ट नयाँ पत्रिकाको प्रथम पृष्ठको समाचार पनि-

माफी माग्यो, माफी माग्यो भन्ने हल्ला र समाचार पढेपछि मैले पनि के भनेर माफी मागेका रहेछन् त सुनौँ न भनेर त्यो भिडियो दोहोर्‍याइ तेहर्‍याइ हेरेँ। अहँ, माफी भन्ने त शब्द समेत उच्चारण गरिएको रहेनछ। नेपालको पत्रिकामा यस्तो छापियो भन्दै नयाँ पत्रिका समेत देखाएर सुधीर चौधरीले स्पष्टीकरण चाहिँ दिएका रहेछन्- यसो यसो हो, हामीले भन्न खोजेको यस्तो हो भनेर।

जी न्युजले माउन्ट एभरेस्टको नेपाली नाम सगरमाथा रहे जस्तै भारतीयले चाहिँ माउन्ट सिक्दर भन्नुपर्ने भनेर अभियान चलाएको हो। ट्विटरमा इन्डियाको ट्रेन्डिङमा ल्याउन सफल भइसक्यो #IndiaForMtSikdar जी न्युज। त्यो अभियान अझै कायमै राखेको छ। अनि केको माफी माग्नु नि ! अचम्म छ, नेपालीलाई माफी मागिदियोस् भन्ने लाग्दैमा भन्दै नभनेको कुरा भन्यो भनेर समाचार लेखिदिने ? हुनत ऋतिक रोशनले मलाई नेपाल मन पर्दैन भन्यो भन्ठानेर फेक न्युजकै भरमा मान्छे मर्ने गरी आन्दोलन भएको देश पो हो त हाम्रो। माफी माग्दै नमागेको कुरा पनि माग्यो भन्दिए सामसुम हुन्छ भन्ठानेर हो कि के हो यस्तो गरेको ?

तपाईँ पनि हेर्नसक्नुहुन्छ जी न्युजको यो भिडियोमा ८ मिनेटदेखि यो प्रसङ्ग सुरु हुन्छ-

आ, अब त दिक्क लागेन भन्या, कति यो सुधीर चौधरी र जी न्युजको चर्चा गरिरहेका हामीले? अब पुगेन? मूल मुद्दा त प्रतिनिधि सभा विघटन हैन र भन्या?

3 thoughts on “‘जी न्युज’ले माग्दै नमागेको माफी मगाइदिने नेपाली मिडिया”

  1. Rudra Thakur says:
    January 16, 2021 at 11:54 am

    Ravish Kumar lae interview diye po tha lagthyo

    Reply
  2. गौरव says:
    January 16, 2021 at 12:14 am

    जी न्युजका कुनै पत्रकारिताका हैसियत नभएका पत्रकारलाई भारतीयले नै बेला बेलामा नँग्याएका छन| पत्रकारिता जस्तो महत्वपूर्ण पेशालाई बारम्बार धमिल्याउने यी सुधिर चौधरी उनका जी न्युज हुन भन्दा हुन्छ| ओलीले पनि आफ्नो अस्त्र प्रहार गर्न उनै धुमिल छवी भएका ढुलमुले पत्रकारलाई प्रयोग गरे, त्यस्मा के को आपत्ति हुनु?
    रबी लामिछानेले पनि सुधिर चौधरीलाई मज्जाले नँग्याइदिए|गत बिहिवारको कार्यक्रममा रबीले सुधिर चौधरीको दिवालियापन देखाईदिए|
    उसलाई सान्दर्भिक प्रसँगमा प्रश्न सोध्छु भन्दा चौधरीले प्रश्न पहिले पठाइदिने भने| यस्तो हो पत्रकारको ताल? दोस्रो, हिन्दी कि अङ्रेजीमा कुराकानी गर्ने भनेर चौधरीले सोध्दा रबीले अङ्रेजीमा भने| त्यसपछी चौधरी दुम लुकाएर भागे| लाइभ कार्यक्रम भनेपछी चौधरीको सातोपुत्लो उढेछ अब पछी बाट कुन साजिश चौधरीले कोट्याएर रचने हुन|
    हिन्दीमा बोलेपछी कि हुन पर्‍यो पोख्त, केपी भट्टराई, बीपी, गिरिजा, उपेन्द्र यादव, आदिको स्तरको हिन्दी भाषा ज्ञान| केपी ओलीको पनि हिन्दी ठिकै रहेछ|
    तर केपी ओलीको अन्तर्वाता सुधीर चौधरी सँग जी (हजुर) न्युजसँग प्रायोजित, नियोजित र पहिले नै प्रश्नहरु पठाएर नेपालीलाई राष्ट्रवादीको खोल ओढेर उल्लु बनाउन खोजेको हो भन्ने शँका गर्ने ठाउँ प्रशस्तै छन|सगरमाथा शिविर नेर दहीचिउरे चौधरीलाई हेलिकप्टरमा उढाउने कसले अनुमती दिए? त्यो पनि एकदिन खुल्नेछ|
    यो भन्दा पूर्व (गत महिना) आदरणीय पत्रकारद्वय टिकाराम यात्री र जीभराम भण्डारीका कार्यक्रममा पनि प्रधानमन्त्रीको अन्तर्वाता हेर्न पाईयो तर ती पनि नैराश्यजनक देखिए| दुवैले प्रधानमन्त्रीलाई उनका उत्तरमा जिकिर र सान्दर्भिक र जनगुनासोको बिषयमा किटेर प्रश्न राखेनन| हल्कै रुपमा छाडिदिए| अरुबेला जवाफ र सिलसिला पकडेर ट्वाक्क घतमा जाने प्रति प्रश्न गर्न सक्ने क्षमता भएका यी दुवै पत्रकारहरु यसबेला चुके|प्रति प्रश्न ठाउँमा गर्न सकिएन भने धमला र अन्य नाम चलेका पत्रकारहरुमा के अन्तर भयो र?
    जे होस्, रबी लामिछानेले सुधिर चौधरीलाई समाते|
    कुनै दिन प्रधानमन्त्री रबी लामिछनेको कार्यक्रममा पनि आउने हिम्मत गर्नु हुनेछ भन्ने आशा गर्दछु| पछी बालुवाटार छाडेपछी आएर केही मतलब छैन| अहिले आउनपर्‍यो| प्रधानमन्त्रिलाई एउटा पत्रकारको प्यानलले अन्तर्वाता लिएको पनि हेर्न चाहन्छु| इन्डियाको पत्रकारलाई सगरमाथाको शयर गराएर प्रायोजित अन्तरवार्ता मिलाए जस्तो काला पानी लिमिपिया धुरा फर्काउन सक्नु पर्‍यो| तर यो क्षमता प्रधानमन्त्री ओलीमा छ भने तुरन्त पहल गर्नपर्‍यो| भाषण र गफ टुक्काले मात्र होइन, शासकीय र कुट्नैतीक क्षमता पनि हुनपर्‍यो|

    Reply
  3. Yogen says:
    January 14, 2021 at 4:17 am

    समाचार र सत्य दुइ उल्टो अर्थ लाग्ने शब्द पो हुन् कि जस्तो लग्यो /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme