एकै छिन कल्पना गरौँ । नेपालका जाने मानेका पत्रकारहरु कसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तरवार्ता लिन पाउँदा कस्ता, कस्ता प्रश्न गर्दा हुन्? अझ मोदीकै आमन्त्रणमा वा मोदी प्रशासनको समन्वय र सौजन्यमा नेपाली पत्रकारले दिल्लीमा मोदीसँग सरकारी निवासमा खुलेर बात मार्न पाएका भए त झन् कति उधुम मच्चाउँदा हुन्?
पत्रकारको स्वभाव, पृष्ठभूमि, ज्ञान, अनुभव आदिका आधारमा नै मोदीसँग नेपाली पत्रकारको बातचित हुँदो हो । तर एउटा कुरा के ठोकुवा गर्न सकिन्थ्यो भने, त्यो पत्रकारले नेपालको हित हुने हुने कुरामा नै मुख्य प्रश्नहरू राख्थ्यो। अथवा अन्तरवार्ताको टाइम लिँदा गरिएका कबुलहरू भन्दा दायाँबायाँ नगरी प्रश्नहरू राख्दो हो। सेटिङमा भएका अन्तर्वार्ताहरु एडभर्टोरियल हुन्थे कि इन्टरभ्यु ? त्यो बहसको फरक पाटो हुन्थ्यो ।
अहिले भारतीय न्युज च्यानल जी न्युजका दुई थान पत्रकारले नेपालका कामचलाउ प्रधानमन्त्री केपी ओलीको अन्तरवार्ता बालुवाटारको न्यानोका बीच गरेपछि ओलीको राष्ट्रवाद फेरि जुर्मुराएको छ। उसै त ओली, त्यसमाथि राष्ट्रवादी अन्तर्वार्ता भारतीय च्यानललाई दिएका प्रधानमन्त्री ओली। यसले नयाँ शीराबाट बहसमा पुनः ओली राष्ट्रवादलाई ल्याएको छ। यसमा दुई मत भएन नै। तर बालुवाटारमा ओलीको राष्ट्रवादलाई उजिल्याएका जी न्यूजका पत्रकारले नै कालापत्थरमा बिना अनुमति रिर्पोटिङ गर्दै सगरमाथाको नाम फेर्नुपर्छ भनेर नयाँ नाम नै दिएको प्रसङ्गले भने ओलीको राष्ट्रवादी अन्तर्वार्ता र त्यसभित्रको गुदी तथ्य उदाङ्गो पारेको छ।
कुरा सिधा र सरल छ, जनयुद्धकालीन प्रचण्डकै शब्दमा भन्नुपर्दा जीन्यूजको अन्तर्वार्तादेखि कालापत्थरको कुर्लाईसम्मको नियत नेपाललाई, नेपालका प्रधानमन्त्रीलाई माछो माछो भ्यागुतो गर्ने चालबाजी थियो। जी न्युजका पत्रकारले जे सोधे, जे खोजे र जे देखाए, त्यो उनीहरूले उनीहरूकै हितका लागि गरे। नेपाली भएका भए त्यो हदसम्म गर्थे कि गर्दैनथे भन्ने अनुमानको अर्को पाटो भयो। तर नेपालको हितमा के प्रचार गर्दा सही हुन्थ्यो, त्यही नै गर्थे। तसर्थ, यो प्रकरणमा जी न्युजका एक जना पत्रकारले सगरमाथा नै भारतको भनेर खोके भनेर चिन्ता गर्नु आवश्यक छैन। उनले जे मिसनका लागि नेपाल यात्रा तय गरेका थिए, त्यही मिसन पूरा गरे। उनले अझ त्यो भन्दा बढी दाबा पेस गरेका हुन्थे भने पनि नेपालीको काम हेर्ने र सुन्ने नै हुने थियो। किनकी उनलाई यो अवसर दिएको नेपालले हो। नेपालका प्रधानमन्त्री केपी ओलीले नै हो। होइन र ?
त्यसैले एक शब्द पनि गाली नगरौँ, जी न्युजका ती साहसी पत्रकार क्रियूलाई। तिनले जागिरे थिए भने, जागिर खाए, मिसनरी भए मिसन पुरा गरे। बरु सोधौँ उनीहरूलाई यो तहसम्मको मौका दिने हाम्रा प्रधानमन्त्रीलाई प्रश्नहरू। त्यो साहस छैन यदि हामीसँग भने जी न्युजका पत्रकार वा भारतीय पक्षलाई सत्तोसराप गरेर केही हुनेवाला छैन। यो त आकाशतिर फर्केर थुके जस्तै हुन्छ। आखिर भनाई नै छ नि आफ्नो थैली बलियो बाँध्नु, छिमेकीलाई शङ्का नगर्नु। हामीकहाँ यो प्रकरणमा थैलीको साँचो प्रधानमन्त्रीले नै जीन्यूज क्रियुलाई बुझाएका हुन्। यो सत्यलाई बेवास्ता गरीकन कसैले पनि जीन्यूज, तिनका सदस्य, भारतीय मिडिया वा संस्थापन कसैलाई गाली नगरौँ। कदापि नगरौँ।
जहाँसम्म ओलीको त्यो ऐतिहासिक, विद्धतापूर्ण र घनघोर राष्ट्रवादी अन्तर्वार्ता ठानिएको, भनिएको, बुझिएको सवाल छ, त्यो कुराको जवाफ जननेता मदन भण्डारीको कुराले चिउरा भिज्दैन भन्ने भनाईको एक प्रसङ्ग नै काफी छ। ३० दशकमा क्रान्तिका नाममा व्यक्ति हत्याको जगबाट उठेर १४ वर्ष थुनिनु नै ओलीको महान् क्रान्तिकारी योग्यता भइसकेपछि, उनले पहिलो प्रधानमन्त्री कालमा भारतीय नाकाबन्दी सामना गरेर, उनकै दाबीमा भारतलाई झुकाएपछि अब एसियामा नै ओली सरहको राजनेता को नै छ र? त्यो पनि नेपाली माटोबाट, वामपन्थको ब्याडबाट जन्मेको।
तथ्यमा आधारित सत्य यत्ति हो कि ओलीले यो संविधानमाथि आक्रमण गरेर संसद् विघटन गर्दा दक्षिण छिमेकीले कानै थापेन। न जय, न विजय। मौन समर्थनको भारतीय लीला अहिले बजारमा देखिएकै छ। भारतलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्नु छैन भन्ने सन्देश दिन नि भ्याएकै छ, ओलीलाई बेलुन झैँ फुलाएर नेपालको संविधान र व्यवस्थामाथिको खेल खेल्न पनि भ्याएकै छ।
ओलीलाई सत्तारुढ नेकपामा विभाजन ल्याएर संविधानकै भावना र व्यवस्था विपरीत संसद् भङ्ग गर्ने तहसम्मको आँट र प्रेरणा सामन्त गोयलको भेटपछि बढेको हो भनेर घटनाक्रमहरूले पुष्टि गरिसकेका छन्। त्यसपछि एस जय शंकर र विजय चौथाईवालेसम्मका उठबसले ओलीलाई टेकिङ लोन एन्ड ड्रिङ्किङ घी (ऋण गरेर घिउ नखाने)सम्मको साहसी र थप प्रखर राष्ट्रवादी बनाएको तथ्य दिनको घाम जत्तिकै छर्लङ्ग नै छ। तसर्थ, हामी जबसम्म हाम्रा शासकलाई थितिमा राख्न सक्दैनौँ, हामीले भारत वा भारतीयलाई यो वा त्यो बहानामा गाली गर्नु बेकार छ। नेपालीले मात्रै हो नेपाली आँखा र मनबाट नेपाललाई हेर्ने। हामी छान्छौँ ओलीजस्ता तुच्छ शासक अनि खोज्छौँ मण्डेलाको जस्तो लोककल्याणकारी सत्ता। कमजोरी हामीमा नै छ, जो ओली प्रवृत्ति जन्माउँदा गर्व गर्छौं।
सबैले जानेकै कुरा हो, निभ्ने बेलाको बत्ती अलि बढी नै चम्किन्छ। नेपालमा राणा काल, राजा काल भने जस्तै अहिले ओली कालको खाँडो जागेको बेला छ। ओली युग नै भन्नुपर्ने होला। ओली युगमा हुने यस्तै हो। यस्तै चमत्कार अरू केही काल भैजाला, संसद् पुनर्स्थापना नहुन्जेल। आगामी वैशाखमा चुनाव नभएपछि ओलीले संकटकाल लगाएर राष्ट्रपति शासन लागू.नगर्दासम्म ओलीको यो सत्ता वेगले बीचमा विश्राम लिने छैन नै। त्यसैले त, ओली युगको यो वर्तमान ओली विरोधीहरूका लागि सहज छैन, हुँदैन पनि।
नेपालको भूगोल, जनजीवन र अन्य परिस्थितिका कारण पनि भारतलाई इन्कार गर्न सक्ने अवस्था छैन। दिल्ली दाहिना राख्न सक्या हदसम्म मात्रै नेपालको सत्तामा बलियो भइन्छ भन्ने भारतवेष्ठित मन मस्तिष्क र अभ्यास, संस्कारबाट हुर्के बढेको नेपाली राजनीतिका लागि अहिले ओलीले घरेलु समकक्षीहरूसँग झुक्नु भन्दा बलियो छिमेकीसँगै झुक्ने, मिल्ने निर्णय लिए भन्ने कुरा अब कसैले दोहोर्याइरहनु परोइन। त्यसैले हाम्रा आलोचनाहरू भारतलाई गाली गरेर समय खेर फाल्नु भन्दा भारतीय दास बन्ने ओली प्रवृत्तिका विरुद्ध केन्द्रित गरौँ। मौका पाए केसम्म गर्छन् भन्ने जीन्यूजहरुले भन्ने तथ्य त माइसंसारले तथ्योदघाटन गरिसक्या छ (विस्तृतमा यता) । यसैले गाली छिमेकीलाई होइन हजुर आफ्ना गलत शासकलाई गरौँ, जसले मुखमा राम राम र बगलीमा छुरा गरे, गरिरहेका छन्।
मोदी सरकार आएपछि रअस्तरको नेपाल भारत सम्बन्धलाई औपचारिक, कूटनीतिक र राजनीतिक च्यानलमा सीमित गर्न खोजेकै घटनाक्रमहरूले देखाउँदै आएको हो। तर नेपालका ओलीहरूलाई नै जब मोदीसँगको भन्दा ‘रअ’स्तरको सम्बन्ध नै सही लाग्न थालेपछि किन बेकारमा सराप्नु र भारत, भारतीय मिडिया आदिलाई ? हैन र ? कुनै पनि देशको सत्ता वा मिडियाले पहिले उसको देशको हित हेर्छ। जीन्यूजले भारतकै पक्षमा गर्ने हो सञ्चार कर्म। अहिले नि त्यही गर्या हो। अनि के बिरायो त? त्यसैले म त जी न्यूजको पक्षमा, उनीहरूकै कित्तामा। तपाईँहरू कता पट्टी नि ? आफ्नो कित्ता आफैँ रोज्नुस्, ओली युगमा। जय ओली, जय ओली तन्त्र।
आखिर गाई मार्न पनि बाघले पहिले गाईलाई पछाडिबाटै कन्याउने गरेको धेरैलाई थाहै होला। भारतीय पक्ष ओलीलाई सिधासिधी कन्याईदिदै छन्। ओलीको जी न्युज अन्तर्वार्ता प्रकरण प्रधानमन्त्री स्तरको युट्युबकारिताको नयाँ नमुना न हो। अहिलेको डिजिटल मिडियाको जगजगी चलेका जुगमा ओलीले अन्तर्वार्तामा मुखरित राष्ट्रवाद काला पत्थरमा गएर उदाँगियो त यसमा ओलीको के दोष? भारतीय मिडियालाई, शासकलाई बित्थामा गाली नगरौँ, बरु सिकौँ उनीहरूबाट । है त ?
सूर्य थापाजी झुक्किनु भो कि बाघले सिकार गर्दा कहिल्यै पनि सिकारलाई पछाडीबाट कन्याउँदैन अगाडीबाटै सिकार गर्छ । कन्याउने त कि ब्वाँसो कि हुँडार हो भन्छन् । त्यो पनि खै डकुमेन्ट्री हेर्दा कन्याएको देखिदैन लुछेको मात्रै देखिन्छ । खैर तपाईंको “धेरै देख्ने”मा म अपवाद पो हो कि? त्यसैले मेरो अल्प ज्ञानले त गलत पो देख्यो त सूर्य जी ।
जे पढाए त्यही जानियो । जर्ज एभरेष्टले विहारबाट नापेर सगरमाथाको उचाइ पत्तो लगाएको भनेर पढाए । सबै नेपालीले त्यही मानियो । हैन सिकदरले पत्तो लगाएका हुन एभरेष्टले जस लिएका मात्रै हुन् “गर्ने भन्ने हामी पगरी गुथ्ने ढेडु” भएको हो भने प्रमाणित गरे भै हाल्छ । मानिदिउँला नि । हामी नेपालीले जसले जे भने त्यही मानिदिने परम्परा छँदैछ क्यारे ।
तर यो राजनीति कति आन्तरिक कति वाह्य भन्ने बल्ल छरपष्ट हुन थालेको छ । हाम्रोलागि को लडे को अरुका खातिरदारी गर्दैछन् पनि प्रष्ट हुँदै जाला । महान “राष्ट्रवादी”हरू छिमेकीका “कुत्तेका खाना” खानेहरू देखिदैछन् । त्यसैले दक्षिण, पश्चिम र उत्तर कताबाट को सञ्चालित छन, र को हाम्रै माटोका निम्ति लागेका छन् थाहा पाउनै नसकिने अवस्था छ । झन पत्रिका र तिनका पत्रुकारका जोखाना, डकार, मूल्याङ्कनले अझ बढी समाज उद्वेलने रहेछ । भ्रमको खेति गरेर रक्सिका बोतल साट्ने पत्रुकारहरूका ताँती भलिभाँति रहेछन् नेपाली समाजमा ।
ओलीका कदम गलत होलान् । तर छँदाछँदैको बहुमतको सरकार कुर्सीका लागि उचालिनेहरू कम अपराधि हैनन् । देशलाई विकाश, शान्ति र स्थायित्व चाहिएको थियो । विदेशीको परेड स्थल बनेको देशमा, विदेशीका बुख्याँचा यता फर्के त्यसले उता फर्के उस्ले, उही त हुन जो भए पनि यी विदेशी गोटीहरू । नेपालीका नशामा नेपाली रगत नबगेसम्म यी भ्वाक्क फूलेका बेलुनले नै राज गर्ने हुन् । मेरो यौटै चाहना अब कसैको कुर्सीको भर्याङ चढ्न नेपाली नागरिकको लाशको खुड्किलो नबनोस् ।
Sahi kura..yo interview just political stunt matra ho Oil baa ko