Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीले थुक्दा पत्रकारहरुको ‘अनुसन्धान’ : ‘किन थुके’देखि ‘के पस्यो मुखमा’सम्मको हेडलाइन

Posted on January 11, 2021January 11, 2021 by Salokya


राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नुअघि आज प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरेका थिए। कार्यकर्ताहरु भेला गरेर भाषण गर्दा खुबै जम्थ्यो- विभिन्न कथा, उदाहरण र टुक्का सुन्न पाइन्थ्यो। तर राष्ट्रिय सभाको भाषण भने खासै रोचक नभएको हो कि किन हो, आज प्रम ओलीको बोलीभन्दा पनि थुकेको समाचार जताततै छायो। नेपालको इतिहासमा प्रधानमन्त्रीले थुकेको विषय यति महत्वका साथ समाचार बनेको यही पहिलो हुनुपर्छ।

राष्ट्रिय सभामा बोल्दै गर्दा प्रधानमन्त्री ओलीले ‘हाम्रो परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारत जाँदै हुनहुन्छ’ भन्ने जानकारी दिएका थिए। तर त्यस क्रममा परराष्ट्र मन्त्री भनेपछि रोष्ट्रममा यसो झुकेर ‘थुक्क थुकेको’ क्यामेरामा लाइभ देखियो। त्यो क्यामेराले खिचेको दृश्य नेपालभर फैलियो। सामाजिक सञ्जालमा दृश्य भाइरल भयो।

पत्रकारहरु के कम, आफ्ना न्युजपोर्टलहरुमा सिर्जनशील हेडलाइनहरु राखे। केही उदाहरण हेर्नुस्-

शिलापत्रले लेख्यो- सोमत नभएका प्रधानमन्त्री : प्रतिनिधि सभा भंग गरे, राष्ट्रिय सभामा थुके

कान्तिपुरले पनि आफ्नो ट्विटरमा प्रधानमन्त्रीलाई थुक्न दियो-

राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्ट्रममा थुकेपछि…
पूरा भिडियो यस लिंकमा हेर्न सक्नुहुनेछ:https://t.co/RWJMjsIZLX pic.twitter.com/6EZ0IAt5mP

— ekantipur (@ekantipur_com) January 10, 2021

अब हेर्नुस्, हाम्रा पत्रकारहरु यतिमा कहाँ चित्त बुझाउँछन् र। अब विभिन्न एङ्गल आउनु पर्‍यो नि त ‘थुक’को पनि। धन्दा नमान्नुस्, उदाहरण हेर्नुस्-

कामना न्युज नामको अनलाइनले शीर्षक राख्यो- किन प्याच्च थुके प्रधानमन्त्रीले बोल्दाबोल्दै ? 

बडा अनुसन्धान गरिएको समाचार जस्तो छ शीर्षक पढ्दा। तर तीन प्याराग्राफको यो समाचारमा प्रश्न छ, उत्तर छैन। प्रश्नको उत्तर चाहिँ आफैले खोज्नुपर्छ।

नेपालपाना नामको यो अर्को अनलाइनको लाइन भने झन् खतरा छ। यसले शीर्षक लेखेको छ- राष्ट्रिय सभामा ओलीको मुखभित्र के पस्यो? थुकेपछि आफै तर्सिए !

यो त झन् अनुसन्धान गरिएको समाचार जस्तो लाग्छ। के पसेको रहेछ त ओलीको मुखमा ? अनि किन तर्सिनु पर्‍यो जस्ता जिज्ञासा तपाईँको मनमा पनि आउलान्। ती जिज्ञासा यो समाचार पढेर समाधान चाहिँ हुँदैन है। के पसेको रहेछ मुखमा भन्ने कुरा ओलीलाई बाहेक अरुलाई थाहा हुने कुरा भएन। ओलीलाई सोध्ने आँट ती पत्रकारले गर्न सकेनछन्। त्यही भएर ‘बिर्कोमा ला’को चिनीमा कसरी पस्यो कमिलो?’ भन्ने प्रश्नको उत्तर नभए जस्तै के पसेको रहेछ भन्नेको पनि जवाफ छैन। अनुमान चाहिँ छ समाचारमा- ‘ओलीले मुखभित्र केही पसेझैं गरी थुकेका थिए’ रे

अनि थुकेपछि किन तर्सिए भन्ठान्नु भा’को। यसको चाहिँ कारण लेखेको छ समाचारमा- ‘ओलीले रोष्टममा थुकेको भिडियो भाइरल भएपछि यतिबेला सामाजिक सञ्जालको चर्चाले ओली तर्सिनुपर्ने स्थिती सिर्जना भएको छ।’ 😛

अब हेर्नुस् त ओली तर्सोस्, नतर्सोस् – समाचार लेख्नेलाई तर्सेको लागेपछि सक्किगो नि !

ओएस नेपाल नामको अनलाइनले भने विषय राजनीतिकरण गरिदियो र लेख्यो- बारम्बार बहुमतको सरकार भएको घमण्ड गर्ने ओलीले राष्ट्रिय सभाको रोष्टममै थुके (भिडियो सहित)

घमण्ड गरेरै थुकेको हो त ? 🙂

अस्ट्रेलियाबाट सञ्चालित यो एमएनटिभीले भने एक पटक होइन दुई पटक थुकेको शीर्षक राख्यो-

यति सिर्जनशील हेडलाइन राख्दाराख्दै पनि केही एङ्गल छुट्न गएको जस्तो छ, अरु अनलाइन वा युट्युबरहरुले चाहिँ यसमा ध्यान दिएर फलोअप गर्ने कि? जस्तै-

– आखिर किन थुके प्रधानमन्त्रीले राष्ट्रिय सभामा ? के ओलीको थुक्ने बानी पुरानै हो ? झापामा उनका साथीभाइ र छरछिमेकसित कुरा गरेर विस्तृत अनुसन्धान गर्ने
– थुक्नुको शास्त्रीय अर्थ के हुन्छ ? जथाभावी थुक्दा पाप लाग्छ ? धर्मशास्त्रीय दृष्टिकोणसहित पण्डितहरुसित कुराकानी गर्ने
– थुक्नुको मनोवैज्ञानिक प्रभाव के हुन्छ? केही मनोवैज्ञानिकहरुसितको कुराकानी
– थुक्नुपरेपछि थुक्नै पर्छ? नथुक्दा स्वास्थ्यलाई हानी हुन्छ कि भन्ने विषयमा चिकित्सकहरुको भनाई ।

अरु केही एङ्गल भए तल कमेन्टमा लेख्न नछुटाउनु होला है। तपाईँको कमेन्टले नेपाली पत्रकारितालाई दिशानिर्देश गर्न सक्छ।

ए अँ, जाँदाजाँदै एउटा कुरा पनि थपिहालौँ। कीर्तिपुरका बासिन्दाहरुले पुस २७ गते त्यहाँको छ्याकः ल्ह्वं नामको ढुंगामा थुक्ने चलन छ। पोहरपरार थुक्न बन्देज लगाइएको थियो भन्ने समाचार आएका थिए। यसपालि के होला त?

यो चाहिँ पुरानो भिडियो-

5 thoughts on “प्रधानमन्त्रीले थुक्दा पत्रकारहरुको ‘अनुसन्धान’ : ‘किन थुके’देखि ‘के पस्यो मुखमा’सम्मको हेडलाइन”

  1. गुरुवर says:
    January 12, 2021 at 11:28 pm

    यस्तो ब्यक्ति कसरी प्रधानमन्त्री छन? र विगतमा कसरी परराष्ट्र मन्त्री बनेर देशबिदेश घुमेका थिए र कुटनैतीक ब्यक्तीहरुसँग ब्यवहार गरे? प्रश्नै प्रश्न छ| हामी नेपालीलाई बिदेशिले हेपने र खेपने भनेको यस्तै ब्यवहारले गर्दा हो| कँहा थुकनु, भुकनु र खोक्नु नसिकेका ब्यक्तिले देश चलाएको छ|न बोलिमा लगाम छ, न प्रधानमन्त्री पदका मर्यादाको कुनै ख्याल| आरिंगालहरुलाई लाज लाग्दैन?
    केपी ओलिमा यस्तो दम्भ धुपौरे, चाकडीबाज, आसेपासे र खासेहरुको निरन्तर सान्निध्यले सिर्जना गरेको हो| गुट चलाऊने र गुटमै रमाउने प्रब्रित्ती हावी भएर हो|
    थोरै पनि बचेँखुचेको कन्फिडेन्स भएको भए संसदमा वाकाइता विश्वासको मत सामना गर्न सक्नु पर्थ्यो| डरले सुरालमै छुलुलु भएका हुन केरे| बालुवाटार छाडन मन नभएर रहेछ| एकदिन संसारै त छाडेर जानपर्छ भने बालुवाटारको कति मोह लागेको? प्रधानमन्त्रीलाई भन्दा उनका आसेपासे खाईबार सेनामेनालाई बालुवाटार छाडन् मन नलागेको होला|
    महिनौमा एकपल्ट पनि सिंहदरवार कार्यालय जान नभ्याउने प्रधान मन्त्रीले धन गडी गएर भाषण छाटने, गफ पिटने? बालुवाटार सिंह दरवार कि हेलिकप्टर उडाउन परो| नत्र स्वप्नीय रेल गुढाउन परो|
    राष्ट्रिय सभामा थुकेर पनि क्षमा नमाग्ने हो भने कति लज्जित हुने हो हामी नेपाली?

    Reply
  2. kamal says:
    January 12, 2021 at 5:19 am

    “तपाई पनि त तेही थुकको पछि लाग्नुभयो र अहिले म पनि “

    Reply
  3. Kulbir says:
    January 12, 2021 at 4:23 am

    it’s normal, why these journalists are so sensitive, I don’t understand!!

    Reply
  4. कविन says:
    January 11, 2021 at 11:02 am

    पत्रकारहरुको अनुसन्धान अलि धेर भयो कि ।

    Reply
  5. Rabindra says:
    January 11, 2021 at 10:21 am

    पत्रकारहरुलाई यसरी शीर्षकमा प्रश्न लेख्ने अनि उत्तर चाहिँ दिन नआउने किन होला ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme