Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा राष्ट्रपति जस्तै उपराष्ट्रपति पनि सनकी परेको भए ?

Posted on January 8, 2021 by Salokya


सिनेटको च्याम्बरमा प्रदर्शनकारीहरु। गेट्टी इमेजेज

जनवरी ६ । अरु बेला भएको भए अमेरिकामा यो दिन एउटा औपचारिकतामा सीमित हुन्थ्यो। किनभने मतपरिणामसँगै को राष्ट्रपति र उपराष्ट्रपति बन्ने थाहा भइसकेको हुन्छ। पराजित हुनेले हार स्वीकार गरिसकेको हुन्छ। तर पनि यो दिन विजयलाई औपचारिकता दिने काम हुन्थ्यो। अमेरिकाका सबै राज्यका इलेक्टरहरुले गरेको मतदानको मतपरिणाम जनवरी ६ मा बस्ने सदन (प्रतिनिधि सभा र सिनेट)को संयुक्त बैठकमा वर्तमान उपराष्ट्रपतिले पढेर सुनाउँछन्।

तर यसपालिको कुरै फरक थियो। यसपालि त अमेरिकामा एक जना सनकी राष्ट्रपति छन्- डोनल्ड ट्रम्प। उनले हार स्वीकारेकै छैनन्। जनवरी ६ को यो संवैधानिक व्यवस्थालाई रोकेर सत्ताबाट नहट्नका लागि उनले अनेक उपद्रो गरे। त्यसो त उनले आफ्नो चार वर्षे कार्यकालमा घृणाको बीउ निकै रोपे, विभाजित बनाए।


प्रहरी अधिकारीहरु बन्दूक ताक्दै। गेट्टी इमेजेज

यो क्रम पदबाट हट्न लाग्दासम्म जारी रह्यो। फलस्वरुप अरुलाई लोकतन्त्रको पाठ पढाउने अमेरिका विश्वसामु आफै लज्जित हुनुपर्‍यो।

आफू सत्ताबाट हट्न लागेको झोँकमा उनले समर्थकहरुलाई उचाले। समर्थकहरु हुर्रिएर सदनको बैठक बसिरहेको भवनतर्फ गए। निर्वाचन परिणाम घोषणालाई रोक्न उनीहरु सदनको बैठक कोठामै प्रवेश गरे। बसिरहेको बैठक स्थगित भयो। समर्थकहरु हलभित्र उपद्रो गरिरहेको दृश्य संसार भर फैलियो। यो उपद्रोको क्रममा चार जनाको मृत्यु भयो। संसार आफ्नो दूतावासमा सुरक्षाको कडा बन्दोबस्त गर्ने अमेरिकाका जनप्रतिनिधिहरु बस्ने थलोको सुरक्षा कस्तो रहेछ भन्ने पनि सबैलाई थाहा भयो। डिसी पुलिस युनियनको वक्तव्य अनुसार सुरक्षाकर्मी तयारै थिएनन्- जनशक्तिको हिसाबले पनि र स्रोतसाधनको हिसाबले पनि।

DC Police Union Statement on Rioting at the U.S. Capitol pic.twitter.com/SpHlaJ5vs5

— DC Police Union (@DCPoliceUnion) January 7, 2021

राष्ट्रपति ट्रम्प आफ्ना उपराष्ट्रपति माइक पेन्सलाई यो निर्वाचन परिणाम घोषणा नगर्न दबाब दिइरहेका थिए। नेपालमा उपराष्ट्रपतिको केही काम नभए जस्तै अमेरिकामा त्यसो हुने होइन। अमेरिकामा उपराष्ट्रपति माथिल्लो सदन सिनेटको अध्यक्ष हुन्छ।

राष्ट्रपति जस्तै उपराष्ट्रपति पनि सनकी परिदिएको भए के हुन्थ्यो होला ?

ट्रम्पले जस्तै उनले पनि हार स्वीकार गर्न अस्वीकार गरिदिन्थे। अमेरिकाको संविधानले सिनेटका अध्यक्ष अर्थात् उपराष्ट्रपतिले नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएको घोषणा गर्नुपर्ने हुन्छ। सिनेट अध्यक्षले त्यसो गर्न अस्वीकार गरेपछि के गर्ने – संकटको अवस्था आउँथ्यो। शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने चलन ध्वस्त हुन्थ्यो।

तर…

तर अमेरिकाको भाग्य बलियो रहेछ। उसले ट्रम्प जस्तो राष्ट्रपतिसँगै माइक पेन्स जस्तो उपराष्ट्रपति पनि पाएको रहेछ। उनले संयुक्त बैठक सुरु हुनुभन्दा केही अघि एउटा पत्र सार्वजनिक गरे, जतिबेला ट्रम्प बाहिर आफ्ना समर्थकहरुलाई उक्साउँदै थिए।

उपराष्ट्रपतिले पत्रमा आफूले संविधानको रक्षा गर्ने शपथ खाएको स्मरण गर्दै संविधान, कानुन र इतिहास अनुसार आफ्नो जिम्मेवारी पूरा गर्ने उल्लेख गरे। हेर्नुस् पत्र

pic.twitter.com/8WJbv9A8Lx

— Mike Pence (@Mike_Pence) January 6, 2021

उपराष्ट्रपतिले इलेक्टोरल भोटको परिणाम अस्वीकार गर्नुपर्ने भन्ने एकातर्फको विचार र अर्कोतर्फको इलेक्टोरल भोटलाई संयुक्त बैठकमा चुनौति दिनुहुन्न भन्ने दुवै कुरा सही नभएको भन्दै अमेरिकी जनता सार्वभौम भएकोले संघीय कानुन अनुसार जनप्रतिनिधिहरुले नै लोकतान्त्रिक पद्धतिबाट प्रमाण हेरी विवाद समाधान गर्ने बताए।

तर ट्रम्पले त्यसो गरेनन्। उनलाई त केही भएन तर उनको उक्साहटमा परेका चार जनाले बित्थामा ज्यान गुमाए। #BlackLivesMatter आन्दोलनको बेला सडकमा सेना उतार्ने ट्रम्पले आफ्ना समर्थकहरुले उपद्रो मच्चाउने बेलामा के गरे, संसारले देख्यो।

सदनको संयुक्त बैठक केही समय स्थगित भएपछि रातभर बस्यो र सदनको प्रक्रिया अनुसार कारबाही जारी राख्यो। बिहान बल्ल वर्तमान उपराष्ट्रपतिले आफूसमेत ट्रम्प पराजित भएको र जो बाइडेन र कमला ह्यारिस नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएको घोषणा गरे।

ट्रम्पले समर्थकहरुलाई हिंसा गर्न उक्साए पनि। जसको फलस्वरुप ट्विटरले उनका ट्विटहरु डिलिट गरिदियो। १२ घण्टाका लागि लक गरिदियो। ट्विट नहटाए अकाउन्ट लकै हुने बतायो।

This means that the account of @realDonaldTrump will be locked for 12 hours following the removal of these Tweets. If the Tweets are not removed, the account will remain locked.

— Twitter Safety (@TwitterSafety) January 7, 2021

त्यतिमात्र होइन, ट्विटरका नियम थप उल्लङ्घन गरे ट्रम्पको अकाउन्टनै स्थानीय रुपमा निलम्बन गरिदिने चेतावनी पनि दियो।

Future violations of the Twitter Rules, including our Civic Integrity or Violent Threats policies, will result in permanent suspension of the @realDonaldTrump account.

— Twitter Safety (@TwitterSafety) January 7, 2021

त्यसैगरी फेसबुकले पनि उनका पोस्ट डिलिट गरिदियो र आफ्नो सेवा राष्ट्रपतिलाई उपभोग गर्न दिँदा धेरै जोखिम हुने भएकोले अनिश्चित कालसम्म ब्लक गरिदियो। यो ब्लक कम्तिमा शान्तिपूर्ण सत्ता हस्तान्तरण नभएसम्म दुई हप्ताका लागि हुने मार्क जुकरबर्गले लेखेका छन्।

https://www.facebook.com/zuck/posts/10112681480907401

विश्वका शक्तिशाली राष्ट्रपतिको आज यस्तो हालत हुन पुग्यो।

हामीले सिक्ने पाठ : अमेरिकाको यो घटनाबाट हामीले के पाठ सिक्न सक्छौँ त ?

– नेताहरुले घृणाको बीउ रोप्दा समाज विभाजित हुन्छ। नेता भाषणमा कुर्लिरहन्छन्, ज्यान बित्थामा नागरिकको जान्छ।

– अमेरिकाको उपराष्ट्रपतिले जसरी संविधानको शपथ खाएपछि संविधानको अपव्याख्या होइन, रक्षा गर्ने बुद्धि हाम्रा पदधारीहरुमा पनि आउनु पर्ने हो।

– जतिसुकै उच्च पदधारीहरुले गलत कुराहरु, हिंसा फैलाउने कुराहरु बोलुन्, त्यसलाई जस्ताको तस्तै फैलन दिँदा झन् हानी हुन्छ। सकेको गरेर रोक्नु पर्छ।

– निर्वाचनबाटै तानाशाहहरु जन्मन्छन्, त्यसैले लोकतान्त्रिक अधिकार उपभोग गर्दा सचेत हुनुपर्छ।

सिक्न नहुने पाठ : दुई उदाहरण दुई ट्विटमा

एउटा यो-

Cops are taking selfies with the terrorists. pic.twitter.com/EjkQ83h1p2

— Timothy Burke (@bubbaprog) January 6, 2021

अर्को यो-

Four synchronised videos showing different angles of the shooting of Ashli Babbit in the Capitol building (Graphic). pic.twitter.com/DRe1aajxoB

— Bellingcat (@bellingcat) January 7, 2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme