Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन् २०२० मा माइसंसारमा बढी पढिएका २० ब्लग, तपाईँले छुटाउनु त भएन?

Posted on December 31, 2020January 1, 2021 by Salokya


सन् २०२० लाई पनि विदा गर्ने भयौँ हामीले आजदेखि। अहो, यो वर्ष त साह्रै गाह्रो बनायो- कोरोनाभाइरसले। पूरै विश्व घरभित्र लुकेर बस्न बाध्य भयो लकडाउन भन्दै। कोरोनाको बारेमा ब्लग लेख्दा लेख्दा वर्षको अन्त्य हुनुअघिसम्म त आफै संक्रमित भइयो। संक्रमणले साह्रै गाह्रो बनायो। शारीरिक मात्र हैन, मानसिक रुपमा पनि। अनि त कयौँ कयौँ दिनहरुसम्म ब्लग खाली रह्यो। वर्षको सुरुवात भने रमाइलो पाराले भएको थियो। अघिल्लो वर्ष यतिबेला हामी म्यान्मारमा थियौँ। केही दिन सिङ्गापुर पनि पस्यौँ। फर्केको केही दिनपछि विपश्यना गएँ। त्यहाँबाट फर्किएको केही दिनमा नै लकडाउन सुरु भयो। यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम ब्लग लेखियो। तर पनि यो वर्ष माइसंसारलाई धेरै देशहरुबाट हेर्नेहरु थिए। माथिको म्यापमा यो वर्ष माइसंसार कहाँबाट कति हेरियो भन्ने तथ्याङ्क गुगल एनालिटिक्सबाट लिएर राखिएको छ। नेपालपछि माइसंसारलाई धेरै माया गर्ने देशहरु अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान र खाडी देशहरु रहेछन्। यो वर्ष सबैभन्दा बढी कुन कुन ब्लग पढियो त? हेर्नुस् सन् २०२० मा धेरै पढिएका २० ब्लगहरुको संगालो।

नम्बर २० :  ‘कान्तिपुर’ले माफी मागेर डिलिट गर्न बाध्य भएको यो समाचारको लहरो तान्दा गएको पहरो



कान्तिपुर मिडिया ग्रुपको नेपाली भाषाको अनलाइन ‘इकान्तिपुर’ ले सेप्टेम्बरमा प्रकाशित एउटा समाचार माफी मागेर डिलिट गरेको थियो। अरु अनलाइनहरुले जस्तो सुटुक्क समाचार डिलिट नगरी ‘इकान्तिपुर’ले सूचना राखेर कारणसमेत लेखेको थियो। डिलिट गर्न परेको कारण भने रमाइलो थियो। सच्याइएको सूचना अनुसार ‘गत वर्षको समाचार भूलवश पुनः प्रकाशित हुन गएको’ रहेछ। यसरी पुरानो समाचार प्रकाशित हुँदा सम्बन्धित व्यक्तिहरुमा चोट परेकोमा क्षमा पनि मागिएको रहेछ। के रहेछ त त्यस्तो गत वर्षको समाचार जुन प्रकाशित गर्दा माफी नै माग्नुपर्‍यो? पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गर्नुस्।

नम्बर १९ : के अमेरिकी राष्ट्रपति ट्रम्पले सात दिनभित्र विदेशीलाई आफ्नो देश फिर्ता जान आदेश दिएका हुन्?



यो वर्ष अप्रिल महिनामा सोसल मिडियामा एउटा समाचार भाइरल भयो। विभिन्न अनलाइनहरुले राखेका समाचारहरुमा सात दिनभित्र आफ्ना नागरिक फिर्ता लिन नेपालसहितका देशलाई ट्रम्पले आदेश दिएको, नेपालको समेत नाम तोकेर ट्रम्पले आफ्ना नागरिक फर्काउन चेतावनी दिएको उल्लेख थियो। तर ती समाचार गलत रहेको बारे गरिएको फ्याक्टचेक थियो यो। यहाँ क्लिक गरी हेर्नुस्।

नम्बर १८ : राजधानीमा भएको रहस्यमय विभत्स हत्या : अहिलेसम्म हामीलाई थाहा भएका र नभएका १० तथ्य



यो वर्ष भएका क्रुरतम अपराधहरु मध्येको एक थियो गोंगबुमा एक महिलाले एक पुरुषको टाउको काटेर हत्या गरी टाउको एकातिर, जिउ अर्कोतिर फालेको। यसबारे दुई वटा ब्लग यो वर्ष धेरै पढियो। त्यसमध्येको एउटा यो थियो। यहाँ क्लिक गरी पढ्नुस्।

नम्बर १७ : आधिकारिक रुपमै भेटियो नेपालमा दोस्रो कोरोना भाइरस संक्रमित, अब चुनौति उनीसँग सम्पर्कमा आएकाहरु पहिचान गर्ने


मार्च २३ मा दोस्रो कोरोना भाइरस संक्रमित भेटिएको पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दाको ब्लग थियो यो। त्यसको भोलिपल्टदेखि त लकडाउन भइहाल्यो। पढ्नुस् त्यतिबेलाको ब्लग।

नम्बर १६ : अनलाइन मिडियाहरुको ‘अनुसन्धान’ : मोटरसाइकलमा ढाड देखाउने र चढाउनेको पहिचान सार्वजनिक



यो वर्ष सोसल मिडियामा एउटा फोटो भाइरल भएको थियो। फोटोमा त्यस्तो आपत्तिजनक केही थिएन- जिन्स प्यान्ट लगाएर मोटरसाइकल पछाडि बसेकी युवतीको ढाड अलिकता देखिएको थियो। यत्तिको भरमा गल्लीमा केटी जिस्काए जस्तै गरी फेसबुकमा फोटो राखेर जिस्काइरहेका थिए मानिसहरुले। हाम्रा ‘फेसबुक ब्युरो अफ इन्भेस्टिगेसन’ (एफबिआइ) र युट्युबे डिटेक्टिभहरु ‘फेल’ भइरहेको बेलामा देखा परे अनलाइन मिडियाहरु। मिडियाडबली नामको एउटा अनलाइनले ‘अनुसन्धान’ भन्दै समाचार राखेर उनीहरुको परिचय खुलाएको थियो। त्यसैबारे लेखिएको ब्लग थियो यो। छुटाउनु भएको भए पढ्न यहाँ क्लिक गर्नुस्।

नम्बर १५ : रवि लामिछानेसहित तीनै जना निर्दोष ठहर हुनुको कारण के हो? अदालतको फैसलामा के छ?



पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको एउटा भिडियो सार्वजनिक भएपछि गत वर्ष सनसनी मच्चिएको थियो। भिडियोमा मर्नुअघि रुँदै शालिकरामले आफूलाई मर्न बाध्य बनाउनेहरु भन्दै सीधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र आफ्नी प्रेमिका अस्मिता कार्कीको नाम लिएका थिए। मर्नुअघि पनि मान्छेले झुटो बोल्छ त? मर्नुअगाडि त झुटो बोल्दैन होला भन्ने पनि धेरैलाई भएको थियो। त्यसो त रविको पक्षमा ठूलो जनसागर उर्लिएको पनि थियो चितवनमा। तर रविको सेलिब्रिटी छविबाट इर्ष्यालु एक समूह पनि थिए उनको विरुद्ध। यो वर्षको सुरुमा जनवरीमा चितवन जिल्ला अदालतले भने तीनै जनालाई निर्दोष ठहर गर्दै सफाइ दियो, शालिकरामले आत्महत्या गर्नुको कारण उसैको ‘अवैध व्यवहार’ भएको भन्यो। त्यही बारे लेखिएको ब्लग पनि यो वर्ष धेरै पढियो। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

नम्बर १४ : ज्ञानेन्द्रको पास रद्द : नेपालको कानुन दैवले जानून् होइन, पूर्वराजाले चाहिँ मानून्



लकडाउन भइरहेका बेला गत मेमा झापाबाट काठमाडौँ फर्कन नियमानुसार सवारी पासका लागि आवेदन दिएका पूर्व राजा ज्ञानेन्द्रले अन्ततः राजधानी फिर्ने अनुमति पाएका थिएनन्। त्यसै बारे सूर्य खड्काले लेखेको यो ब्लग पढ्न यहाँ क्लिक गर्नुस्।

नम्बर १३ : ट्रम्प, मोदी र ज्ञानेन्द्रको भेट? फेक न्युज हो कि साँच्चै?



फणिराज पाठक पूर्व राजा ज्ञानेन्द्रका संवाद सचिव हुन्। ज्ञानेन्द्रका आधिकारिक प्रेस विज्ञप्ति, प्रेस नोट र जानकारीहरु उनीमार्फत् जारी हुन्छन्। उनको फेसबुकबाट पनि त्यस्ता जानकारी प्रवाह हुन्छन्। उनै पाठकको फेसबुकमा फेब्रुअरीमा सेयर भएको एउटा सनसनीपूर्ण लिङ्क जसमा भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्प, भारतीय प्रधानमन्त्री मोदी र ज्ञानेन्द्रको भेट भयो भन्ने दावी गरिएको थियो, त्यसबारेको फ्याक्टचेक थियो यो। यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

नम्बर १२ : एक म्यासेजको भरमा जागिर चट !



कोरोना कहरका कारण सबै क्षेत्रमा असर पर्‍यो। पत्रकारहरुलाई पनि पर्ने नै भयो। धेरै पत्रकारहरुले जागिर गुमाए। ती मध्येका एक न्युज २४ टेलिभिजनका प्रमोद न्यौपानेले लेखेको यो ब्लग पनि यो वर्ष धेरै पढिएका ब्लगमध्येमा पर्‍यो। यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

नम्बर ११ :  सबैलाई स्तब्ध पार्ने त्यो क्रुर हत्या : प्रहरीको अनुसन्धानबाट खुलेका १६ तथ्य र अनुत्तरित पाँच प्रश्न



यो वर्ष भएका क्रुरतम अपराधहरु मध्येको एक थियो गोंगबुमा एक महिलाले एक पुरुषको टाउको काटेर हत्या गरी टाउको एकातिर, जिउ अर्कोतिर फालेको। अपराध इतिहासमा विरलै हुने यस्तो हत्याकान्डमा प्रहरीले आज सार्वजनिक गरेको अनुसन्धानबाट खुलेका १६ तथ्य र अझै अनुत्तिरत पाँच प्रश्न भनी त्यतिबेला लेखिएको यो ब्लग पनि यो वर्ष धेरै पढिने ब्लगमा परेको छ। यहाँ क्लिक गरी पढ्नुस्।

नम्बर १० : नआत्तिनुस्, काठमाडौँको अपार्टमेन्टमा तीन जना पोजिटिभ RDT मा भेटिएका हुन्, PCR मा हैन


यो वर्ष सबैभन्दा बढी पढिएको मध्ये १० औँ नम्बरमा परेको ब्लगको विषयले त्यतिबेलाको हाम्रो मनस्थिति झल्काउँछ। अहिले सयौँ जनालाई पीसीआर परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिँदा खासै त्यति त्रास देखिन्न। तर त्यतिबेला काठमाडौँको पेप्सीकोला नजिक रहेको सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने तीन जना एकै परिवारका सदस्यमा कोरोना पोजिटिभ भेटियो भनेर समाचार बाहिरिँदाको ब्लग हो यो। यहाँ क्लिक गरी पढ्नुस्।

९) के नेपाली डाक्टरले बनाएको कोरोना खोपबारे डब्लुएचओले चासो दिएको हो?



‘नेपालमा कोरोना खोप बनाएको दावी, विश्व स्वास्थ्य सङ्गठनले थप अनुसन्धानमा सहयोग गर्ने’ जस्ता शीर्षकमा युट्युबको त के कुरा, सरकारी अखबार गोरखापत्रदेखि प्रमुख मिडिया र अनलाइनहरुमा निकै समाचार बने। त्यसैबारे फ्याक्टचेक थियो यो ब्लग। हामीले यसलाई अपुष्टको श्रेणीमा राखेका थियौँ। नभन्दै अहिले खोप बनाएको दावी गर्ने फरेस्ट्रीका प्रोफेसर डा. ललितकुमार दास अहिले बेखबर जस्तै छन्। ब्लग पढ्न यहाँ क्लिक गर्नुस्।

नम्बर ८ : किशोरीको मोबाइलबाट नवराजलाई गएको एउटा मेसेज, जसले उनलाई ‘पुर्पक्ष’मा पठायो



यो वर्ष एकदम चर्चामा आएको विषयमध्ये एक थियो यो रुकुम काण्ड। लकडाउनकै बीच रुकुम पश्चिम पुगेर स्थलगत रुपमा कुरा बुझेर केही ब्लगहरु लेखेको थिएँ। त्यसमध्ये यो एउटा ब्लग सबैभन्दा धेरै पढिएका यो वर्षका ब्लगहरुको सूचीमा परेछ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

नम्बर ७ :  हजारको नोटबाट गलहत्याइएको हात्तीको अनौठो कथा



यो वर्षदेखि चलनचल्तीमा ल्याइएको हजारको नयाँ नोटमा जुम्ल्याहा हात्तीको चित्र छ। पहिलेको नोटमा भएको हात्ती अफ्रिकी भएकोले परिवर्तन गरिएको भन्ने दावी थियो। यसबारे विज्ञहरु के भन्छन् त भन्ने बारे सोधेर तयार पारिएको ब्लग पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

नम्बर ६ : के भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भनेका हुन्?



यो चाहिँ यही हप्ता लेखिएको ब्लग थियो। भीम रावलले भन्दै नभनेको कुरा एउटा गैर पत्रकारले चलाएको वेबसाइटमा राख्दा नेता, नेतापत्नी, अभियन्ता, इन्टरनेट स्वतन्त्रताको वकालत गर्नेहरुदेखि पत्रकारहरुसम्म- सबका सबले पत्याउँदै गाली गरिरहेका बेला गरिएको फ्याक्टचेक पनि यो वर्ष धेरैले पढेको ब्लगमध्ये छैटौँ नम्बरमा पर्न सफल भयो। छुटाउनु भएको भए पढ्न यहाँ क्लिक गर्नुस्।

नम्बर ५ : जे नहोस् भन्ने डर थियो, त्यही भयो : लकडाउनको धज्जी उड्यो, विदेशै नगएकोमा पनि कोरोना फैलियो


लगभग एक महिना लकडाउन भइसकेपछि काठमाडौँबाट धमाधम मान्छे बाहिरिएकोबारे ब्लग थियो यो। मान्छे बाहिर निस्कनै नपाउने गरी गरिएको लकडाउनमा दशैँमा जस्तो कोटेश्वरमा काठमाडौँ बाहिर जानेहरुको भिड थियो। दूरी कायम हुने कुरा भएन भिडमा। कसरी जम्मा भए यत्रो भिड? कसैलाई थाहा थिएन। सरकार पार्टी फुटाउने अध्यादेशमा व्यस्त थियो। पूरा यहाँ क्लिक गरी पढ्नुस्।

नम्बर ४ : कोरोना फ्री कन्ट्री : अहिलेसम्म संक्रमण नदेखिएका यी हुन् १५ देश

लकडाउनमा घरभित्र थुनिएर बस्दा कोरोनाकै चर्चा थियो जताततै। लगभग पूरै विश्वको स्थिति त्यस्तै थियो। अप्रिल महिनामा कोरोना भाइरसको संक्रमण नदेखिएका १५ देशहरुबारे लेखिएको यो ब्लग पनि यो वर्षकै सबैभन्दा बढी पढिएकाको सूचीमा आयो। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गर्नुस्।

नम्बर ३ : सरकारी वेबसाइटमा के देखियो यस्तो छ्या छ्या छ्या !


पर्साको जिल्ला समन्वय समितिको कार्यालयको वेबसाइटमा पोर्न कन्टेन्ट भेटिएको बारेमा ब्लग थियो यो। ब्लग प्रकाशन भएको करिब तीन घण्टापछि वेबसाइटबाट अश्लील सामाग्रीहरु सबै हटाइएका थिए। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गर्नुस्।

नम्बर २ : नझुक्किनुस्, मान्छेहरु ढलेको यो फोटो इटालीको होइन


यो वर्ष कोरोना भाइरससँग सम्बन्धित थुप्रै फेक न्युजहरु सामाजिक सञ्जालमा फैलिए। फेक न्युजहरुको बिगबिगी बढेपछि सेन्टर फर मिडिया रिसर्च नेपालसितको सहकार्यमा मिडियामा आएका गलत समाचार र भाइरल खबरहरुको तथ्यजाँच गर्न नेपाल फ्याक्टचेक पनि सुरु गर्‍यौँ। यो वर्ष सयभन्दा बढी फ्याक्टचेक गरियो। त्यसमध्ये यो वर्ष सबैभन्दा बढी पढिएको फ्याक्टचेक इटालीको सडकमा मान्छे ढलेको बारे थियो। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

नम्बर १ : कान्तिपुर टिभीमा ‘आम्मामा.. तीन अर्बमा कति खायो होला !’


र, यो वर्ष सबैभन्दा बढी पढिएको ब्लग भने यो रमाइलो ‘काण्ड’ हुन पुग्यो। मे ३ मा बिहान ७ बजे कान्तिपुर टेलिभिजनमा समाचार पढ्ने क्रममा १३ औं दक्षिण एसियाली खेलकुद साग सकिएको पाँच महिना भइसकेपनि अहिलेसम्म कति खर्च भयो भन्ने सार्वजनिक नगरिएको बारे एउटा रिपोर्ट थियो। रिपोर्ट टेलिभिजनमा बज्दै गर्दा समाचारवाचिका रुबिना थापाको माइक अफ भएनछ। त्यसपछि त रमाइलो भयो नि! पुरुष आवाजमा रिपोर्टमा भनिँदै थियो- ‘सरकारले साग सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्ले तीन अर्ब ६४ करोड रुपैयाँ दिएको थियो।’
समाचारवाचिकाको मुखबाट निस्कियो, ‘आम्मामा…तीन अर्बमा कति खायो होला त!’ माइक अफ नभएकोले दर्शकले पनि त्यो आवाज सुन्न पाए।
टेलिभिजनमा प्रत्यक्ष हेर्न छुटाउनु हुनेका लागि कान्तिपुर टेलिभिजनले आफ्नो युट्युबमा यो रमाइलो ‘काण्ड’ सम्पादन नगरी राखेको थियो। यो ब्लग आइसकेपछि त्यो भिडियो हट्यो। तर पनि इन्टरनेटमा एक पटक राखिसकेको चिज कहाँ त्यति सजिलै हट्छ र। अझै पनि हेर्न पाइन्छ नै। भिडियो र ब्लग पढ्न छुटाउनु भएको भए वा दोहोर्‍याएर हेर्न मन भए यहाँ क्लिक गर्नुस्।

2 thoughts on “सन् २०२० मा माइसंसारमा बढी पढिएका २० ब्लग, तपाईँले छुटाउनु त भएन?”

  1. Manoj says:
    January 1, 2021 at 3:52 pm

    Keep updating the readers. We love you.

    Reply
  2. Chandra Gc says:
    December 31, 2020 at 9:32 pm

    तपाईं पत्याउनुस या न पत्याउनुस खाडीबाट 2009 देखि निरन्तर पढ्छु।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme