Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘अनलाइनखबर’मा मान्छेले सर्पसित बिहे गरेको ‘फेक न्युज’

Posted on October 19, 2020 by Salokya


अनलाइनखबरले २०७७ असोज २९ गते ‘यी पुरुषले किन गरे सर्पसँग बिहे ?’ शीर्षकमा एउटा समाचार राखेको छ। स्रोत उल्लेख नगरी ‘एजेन्सी’ मात्र लेखिएको यो समाचारमा ‘थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सप्पैलाई तीनछक्क पारिदिएको’ दावी गर्दै कारण खुलाइएको छ, ‘आफ्नी भूतपूर्व प्रेमिकाको मृत्युपछि मृतक प्रेमिका सर्पको रुप धारण गरेर आएकोले सोही सर्पसँग बिहे गरेको।’

समाचारमा ‘पाँच वर्षअघि प्रेमिकाको मृत्यु भएपछि विक्षिप्त बनेका ती युवकले अन्ततः एउटा १० फिट लामो विषालु गोमन सर्पसँग बिहे गरेको, सर्पलाई आफ्नो पत्नीजस्तै गरेर स्याहार गरेको, सर्पसँगै सुत्ने, सँगै खाना खाने रोमान्स गर्ने, टिभी हेर्नेदेखि पिकनिक सम्म जाने गरेको दावी गर्दै ती युवकलाई अहिलेसम्म त्यो सर्पले कुनै आक्रमण नगरेको’ दावी गरिएको छ। हामीले यसबारे तथ्य जाँच गर्दा यो पुरानो फेक न्युज रहेको मात्र खुलेन, ती व्यक्तिको कोब्रा सर्पको डसाइका कारण दुई वर्षअघि नै मृत्यु भइसकेको पनि खुल्यो।


मान्छेले सर्पसित बिहे गरेको यो समाचार चार वर्षअघि भाइरल भएको थियो। त्यतिबेला विश्वका विभिन्न मिडियाका साथै नेपालका मिडियाले पनि यसबारे समाचार दिएका थिए। नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित रिपब्लिका अङ्ग्रेजी दैनिकको अनलाइन संस्करण माइरिपब्लिकामा पनि नोभेम्बर १२, २०१६ मा स्रोत नखुलाई ‘एजेन्सीहरु’ लेखेर यो समाचार राखिएको थियो। अर्काइभ लिङ्क हेर्नुस्।

तर यो समाचार ‘फेक’ रहेको खुलासा अबु जारिन हुसेन नामका तिनै व्यक्तिले बीबीसीलाई गरेका थिए।

नोभेम्बर १८, २०१६ मा बीबीसीमा प्रकाशित समाचारमा बेलायतका केही ट्याब्ल्वाइड पत्रिकाहरुले आफ्नो फेसबुक पेजबाट फोटो निकालेर प्रेमिकाको पुनर्जन्म भएको भन्दै सर्पसित बिहे गरेको गलत दावी गरेर समाचार छापिएको बताएका थिए। हेर्नुस् समाचारको लिङ्क।

समाचार छापिँदा उनी विवाहित रहेको र उनकी पत्नी पनि सकुशल रहेको त्यो समाचारमा उल्लेख छ। खासमा उनी सर्पसँग खेल्न रुचाउने व्यक्ति रहेछन्। उनी मलेसियाको फायर रेस्क्यु एकेडेमीमा काम गर्थे।

यो समाचार सबैभन्दा पहिला बेलायती ट्याब्ल्वाइड डेली मिररमा नोभेम्बर १०, २०१६ मा छापिएको थियो। त्यो समाचार अहिले हटाइसकिएको छ। (हेर्नुस् अर्काइभ) त्यसको भोलिपल्ट यो समाचार अर्को ट्याब्ल्वाइड डेली मेलमा छापिएको थियो। त्यो समाचार भने अझै पढ्न सकिन्छ।

चार वर्ष पुरानो यो फेक न्युजलाई अनलाइनखबरले अस्ति असोज २९ गते प्रकाशित गर्दा ती युवकको मृत्यु भइसकेकै दुई वर्ष भइसकेको थियो। वासिङ्टन पोस्टमा मार्च १७, २०१८ मा प्रकाशित समाचार अनुसार ३३ वर्षका ती युवकलाई मलेसियाको बेन्टोङमा कोब्रा सर्पले डसेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भएको खबर मलेसियाको द स्टार अनलाइनले पनि राखेको छ।

अहिले उनको फेसबुक पेजमा पनि उनको मृत्यु भइसकेको जनाइएको छ।

निश्कर्ष : अनलाइनखबरले असोज २९ गते प्रकाशन गरेको ‘यी पुरुषले किन गरे सर्पसँग बिहे ?’ शीर्षकको समाचार चार वर्ष पहिले नै फेक न्युज प्रमाणित भइसकेको विषय हो। ती युवकको अहिले मृत्युसमेत भइसकेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme