Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारको निर्णयबारे सरकारी मिडियाहरुकै खबर गलत ठहरियो, कसको विश्वास गर्ने?

Posted on September 16, 2020September 16, 2020 by Salokya

सरकारी मिडिया किन चाहिन्छ भन्ने प्रश्नको जवाफमा सरकारको आधिकारिक सूचना र जानकारीहरु प्रवाह गर्नका लागि भन्ने जवाफ आउने गर्छ। हुन पनि सरकारको निर्णयबारे सरकारी मिडियामै समाचार आएपछि विश्वास नगर्ने भन्ने कुरा हुँदैन।

तर नेपालमा भने त्यसो नहुने रहेछ। सरकारी मिडियामै समाचार आए पनि विश्वास गरिहाल्न नहुने रहेछ। के थाहा, २४ घण्टा नबित्दै त्यो समाचार गलत हुने हो कि!

एउटा त्यस्तै उदाहरण मंगलबार (भदौ ३० गते) भेटियो। सार्वजनिक यातायात असोज ५ गतेदेखि खुला हुने समाचार सरकारी मिडियाहरु नेपाल टेलिभिजनले हिजो र आज छापिएको गोरखापत्रले दियो। तर आज सरकारका (नयाँ) प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा असोज त असोजै भने, ५ गते चैँ भनेनन्, १ गते भने।

कुन स्रोतले डुबायो?

रमाइलो कुरा त के भने सरकारी मिडिया कुनैले पनि अरु निजी मिडियाले जस्तो अज्ञात ‘स्रोत’ जस्तै एक मन्त्रीले बताए भनेर लेखेका छैनन्। बकाइदा मन्त्रीको नामै राखेर भन्नुभएको भनेर समाचार लेखेका छन्।


गोरखापत्रको भदौ ३० गते मंगलबारको अङ्क।

गोरखापत्रमा एक जना हैन दुई दुई जनाको बाइलाइनमा लेखिएको समाचारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई उद्‍धृत गरिएको छ। समाचार यस्तो छ-

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद्ले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुस्।

तर गोरखापत्रको अनलाइनमै भदौ ३० गते प्रकाशित समाचारमा आन्तरिक हवाई उडान र लामो दूरीका यातायातका साधन असोज १ गतेदेखि चल्न दिने सरकारले निर्णय गरेको उल्लेख छ।

त्यसैगरी सरकारी टिभी च्यानल नेपाल टेलिभिजनले भदौ २९ गते ‘असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय’ शीर्षकको समाचार अनलाइनमा राख्यो। यहाँ क्लिक गरी हेर्नुस् समाचार। टिभीमा समाचार पनि आयो होला, नहेरेकोले थाहा भएन।

नेपाल टेलिभिजनको समाचारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएको उल्लेख गरिएको छ।

तर आज भदौ ३० गते भने नेपाल टेलिभजनको अनलाइनमा ‘यातायात र हवाइ उडान पर्सि १ गतेदेखि सञ्चालनमा आउने’ शीर्षकमा समाचार आयो।

सरकारी मिडियाले नै एक दिन एउटा, अर्को दिन अर्को न्युज छापेर भ्रम फैलाउन थालेपछि प्रश्न उठ्छ-

के सरकारको निर्णय एक दिनमै फेरिएको हो त?

कि मन्त्रीहरुलाई नै सरकारको निर्णय (असोज १) बारे थाहा नभएर हचुवामा असोज ५ गतेदेखि भनेर बोलेका हुन् ?

कि सरकारी मिडियाका पत्रकारहरुले मन्त्रीले भन्दै नभनेको ‘कोट’ (भनाई) लाई बङ्ग्याएर समाचार लेखेका हुन्?

रमाइलो चाहिँ के छ भने, दुवै समाचारमा मन्त्रीको कोटभित्र असोज ५ गतेदेखि सञ्चालनमा आउने लेखिएको छैन। गोरखापत्रमा पहिलो वाक्यमा समाचार लेखक आफैले लेखेको छ- सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ।

दोस्रो वाक्यमा बल्ल कोट छ। कोटमा चाहिँ कति गते खुल्ने भनिएको छैन- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो ।

नेपाल टेलिभिजनको समाचारमा पनि मन्त्रीले यति गते खुल्ने भनेर कोटभित्र हालिएको छैन। मन्त्रीले त निर्णय भएको जानकारी मात्र दिएका छन्।

समाचार लेखकले पहिलो वाक्यमा सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ लेखेका छन्।

दोस्रो वाक्यमा लेखिएको छ- मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कोरोना भाइरस संक्रमण जोखिमका कारण चैत पहिलो सातादेखि रोकिएका अन्तरजिल्ला (लामो दुरीका) यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

सही के हो त? असोज १ गते कि ५ गते ?

सरकारी निर्णयको आधिकारिक जानकारी सरकारका प्रवक्ताबाट आउने हो। प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन भदौ ३० मा आयोजित पत्रकार सम्मेलनमा असोज १ गतेदेखि लामो दूरीका सवारी साधनहरु र आन्तरिक हवाई उडान खुला गरेको बताए।

त्यसैले असोज ५ गतेदेखि लामो दूरीका यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय भनेर सरकारी मिडियामै आएका खबर सरकारकै प्रवक्ताको भनाईबाट गलत भएको प्रमाणित भयो।

सरकारी मिडियाकै खबर यस्तो भयो भने अरु निजी मिडियामा आएका खबरहरुको के कुरा गराई भो र। तैपनि रेकर्डका लागि क-कसले असोज ५ गते भनेर लेखे?

– असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला (कान्तिपुर) कसले भनेको : पर्यटन मन्त्री योगेश भट्टराई, (पत्रिकामा नाम उल्लेख छैन, अनलाइनमा मात्र नाम छ)

– लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन हुने (उज्यालो अनलाइन) कसले भनेको : उल्लेख छैन

–लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ७ गतेबाट खुला गर्ने निर्णय (अनलाइनखबर), कसले भनेको : नाम उल्लेख नभएका एक मन्त्री

– लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय (पुनः अनलाइनखबर नै) कसले भनेको : नाम उल्लेख नभएका एक मन्त्री

– असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने(सेतोपाटी) कसले भनेको : नाम उल्लेख नभएका एक मन्त्री

– असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने सरकारको निर्णय (नेपाललाइभ) कसले भनेको : नाम उल्लेख नभएका एक मन्त्री

– लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान असोज ५ गतेबाट चल्ने (पहिलोपोस्ट) कसले भनेको : नाम उल्लेख नभएका एक मन्त्री

– र, बेलायती रेडियो बीबीसी नेपाली सेवाको अनलाइनमा पनि- नाम उल्लेख नगरी समाचारमा आयो- कोरोनाभाइरस महामारीका कारण बन्द आन्तरिक हवाई सेवा असोज ५ गतेदेखि खोल्ने निर्णय सरकारले गरेको छ।

खै जवाफदेहिता ?
न सरकारी मिडिया, न निजी मिडिया- हिजो एउटा न्युज, आज त्यो गलत ठहरिने गरी अर्कै न्युज कसरी आयो भनेर जानकारी दिने सामान्य औपचारिकतासमेत माथि उल्लेखित कुनै मिडियाले पूरा गरेनन्। पुरानो गलत भएको न्युजलाई सच्याउने त कुरै छाडिदिउँ।

के पाठकप्रति मिडिया जवाफदेही हुनुपर्दैन? हिजो असोज ५ गते भनेर समाचार लेख्ने अनि आज असोज १ गते भनेर समाचार लेख्दा अहो, हिजो त हामीले यस्तो पो लेखेका थियौँ, खासमा यो यस्तो हो है भनेर लेख्नु पर्दैन ? अचम्मै छ, छैन त? 🙂

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme