Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समाचार डिलिट गर भन्दै अफिसमै पत्रकारमाथि हातपात, कारण यस्तो रहेछ

Posted on September 11, 2020September 11, 2020 by Salokya

आज एउटा भिडियो फेसबुकमा देखेँ। एक हुल मान्छे सुदूर पश्चिमको दिनेश एफएम, दिनेशखबर डट कम चलाउने दिनेश सञ्चार गृहको कार्यालयमा प्रवेश गर्दै होहल्ला गर्दै पत्रकारहरुलाई समेत हातपात गरेको भिडियोमा देखिन्छ। एक जना मान्छे त मोबाइलमा भिडियो खिच्दै पत्रकारलाई कुट्दै गरेको पनि देखिन्छ।

उनीहरु समाचार डिलिट गर भन्दै पत्रकारहरुलाई थर्काइरहेको पनि देखिन्छ। खास यो के विषय हो ?

भएको के हो ?

मैले दिनेश सञ्चार गृहका व्यवस्थापक अमिता कुँवरसित फोनमा कुरा गरेँ। उनका अनुसार प्रहरीलाई उद्‍धृत गरेर राखिएको एउटा समाचारमा आपत्ति जनाउँदै त्यसरी हातपात गरिएको हो। केही आपत्ति भए तपाईँहरुको भनाई पनि राखिदिन्छौँ भनेर भन्दाभन्दै पनि हातपातमा उत्रिएको उनले बताइन्।

‘हामीले प्रहरीलाई कोट गरेर समाचार हालेका थियौँ, प्रहरीलाई त विश्वास गर्नु पर्‍यो नि’, उनले भनिन्, ‘तर पनि तपाईँहरुको केही कुरा छ भने हामी त्यो पनि राखिदिन्छौँ पनि भनेका थियौँ।’

दिनेशखबरले राखेको भिडियोमा  सह–सम्पादक जनक विष्टमाथि भिडका केही व्यक्तिले हातले हानेको देखिन्छ।  व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंह उनीहरुलाई छुट्याउन खोज्छन्। उनीहरुलाई पनि धकेलेको भिडियोमा देखिन्छ।

के थियो समाचार ?

दिनेशखबरले आज भदौ २६ गते बिहान १० बजेर १७ मिनेटमा धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या शीर्षकमा समाचार राखेको थियो।

दुई अनुच्छेदको यो समाचारमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टलाई उद्‍धृत गर्दै एक थुनुवाले आत्महत्या गरेको उल्लेख छ।

झुण्डिएर मर्ने केसमा प्रायः यस्ता विवाद हुने गर्छन्- मरेको हो कि मारेको भन्ने विषयमा। घरैमा भेटिनेमा त यस्तो विवाद हुन्छ भने प्रहरी कार्यालयभित्रको थुनुवा कक्षमा हुने घटनामा विवाद नहुने कुरै भएन।

केही अघि रवि लामिछाने मुछिएको केसमा शालिकराम चितवनको एउटा होटलको कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेट्दा कति ठूलो विवाद भएको थियो भन्ने त धेरैलाई थाहै होला। शालिकरामको आँखामा हत्यारा देखिएकोदेखि करेन्ट लगाएर, रडले हानेर मारेकोसम्मका कन्स्पिरेसी थ्यौरीहरु बनाइएका थिए। धन्न कोठाभित्रबाट लक गरी आत्महत्या गरेका थिए र झ्यालबाट पनि निस्कने कुनै ठाउँ थिएन र, त्यस्ता कन्स्पिरेसी थ्यौरीहरुले काम गरेन। चितवन जिल्ला अदालतले पनि यो मुद्दा टुङ्गो लगाइसक्यो। तर पनि त्यतिबेलाका फेसबुक र युट्युब हेर्नेहरु धेरैलाई अहिले सोध्नुभयो भने अझै पनि उनीहरु यो आत्महत्या नभएर हत्या नै नभएको भन्ने ठोकुवा गर्ने गर्छन्।

अनलाइनमा समाचार छिटो छिटो हाल्नु पर्ने दबाब डेस्कमा बसेका धेरैले अनुभव गर्ने गर्छन्। शायद त्यही भएर न्युज ब्रेक गर्ने क्रममा दिनेशखबरले प्रहरीको आधिकारिक भनाईसहितको समाचार राखिहाल्यो। यसमा पीडित पक्षको भनाई पनि भएको भए राम्रो हुने थियो।

तर पछि पीडित पक्षको कुरा पनि राखिदिन्छौँ भनेर भन्दाभन्दै समाचार डिलिट गर भन्दै थर्काउँदै त्यसरी कार्यालय भित्रै प्रवेश गरी हातपात गर्नु भने अराजकता भयो। कुन समाचार राख्ने र कुन डिलिट गर्ने भन्ने विषय भिडको दबाबमा कुनै मिडियाले निर्णय गर्ने होइन।

यो केसमा सबभन्दा धेरै दोष कार्यालयभित्रै प्रवेश गरी पत्रकार कुट्ने अराजक भिडकै देखिन्छ। यसले उनीहरुको कुरा सही हो भने पनि उनीहरुलाई नै गलत बनाइदिन्छ। उग्र नभई शान्त रुपमा पनि यो समाचारमा आफ्ना कुराहरु राख्न सकिन्थ्यो।

तर पत्रकारहरुले पनि सोच्नु पर्छ, हामी पनि कतै असन्तुलित भएका त हैनौँ? हाम्रो शब्द चयनमा कतै गल्ती त भएन? यद्यपि दिनेशखबरले समाचार गल्ती भएको भए सच्याउँछौँ भनेर बारम्बार भन्दा पनि भिडले नसुन्नु दुःखद छ।

प्रहरीले पनि अनुसन्धान भइरहेको विवादित विषयमा ‘आत्महत्या गरेको’ भनेर सीधै कोट दिनुको साटो ‘झुण्डिएको अवस्थामा फेला पर्‍यो, अनुसन्धान गरिरहेका छौँ’ भनेको भए यस्तो समाचार पनि आउने थिएन कि। प्रहरीले पनि आफ्ना कर्मचारीहरुलाई के विषयमा कसरी बोल्ने भन्ने सिकाउनु पर्ने देखियो।

पहिलो होइन दिनेशखबरमाथि आक्रमण

दिनेशखबरका पत्रकारहरुमाथि भएको यो पहिलो आक्रमण होइन। यसअघि गत वर्ष पनि पत्रकार जनक विष्टलाई नै हातपात भएको विषयमा विवेकशील सुदूरपश्चिमले विज्ञप्ति निकालेको थियो। विवेकशीलको विज्ञप्तिमा ‘ एक सरकारी विद्यालयमा सटरहरु बिना टेण्डर मिलोमतोमा ब्यापारिहरुलाइ न्युन शुल्कमा भाडामा दिएको बिषयमा रिपोर्टिङ गर्न गएका विष्टलाई राजनीतिक पहुँच र अमुक दलको आडमा हातपात भएको’ लेखिएको छ।

त्यसैगरी अस्ति भर्खर असार २१ गते दिनेशखबरमै आएको समाचार अनुसार कृषि मन्त्रालयबाट माछा पालनका लागि अनुदान लिएर पनि पोखरी निर्माण नगरेको विषयमा समाचार छापेर आफ्नोे बदनाम गरेको भन्दै दिनेश खबरका वरिष्ठ संवाददाता कमल सावदमाथि हातपात भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ हसनपुरका हर्कबहादुर देउवा र उनका छोरा ठक्कर देउवाले दुर्व्यवहार गर्दै हातपात गरेको समाचारमा उल्लेख छ। तर समाचार शीर्षकमा भने सुदूरपश्चिमको कृषि मन्त्रालयमा दिनेश खबरकर्मीमाथि देउवाद्वारा हातपात राखिएको छ।

3 thoughts on “समाचार डिलिट गर भन्दै अफिसमै पत्रकारमाथि हातपात, कारण यस्तो रहेछ”

  1. Anuradha poudel says:
    September 13, 2020 at 12:01 pm

    समाचार लेख्ने पनि मानिस हो । लेख्दा गल्ती हुन सक्छ । गल्ती लेख्नेलाई किन गल्ती भयो भन्ने कुरा पाठकले सिकाउने हो तर शान्त भएर । समाचार गलत आउंदा जाने निकाय छन् । पहिलो कुरा हो जहा प्रकाशित हो त्यहि खन्डन गर्ने । नभए प्रेश काउन्सिल या पत्रकार महासँघहरु छन् खराब समाचारहरु प्रकाशित गरेको या लेखेकोमा उजुरी हाल्न सकिन्छ ।
    एउटा पत्रकारलाई कुटेर के गर्ने ? भोली अन्याय पर्दा उसैले फेरी जो जो ले कुट्नु भो तपाईहरुकै खबर लेख्नुपर्छ । पत्रकार तपाईहरुको साथी हो उ अन्यायि हुन मिल्दैन । कृपया उसलाई लेख्ने तर सही लेख्ने बाटोमा हिड्न मद्दत गर्नुहोस् । पत्रकार बन्न सजिलो छैन । धेरै समय उसले परिवार र आफन्त भुलेको हुन्छ हरदम टेन्सनमा रहेर काम गर्नुपर्ने हुन्छ ।

    Reply
  2. Pratik says:
    September 12, 2020 at 6:34 pm

    Our country Nepal, birthplace of Lord Buddha but people are so violent and aggressive.

    Sometimes they beat up traffic officer and sometime journalist.

    Reply
  3. Chandra says:
    September 11, 2020 at 4:06 pm

    This guy is a horrible reporter. Everyone knows him how he licks asses of local politicians. Many of his stories are made up without any proofs. Take a look at his stories, they are all without any proofs. I hope he learnt his lesson this time.

    Reply

Leave a Reply to Chandra Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme