Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के ‘न्युयोर्क टाइम्स’ले हिसिला यमिलाई एसियाकै भ्रष्ट महिला भनेर रिपोर्ट छापेको थियो?

Posted on September 8, 2020September 8, 2020 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ भदौ २०७७ सोमबार बिहान फेसबुकमा एउटा स्टायटस लेखेका छन्। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाको विदाइका बेला गरेको ट्विटको जवाफ दिँदै थापाले फेसबुकमा लामो स्टायटस लेख्दै सोधेका छन्- ‘न्यूयाेर्क टाइम्सले २०७० सालमा “एसियाकै भ्रष्ट महिला” भनेर विशेष खाेज रिपाेर्ट प्रकाशित गरेकाे समेत बिर्सनु भयाे ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ?’

थापा मात्र होइन, हिसिलालाई एसियाकै भ्रष्ट महिला भन्दै समाचार आएको चर्चा मिडिया र सोसल मिडियामा यसअघि पनि धेरै हुने गरेको छ। के यो सही हो? हामीले फ्याक्टचेक गरेका छौँ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुक स्टायटस। अर्काइभ लिङ्क।

नागरिक दैनिकका तत्कालीन प्रधान सम्पादक प्रतीक प्रधानको ‘जनता मनन गर्छन्’ शीर्षकमा ९ मंसिर २०७० मा प्रकाशित विचारमा पनि यस्तो लेखिएको छ-

अमेरिकी प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले हिसिला यमीलाई दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट महिला नेतृ भनेर लेखिदिएर पनि जनता बीचमा ठूलो असर परेको देखिन्छ।

हेर्नुस् अर्काइभ लिङ्क

थापाले न्युयोर्क टाइम्समा ‘एसियाकै भ्रष्ट महिला’ लेखेको दावी गरे पनि प्रधानले भने ‘दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट महिला नेतृ’ भनेर लेखेको उल्लेख गरेका छन्।

हामीले गुगलमा न्युयोर्क टाइम्समा यस्तो लेखिएको छ कि छैन भनी समाचार खोज्यौँ-

न्युयोर्क टाइम्समा ६ नोभेम्बर, २०१३ मा In Fractured Nepal, Plans for National Elections Provide a Series of Subplots शीर्षकमा एउटा समाचार छापिएको छ। जसको सुरुवातमै हिसिला यमीको प्रसंग रहेको छ। समाचार यस्तो छ-

समाचारमा लेखिएको छ, “यदि तपाईले अखबार पढ्नुभयो भने तपाईले सोच्नु हुन्छ कि म नेपालमा सबभन्दा भ्रष्ट महिला हुँ,” माओवादी नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी श्रीमती हिसिला यमीले भनिन्।

समाचारमा हिसिलाले आफ्नो लुकाइएको सम्पतिबारेका समाचारहरु हल्लामात्रै रहेको भन्दै खण्डन गरेकी छिन्।

न्युयोर्क टाइम्समा हिसिला यमी र भ्रष्टाचारको विषयमा यो बाहेक अरु समाचार हामीले भेटेनौँ।

बरु आफूलाई दक्षिण एसियाकै भ्रष्टाचारी महिला लेख्दै गाली बेइज्जती गरेको भन्दै हिसिलाले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको र सो मुद्दामा ‘त्यस्तो भ्रष्ट हुन् भन्ने आधार स्रोत उल्लेख नगरी ख्यातिमा धक्का पुर्‍याउने नियतले प्रकाशन गरेको पुष्टि भएको’ भन्दै गाली बेइज्जती गरेको ठहर गर्दै जरिवाना र क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

यस्तो थियो समाचार र मुद्दामा भएको फैसला

क्राइम टुडे नामको मासिक पत्रिकाले जेठ २०७० (मे २०१३) को अङ्कको कभर पृष्ठमा  ‘एमाओवादी नेतृ यमि दक्षिण एसियाकै भ्रष्टाचारी महिला’ शीर्षक राखेको थियो। भित्रको पृष्ठ ६ र ७ मा यसबारे विस्तृत समाचार थियो।

यस विरुद्ध हिसिला यमिले ‘विपक्षी सम्पादक प्रकाशक आफैले मिथ्यापूर्ण समाचार तयार गरेको भन्दै क्राइम टुडेका प्रबन्ध निर्देशक रत्नमाया (आरएम) लामा, सम्पादक एफ.आर. दाहाल, सम्पादक/प्रकाशक एल.एस. लामा र समाचार छाप्ने इन्द्रेणी अफसेट प्रेससमेतलाई विपक्षी बनाई गाली बेइज्जती ऐन अनुसार मुद्दा दायर गरेकी थिइन्।

२०७० साल साउन ११ गते दायर गरिएको लिखित गाली बेइज्जती मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कार्कीको एकल इजलासले २०७१ असोज ३० गते ‘इज्जतमा धक्का पुर्‍याउने नियतले प्रकाशन गरेको पुष्टि भएकोले गाली बेइज्जती गरेको ठहर गरेको थियो। अदालतले प्रतिवादीहरुलाई दामासाहीले एक हजार रुपैयाँ जरिवाना र एक हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको थियो।

सर्वोच्च अदालतको वेबसाइटमा राखिएको जिल्ला अदालतको यो फैसला पढ्न यहाँ क्लिक गर्नुस्। 

निश्कर्ष : ‘हिसिला यमिलाई एसियाकै भ्रष्ट महिला भनेर न्युयोर्क टाइम्सले विशेष खोज रिपोर्ट तयार गरेको’ भन्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको दावी र नागरिक दैनिकका तत्कालीन प्रधान सम्पादक प्रतीक प्रधानको  ९ मंसिर २०७० मा प्रकाशित लेखमा राखिएको ‘अमेरिकी प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले हिसिला यमीलाई दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट महिला नेतृ भनेर लेखिदिएको’ भनेर गरिएको दावी गलत छ। न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा हिसिलाले “यदि तपाईले अखबार पढ्नुभयो भने तपाईले सोच्नु हुन्छ कि म नेपालमा सबभन्दा भ्रष्ट महिला हुँ” भनेकी र समाचारमा त्यसलाई उनले खण्डन गरेको देखिन्छ। तसर्थ समाचारमा राखिएको हिसिला यमिको भनाईलाई गलत रुपमा उद्‍धृत गरिएको देखिन्छ।

2 thoughts on “के ‘न्युयोर्क टाइम्स’ले हिसिला यमिलाई एसियाकै भ्रष्ट महिला भनेर रिपोर्ट छापेको थियो?”

  1. शेरचन घले तामाङ says:
    September 9, 2020 at 7:02 am

    प्रतीक सरले भन्नु भए झै नेपाली जनताले तिरेको करबाट तलब भत्ता सुविधा लिएका प्रधानमन्त्रिका प्रेस सल्लाहकारले त्यतिको गिरेर कमेन्ट गर्नु भनेको पदको मर्यादा नबुझ्नु हो वा बुझेर पनि “जाए भाँडमा” भन्दै तावेदार बढी बनेको उदाहरण हो| जब गलत कुरोलाई प्रधानमन्त्री कार्यालय जस्तो सम्मानजनक र सम्बेदनशील ठाउँबाट दोहोर्याईन्छ, त्यसको परिणाम पनि भोग्न तयार हुनपर्छ| हिसिला यमी दुधले धोएकी थिइनन, यो सबैलाई थाहा भएको हो र उनले पनि अप्रत्यक्ष रुपमा स्वीकार गरेकी बुझिन्छ| तर विद्यमान सत्तावाल सरकारलाई हेर्ने हो भने बालुवाटार इर्दगिर्द आसेपासेहरुले भ्रष्टचारको खानी नै बनाएका छन| के के नै उल्लेख गरौ? सुनकान्ड, वाइडबडी, न्यारोबडी, प्रिन्टिङ प्रेस, एन्सेल, ललितानिवास, ओम्नी, यस्ता अनेकौ अरबौमा छन| नियुक्तीहरुमा रकम र चलखेल, भ्रष्टचारको खानी|
    सत्तामा रहेका सरकारका मन्त्रीहरुका नियुक्ती, वहिर्गमन, कार्यब्यवहार, सन्चालन आदि सम्बन्धी आलोचना चर्चा गर्ने अधिकार जनतालाई छ| फेरी पनि भन्छु, राज्यका ढुकुटीबाट तलब भत्ता र सुविधा भोगेका कसैले पनि यस्ता आलोचना चर्चा प्रति सयमित र मर्यादित भएर जवाफ दिन सक्नपर्छ, त्यही लय हालेर हिलो छ्यापने गरेर जुहारी खेल्ने कदापी गर्नहुँदैन|पदको यती महत्ता पनि नबुझेकाले पदमा बसिरहनको औचित्य छैन|
    प्रेस सल्लाहकारको काम त्यही हो? अब जनताले उनको राजीनामा मागे कसैले आश्चर्य मान्नु पर्दैन|
    सके र नैतीकता बचेको भए डा: बाबुराम भट्टराई र हिसिला यमीलाई माफी माग्न पर्छ|

    Reply
  2. Pratik says:
    September 8, 2020 at 2:39 am

    Thank you for digging up thr fact and cross checking it.
    There are two important points here.

    Though New York Times didn’t claim Hishila Yami most corrupt woman in Asia, it is very clear her defensive statement that she was a corrupt to the core. Otherwise there was no need to be on defensive. Sadly, articles like that portrays Nepal as a corrupt country in the World. Not the fault of publication but down to Nepalese political mechanism.

    Secondly, Surya Thapa is an adviser to Prime Minister which is a very important role salary paid by tax payers. It is not his role to comment or critisize other politicians. He should remain impartial and refrain from commenting on trivial and pesky issues.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme