Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘ओरालो लागेको’ कान्तिपुरलाई मेस्सीको फ्यानले नि लखेट्छ

Posted on September 5, 2020September 6, 2020 by Salokya

हामी सानो हुँदा टेलिभिजनमा बज्ने एउटा विज्ञापन खुब रमाइलो मानी मानी हेरिन्थ्यो। विज्ञापनमा गोपालराज मैनालीलाई जसले पनि लेखट्थ्यो। लखेट्दा लखेट्दै जिउभरी हिलो र धुलो लागेर घर पुग्दा आफ्नै बूढीले पनि बाँकी राख्दिनन्। भन्छिन्, गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई लखेट्ने..!

अहिले यस्तै भएको छ कान्तिपुरलाई। कान्तिपुरलाई ‘क’ अक्षरको दशा लागेको छ कि के हो, कोरोनाले असर पार्ने पनि कान्तिपुरलाई, कैलाश सिरोहिया पनि कहिले नपरेको विवादमा परे, उनले ट्विट नै गरेर आफ्नो बारेमा स्पष्टीकरण दिनुपर्‍यो। अन्नपूर्ण लगायत अरु पत्रिकाले पनि छापेको कृषि मन्त्रालयको नापी शाखाको समाचार छाप्दा अन्नपूर्ण चुप बसे पनि कान्तिपुरले माफी नै माग्नुपर्‍यो। अब हुँदाहुँदा आज कान्तिपुरलाई मेस्सीका फ्यानहरुले पनि लखेटिरहेका छन्। 

विषय हो, मेस्सीले आफ्नो क्लब बार्सिलोना छाड्न चाहेको भनेर यसअघि घोषणा गरेको तर हिजो त्यही क्लबमै रहने भनी गोल डट कमलाई दिएको एक्सक्लुसिभ अन्तर्वार्ता। 

‘कान्तिपुर’ पत्रिकामा यो विषयमा समाचार छैन। तर अनलाइन ‘इकान्तिपुर’मा भने बिहानै एउटा समाचार प्रकाशन भयो, जसको शीर्षक छ,  ७० करोड युरो तिर्न नसक्दा बार्सिलोना छोड्न सकिनँ : मेस्सी

अर्काइभ लिङ्क

सामाजिक सञ्जालमा मेस्सीका फ्यानहरु यो समाचारप्रति आक्रोशित छन्। ट्विटरमा केही कमेन्ट यस्ता छन्-

ट्विटरमा मात्र होइन फेसबुकमा पनि मेस्सीका फ्यानहरु ‘कान्तिपुर’को समाचार प्रति खनिएका छन्-

बिहान साढे ११ बजे यो ब्लग लेख्दासम्म कान्तिपुरको फेसबुकमा यो समाचारमा ३ सयभन्दा बढी कमेन्ट, ६४ सेयर भइसकेको थियो। अधिकांश कमेन्ट समाचारको विरोधमा छ। केही प्रतिनिधमूलक कमेन्टहरु यस्ता छन्-

खास कुरा के हो ?

विश्व फुटबलमा हलचल ल्याइदिएका थिए मेस्सीले च्याम्पियन्स लिगमा पराजित भएपछि बार्सिलोना छाड्न चाहेको भन्दा। त्यसपछि उनी कुन क्लबमा जाने भन्ने पनि अनुमान चल्यो। सारा अनुमानहरुबीच हिजो राति गोल डट कमको एक्सक्लुसिभ अन्तर्वार्ता आयो, जसमा मेस्सीले आफू बार्सिलोनामै खेल्न किन बाध्य भए भन्ने बताएका छन्। त्यही अन्तर्वार्ताको अनुवाद इकान्तिपुरले राखेको हो।

तर अन्तर्वार्ताको शीर्षकमै ‘७० करोड युरो तिर्न नसक्दा बार्सिलोना छोड्न सकिनँ : मेस्सी’ भन्ने आयो। त्यो भ्रामक थियो,  अर्थात् misleading थियो।

समाचारमा मेस्सीको भनाई अनुवाद गरिएको छ-

मैले अब बार्सिलोनामै रहने निर्णय गरेको छु, किनभने अध्यक्षले भनेका छन्, मैले क्लब छाड्ने एक मात्र उपाय भनेको ७० करोड युरो तिर्नु हो, जुन कसैका लागि पनि सम्भव छैन ।

क्लबले भनिरहेको छ, मैले जुन १० अगाडि नै क्लब छाड्न सक्ने अनुबन्धको बुँदा उपयोग गर्नु पर्ने हो, त्यसपछि यो अस्तित्वमा रहन्न । तर कोरोना भाइरस संक्रमणको महामारीले गर्दा स्पेनी ला लिगा त्यो समय मध्य भागमै मात्र पुगेको थियो ।

यसको अङ्ग्रेजी मूल स्रोत गोल डट कममा यस्तो लेखिएको छ-

“Now they cling to the fact that I did not say it before June 10, when it turns out that on June 10 we were competing for La Liga in the middle of this awful coronavirus and this disease altered all the season.

“And this is the reason why I am going to continue in the club. Now I am going to continue in the club because the president told me that the only way to leave was to pay the €700 million (£624m/$823m) clause, and that this is impossible.”

भिडियोमा पनि सबटाइटलमा यो देख्न सकिन्छ।

यसमा इकान्तिपुरले अनुवाद गर्दा ‘क्लज’ शब्दलाई छुटाएको छ। जसका कारण ‘मैले क्लब छाड्ने एक मात्र उपाय भनेको ७० करोड युरो तिर्नु हो, जुन कसैका लागि पनि सम्भव छैन’ हुन गयो।

यसमा बुझ्नु पर्ने कुरा के हो भने ७० करोड युरो तिर्ने  (कन्ट्र्याक्ट) को जुन क्लज अर्थात् दफा छ, त्यो मेस्सी आफैले तिर्ने होइन, जसले किन्न खोज्छ, त्यो क्लबले तिर्ने हो।

तर कान्तिपुरको समाचारले भने मेस्सीले नै तिर्नुपर्ने र त्यही तिर्न नसक्दा चाहिँ बार्सिलोना छाड्न नसकेको जस्तो भ्रम पारिदियो।

अनि अर्को कुनै क्लबले ७० करोड युरो तिर्न नसक्ने हो र ? किन मेस्सीले  only way to leave was to pay the €700 million (£624m/$823m) clause, and that this is impossible भनेका त ?

मेस्सी त महँगा खेलाडी होइन? जसले जति पनि तिर्न सक्ने?

गोल डट कमकै सबैभन्दा महँगो १०० ट्रान्सफरको सूची हेर्ने हो भने सबैभन्दा महँगो नै २२२ मिलियन युरोको देखिन्छ। त्यो हिसाबले ७०० मिलियनको ट्रान्सफर भनेको त असम्भव बराबरै हो।

गोल डट कमका अनुसार मेस्सीले सन् २०१७ मा चार वर्षे कन्ट्र्याक्ट साइन गर्दा बाइ आउट क्लज (अथवा रिलिज क्लज) ७ सय मिलियन युरो राखिएको थियो। यो पनि नेयमारलाई २२२ मिलियन युरोमा रिलिज गरेपछि मात्रै मेस्सीको ७ सय मिलियन बनाइएको थियो। नत्र त मेस्सीको यसअघि ३ सय मिलियन युरोमात्रै रिलिज क्लज राखिएको थियो।

यो कन्ट्र्याक्ट सन् २०२१ मा सकिँदै थियो। तर कन्ट्र्याक्टमा हरेक सिजनको अन्त्यमा बार्सिलोना बस्न चाहने कि छाड्न चाहने भन्ने स्वतन्त्रता पनि दिइएको थियो। यसलाई फ्रि ट्रान्सफर भनिने रहेछ। तर त्यो जुन १० भन्दा अघि नै हुनुपर्थ्यो। तर यस पटक कोरोना भाइरसका कारण त्यतिबेला ला लिगाको प्रतिस्पर्धा भइरहेको थियो। अहिले आएर बार्सिलोनाका अध्यक्षले छाड्न चाहने भए जुन १० भन्दा पहिले नै भन्नुपर्ने अडान लिए।

मेस्सीले अन्तर्वार्तामा बार्सिलोना छाड्ने अर्को उपाय क्लब विरुद्ध अदालत जाने  भएको तर बार्सिलोनालाई माया गर्ने भएकाले त्यसो गर्न नचाहेको बताएका थिए।

अर्थात् मुख्य विषय बार्सिलोनाविरुद्ध अदालत जान नचाहेको हो। त्यो किन भन्दा बार्सिलोना अध्यक्षले छाड्नु पर्दा ७० करोड युरो तिर्नुपर्ने क्लज आकर्षित हुने बताए।

७० करोड युरो तिर्ने चाहिँ मेस्सीले नभएर अर्को क्लबले हो त्यसैले कान्तिपुरको समाचारको शीर्षक र अनुवादको अंश भ्रामक हुन पुग्यो। मेस्सीका फ्यानहरुले त्यही भएर कान्तिपुरलाई खेदिरहेका छन्।

अपडेट : यो ब्लग प्रकाशित भएपछि इकान्तिपुरले आफ्नो समाचारको शीर्षक परिवर्तन गरी ७० करोड युरो ‘रिलिज क्लज’ का कारण बार्सिलोना छोड्न सकिनँ : मेस्सी राखेको छ। समाचारको अन्त्यमा ‘पाठकहरुको प्रतिक्रियालाई सम्मान गर्दै’ यस्तो लेखिएको छ- *यसअघिको शीर्षकमा ‘रिलिज क्लज’ छुटेकोमा सच्याइएको छ । यसअघिको शीर्षकले गलत अर्थ लाग्‍न गएको भन्ने पाठकहरुको प्रतिक्रियालाई सम्मान गर्दै ‘रिलिज क्लज’ थपिएको हो।

1 thought on “‘ओरालो लागेको’ कान्तिपुरलाई मेस्सीको फ्यानले नि लखेट्छ”

  1. Pingback: शनिबारको हेडलाइन काण्ड : मूलधारे दुई मिडियाले सिके त पाठ ? « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme