Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब के हुन्छ पाटनमा?

Posted on September 4, 2020September 4, 2020 by Salokya


पाटनमा बिहीबार झडप हुने स्थिति किन आयो भन्ने बारे  ब्लग लेखिसकेको छु। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।  शुक्रबार बिहान ४ बजेदेखि नै त्यहाँ कर्फ्यु लगाइएको छ। कर्फ्यु राति १० बजेसम्म हुनेछ। त्यस क्रममा क्षमापूजा गरिनेछ। रथ भने सांकेतिक रुपमा मात्र तान्ने सहमति भएको छ। र, यो पटक भोटो जात्रा नहुने भएको छ।

रथारोहण गरिसकेपछि कहिले रथयात्रा गर्ने र कुन मोडालिटीमा गर्ने भन्नेमा एकमत हुन नसकेपछि अन्यौलै अन्यौलका कारण बिहीबार स्थानीय सडकमा उत्रेर आफै रथ तानेका थिए।

बिहीबार रथयात्रा कसरी गर्ने भन्ने बारे यो रथयात्रासँग सम्बन्धित सबैको छलफल भइरहँदा स्थानीयहरुले आफै रथ तानेका थिए। जबकि परम्परा अनुसार रथारोहणको चार दिनपछि रथ यात्रा हुनुपर्थ्यो। त्यो नभएपछि परम्परा अनुसार क्षमापूजा गरेर मात्रै रथ तान्न मिल्थ्यो।

रथ तान्दा पनि रथयात्राको जिम्मा लिने विभिन्न खलः पुचःका प्रतिनिधिहरु उपस्थित हुनुपर्थ्यो। तर उनीहरुको उपस्थिति बिना नै रथ तानियो। रथ तान्न लगाउने र व्यवस्थापन गर्ने अनुभवीहरुको उपस्थिति बिना रथ तान्दा रथ ढल्न पनि सक्थ्यो।

यसैबीच १९ वटै जातीय खलः पुचः रहेको  बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै आधिकारिकता बिना असम्बन्धित समूहबाट रथ तान्न प्रयास गरिएकोमा ‘यस्तो अवाञ्छनीय कार्यको घोर भर्त्सना गर्दै खेद व्यक्त’ गरेका छन्।

आधिकारिकता बिना असम्बन्धित समूहको अर्थ हो सरोकारवालाहरुले यति बेला तान्ने भनेर सहमति नै नगरी आधिकारिक व्यक्तिहरुको उपस्थिति नै नभई रथ तानिएको। खासमा त्यही सहमति छिटो नगरेर नै यो सब भएको थियो। समय मै कसरी जात्रा गर्ने वा नगर्ने भनेर काठमाडौँको इन्द्रजात्राको बारेमा जस्तो बेलैमा निर्णय गरिदिएको भए यस्तो स्थिति निम्तिने थिएन।

समयमै सहमति नभएपछि ज्योतिषी, पानेजु र रथ बनाउने बाराही, यँग्वाल, घकूहरुको संयुक्त बैठकले रथयात्राको विकल्प रथयात्रा नै रहेको निश्कर्ष निकालेको थियो।

विज्ञप्तिमा भने ‘भदौ ११ गते रथसँग सम्बन्धित सरोकारवालाहरुको विशेष बैठकमा मलमास अगावै जात्रा सम्पन्न गर्ने र त्यसको लागि गुठी संस्थानको प्रधान कार्यालयबाट विज्ञहरुसँग परामर्श गरी आएको निचोड उपर जातीय खलःपुचःहरु, रकमीहरु लगायत अन्य सम्बन्धित सबैको उपस्थितिमा हुने बैठकबाट पारित गर्ने र सोही अनुसार श्री रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न गर्ने भद्र सहमति भएको’ जानकारी गराइएको छ।

‘सोही सहमति अनुसार द्रुत गतिमा कार्य भइरहेको समयमा अनियन्त्रित हुल आई अव्यवस्थित रुपमा रथ तान्ने प्रयत्न भएको’ भनिएको छ।

अब के हुन्छ?

विज्ञप्ति अनुसार अब यो सालका लागि मात्र सम्बन्धित सबैको सहमतिमा रातोमच्छिन्द्र नाथको सबै विधि प्रकृयाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गरिनेछ।

यसका लागि चार चरणमा यी काम हुनेछन्

१) भदौ १९ गते शुक्रबार कर्फ्युका बीच क्षमा पूजा गर्ने।

२) भदौ २१ गते आइतबार सोह्र खुट्टेपाटी सम्म रथ तान्ने र छ्वयलाबु गर्ने। रथ खासमा जाउलाखेलसम्म तानेर त्यहाँ भोटो देखाउने जात्रा गर्नुपर्ने हो। तर सांकेतिक रुपमा त्यहाँसम्म मात्र तान्न लागिएको हो।

३) भदौ २२ गते भुज्याय् मनाउने र साइत हेर्ने

४) साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने। बुंगमतिमा रातो मच्छिन्द्रनाथको मन्दिर भूकम्पका कारण भत्किएको अहिलेसम्म तयार भएको छैन। सँगैको अस्थायी टहरामा मन्दिर बनाएर देउतालाई राखिएको छ।

खासमा रथ जाउलाखेल पुर्‍याएपछि भोटो देखाउने साइत जुराइन्थ्यो। भोटो देखाउने दिनको अघिल्लो रात अर्थात् रथ जाउलाखेलमा रहने अन्तिम रात भात छर्ने अनौठो जात्रा गरिन्छ। नेवार भाषामा जाःको अर्थ भात ह्वला को अर्थ छर्ने र ख्यःको अर्थ चौर हुन्छ। भात छर्ने चौर भएर नै त्यो ठाउँको नाम जाउलाखेल रहेको भनेर दावी पनि गर्ने गरिन्छ।

यस्तो हुन्छ यो अनौठो जात्रा। हेर्नुस् भिडियो-

अनि भोलिपल्ट भोटो जात्रा सकिएपछि परालको आगो बाटो भरी दन्काउँदै मच्छिन्द्रनाथलाई बुंगमतिकाहरु लिन आउँछन्।

यस्तो देखिन्छ त्यो दृश्य-

यस पटक यी सब हुने छैनन्। सांकेतिक रुपमा रथ तानी जाउलाखेल नै नपुर्‍याई बुंगमति पठाउने भनिएको छ।

अपडेट : शुक्रबारको कर्फ्युपछि शनिबारदेखि २६ गतेसम्म पाटनमा रथ रहेको क्षेत्र वरपर पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश जारी गरिएको छ।

3 thoughts on “अब के हुन्छ पाटनमा?”

  1. Sandesh Pradhan says:
    September 4, 2020 at 1:45 pm

    Health Protocol ख्याल नराखी गरिएको यस उदण्द कार्यको भत्सना गर्दछु ।प्रहरी कुट्ने,तोडफोड गर्ने अराजक तत्वहरु माथि कानुनी कार्यवाही होस ।

    Reply
  2. Ram Prsd. Neupane says:
    September 4, 2020 at 11:23 am

    यही नै सूचना मानेर काम गर्नुहोला :- ” कोरोनाको कारणले “, हामीले यसपालीको दशै , तिहार , नमनाउने भईयो। अर्को साल मनाइएला। यो साल , लगभग , कुनै पनि चाड पर्ब मनाईएन। >>> जरुरी भन्दा पनि खतराको घण्टी बजेयो <<<< त्यसैले , रहे भए , फेरी फेरी आउंछन चाड पर्बहरु भनेर , यो बर्ष २०७७ सालका कुनै पनि चाड पर्बहरु नमनाउने भईयो। (१) मैले त घरपरिवार श्रीमती लाई , कपडा सपड़ा पनि किन्न नजाओ भन्देको छु . बच्चाहरु रोलान , रोए पनि रोऊन। तीनि कपडा लगाओ भन्देको छु। (२) यस्तो बेलामा के चाड पर्ब मनाउनी ????

    Reply
  3. nimesh says:
    September 4, 2020 at 7:55 am

    हैन मैले नबुझेको – निषेधाज्ञा र curfew मा के फरक छ ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme