Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कान्तिपुर’ले माफी मागेर डिलिट गर्न बाध्य भएको यो समाचारको लहरो तान्दा गएको पहरो

Posted on September 1, 2020September 1, 2020 by Salokya

कान्तिपुर मिडिया ग्रुपको नेपाली भाषाको अनलाइन ‘इकान्तिपुर’ ले शनिबार प्रकाशित एउटा समाचार माफी मागेर डिलिट गरेको छ। अरु अनलाइनहरुले जस्तो सुटुक्क समाचार डिलिट नगरी ‘इकान्तिपुर’ले सूचना राखेर कारणसमेत लेखेको छ।

डिलिट गर्न परेको कारण भने रमाइलो रहेछ। सच्याइएको सूचना अनुसार ‘गत वर्षको समाचार भूलवश पुनः प्रकाशित हुन गएको’ रहेछ। यसरी पुरानो समाचार प्रकाशित हुँदा सम्बन्धित व्यक्तिहरुमा चोट परेकोमा क्षमा पनि मागिएको रहेछ। के रहेछ त त्यस्तो गत वर्षको समाचार जुन प्रकाशित गर्दा माफी नै माग्नुपर्‍यो? 

इकान्तिपुरको यो लिङ्कमा क्लिक गर्दा सच्याइएको सूचना मात्र आउँछ। यसमा क्लिक गरेर मात्र समाचार थाहा पाइने कुरो भएन। इकान्तिपुरको फेसबुक र ट्विटर दुवैतिर यो हटाइसकिएको रहेछ।

अरु कसैले पो सेयर गरेका थिए कि भनेर ट्विटरमा खोजेँ। एउटा ट्विट भेटियो-

मदिरा सेवन गरी आफ्नै घरमा आगो लागाउने युवक पक्राउ https://t.co/Q7D7Gsxwlh

— madhab_palpa (@MadhabPalpa) August 29, 2020

अर्काइभ लिङ्क

फेसबुकमा पनि हावादारी समाचार भनेर एउटा सेयर भएको लिङ्क भेटियो-

यही समाचार अन्य थुप्रै कपिपेस्ट अनलाइनहरुले पनि हालेका रहेछन्।

८ लाख ९६ हजारभन्दा बढी सदस्य रहेको Rabi Lamichhane Fans सिधाकुरा जनतासँग नाम रहेको एउटा फेसबुक ग्रुपमा पनि यो समाचार कपिपेस्ट गरेर हालिएको एउटा वेबसाइटको लिङ्क हालिएको रहेछ।

यसमा सेयर गरिएको वेबसाइटको नाम रहेछ सत्यकुरा डट कम। नाम सत्यकुरा हुँदैमा समाचार सत्य हुनुपर्ने रहेनछ। इकान्तिपुरको समाचार कपिपेस्ट गर्‍यो, ठोक्दियो।

यहाँ क्लिक गरी हेर्नुस् समाचार

सञ्चालक र सम्पादकको समेत नाम नभएको यो वेबसाइटको काम लाखौँ सदस्य भएको ग्रुपमा समाचार राखेर सम्भव भएसम्म डिजिटल आम्दानी कमाउने नै हो।

त्यसैले डिजिटल आम्दानीलाई असर पर्ला कि भनेर कम्प्युटरलाई धोका दिन शब्द समेत मदिरा नभई ‘म’दिरा’ अनि आगो नलेखी ‘आ’गो’ र पक्राउको ठाउँमा ‘प’क्राउ’ लेखिएको हो।

पत्रकारितासँग यिनीहरुको कुनै सरोकार हुन्न। समाचार सत्य हो कि होइन भन्नेसित पनि केही सरोकार हुन्न। मात्र सरोकार हुन्छ आम्दानीको।

त्यसैले कान्तिपुरको समाचार जस्ताको तस्तै कपिपेस्ट गर्दा कान्तिपुरले ‘आगो लगाउने’ को ठाउँमा गल्ती गरेर ‘लागाउने’ लेख्दा पनि जस्तातस्तै कपिपेस्ट हुन गयो।

अनि कान्तिपुरको डेस्कले समेत याद नगरेको अछाममा अहिले डिएसपी योगेन्द्र सिंह थापा हुन्, जनकबहादुर शाही होइनन् भन्ने कपिपेस्ट वेबसाइटले कसरी पत्ता लगाउनु !

त्यसैगरी फोटो पनि यो वेबसाइटले जे पायो त्यही हालिदियो। यही फोटो अरु वेबसाइटहरुमा कुन कुन ठाउँको भनी प्रकाशित भएको छ हेरम्-

दाङको समाचारमा पनि यही फोटो


कालिकोटको समाचारमा पनि यही फोटो।


तेह्रथुमको समाचारमा पनि यही फोटो।

पाठकलाई कति मूर्ख बनाउने के, सुदूरपश्चिमको अछामदेखि पूर्वको प्रदेश १ को तेह्रथुमसम्म एउटै घर जलेको फोटो हाल्दिने !

त्यहाँमाथि जसको कपिपेस्ट गरेको हो, उसैले समाचार माफी मागेर हटाइसक्दा पनि त्यो पुरानो समाचारलाई यो वेबसाइटले हटाउन आवश्यक ठानेन। यो ब्लग तयार पार्दासम्म पनि हटाएको छैन।

अरु कुनै वेबसाइटले पनि कान्तिपुरको त्यो समाचार कपिपेस्ट गरेको छ कि भनेर हेर्दा थुप्रै भेटिए। धेरै वेबसाइटहरु कान्तिपुरसँगै चिप्लिएका रहेछन्।

प्रदेश मिडियाको पनि बिजोग

उदाहरणको लागि यो रेडियो कैलालीको कैलालीखबर डट कमलाई हेर्नुस् त। यो त कमसेकम अछामबाट नजिक पर्ने अझ प्रदेशको राजधानीमा रहेको मिडिया हो नि, यसले त कम्तिमा स्थानीय समाचार बुझेर लेख्नु नि, यसले पनि केन्द्रकै समाचार कपिपेस्ट गरिदिने !

काठमाडौँका मिडियालाई थाहा नहोला, प्रदेश राजधानीको मिडियाले त कम्तिमा अछामको डिएसपी पहिले जनकबहादुर शाही थिए, अहिले योगेन्द्रसिंह थापा हुन् भन्ने थाहा हुनुपर्ने होइन र।

समाचारमा ‘दशैंको बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी जिल्लाको शान्ति सुरक्षा कडा पारिएको प्रहरी प्रमुख शाहीले बताए’ लेखिएको छ। अहिले भदौ महिना। अब असाेजमा मलमास छ, त्यसपछि मात्र कात्तिकमा बल्ल दशैँ सुरु हुन्छ। कहाँ अहिले भदौ १३ गतेको समाचारमा नै ‘दशैँको बेला’ भनेर समाचार राख्ने हो भन्या? यसमा कान्तिपुर चिप्लियो भन्दैमा प्रदेशको मिडिया पनि चिप्लिने ? यसले हाम्रो पत्रकारिता कसरी चलिरहेको छ भन्ने देखाउँदैन र ? के थाहा, न यो खबर रेडियोमै पनि बजाए कि !

अनि कैलाली खबरले राखेको फोटो अछामको होइन, खोजी हेर्दा अमेरिकाको भनी यो वेबसाइटमा राखिएको भेटियो। (सेम फोटो देखिएन नभन्नुहोला, यसमा भएको फोटो उल्ट्याएर दायाँको बायाँ, बायाँको दायाँ बनाइएको हो ध्यान दिएर हेर्नुस्)

पाठकलाई कति मूर्ख ठान्ने हगि !

कैलालीखबरमात्र होइन, कैलालीमा एकदम चलेको दिनेश एफएम चलाउने गोपाल हमालको अनलाइन मिडिया दिनेशखबर डट कमले समेत कान्तिपुरको समाचार  कपिपेस्ट गर्‍यो-

यहाँको डेस्क चाहिँ अलि फरक रहेछ- कपिपेस्ट गर्दा पनि आफ्नै जस्तो गरी बनाउन सक्ने। त्यसैले यसमा चाहिँ डिएसपीलाई प्रहरी नायब उपरीक्षक बनाइएको रहेछ। तर मूल कुरोमा चाहिँ चुकेछ- अछामका डिएसपी नै अहिले शाही हैनन्। समाचारमा कैँची चलाएर ‘दशैंको बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी’ लाई हटाउने डेस्कका सम्पादकले दशैँ त अहिले आउन लागेको छैन भन्ने बुद्धि भने लगाउन बिर्सेछन्।

डेस्क अलि चनाखो भएकैले होला, समाचार कान्तिपुरले माफी मागेर हटाएको भने थाहा पाएछन्। ला, जसको कपिपेस्ट गर्‍यो उसैले हटायो। अब के गर्ने ? सजिलो त माफी पनि कपिपेस्ट गरे हुने हो। तर लाजगालले त्यसो गर्न सकेनन् क्यार। अनि लाजै पचाएर समाचारै डिलिट गरिदिएछन्। अहिले त्यसो समाचारमा क्लिक गर्‍यो भने समाचार खुल्दैन। यहाँ क्लिक गरी हेर्नुस्। 

कान्तिपुरसँगै चिप्लिने अरु अनलाइनहरु

कान्तिपुरको कपिपेस्ट गरेर चिप्लिने अर्को अनलाइन हो कामनान्युज। यहाँ क्लिक गरी हेर्नुस्। 

कान्तिपुरको कपिपेस्ट गरेर उसँगै डुब्ने अर्को अनलाइन हो समयपाटी डट कम। यहाँ क्लिक गरी हेर्नुस्। 

त्यस्तै अर्को अनलाइन हो देशदैनिक डट कम। यहाँ क्लिक गरी हेर्नुस्। 

 

1 thought on “‘कान्तिपुर’ले माफी मागेर डिलिट गर्न बाध्य भएको यो समाचारको लहरो तान्दा गएको पहरो”

  1. अमृत बास्तोला says:
    September 1, 2020 at 8:23 pm

    २०७४ साल मंसिर २९ गते शुक्रबार “आठराईमा आगलागी, दुई घर जलेर नष्ट,
    क्षतिको विवरण आउन बाँकी” शीर्षकको समाचार मैले लेखेको हो । यहाँ प्रयोग भएको तस्बिर आगलागी भएको स्थानको हो । यो समाचारको लिङ्क https://www.hamrosawal.com/2017/12/17992/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme