Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इन्टरभ्युमा सिधै ढाँटिदिने प्रधानमन्त्रीज्यु? दिनमा २३ हजार पिसिआर टेस्ट कहिले भएको छ- खै देखाउनुस् त

Posted on August 31, 2020August 31, 2020 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऋषि धमलाले लिएको २०२० अगस्त २९ शनिबार प्रसारण भएको अन्तर्वार्ता अहिले युट्युब ट्रेन्डिङमा आइसक्यो। १ घण्टा ४६ मिनेट लामो अन्तर्वार्ता रहेछ। धैर्य राख्दै कुनै ठाउँमा स्किप गर्दै, कुनै ठाउँमा दोहोर्‍याइ तेहर्‍याइ हेरियो।

प्रधानमन्त्रीले कति सही कुरा गरेका छन्, कतिमा भने हाकाहाकी ढाँटेका छन्। सबभन्दा स्पष्ट देखिने गरी ढाँटेको विषय चाहिँ पिसिआर टेस्ट बारे थियो। उनले कोरोना संक्रमित भएको नभएको पत्ता लगाउन दैनिक २३/२४ हजार पिसिआर टेस्ट गरिएको दावी गरे। अन्तर्वार्तामा उनले दुई ठाउँमा यस्तो दावी गरेका छन्। सुरुमा उनले भनेका छन्, ‘तयारी केही पनि नभएको ठाउँमा अहिले हामी २३/२४ हजार पिसिआर टेस्ट प्रतिदिन गर्छौँ। त्यो सानो कुरा होइन।’ त्यसैगरी उनले पछि दिनमा २३ हजार पिसिआर टेस्ट गरेको दावी दोहोर्‍याएका छन्।

प्रधानमन्त्रीले भने अनुसार नेपालमा कोभिड १९ परीक्षणको केही तयारी नभएको साँचो हो।

नेपालको पहिलो कोभिड-१९ संक्रमणको पुष्टि गर्न ३२ वर्षीय पुरुषको थ्रोट स्वाब हङकङस्थित डब्लुएचओको ल्याबमा पठाउनु परेको थियो। अहिले सरकारी ३४ र निजी १२ गरी कूल ४६ वटा प्रयोगशालामा पिसिआर परीक्षण गर्न सकिन्छ।

दैनिक कति पिसिआर परीक्षण गरियो भन्ने बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सिचुएसन रिपोर्ट सार्वजनिक गर्ने गरेको छ। जनवरी २८ देखि मन्त्रालयले नियमित सिचुएसन रिपोर्ट तयार पार्ने गरेको छ। यस्तो रिपोर्ट भाइबर ४ लाख ६० हजार भन्दा बढी जोडिएको मन्त्रालयको भाइबर ग्रुपमा पनि दैनिक अपडेट हुने गरेको छ।

मैले त्यसमा उपलब्ध अगस्त महिनाको पिसिआर रिपोर्टको तथ्याङ्क सबै हेर्दा यस्तो रहेछ-

Made with Flourish

यसमा देखिएको तथ्याङ्क अनुसार दैनिक २३ हजार त के, एक दिनमात्र पनि २० हजार परीक्षण अहिलेसम्म भएकै छैन। नेपालमा अहिलेसम्म सबैभन्दा बढी पिसिआर परीक्षण भएको २१ अगस्तका दिन हो। यो दिन १३ हजार ६७९ परीक्षण भएका थिए। १३ हजारभन्दा बढी परीक्षण मात्रै पनि जम्मा तीन दिन त भएको रहेछ।

पिसिआर परीक्षण संख्या पाँच अङ्कमा अर्थात् १० हजार नाघ्न थालेको ११ अगस्तदेखि मात्रै हो। तर यो बीचमा पनि १३ अगस्त र २३ अगस्त गरी दुई दिन भने १० हजारभन्दा कम परीक्षण भएका छन्। अगस्त भन्दा अघिको तथ्याङ्कतिर जाने हो भने त जम्मा चार अङ्कका मात्रै हुन्छन्। अर्थात् १० हजारभन्दा पनि कम।

त्यसैले प्रधानमन्त्रीले दैनिक २३/२४ हजार पिसिआर टेस्ट गरिएको छ भनेर सीधै ढाँटे। प्रधानमन्त्रीले आफैले त्यसरी ढाँटेका हुन् कि उनलाई हैन हजुर हामीले त दिनको २३/२४ हजार टेस्ट गरिरहेका छौँ नि भनेर कुन चाहिँ चाकडीबाजले गलत तथ्याङ्क लगेर दिएको हो? यो चाहिँ हामीहरुले होइन उहाँहरुले नै थाहा पाउने कुरा हो।

हाम्रै छिमेकी देशमा नभएको व्यवस्था?

प्रधानमन्त्रीले कोभिड १९ कै प्रसंगमा गरीब धनी केही नछुट्याई आइसोलेसनमा राखोस् कि क्वारेन्टिनमा राखोस् कि कोभिड सम्बन्धी सम्पूर्ण उपचार खर्च सरकारले व्यहोरेको र हाम्रै छिमेकका देशहरुमा यस प्रकारको व्यवस्था नभएको दावी गरे।

हो त ?

पक्कै हो। नेपालमा अलि अघिसम्म सबै खर्च सरकारले नै व्यहोर्ने गरेको हो। सरकारले तीन वटा लेभल छुट्याई कोभिड अस्पताल तोकेको थियो र निजी अस्पतालहरुले समेत संक्रमित भेटिए कोभिड अस्पतालमा नै पठाउनु पर्थ्यो। मे महिनामा ग्रान्डी अस्पतालमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि पाटन अस्पतालमा पठाउँदा निजी अस्पतालले आफ्नै कर्मचारीको उपचार पनि आफूले गर्न नसक्ने? किन पाटनमा पठाउनु परेको भनेर आलोचना गर्नेमा पत्रकारहरु समेत थिए। तर वास्तवमा सरकारी कार्यविधिकै कारण त्यस्तो भएको थियो। तर अब यो लेभल सरकारले खारेज गरिसकेको छ।

अब त प्राइभेट अस्पतालहरुले पनि आइसोलेसन प्याकेज भनेर शुल्क ठटाउन थालिसकेका छन्।

Norvic cares !! pic.twitter.com/zqA3WX48XU

— Basant Chaudhary (@basant_cg) August 26, 2020

हाम्रै छिमेक देशमा सरकारले नै सबै खर्च व्यहोर्ने व्यवस्था छैन भनी प्रधानमन्त्रीले भनेको कुरा गलत छ। भारतका केही राज्यहरुमा निःशुल्क पनि छ। उदाहरणका लागि केरलामा शुल्क लाग्दैन। अरु राज्यहरुमा भने कस्तो कोठामा बस्ने हो त्यो अनुसारको शुल्क तिर्नु पर्छ। केही राज्यहरुमा स्वास्थ्य स्थिति कस्तो छ त्यस अनुसार शुल्क लाग्छ। कुन राज्यमा कति लाग्छ भन्ने विषयमा फर्स्टपोस्टले तयार पारेको रिपोर्ट हेर्नुस्।

अर्को छिमेकी देश भनेको चीन हो। चीनमा पनि सबै उपचार खर्च राज्यले व्यहोर्ने गरेको चाइना डेलीको यो रिपोर्टले देखाउँछ।

उपचार खर्च सरकारले व्यहोर्ने गरी नीति बनाउनु सरकारको प्रशंसनीय कदम हो। नागरिकले सरकारलाई कर तिरेपछि सरकारले नागरिकका लागि केही गरेको छ भनी अनुभूत गर्न पाउनु पर्छ। (कोभिड बिरामी भई आइसियुमा उपचार गराई फर्किएका व्यक्तिले गरेको अनुभूति पढ्नुस्)

तर छिमेकी कुनै देशमा यस्तो व्यवस्था छैन भन्नु चाहिँ गलत भयो।

पूर्व तयारी गर्न नसकेको किन नस्वीकार्ने?

कोभिड १९ को महामारीको जोखिम थाहा पाइसके पनि पूर्व तयारी गर्न नसकेको भन्नेमा प्रधानमन्त्रीले कुनै देशले पूर्व तयारी गर्न नसकेको र यो आकस्मिक रुपमा आएको बताए।

पक्कै हो, यस्तो खालको रोग आइहाल्छ भनेर कसैले तयारी गरेको थिएन। तर जोखिम थाहा भएपछि पनि पूर्व तयारीमा सरकार चुकेकै हो। दोस्रो संक्रमित भेटिएलगत्तै देशव्यापी लकडाउन गरिएको थियो। त्यतिबेला पक्कै पनि संक्रमण फैलिन पाएको थिएन। तर यो तीन महिनाको लकडाउनमा सरकारले महामारी रोक्नका लागि आवश्यक योजना र रणनीति बनाएर तयारी गर्नुपर्थ्यो। सरकारले पहिला त विदेशबाट आउनै नदिने भनेर रोक्यो। पछि ह्वारह्वार्ती विदेशबाट आएकाहरुलाई भित्र्यायो। क्वारेन्टिन अव्यवस्थित भयो। त्यहाँबाट जाँच नगरीसमेत घर पठाइयो। विदेशबाट कोरोना बोकेर आएकाहरु समुदायमा पुगे। त्यहाँबाट अरुलाई सारे। धेरै जनसंख्या भएको काठमाडौँ उपत्यकालाई सुरक्षित कसरी राख्ने भन्ने रणनीति देखिएन। चोरीनाकाबाट भित्र छिरे। भित्रिनेहरुको कुनै परीक्षण गरिएन। फलस्वरुप काठमाडौँ उपत्यकामा धमाधम संक्रमण फैलँदैछ। अहिले सबैभन्दा बढी सक्रिय संक्रमित भएको ठाउँ नै काठमाडौँ भएको छ।

त्यसमा प्रधानमन्त्रीले जनतामा सचेतनाको कमी भनेर जनतालाई मात्र दोष दिएर हुँदैन। हो, जनता पक्कै सचेत नभएका हुन्। यो अवस्था आउनुमा हामी नागरिकहरुको पनि दोष छ। अझै पनि केही मानिसहरु कोरोना भनेको केही होइन भनेर बसेका छन्। प्रधानमन्त्री आफैले कोरोना भनेको केही होइन, तातोपानी खायो, हाछ्युँ साछँयु गरेर उडाइदिने भनेर गरेको भाषणले पनि जनता लापरवाह हुन उक्साएको चाहिँ स्वीकार्नु परेन? सरकारले चाहिँ केही जिम्मा लिनै नपर्ने? सरकारले पनि आफ्नो भागको दोष लिनुपर्छ।

चितवनको समाचार पढ्नुभो होला- आइसियु र भेन्टिलेटर खाली नभएकोले बिरामीलाई रातभर एम्बुलेन्समा अस्पताल डुलाइयो। कतै भर्ना नपाएपछि बिहान मृत्यु भयो। सरकारका लागि यो एक संख्या होला। तर यो पूर्वतयारी नभएका कारण भएको अमूल्य जीवनको क्षति हो कि होइन? फलानो ठाउँमा यति मात्र आइसियु र यति मात्र भेन्टिलेटर छन् भन्ने तथ्याङ्क महिनौँ अगाडिको हो। संक्रमण बढ्न सक्छ, यो स्थिति आउन सक्छ भनेर त्यो संख्यामा कति थप गर्ने काम भयो त?

कोरोना नियन्त्रणमा सफल नभएको पनि नस्वीकार्ने?

कोरोना नियन्त्रणमा सफल नभएको बारे सोधिएको प्रश्नमा प्रधानमन्त्रीले कहाँ चाहिँ सफल भयो, कहाँ चाहिँ क्षति भएन- भारत? अमेरिका? भनेर प्रश्न राखे। तर असफल भएका देशहरुको मात्र उदाहरण लिएर भयो त? सफल भएका देशहरुको पनि उदाहरण लिनु पर्‍यो नि। चीनमा कसरी सफल भयो? दक्षिण कोरिया र अस्ट्रेलियाले कसरी सफलता पाए? अहिले संक्रमितहरुको कूल संख्याको तथ्याङ्क हेर्दा ती देशभन्दा धेरै माथि नेपाल रहेको छ। सार्ककै श्रीलंकाको पनि हेरे भयो।

कोरोनाकै कारण मरेको होइन

प्रधानमन्त्रीले अन्तर्वार्तामा मरेकाहरुको संख्या सबै कोरोनाको कारणले होइन, अरु कारणले मरेको हो भन्ने दावी गरे। त्यसो भए कति संख्या चाहिँ कोरोनाकै कारण मरेको हो त। तथ्याङ्क दिनुपरो नि। कति कोरोनाको कारण मरेको हो, कति होइन भनेर तथ्याङ्क निकाले भयो त। कसले रोकेको छ? विश्व स्वास्थ्य संगठनले त प्रोटोकल सुझाव दिने मात्र हो। त्यसलाई पालना गर्ने नगर्ने स्वतन्त्रता सार्वभौम राष्ट्रको हुन्छ। आफ्नै प्रोटोकल बनाए भयो त कस्तो मृत्युलाई चाहिँ कोरोनाले मरेको मान्ने, कस्तोलाई नमान्ने भनेर। कन्सपिरेसी थ्यौरी बनाउनेहरुले मात्र यस्तो भन्ने गर्छन्। उनीहरुको त कामै शंका गर्ने हो।

कोरोनाको कारण स्वास्थ्य अवस्था जटिल भएपछि रोग प्रतिरोधात्मक क्षमता घट्छ र त्यसो भएपछि जुनसुकै रोगले थला पार्छ र ज्यानै लिन्छ भन्ने तथ्य त हेर्नुपर्‍यो नि। यसमा क्लिक गरी हेर्नुस्, यो भाइरसले मस्तिष्क, आँखा, नाक, फोक्सो, मुटु र रक्त धमनी, कलेजो, मिर्गौला र पेटमा कस्तो असर पार्छ? विज्ञहरुको आधारमा डब्लुएचओले भनेको अस्वीकार गर्ने भए प्रधानमन्त्रीज्युको परिभाषा चाहिँ सोधे हुन्थ्यो नि पत्रकारहरुले- कस्तो मृत्यु भयो भने चाहिँ हामीले कोरोनाकै कारण मरेको हो भनेर भन्ने? त्यही परिभाषा नेपालमा लागू गरे भयो त। श्वास प्रश्वासमा अप्ठेरो भएर मरे फोक्सोको संक्रमणका कारण मरेको हो, कहाँ कोरोनाले हो र भन्दिए भयो। भाइरसले मुटुमा संक्रमण गरेर blood clots, heart attacks र cardiac inflammation गराइदियो भने कहाँ कोरोनाका कारण मरेको हो र, हर्ट अट्याक भएर पो मरेको, वा मुटुको रोगले मरेको भन्दिए भयो। पेटमा संक्रमण गरेर झाडापखाला लाग्ने बनाइदियो भने कहाँ कोरोनाले मरेको हो र झाडापखालाले मरेको हो भन्दिए भयो। होइन र ?

अनि त्यसो भन्ने हो भने एड्सका कारण पनि कोही मर्दैन। त्यो रोग लाग्ने एचआइभी भाइरसले मान्छे मार्ने होइन क्यारे त्यसले पनि इम्युन सेल मारेपछि हुने अरु संक्रमणका कारण मर्ने हो।

बेसार महात्म्य

प्रधानमन्त्रीले एक पटक फेरि बेसार महात्म्य गाउनु भयो अन्तर्वार्तामा। हो त, बेसारमा औषधीय गुण छन्। ठीक हो। तर बेसार खाएर कोरोना हराउँछ जस्तो कुरा गर्नु पनि भएन नि। बेसारले नै कोरोना नलाग्ने भए बेसार खाने भारतमा किन अहिले संसारकै सबैभन्दा बढी संक्रमण भेटिएका देशमध्ये एक हुन्थ्यो?

मान्छेको नजर त लाग्दैन भने किटाणुको के कुरा भनेर बेसारलाई बढी महत्व दिँदा बजारमा पाइने मिसावटयुक्त बेसारले त क्यान्सरसहित अन्य विभिन्न जटिल रोगको खतरा पनि गराउँछ भन्ने पनि बिर्सनु त भएन नि। अत्यधिक बेसार सेवनले मिर्गौलामा समस्या भएकाहरूलाई खतरामा पार्ने तथा एलर्जीदेखि क्यान्सरसम्मको जोखिम रहने विज्ञहरुले भनेका छन्।

पहिले वर्षमा १० किमी सडक?

प्रधानमन्त्रीले पहिले वर्षमा १० किलोमिटर सडक बन्थ्यो भन्दै विगत दुई वर्षमा ३६ सय किलोमिटर सडक बनेको तथ्याङ्क राखे। दिनको ६ किलोमिटरको दरले डबल लेन, फोर लेन, सिक्स लेनका बाटो बनेको बताए। तर आर्थिक सर्वेक्षणले भने यस्तो देखाउँदैन।

आर्थिक सर्वेक्षणमा वार्षिक आँकडा अलि बेग्लै छ। pic.twitter.com/o8PsaFZH6r

— Shreeram Paudel (@srpaudel) August 29, 2020

स्विस बैँकमा खाता?

प्रधानमन्त्रीले ‘केही अनैतिक तत्वहरुले’ आफूले ‘कम्बोडियामा दूरसञ्चार कम्पनीमा इन्भेस्ट’ गरेको, ‘स्वीस बैँकमा खाता खाोलेर कति करोड डलर राख्या छ रे’ भनेर प्रचार गरेको बताए।

यस्तो प्रचार भारतीय मिडियामा भएको थियो। स्विस बैँकमा प्रधानमन्त्री केपी शर्मा ओलीमात्र हैन दम्पतिकै नाममा स्विस बैँकमा खाता रहेको र चिनियाँ कनेक्सन बारे समाचार छापिएको थियो। यो समाचारको स्रोत पहिले नामै नसुनिएको ग्लोबल वाच एनालाइसिस नामको अनलाइन थियो।

उक्त अनलाइनको समाचारलाई नै आधार मानेर केही नेपाली अनलाइन मिडियाहरुले पनि समाचार प्रकाशन गरे। यो समाचारका लेखक को हुन्, यसको पृष्ठभूमि के हो? अनलाइन कतिको विश्वसनीय हो भन्ने बारे ध्यानै नदिई नेपाली अनलाइनहरुले समाचार प्रकाशन गरे।

समाचार लेखक रोल्यान्ड ज्याकार्ड एक विवादास्पद व्यक्ति हुन्। फ्रान्सको प्रख्यात पत्रिका ले मोन्डले सन् २०१५ मा लेखे अनुसार रोल्यान्ड इन्टरन्यासनल टेररिजम अब्जरभेटरी नामको गैर सरकारी संस्थाका अध्यक्ष हुन् जसका एक मात्र सदस्य पनि उनै हुन्। यो संस्थाको न वेबसाइट छ, न हुलाकी ठेगाना छ, न कुनै कानुनी अस्तित्व छ। उनका विश्लेषणहरु र उनका प्रतिक्रियाहरुमाथि त्यहीँका पत्रकारहरुले प्रश्न उठाएको देखिन्छ।

ज-जसले यो समाचार सुरुमा पढे वा जजसले यो समाचारको अनुवाद गरी नेपाली अनलाइनमा हाले, उनीहरुले शायदै यो वेबसाइटले केही दिनपछि गरेको एउटा अपडेट हेरे। त्यो अपडेटमा लेखिएको थियो- हाम्रो सम्पादकीय कर्मचारीलाई पठाइएको प्रेस रिलिजमा प्रश्न उठेको बैँकले लेखेको छ कि ‘तपाईँले उल्लेख गर्नुभएका व्यक्तिहरुको हाम्रो संस्थामा कुनै खाता छैन।’

बैँकले नै अस्वीकार गरेपछि त्यो खाता थियो भनेर पनि उक्त रिपोर्टमा दावी गरिएको छैन, त्यो खण्डन गलत हो भनेर पनि दावी गरिएको छैन। तर एक पटकमात्र त्यो समाचार पढ्नेले हो नै भन्ठानेर यो समाचार पढे होला। पछिल्लो अपडेट त थाहै भएन होला।

लेख्नेले नै बैँकको खण्डन छापेको कुरा पनि यसो घुमाएर दनक दिएको भए हुने नि प्रधानमन्त्रीले। कि प्रधानमन्त्री र उनका सल्लाहकारहरुलाई थाहै भएन यस्तो लेखेको?

5 thoughts on “इन्टरभ्युमा सिधै ढाँटिदिने प्रधानमन्त्रीज्यु? दिनमा २३ हजार पिसिआर टेस्ट कहिले भएको छ- खै देखाउनुस् त”

  1. Pingback: तथ्याङ्क हेर्दा : तीन साता किन लकडाउन गरेको किन, खोलेको किन- थाहै भएन ! « Mysansar
  2. madan bajracharya says:
    August 31, 2020 at 11:17 pm

    इनिहरुले झुठ बोले भन्नु अघि इनिहरुले आफ्नो महानायक भनेको गिरिजाले हामी राजनीतिग्यहरुले झुठो बोल्छौ भनेको सम्झनुस्। कुर्सिमा पुग्न के सम्म गर्न सक्छ गरिन्छ र् आफ्नो प्रतिद्वन्दिलाई कसरी सम्म पाखा लागाइन सक्छ भन्ने कुरा इनिहरुले इनिहरुको महानायक बातै सिकेको हो। फेरी इनिहरुले झुठ बोले यो गरे त्यो गरेनन भन्नु पनि बेकारकै कुरा हो। किनभने इनिहरु को हुन भन्ने कुरा इनिहरुले यकले अर्कोलाई को हुन र् के गरे भन्ने कुराले स्पस्त गर्छ । कि इनिहरु बास्तवमा को हुन भनेर।

    इनिहरुको बिकल्प्नै नहुने भुमरिमा हामी फसेको छ्। इनिहरुलाई हरायर पनि हताउन सकिन्दैन। इनिहरुलाई लाग्ने कुनै कानुन नै छैन। इनिहरु आफ्नो पालोको लागि मिल्छन बाझ्छन; सिध्याउन्ला जस्तै गरेर; तर कहिले सिध्याउन्दैन किनभने इनिहरु सबैको आफु जस्तै अर्को बान्छे मात्रै जिवित रहने प्रानिहरु हुन। अहिले नेपालको चुच्चे नक्सा कागजमा कोरेकै आधारमा अङ्रेजले कब्ज्याईसकेको कैलाली कन्चन् पुर को भुमी नेपालमा फर्काउन्दै नेपाल पनि बेलाईत जस्तै स्वतन्त्र देस हो भन्न् अङ्रेजलाई वाध्य गराउने जङबहादुर जस्तै ईतिहासिक बन्न खोजेको छ् ओलिले; तर त्यो उस्ले कागजमा कोर्न लगायको नेपालको चुच्चे नक्साले नै ओली कतिसम्मा को ईतिहासिक हो भन्ने कुरा उसैले गर्न लगायको महाकाली सन्धिले नै पोल खोली रहेको छ्। महाकाली सन्धि गराउने बेला नेपाललाई बर्सेनी अरवौ खरवौको फाईदा हुने भनेको कुरा झुठो भयको सिद्ध भाईनै सकेको छ्। अस्ती उसैको मन्त्रिले समेत् भने “मन्त्रिले महाकाली सन्धिमा धेरै गल्ती भयको थियो”। महाकाली नदिको मुहान तेतिबेला नै भारतले कब्ज्याईराखेको थियो र् झुठो बोलेर महाकाली सन्धि गराउनु भन्दा पहिला लिपियाधुरा कालापानि भारतको कब्जा बाट मुक्त नगराउने बाट सत्य कुरा को आस कसरी गर्ने?

    ओली हतायर हामीले जो पाउन्छौ त्यो ओली भन्दा राम्रो हुने सम्भावनानै छैन तेसैले अहिलेको निमित ओलिनै ठीक; खाली अनुहार फेरिने बा फेर्ने कारी गर्नुको कुनै अर्थ नहुने कुरा हामीले बारम्बार देख्दै भोग्दै आयकै कुरा हो।

    Reply
  3. नारायण पाण्डे says:
    August 31, 2020 at 4:58 pm

    धेरै राम्राे लेख ।

    Reply
  4. Prakash Khatiwada says:
    August 31, 2020 at 10:12 am

    What a Fact Check 🙂 I am the regular reader for Fact Check Catagory! Thanks for your info and pure analysis.

    Reply
  5. जय प्रकाश says:
    August 31, 2020 at 7:04 am

    यो अन्तर्वाता हेरेपछी यस्तो लाग्यो, प्रधानमन्त्री केपी शर्मा ओलीज्यु वाकपटुमा निपुण हुन्हुन्छ|एकतर्फी प्रश्नगर्दा उँहा जवाफ दिन माहिर हुनुहुन्छ|अन्तर्वाताकार पनि फलोअप प्रश्न गर्नु र प्रतिप्रश्न गर्नमा नराम्रोसँग चुकेका छन|एकोहोरो प्रश्न गरेर जवाफ मात्र दिने हो भने के को अन्तर्वाता? लिखितमा दिए भईगो नी| अन्तर्वाता लिने पत्रकारले अध्ययन गर्न पर्‍यो, पूर्व तयारी गर्नपर्‍यो| के प्रश्न ठहडाउदैमा पत्रकार भईइन्छ? अझ समय बितेपछी बरीष्ट पनि रे| कति हाँस्नु र हसाउँने? चार पाँच जना पत्रकारहरुको प्यानलले प्रश्न गर्न सकेको भए लोकतन्त्रमा जवाफदेहिता पुष्टि हुने थियो|
    अढाई बर्षको प्रधानमन्त्रिको कार्यकाल र काम निष्पक्ष अवलोकन गर्ने हो भने उनी नेत्रित्वमा पूर्णत असफल भएका छन| पूर्णत बिफल भएका छन| भ्रष्टचार निर्मुल गर्ने, घटाऊने र सुशासन ल्याउने बारेमा पूर्णत असफल भएका छन|जो हुनपर्ने र अपेक्षा गरिएका, नेकपाले गर्छु भनेका काम हरु हुन त टाढा, त्यसको आधार समेत खडा गर्ने प्रयास गरिएको छैन| प्रधानमन्त्रीको बिकास गरे भन्ने तर्क विलकुलै तथ्यसंगत भएन| एउटा गाविसको नेत्रित्व समेत लिन सक्ने ब्यक्तीलाई प्रधानमन्त्री बनाए पनि मुलुकको नियमित काम त भईहाल्छ, भईरहेको हुन्छ|जो प्रधानमन्त्री भए पनि रानीपोखरी पुननिर्माण गर्ने नै थिए| सके दुईबर्षाभित्र मै गर्ने थिए|धरहरा बनाउने थिए| सडक सफा र हिलो धुलोरहित गराउने थिए|गफ र तुक्काले देश हाँकेर हुँदैन| अनर्थको सपना देखाएर हुँदैन| नियुक्तिको कुनै मापदण्ड अहिले सम्म बनाईएको छैन| समानुपातिकलाई खेलचक्राई र हेलचक्राई गरिएको छ| अहिले आएर चुनाव आउन करीब दुईबर्ष मात्र बाँकी छ|रानीपोखरी, धरहरा र मेलम्चीको पानी देखाएर चुनाव माग्ने हो? दुईचार किलो मिटर सडक देखाएर अर्को चुनाव लडने?
    लोडशेडिङ हटाएको र प्राधिकरणलाई मुनाफामा ल्याएको श्रेय नेकपालाई नै जान्छ|कुलमान घिसिङ त कर्ता मात्र हुन, एउटा योग्य कर्ता| प्रधानमन्त्रिले जनभावना, पर्फर्मेन्स र परिणाम बुझेर कुलमानलाई श्रेय दिन चुक्नु भएन| अली ठुलो छात्ती हुनपर्‍यो|गर्ववोध गर्नपर्‍यो| यमडी होस, सचिव, राजदुत वा सीडीओ जसले गरे पनि आखिर श्रेय त सरकारलाई जाने हो| अरु कुलमान जन्माउन हौसला दिनपर्‍यो, प्रधानमन्त्रीज्यु| कुलमानले मात्र श्रेय लिए भन्नु देशका मुख्य अभिभावक प्रधानमन्त्रीलाई कत्ती पनि सुहाएन, पचेन|
    यी सफलता र बिफलताका लागि प्रधानमन्त्रीलाई उत्तरदायी किन गराईनुपर्छ भने दुईतिहाईको मत पाएका प्रधानमन्त्री बेसकन चिप्लेका छन|राष्ट्रपती आफ्नै, मन्त्रीहरु आफ्नै रोजाई र अह्राईखटाइमा चयन, न्यायलयका न्यायधीश आफ्नै, छ वटा प्रदेशका मुख्यमन्त्री आफ्नै, सबै प्रदेश प्रमुख आफ्नै, अख्तियार आफ्नै, नीरिह प्रतिपक्ष हुँदा पनि अपेक्षाक्रित काम गर्न नसक्नुमा प्रधानमन्त्रीको नेत्रित्व र भिजनको अभावले गर्दा हो भन्ने अब प्रमाणित भईसकेको छ| गफ गर्ने क्षमता नभए पनि नेत्रित्व, भिजन र सिंगो मुलुकलाई अघी लिएर जान सक्ने कटिबद्ध्ताको पनि प्रधानमन्त्री र उनका आसेपासेहरुमा दुर्भिक्ष देखियो|सरकारका हरेक जसो नियुक्ती विवादमा पर्न आएका छन|नियुक्तिमा पैसा, नाता र ब्यभिचार बाहेक चौथो कारण देखिएको छैन भनेर डा. सुरेन्द्र केसीले प्रमाण सहित् घोक्रो सुकुन्जेल नेपाली जनतालाई बताउदै आएका छन|
    रोजगरी दिलाउने र सिर्जना तर्फ कुनै बिशेष कदम लिईेएको छैन|शुरुको अढाई बर्षमा नगरेको अब कैले गर्ने? आगामी चुनावमा खाली कागजी योजना देखाएर नेपाली जनताको भोट् माग्न जाने? खोई कृषि र उद्योग धन्धामा फडको मार्ने योजना? गफैले मात्र हुने होइन? भ्रष्टचार भएको देखिएको ठाउँमा र ब्यक्तीबारे पनि निष्पक्ष छानवीन गराएर परीणाम आउन दिन पर्नेमा प्रधान मन्त्रिले उल्टो सफाई दिने? तपाईंको भ्रष्टचार गर्न दिन्न, मुख पनि हेर्दिन भन्ने गफमा नेपाली जनता मजाले चियापसलमा हाँस्ने गरेको छन|बालुवाटार बाहिरको यथार्थता बुझ्न् असमर्थ हुनु भएको हो कि? बिजुली गाडीलाई प्रोत्साहन गर्न पर्नेमा उल्टो कर अझ बढाईदिने? कुनै विधेयक ल्याउदा पहिले यथार्थ बुझेर परिक्षण गरेर सबैलाई साथमा लिएर जान पर्ने हो तर एक पछी अर्को जनचासोको तपाईंको विधेयक फेल भएका छन|
    प्रधानमन्त्री ज्यु, स्वास्थ्य मन्त्रालय पूर्णरुपमा कोरोनाको तयारीमा र सेवा दिन असफल भएका छन| मन्त्री भानुभक्त ढकालज्यु लाई दोष दिएर मात्र हुँदैन| त्यसको एउटा मुल कारण, स्वास्थ्य मन्त्रालय सेवा प्रदायक मन्त्रालयको रुपमा नभएर कर्मचारी सरुवा, बढुवा, नियुक्ती, समायोजन, खरिद र दात्रीसंस्थाहरु, बिकास साझेदार र एन्जीओहरु सँगको संपर्क मन्त्रालयको निकायको रुपमा मात्र सन्चालित हुँदै आएको छ| खरिद र वितरणमा कुनै प्रणाली फलो गर्दैनन| जे पनि आजलाई भन्ने मात्र छ, भ्रष्टचार, गैरजिम्मेवारीपन र अकर्मण्यता चरम सीमामा पुगेको छ| यो आजमात्र होइन, हिज र अस्ती पनि त्यस्तै थियो| स्थायीत्व, दिगोपन र कमिटमेन्ट भन्ने र सेवा भन्ने भावनाको महसुस केन्द्रिय स्तरमा भुइमै गिरेको छ| त्यै भएर ढकालज्युको सट्टा अरु जो कोही योग्य मन्त्री भए पनि उन्नाइसको बीस मात्र हुने थियो| त्यतीले अहिलेको स्थितिलाई पुग्दैन| सुधारले निरन्तर्ता पाउन पर्छ|
    कोरोनामा गर्न नसकेको काम गर्न सकिएन भनेर सत्य बोल्दा के फरक पर्छ? जैले पनि त्यसरी ढांटने? खोइ कँहा भएको छ पी सी आर टेस्ट दैनिक २३,०००? बालुवाटारको ग्लास हाउसको तथ्याँक कँहाबाट आउछन?
    प्रधानमन्त्रीज्यु, आमुल परिवर्तन चाहिएको छ| तपाईंको बर्तमान टीम काम लागेन| सचिवालयदेखी मन्त्रीमन्डल, सल्लाहकारहरु र
    आसेपासेलाई तुरन्त विदा दिनुस्|कामनापाको मेयर चेन्ज गर्नतिर लाग्नुस्| उनी काम गर्ने होइनन|यस्तै निकम्माहरुले सरकार बदनाम गराएका छन|
    नंया टीम ल्याएर तपाईंको भिजन अनुसार काम गर्ने मापदण्ड् बनाउनुस्, रणनीती बनाउनुस् र आवधिक प्रगती विवरण लिनुस्| काम नगरनेलाई फायर गरिदिने साहस् देखाउनुस्| अख्तियारले काम बनेन, अर्का एक्जना भ्रष्टचार गर्न नदिने उच्च पदका नियुक्ती गर्नुस्|
    रोजगारी सिर्जना गर्नुस्, रोड बनाउने र मरमत सम्हार गर्ने निर्देशन दिनुस् र नगरनेलाई फायर गरिदिनुस्| कृषी र उद्योग लाई प्राथमिकतामा राख्नुस्|
    अबको दुई बर्षमा जोश सहित काम गर्नुस, सबैलाई अभिभावक भएर सलग्न गराउनुस्, फेरि भोट् तपाईंले नै पाउनुहुनेछ| शेरबहादुर लाचार छन, क्षमताहीन छन, कैलाली बाहेक उनले भोट् पाउने छैनन| माकुने, झले, प्रचण्डे सबै रित्तो भाँडा चर्को बज्ने हुन| वामदेव,
    गोकुल बाँसकोटा, इश्वर पोखरेल देखि सकेसम्म टाढा रहनोस| अर्को दुई बर्षले गति लिन सक्यो भने जित निश्चय छ, नत्र वालकोट जिन्दाबाद|
    अन्त्यमा, तपाईंको सुस्वास्थ्यको कामना गर्दछु| तर स्वास्थ्यले नदिए जापानको प्रधानमन्त्रीको उदाहरण मानेर राजीनामा गर्नुस| आफ्नो दुई खुट्टामा बल राखेर केही बेर हिंडन र उभिन नसकीए पछी आराम लिनुस्| अहिलेसम्म जे जती गर्नु भो, यो मुलुकले सधैं स्मरण गरिराखने छन| नमस्कार|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme