Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भ्रममा नपर्नुस्, कुलमान घिसिङलाई सरकारले पुनः नियुक्त गरिसकेको छैन

Posted on August 25, 2020August 25, 2020 by Salokya


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले चार वर्षका लागि पुनः नियुक्त गरेको खबर मंगलबार साँझ भाइरल भयो। सोसल मिडियामा धेरैले उनलाई बधाई दिए। सोसल मिडियामात्र हैन, केही अनलाइन मिडियाले समेत कुलमानलाई पुनः नियुक्त गरिसकेको समाचार दिए। सर्वसाधारणले मात्र होइन, पत्रकारहरुले समेत यो समाचार आफ्नो सोसल मिडियामा लेखे। यी सबै समाचार मिथ्या थिए। ऊर्जा मन्त्रीले नै कुलमानलाई निरन्तरता दिने प्रस्ताव मन्त्रिपरिषद‍मा नलगिएको बताएका छन्।

यसरी फैलियो फेक न्युज

माउन्टेन टेलिभिजनले आफ्नो वेबसाइटमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई निरन्तरता दिने निर्णय गरेको ठोकुवा गरेको छ। समाचारमा कसैलाई उद्‍धृत भने गरिएको छैन। हेर्नुस् अर्काइभ लिङ्क। 

त्यसैगरी शिलापत्रले पनि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई निरन्तरता शीर्षकमा मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको समाचार लेखेको छ। हेर्नुस् अर्काइभ लिङ्क

न्युज कारोबार अनलाइनमा पनि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै निरन्तरता दिने सरकारको निर्णय शीर्षकमा समाचार राखियो। समाचारमा मंगलबारको मन्त्रिपरिषद बैठकले आगामी चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति दिने निर्णय गरेकाे उर्जा मन्त्रालय स्रोतले जनाएकाे उल्लेख गरिएको छ। हेर्नुस् अर्काइभ लिङ्क

त्यस्तै नेपाल समाचारपत्रको अनलाइन न्युजअफनेपालले पनि कुलमान घिसिङ बिद्युत प्राधिकरणको सिईओमा पुन: नियुक्त ! शीर्षकमा समाचार प्रकाशन गरेको छ। हेर्नुस् अर्काइभ लिङ्क

साँघुले पनि विद्युत् प्राधिकरणमा दोहोरिए कुलमान शीर्षकमा यो समाचार राख्यो। हेर्नुस् अर्काइभ लिङ्क।

अरु थुप्रै अनलाइनहरुमा पनि यही शीर्षकमा समाचार आए। केही उदाहरण-

केही अनलाइनहरुले भने सुरुमा गलत समाचार राखे पनि पछि सच्याए। उदाहरणका लागि हाम्राकुराले सुरुमा ‘विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नै’ शीर्षकमा समाचार राखे पनि पछि त्यसलाई परिवर्तन गर्दै ‘विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै बनाउन नागरिक दवाव’ बनायो।

मिडियामात्र होइन पत्रकारहरु पनि मिथ्या समाचार फैलाउनमा सहयोगी देखिए।

कान्तिपुर टेलिभिजनमा कार्यरत श्रद्धा अर्यालले ‘आज बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिङ लाई नै बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ’ ट्विट गरिन्।

हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी थाहाखबरका पत्रकार सन्तोष अधिकारीले पनि ‘कुलमान घिसिङलाइ पुन विद्युत प्राधिकरण प्रमुखमा नियुक्ति गर्ने निर्णय सरकारले गरेकाे छ’ ट्विट गरे।

हेर्नुस् अर्काइभ लिङ्क

कान्तिपुर टिभीमा ह्वाट द फ्लप सो चलाउने सन्दीप क्षेत्रीले पनि फेसबुकमा यस्तो लेखे-

पत्रकार मात्र हैन जनप्रतिनिधिले पनि यस्तै लेखे। बाँके क्षेत्र नम्बर ३, प्रदेश कबाट सत्तारुढ दलबाट निर्वाचित प्रदेश सांसद आइपि खरेलले ‘कुलमानको कार्यकाल थप गरेकोमा सरकार र नेकपालाइ धन्यवाद’ दिएर ट्विट गरे।

हल्लाको स्रोत के होला?

बुटवलको सामुदायिक बुद्ध टेलिभिजनले कुलमान घिसिङको समाचार दीपकराज गिरीको फेसबुकबाट साभार गरिएको भन्दै समाचारमा त्रुटि भएकोमा क्षमा मागेको स्टायटस फेसबुकमा राखेको थियो।

कलाकार दीपकराज गिरीले मंगलबार ५ बजेर ४३ मिनेटमा यस्तो स्टायटस राखेका थिए, जसलाई हेरेर धेरै झुक्किएका थिए-

गिरीले आफ्नो स्टायटस एक पटक एडिट गरेको देखिन्छ। सुरुमा ‘सरकारले यस्तै समाचार प्रेषित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन’ लेखिएकोमा पछि उनले त्यसलाई सम्पादन गरेर ‘सरकारसँग यस्तै आशयको समाचार प्रेषित गरेर’ लेखी सच्याएका छन्।

गिरीको स्टायटस राति ८ बजेसम्म ५ सय ७४ पटक सेयर भइसकेको थियो भने कमेन्ट एक हजार नाघिसकेको थियो।

आफ्नो स्टायटसका कारण भ्रम फैलिएको देखेपछि गिरीले आफ्नो सोही पोस्टमा यस्तो कमेन्ट गरेका थिए-

 

सामाजिक सञ्जालमा कुलमान घिसिङको नाममा खोलिएका फेक ह्यान्डलले पनि भ्रम फैलाउन सघाएका थिए। जस्तै ट्विटरमा यो ह्यान्डल

 

निश्कर्ष : मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरिसकेको छैन। २०७३ भदौ २९ गते उनको नियुक्ति भएको हुनाले उनको कार्यकाल अझै केही दिन बाँकी नै छ।  रातोपाटीले ऊर्जामन्त्री वर्षमान पुनसित कुरा गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको उद्‍धृत गरेको छ।  मन्त्रिपरिषद्ले कुलमानलाई नियुक्त गरेको आधिकारिक सूचना कतैबाट नआए पनि बिना स्रोत मिडियामा मिथ्या समाचार आएको देखिन्छ।

4 thoughts on “भ्रममा नपर्नुस्, कुलमान घिसिङलाई सरकारले पुनः नियुक्त गरिसकेको छैन”

  1. Pingback: कुलमान आयो, कुलमान आयो – ‘फेक न्युज’हरुले झुक्याएर ‘फुस्सा’ बनाउने रणनीति? « Mysansar
  2. madan bajracharya says:
    August 30, 2020 at 8:22 am

    यो के के तन्त्र भने पनि उहीले जस्तै आफ्नै जात कुलखलका मात्रै नियुक्त-मनोनयन हुने कुनैले नगरने गर्ने अर्कै कुल खलकका कुलमानलाई पुन नियुक्त गर्ने भुल फेरी गर्नु हुँदैन।यकचोटि नियुक्त हुँदा त् उज्यालो पारेर तोकादेस बाट हाकिमा बनाईयका आफन्तहरु अप्थ्यारैमा पारी सके। अव फेरी त्यो आफ्नो कुलका नै नभयका कुलमानलाई नियुत गरे देसै अन्ध्यारोमा परेर जम्म गरेको भागबन्दा लगायको अंशबन्दा गरेको कालो सम्पत्तिको हिसाव पनि देखाई दिन सक्छ। तेसो भयो भने बल्ल स्थिर बनायको कुल-तन्त्र फेरी अस्थिर बन्न सक्छ।

    Reply
  3. वलबहादुर बल says:
    August 26, 2020 at 10:43 pm

    सर्बप्रथम, मन्त्रीपरिषद आफ्नै मान्छेहरुलाई नियुक्त दिन बेजोड होमवर्क गरिरहेका थिए|दीपक भट्ट्, केजाती कोइराला (खेलकुदमा), र त्यसपछी उपेन्द्र कोइराला सबै नियुक्ती प्राथमिकतामा थिए|नेकपाभित्र विवाद भैरहेको बेला नेताहरु मौकामा चौका हानेर आआफ्ना दुहुना सोझाउन ब्यस्त थिए| उज्यालो ल्याउने नाथु घिसिङ लाई कसले के को वास्ता गर्थ्यो त्यो तहमा? पार्टी बैठकेहरुले खाली जन दवाबको वेग र तेज अजमाएर नियालिरहेका थिए|भोली त्यही दवाबले हामीलाई सिध्याउने त होइन?भन्ने स्वार्थी कुसोचले ग्रस्त थिए|
    घिसिङलाई पुन नियुक्ती दिन अन्यौल सिर्जना गर्नमा तथ्य कुरो यो हो जस्तो लाग्छ|
    प्रधानमन्त्रीले घिसिङप्रति असन्तुष्टीका पोका बोकेका रहेछन|घिसिङले लोडशेडिङ हटाएर किन उनलाई क्रेडिट दिने? यो त सरकारलाई पो जानपर्छ भन्ने प्रधान मन्त्रिको गुनासो रहेछ| अब सरकारलाई क्रेडिट दिँदा माओवादीलाई जाने रहेछ| जनार्दन शर्मालाई जाने रहेछ|
    एमालेका असक्षम र भ्रष्टचारी मन्त्री राधा ज्ञवालीले त चिलिमेमा सफलता पाएका कुलमानलाई राजाधानीमा ल्याएर जानाजानी कार्यविहिन बनाएका रहेछन|त्यसो हुँदा एमाले त रावण पक्षका भए|
    प्रधानमन्त्रीले यही कुन्ठा पालेका रहेछन र प्राधिकरणको बारेमा सोच्यो कि रिस उठदो रहेछ| बर्षमान पुनलाई फेरि मन्त्री बनेर आउनु छ अब आउने पुनर्गठनमा| वा प्रधान मन्त्रिको निगाहले कुनै अर्को पद लिनु छ| उनी कुलमानलाई चाहेर पनि किन यस्ता पावरफुल प्रधान मन्त्रिलाई चिढाउने?
    कुरो आयो हामीले निरन्तर देखिरहेका र भोगिरहेका प्रधान मन्त्रीको संकुचित दायराको सोचको| उनले १८ घण्टा लोडशेडिङलाई विस्म्रितिमा पारे|त्यै भएर विद्युत गाडीलाई कर छुट बाट बजेटमा बन्चित गराएको हुनपर्छ| उनको विचारमा प्राधिकरणले प्रगती गर्नु भनेको कुलमान, जनार्दन र पूर्वमाओवादीलाई जश जानु हो|
    प्रधानमन्त्री भएर सम्पूर्ण देशको अभिभावक भएर काम गर्न पर्ने हो| तर हाम्रा प्रधानमन्त्रिको त्यो सोच, भिजन र काम गराई देखिएन|
    उनको छात्ती विशाल हुनपर्ने तर जातपात, नातेदार र रकमदार विचौलिया लबिङवालहरुको वरिपरि सीमित देखियो| राम्रालाई प्रोत्साहन, हौसला, अवार्ड र नराम्रालाई सिक्ने मौका, दिगदर्शन र दण्दित गराइन पर्ने हो| तर बालुवाटार आज सिंहदरवार र नेकपा हेडक्वार्टर्स दुवै बनेको छ| उदाहरण, काठमाडौं महानगर पालिकाका मेयरले सही काम नगर्दा प्रधान मन्त्री एक शब्द चुईक्क बोल्दैनन तर बोल्न नपर्ने राम जन्म्भुमी, बेसार र अन्य बिषयमा लेकचर दिन्छन| यसरी आग्रह, पुर्बाग्रह, कुन्ठा र ईर्ष्या बोकेर यो उच्च पदमा बसेकाले काम गर्न मिल्दैन|
    एकातिर जन दवाब बढदै जाँदा घिसिङका क्षुद्र से क्षुद्र के के गल्ती गरेका छन भनेर सुक्ष्म रुपमा केलाईजिलाई खोजिनिधी गर्ने र उनलाई पन्छाउन कुन तरिका अपनाउन सकिन्छ भनेर सरकारबाट कार्य भैरहेको प्रष्ट हुन्छ|
    नियुक्ती सरकारको अधिकार हो|
    समय मै घिसिङको पहिलो अवधिको मुल्याङ्कन गरेर उनलाई पुन नियुक्ती दिने नदिने निर्णय गरेको भएको देशले अन्यौलको स्थ्तिमा वहुमुल्य समय बरबाद गर्न परने थिएन| तर हाम्रा नेताहरुका सन्किर्णतामा अल्झेर, बार्गेनिङ, दौडधुप र लबीइङलाई अघाडी राख्ने नियत बिलकुल गलत छ| आकाँक्षी र प्रत्याशीहरुको अस्वस्थ दौडधुप, चलखेल र अन्योलताले देशलाई हानी नोक्सानी पुर्याएको छ|

    अन्तत गएर सरकारले कुलमानलाई पुन नियुक्ती दिन वाध्य भए पनि उनका हातखुट्टा वाँधिदिने चलखेल नगर्ला भन्न सकिन्न| राखेपमा सिलवाललाई पुन नियुक्ती दिँदा नेकपाका कोईरालालाई उपाध्यक्ष बनाएर सदस्य सचिवको घाँटीमा घन्टी झुन्डाईदिएका हामीले
    देखेका छौ|
    यो सुन्दर, शान्त र विशाल देश सतीले सरापेको होइन, हुँदै होइन|नेताहरुको मतीले खती र अधोगतीमा पुर्याएको भने पक्कै हो| नेताहरु, चालक र पाईलटहरुका मती खराब भएपछी क्राश ल्यान्डिङ हुने नै भयो| जाँदा जाँदै, ज्ञानेन्द्र पनि मती खराब भएकाहरु मध्ये एक शीर्ष स्थानमा पर्छन, उनले स ही दिशा र दिग्दर्शन दिएको भएको अ नि राजा सबैको साझा हुन भन्ने सोछेको भए अहिले आएर नेपाली जनताले यो दु:ख पाउने थिएन| विडम्बना उनी र उनका परिवार आसेपासे मोजमा छन, जनताले दु:ख पाएका छन| कतिजना कुलमान यँहा जन्मेर पनि कोपिलामै कुल्चिदिए, यो नेपालीको आत्मकथा हो|

    Reply
  4. कपुर शाह says:
    August 26, 2020 at 6:10 am

    उहाँको दोस्रो कार्यकाल दोहो-याउदा राम्रै होला नि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme