Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भ्रममा नपर्नुस्, मास्क लगाउँदैमा तपाईँको अक्सिजन लेभल घट्दैन

Posted on August 23, 2020August 23, 2020 by Salokya

मास्क लगाउँदा शरीरमा अक्सिजन कम हुने लगायतका दावीहरु गरिएका पोस्टहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। त्यसमा गरिएको दावी अनुसार मास्क लगाउन हुन्न। मास्क लगातार लगाउनु विष पिउनु सरह हो। के हो यसको तथ्य? हामीले फ्याक्टचेक गरेका छौँ। 

हेल्पमी नामको यो फेसबुक पेजबाट मास्क लगाउन नहुने दावी गरिएको यो पोस्ट एक हजार चार सय पटक सेयर भएको छ।  यस्तै दावीहरु कपिपेस्ट गरेर  फेसबुकमा थुप्रै पोस्टहरु र ट्विटरमा पनि ट्विटहरु देखिन्छन्।

मास्कबारे यस्ता थुप्रै हल्लाहरुलाई डाक्टरहरुले सोसल मिडियामा र विश्वसनीय मिडियाहरुले पनि गलत भएको प्रष्ट्याइसकेका छन्।

नेपालमा मात्र नभई अन्य विकसित देशहरुमा पनि मास्कबारे यस्ता हल्ला फैलिएका छन्। आयरल्यान्डमा सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य गरिएपछि त्यहाँ पनि मास्क लगाएपछि अक्सिजन लेभल घट्ने र यसले दिमाग बिगार्नेसम्म हुनसक्ने हल्ला फैलाइएका थिए। त्यहाँका एक चिकित्सक माइटियु ओ टुआथाइलले ट्विटरमा ६/६ वटा मास्क लगाए पनि अक्सिजन लेभल नघटेको प्रयोगै गरेर देखाएको भिडियो राखेका छन्।

Getting asked

“Does wearing a face mask lower your oxygen levels” repeatedly by patients today!

Based on what they are reading on social media

*Face coverings / masks don’t reduce your oxygen levels!*

I managed to get six face masks on + it had no effect on my oxygen levels! pic.twitter.com/qNKYa8pejx

— Maitiu O Tuathail (@DrZeroCraic) July 14, 2020

नेपालमा यस्तो हल्ला फैलाउने मध्येका एक जागृत रायमाझीले लेखेका छन्-

उनले अक्सिमिटरको बारेमा लेखे पनि प्रयोग गरेर भने देखाएका छैनन्। तर अक्सिजन कम हुने हल्ला फैलिएपछि थुप्रै डाक्टरहरुले प्रयोग गरेर देखाएका फोटो र भिडियोहरु सामाजिक सञ्जालमा भेटिन्छन्।

दुई महिना अघि जुन २३ तारिखमा साउथ क्यारोलिनाका डाक्टर मेगन हलले मास्क नलगाउँदा, सर्जिकल मास्क लगाउँदा, एन ९५ मास्क लगाउँदा र एन ९५ र सर्जिकल मास्क लगाउँदा अक्सिजनको स्थिति देखिने गरी फोटो राखेकी थिइन्।

बेलायतको नेसनल हेल्थ सर्भिसका सर्जिकल डाक्टर जोसुआ उलरिचले मास्क लगाउँदा र नलगाउँदाको अक्सिजन लेभल देखाउँदै भनेका छन्- यस्तो मेडिकल्ली गलत कुरा गर्नेहरुका कुरा नपत्याउनुस्। मास्कले तपाईँको अक्सिजन घटाउने क्षमता राख्दैन।

मेडिकल अन्कोलोजिस्ट मार्क लेविसले सर्जिक मास्कको पूरा प्याकेट नै लगाएर अक्सिजन लेभल देखाएका छन्-

I made a discovery (and yes you can try this at home) pic.twitter.com/24SsN7I82c

— Mark Lewis (@marklewismd) June 30, 2020

अरु थुप्रै डाक्टरहरुले पनि ट्विटरमा यस्तो प्रयोग गरी देखाएका छन्।

 

अमेरिकन लङ एसोसिएसनले मास्क श्वास प्रश्वास गर्न मिल्ने डिजाइन गरी बनाइएको हुने र अक्सिजनको स्तर घट्ने बारे कुनै प्रमाण नभएको बताएको छ। मिसिगनस्थित स्पेक्ट्रम हेल्थमा संक्रामक रोग विशेषज्ञ डा. लियाम सुल्लिभानले मास्क खतरनाक हुने भएको भए अपरेटिङ रुमका नर्सहरु र डाक्टरहरु बिरामी हुने धेरै केसहरु हुनुपर्ने बताउँछन्। 

बीबीसीले यस्ता चार वटा हल्लालाई रियालिटी चेकमार्फत् गलत ठहर गरेको छ। त्यसैगरी फ्याक्टचेक डट ओआरजीले पनि मास्क र अक्सिजन लेभलको हल्लाबारे फ्याक्टचेक गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार राम्रोसँग लगाउने हो भने लामो समय मेडिकल मास्क लगाउँदा अक्सिजन कम हुने वा कार्बन डाइअक्साइडको विष लाग्ने हुँदैन।

मास्क लगाएपछि श्वास फेर्दा मास्कमा जम्मा भएको कार्बनडाइअक्साइड फेरि शरीरमा गएर हानी हुने कुरा पनि प्रमाणित तथ्य होइन। बीबीसीले संक्रामक रोग विशेषज्ञ प्रोफेसर केइथ निललाई उद्धृत गरे अनुसार सामान्यतया त्यसो हुँदैन। एयर टाइट फिट भएर आफैले फेरेको श्वास नै फेरि लिनुपर्ने अवस्थामा मात्र फेरेको श्वास फेरि भित्र जाने हो। कार्बन डाइअक्साइडको मोलेकुलस कोरोना भाइरस हुने छिटाभन्दा  धेरै सानो हुने भएकोले मास्कका प्वालहरुबाट बाहिर जान्छ। त्यसैले श्वास फेर्दा कार्बन डाइअक्साइड पनि बाहिर जान्छ।

मास्कबाट ब्याक्टेरियल इन्फेक्सन हुने कुराको पनि विज्ञहरुले प्रमाण नभएको भन्दै खण्डन गरेका छन्।  कपडाको मास्क भए धोएर लगाउन र सर्जिकल डिस्पोजेबल मास्क भए फोहर भएपछि नयाँ लगायन विज्ञहरुको सुझाव छ।

मास्कले छिट्टै फोक्सो रोगी बनाउने र मुटु लगायतका बिरामीलाई कठिन बनाउने दावी पनि भ्रामक छन्।  दम वा COPD (chronic obstructive pulmonary disease) रोग भएकाहरुको अक्सिजन लेभल नियमित रुपमा ९२ प्रतिशतको हाराहारीमा हुने तर मास्क लगाए पनि सामान्य भन्दा लेभल कम नहुने डाक्टर माइटियु ओ टुआथाइलको दावी छ। यद्यपि उनीहरुलाई मास्क लगाउँदा असुविधा हुन्छ। तर राम्रो फिट हुने मास्क लगाउँदा फरक हुनसक्ने उनको सुझाव छ।

अमेरिकन लङ एसोसिएसनले पनि फोक्सोको समस्या भएकाहरुले मास्क लगाउने सम्बन्धमा आफ्ना स्वास्थ्यकर्मीहरुसँग छलफल गर्न सुझाएको छ।

विश्व स्वास्थ्य संगठनले एक्सरसाइज गर्दा भने मास्क नलगाउन सुझाव दिएको छ।

निश्कर्ष : मास्क लगाउँदा अक्सिजन लेभल घट्ने र पल्स रेट बढ्ने, कार्बन डाइअक्साइड फेरि शरीरभित्र जाने लगायतका दावी गरी सामाजिक सञ्जालमा चलाइएका हल्ला गलत हुन्। अक्सिजन लेभल र पल्स रेटमा मास्कले असर नपर्ने प्रयोगात्मक रुपमा पनि डाक्टरहरुले देखाएका छन्।

4 thoughts on “भ्रममा नपर्नुस्, मास्क लगाउँदैमा तपाईँको अक्सिजन लेभल घट्दैन”

  1. karan says:
    August 30, 2020 at 2:54 pm

    dear sir, i will provide u more evidence against corona conspiracy, hami xanphal garaula ma chahanxu corona ko barema hamile sakne jati kura haru clear garna jaruri xa.
    plz check : https://blogs.cdc.gov/niosh-science-blog/2020/06/10/ppe-burden/

    Reply
    1. Salokya says:
      August 30, 2020 at 4:52 pm

      यो लामो समय काम गर्ने स्वास्थ्यकर्मीहरुलाई PPE प्रयोग गर्दा हुने अप्ठेरोको बारेमा ब्लग हो। यसमा N95 filtering facepiece respirators (FFRs) को कुरा गरिएको छ। यसमा सर्वसाधारणले सार्वजनिक ठाउँमा लगाउन सुझाइएको मास्क लगाउन हुन्न भनेर कहाँ लेखिएको छ? CDC को एउटा कुरा मान्ने, अर्को कुरा नमान्ने हो ? CDC ले नै मास्क लगाउनु भनेर गरेको अनुरोध https://www.cdc.gov/media/releases/2020/p0714-americans-to-wear-masks.html लाई चाहिँ नमान्ने हो ?

      र यदि तपाईँलाई ‘कोरोना भनेको WHO र मेडिकल माफियाको षड्यन्त्र हो’ र साँच्चै कोरोना भनेको केही होइन भन्ने लागेको भए, डर नहुने यस्ता बहादुरहरु यसरी कमेन्टमा अरुको ज्यान खतरामा पार्ने गरी षड्यन्त्र सिद्धान्त रच्नु भन्दा अस्पताल आइसोलेसन बेडमा गएर अथवा मृत्यु भएकाहरुको शव व्यवस्थापनको काममा स्वयंसेवा गर्नुस्। धर्म लाग्छ!

      अनि कृपया आफ्नो कुरा नेपालीमा वा अङ्ग्रेजीमा राख्नुहोला। रोमनमा लेखिएका कमेन्ट अब प्रकाशन हुने छैनन्।

      Reply
  2. karan says:
    August 30, 2020 at 6:26 am

    Dear sir, my sansar jasto khojmulak blogle sarai halka parale report deko jasto lagyo. authentic study garnus ani balla report dinu paryo. Mask lagauda dherai problem hunxa. Plz CDC (center for disease control and prevention) ko report hernus. Who ko report hernus mask lagauda phaida hunxa vaneko xaina ani mandatory pani vaneko xaina but healthy manxe le lagauda problem chai hunxa, report says. CDC ani aru pani Medical journal haru hernus (well known journal) New England journal of medicine,Cochrane collabration dherai research paper haru xan yesko barema as per cdc: PPE ans Mask effect –
    Headache;
    Increased pressure inside the skull;
    Nervous system changes (e.g., increased pain threshold, reduction in cognition – altered judgement, decreased situational awareness, difficulty coordinating sensory or cognitive, abilities and motor activity, decreased visual acuity, widespread activation of the sympathetic nervous system that can oppose the direct effects of CO2 on the heart and blood vessels);
    Increased breathing frequency;
    Increased “work of breathing”, which is result of breathing through a filter medium;
    Cardiovascular effects (e.g., diminished cardiac contractility, vasodilation of peripheral blood vessels);
    Reduced tolerance to lighter workloads.

    plz see CDC report 0f 10 june 2020

    Reply
    1. Salokya says:
      August 30, 2020 at 7:25 am

      मिथ्या जानकारी र अफवाह नफैलाउनुस्,
      CDC ले जुलाई १४ मा मास्क लगाउन आग्रह गरेको छ https://www.cdc.gov/media/releases/2020/p0714-americans-to-wear-masks.html
      WHO ले मास्कको बारेमा यस्तो भनेको छ https://www.youtube.com/watch?v=l33a25lchT8&feature=emb_title
      माथि ब्लगमा राखिएका सबै authentic लिङ्कहरु अध्ययन गर्नुस्।
      कुन आधिकारिक मेडिकल जर्नलले मास्क लगाउन हुँदैन भनेको छ, ल लिङ्क राख्नुस् अनि बहस गरौँला।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme