Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘सिल’ भएको टोलबाट मध्यरातदेखि लागू हुने निषेधाज्ञाको खबर पछ्याउँदै

Posted on August 15, 2020August 15, 2020 by Salokya

लकडाउन लागू भएको बेला मुग्लिङमा खिचेको फोटो। रुकुम जान हिँडेका हामीले त्यतिबेला बाटोमा कतै खाने ठाउँ पाएका थिएनौँ। होटलहरुबाट १० हात पर नै यसरी डोरी र प्लास्टिकले घेरा बनाएर राखेका हुन्थे।

काठमाडौँ उपत्यकाका तीन वटा जिल्लाहरुले साउन ३० गते मध्यरातदेखि लागू हुने गरी विभिन्न १० वटा बूँदाका क्रियाकलाप गर्न निषेध गर्दै आदेश जारी गरेका छन्। सिडिओ कार्यालयले त्यस्तो सूचना निकाल्नुअघि नै हाम्रो टोल भने सिल भइसकेको थियो। कोभिड-१९ संक्रमितको संख्या बढेपछि हाम्रो वडा काठमाडौँ महानगरपालिका-१४ ले विभिन्न ठाउँ ‘सिल’ गर्दै पसलहरु निश्चित समयमात्र खोल्न सूचना जारी गरेको थियो। महानगरपालिकाका अरु वडामा भन्दा हाम्रो वडामा धेरै संक्रमित भेटिएको भन्दै कोरोना समुदाय स्तरमा पुगिसकेको (?) दावीसमेत वडा कार्यालयको सूचनामा थियो। बिहीबार एक जनालाई भेट्नु पर्ने भएकोले साइकल लिएर बाहिर निस्केको थिएँ। फर्कँदा त आफ्नो घर जाने बाटोमा बाँसको भाटा तेर्स्याएर ‘टोल पूर्ण रुपमा सिल गरिएको’ सूचना पो राखिरहेको! तगारो नाघेर घरतिर लागियो। त्यो दिनदेखि म घरभित्रै छु। यद्यपि, त्यो तगारो धेरै समयसम्म रहेन। साँझ हुन्जेल त्यो हटाइसकिएको रहेछ।

उपत्यकाका तीनै वटा जिल्लाका सिडिओले जारी गरेको सूचनामा १० वटा गतिविधिहरुमा रोक लगाइएको छ। त्यसमा खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न र सभाजुलुस गर्न पनि निषेध छ। यो बीचमा सरकार समर्थक र सरकार विरोधी दुवै किसिमका प्रदर्शनहरु सडकमा भएका थिए।

तीन महिना लामो पूर्ण लकडाउन जस्तो अहिले फेरि लकडाउन गर्न सम्भव थिएन। तर अहिले बढ्दै गएको संक्रमितको संख्या, अस्पतालहरु भरिनु र मृत्युको संख्या पनि बढ्दै गरेको हेर्दा जोखिम अहिले धेरै देखिन्छ। घनाबस्ती भएको काठमाडौँमा दिनदिनै संक्रमितको संख्या बढ्दै गइरहेको छ। परीक्षण नभएका कति संक्रमितहरु बाहिरै होलान्, अनुमान लगाउन पनि गाह्रो छ। तीन महिने लकडाउनले महामारीको पिक अवस्थालाई केही समय धकेल्यो जस्तो मात्र देखिएको छ अहिलेको संक्रमणको हालत हेर्दा।

काठमाडौँ बाहिरका केही नगरहरुमा लकडाउनै गरिएको छ। केहीमा निषेधाज्ञाहरु जारी गरिएका छन्। संक्रमणको संख्या र जोखिम कायम रहिरहेकै बेला लकडाउन हटाइएको केही समयमा नै फेरि यस्तो जोखिम देखा परेको हो।

संक्रमितहरुको संख्याको तथ्याङ्क हेर्दा संक्रमण हुँदै ओरालो लागिसकेको ग्राफ लकडाउन साउन ६ गते खुल्ला भइसकेपछि पुनः उकालो लागेको देखिन्छ।

डब्लुएचओको तथ्याङ्क अनुसार दक्षिण पूर्वी एसियामा भारत, बंगलादेश र इन्डोनेसियापछि सबैभन्दा बढी संक्रमित र मृत्युको संख्या नेपालमै छ।

पछिल्लो समय काठमाडौँमा संक्रमितहरु धेरै बढ्नु, देशभर लक्षणसहितका संक्रमितहरुको संख्या बढ्नु र मृत्युको संख्या पनि बढेर सय पुग्नुले जोखिम झन् बढेको देखाउँछ।

दश दिनको अन्तरालमा उपत्यकामा कोरोना संक्रमित दोब्बर, काठमाडौंमा तेब्बर ।
हल्का ट्राइ हानियो है @salokya 🙂 pic.twitter.com/A994BWJ9N1

— Manoj Satyal (@ManojSatyal) August 13, 2020

लकडाउन खुल्ला भएपछि मानिसहरुले ‘न्यु नर्मल’ जीवनयापन गर्नुपर्नेमा पहिले जस्तै नर्मल ठानेर हेलचक्र्याइँ गर्न थालेको देखेकै हो। लकडाउन मात्र खुलेको थियो, कोरोनाको जोखिम हटेको थिएन। सार्वजनिक यातायात खुला भए, पसल-बजार, रेस्टुरेन्ट सब खुला भए। संक्रमितको संख्या कति, मृतकको संख्या कति भन्ने अपडेटमा पनि ध्यान दिन छाडे। अपनाउनु पर्ने सुरक्षा विधि अपनाइएन। मानिसहरु पनि बेपर्वाह भएर चिउँडो र हातमा मास्क बोकी सार्वजनिक स्थानमा निस्कन थाले। भारतबाट घुस खुवाएर नेपाल छिर्न थाले। काठमाडौँ भित्र प्रवेश गर्नेलाई कुनै जाँच गरिएन। सरकार र सरकारमा रहेका दलहरु मान्छेको जीवनको चिन्ताभन्दा कुर्सीको चिन्ता गर्न थाले।  अनि त यस्तो हुनु नै थियो।

साउन ६ गते मध्यरातदेखि लकडाउन औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेको सरकारले साउन १५ देखि रेस्टुरेन्ट, भदौ १ गतेदेखि लामो, छोटो र मध्यम दूरीका जिल्ला भित्र र अन्तर जिल्ला सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान सञ्चालन गर्ने भनेको थियो। तर संक्रमणको संख्या ह्वात्तै बढेपछि भदौ १ गतेदेखि ती सेवा सञ्चालन नहुने निर्णय गरिसकेको छ सरकारले।

साउन २९ गते बल्ल गृह मन्त्रालयले सबै सवारी पास बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दियो। त्यही अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि काठमाडौँ उपत्यका बाहिर जाने र भित्र आउने सवारी पास पूर्ण रुपमा बन्द गरिदियो।

आफ्नै खर्चमा पिसिआर परीक्षण गर्न उर्दी

यो बीचमा सरकारले निकै गैर जिम्मेवार कुराहरु पनि गर्न थाल्यो। संविधानमै उल्लेखित स्वास्थ्यको हक विपरीत नागरिकहरुलाई आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गर्न उर्दी जारी गर्‍यो। धेरै जनाको सम्पर्कमा आउने व्यवसायमा रहेकाहरुलाई साउन २८ गते यस्तो सूचना जारी गरिएको थियो। कर असुल्ने बेला असुल्ने तर सरकार छ भनेर उपस्थिति देखाउनु पर्ने बेलामा चाहिँ यस्तो उर्दी जारी गर्न सरकारलाई लाज लाग्नु पर्ने थियो।

अहिले हल्का सुख्खा खोकी लागेको अवस्था छ। अरु बेला पनि खासै भिडभाडमा गइएको थिएन। एकदम कम र आवश्यक ठाउँमा मात्र गइएको थियो। अधिकांश यात्रा साइकलमा गर्थेँ। जोखिम बढेपछि अहिले अत्यावश्यक काममा बाहेक बाहिर नजाने भनेर घरै बसिएको छ। हेरौँ, के कस्तो अवस्था देख्नु पर्ने हो ! यो सरकारले हामीलाई कोरोनाबाट जोगाउँछ भनेर आशा गर्नुभन्दा पनि आफै जोगिनु उत्तम उपाय हो।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme