Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोदीपथमा लागेका अतिवादीहरुबाट नेपाललाई बचाऔँ

Posted on August 14, 2020August 14, 2020 by mysansar

– नेपालडायरी/@nepaldiary –

करिब २८ वर्ष पहिले (सन १९९२ को डिसेम्बर ६) बाबरी मस्जिद ध्वस्त बनाइको ठाउँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्त ५ मा राम मन्दिरको शिलान्यास गरे। भारतको सर्वोच्च अदालतले नौ महिनाअघि वर्षौ पुरानो मुद्दा फैसला गरेर राम मन्दिर बनाउने अनुमति दिएपछि मोदीले बाबरी मस्जिद भत्काइएको त्यही ठाउँमा राम मन्दिरको भूमिपूजा गरेका हुन्।

करिब ३६० फिट लम्बाइ, २३५ फिट चौडाइ र १६१ फिट उचाइको यो मन्दिरले संम्भवतः आउने केही पुस्तालाई ‘बाबरी मस्जिद’ को ठाउँमा ‘राम मन्दिर’ को कथा सुनाउने छ । भारतमा बाहुल्य रहेको हिन्दू धर्म मान्ने मानिसहरुको विजय भएको जस्तो प्रचारप्रसार गरिएको बहुचर्चित यो राम मन्दिरको भूमिपूजनले भारतमा अल्पसंख्यक मुसलमान र अन्य सम्प्रदायका मानिसहरु कसरी असुरक्षित बनाइँदै छ भन्ने पनि दर्शाउँछ।

मुसलमान मात्र होइन ,भारतको वर्तमान मोदी सरकार भारतमा रहेका अन्य विभिन्न समुदाय र पन्थका हिन्दु धर्म मान्नेहरुको आस्थालाई समेत ‘सीताराम’ को परिधिभित्र समेट्न खोज्दैछ जुन हिन्दू धर्म मान्ने नेपाल जस्ता हिन्दू बहुल तर विभिन्न पन्थ र समुदायका हिन्दू धर्मावलम्बी भएको मुलुकको लागि सुखद होइन।


बाबरी मस्जिद ढल्दै गर्दा भाजपाका नेताहरु। फोटो : दि प्रिन्ट।

बाबरी मस्जिद र अयोध्याको इतिहास
हिन्दू धर्मावलम्वीको मत अनुसार प्राचीन भारतका पवित्र सातनगर मध्ये अयोध्या एक हो, जसलाई अथर्ववेदमा ईश्वरको नगर पनि भनिएको छ । मथुरा , हरिद्वार , काशी , उज्ययनी , कांची, द्वारका र अयोध्या मध्ये अयोध्यालाई पहिलो स्थानमा राखिन्छ।

स्कन्द पुराणका अनुसार अ ‘ब्रम्हा’ य ‘बिष्णु’ र ध ‘शिव’ को संगम अयोध्या हो। हाल भारतको उत्तर प्रदेशमा रहेको अयोध्या नगरीको स्थापना सूर्यको पुत्र मनुले गराएको हो भन्ने पुराणहरुमा उल्लेख छ।

पुराणहरुमा उल्लेखित भए बाहेक इतिहासका कुरा गर्दा, अहिलेको अयोध्या बाबरी मस्जिद-राम जन्मभूमि विवादको वर्तमान इतिहास भने सन १५२८ मा सुरु हुन्छ । सन १५२८-२९ भारतका पहिलो मुगल बादशाह बाबरको पालामा उनका विश्वासपात्र मीरवकीले कोशल राज्यको साकेत नामको शहरमा बाबरी मस्जिद खडा गरे।

सन १८५३ मा उक्त बाबरी मस्जिद भत्काएर श्रीरामको मन्दिर निर्माण गर्ने आन्दोलन शुरू भयो।

सन १९९० मा हिन्दुहरुले बाबरी मस्जिद भत्काउने असफल असफल प्रयास गरे । उत्तर प्रदेशमा मुलायम सिंह यादवको सरकारको पालामा केही कारसेवक (धार्मिक उद्देश्यका लागि निःशुल्क सेवा गर्ने) हरु बाबरी मस्जिद भत्काउने उदेश्यले मस्जिदमा चढेका थिए। तर तत्कालीन राज्य सरकारले गोली हान्ने आदेश दिएपछि १६ जना कारसेवकको मृत्युसँगै बाबरी मस्जिद ढल्नबाट जोगियो।

बाबरले स्थापना गरेको बाबरी मस्जिद अन्ततः १९९२ मा ढल्यो। तत्कालीन मुख्यमन्त्री कल्याण सिंहले कारसेवकहरुलाई कुनै कारवाही नगर्न स्थानीय प्रकाशनलाई आदेश दिएपछि ६ डिसेम्बर १९९२ मा हातमा झन्डा र सामेल बोकेका विश्व हिन्दू परिषदद्वारा सञ्चालित सयौँ कारसेवकले बाबरी मस्जिद ध्वस्त पारिदिए।

तत्कालीन प्रधानमन्त्री पी भी नरसिंह रावले बाबरी मस्जिद ढलेपछि  बिबिसीलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, बाबरी मस्जिदलाई तोड्नबाट बचाउन केन्द्र सरकारले अर्ध सैनिक र प्यारामिलिटरी फोर्सका १९० कम्पनि (करिव १२ हजार फोर्स) अयोध्या पठाउने निर्णय गरेको थियो। तर राज्य सरकारले अयोध्याबाट पाँच किलोमिटरको दूरीमा फैजावादमा रहेको उक्त अर्ध सैनिक र प्यारामिलिटरी फोर्स परिचालन गर्न कुनै आदेश दिएन र नियोजित रुपमा बाबरी मस्जिद तोडियो। बाबरी मस्जिद ढलेसँगै भारतमा रहेका करिब २० करोड मुसलमानहरुको सामु एकपछि अर्का आफ्नो अस्तित्व जोगाउने चुनौति थपिन थालेको देखिन्छ।

द प्रिन्टका फोटो पत्रकार प्रवीण जैनले हालै सार्वजनिक गरेका केही तस्बिरहरुमा बाबरी मस्जिद ढल्दै गर्दा भाजपाका नेताहरु मुरली मनोहर जोशी , लाल कृष्ण आड्वानी र विजयराजे सिन्धिया त्यहाँ उपस्थित थिए। बाबरी मस्जिद बनेदेखि नै अयोध्याको त्यो भूमिलाई हिन्दू र मुस्लिम बीच अनेकौँ पटक विवाद र लडाईं भएको इतिहास पाइन्छ। हिन्दूहरु राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाइएको विश्वास गर्छन् भने मुस्लिमहरु यो स्वीकार गर्न तयार छैनन्।


बाबरी मस्जिद भत्काउँदै गरेको दृश्य फोटो: प्रवीण जैन | दि प्रिन्ट

सन १८५९ मा भारतमा शासन गरिरहेको ब्रिटिश सरकारले विवादको हल गर्ने उद्देश्यले मस्जिदको भित्री भागमा मुस्लिम र बाहिरी भाग हिन्दूको लागि छुट्ट्याइदिए, तर विवाद साम्य हुन सकेन। सन् १९४७ मा भारत सरकारले मुसलमानहरुलाई विवादित स्थलबाट हट्न आदेश दियो। साथै, मस्जिदको मुख्य ढोकामा ताला लगाइयो र मुसलमानलाई मस्जिद प्रवेशमा प्रतिबन्ध लगाइयो। तर हिन्दूहरुको लागि भने भित्र बनाइएको सानो पूजास्थलसम्म बिना रोकतोक प्रवेश गर्न दिइयो।

लगत्तै सन् १९४९ को डिसेम्वर २३ मा नाटकीय ढंगले रामको मूर्ति बाबरी मस्जिदमा छिराएर राम जन्मभूमिको कानुनी आधार तयार गर्ने सुरुवात गरियो। केही हिन्दू धर्मगुरुहरुले रातारात मस्जिद भित्र रामको मूर्ति राखेको विरोधमा मुस्लिमहरुले अदालतमा मुद्दा दायर गरे, र सरकारले उक्त स्थान लाई विवादित क्षेत्र घोषित गरेर मस्जिदमा पुन ताला लगाइदियो।

इन्दिरा गान्धीको हत्यापछि राजीव गान्धी भारतको प्रधानमन्त्री भए । उनै राजीव गान्धीको पालामा घटेको शाह बानो प्रकरण अन्ततः आएर अयोध्याको बाबरी मस्जिदको ताला ताला खोल्ने आदेशसँग जोड्न पुगेको छ । शाहवानो प्रकरणबाट ध्यान अन्यत्र मोड्न फैजावाद अदालतका न्यायधीश कृष्णमोहनलाई कालो बन्दरको कथा रच्न लगाएर राजीव गान्धीले १९८६ मा ताला खोल्न लगाएको कथा रोचक छ।


कार सेवक ५ डिसेम्बर १९९२ मा मस्जिद भत्काउन लाइनमा खडा हुँदै । फोटो: प्रवीण जैन | दि प्रिंट

शाह बानो भारतको इन्दौरकी ६२ वर्षीया र पाँच सन्तानको आमा एक मुसलमान थिइन्, जसलाई सन् १९७८ मा उनको स्वीकृति बेगर पतिले तलाक दिए। पतिविरुद्ध भरणपोषण र बच्चाको हेरचाहको लागि शाह बानोले अदालतमा मुद्दा दायर गरिन्। सात सालसम्म चलेको उक्त मुद्दामा सुप्रिम कोर्टले शाहबानोको पक्षमा फैसला दियो, जुन तत्कालीन मुस्लिम समाजलाई मान्य थिएन । रुढीवादी मुसलमानहरुले यो फैसलालाई आफ्नो संस्कृतिमाथिको हस्तक्षेप ठाने र विरोधमा उत्रिए। शाह बानोको पक्षमा आएको न्यायालयको फैसलाको भारतमा ठूलो विवाद भयो।

पहिला राजीव गान्धीले सुप्रीम कोर्ट फैसलाको स्वागत गरेका थिए। तर मुस्लिम धर्मगुरुहरुको दवाबमा आएर १९८६ मा सरकारमा रहेको काङ्ग्रेस- आईले शाह बानोको विषयमा अदालतको निर्णयविरुद्ध एउटा कानुन पास गर्‍यो र अदालतको निर्णय उल्टाइदियो। मुसलमानहरुको संगठन ‘अल इन्डिया पर्सनल ल बोर्ड’ को दवाबमा राजीव गान्धीले ‘धर्म-निरपेक्षता’ को लागि भन्दै माग स्वीकार गरे।

जब राजीव गान्धी सरकारले मुस्लिम महिला (तलाक अधिकार सरंक्षण) कानून बनाएर न्यायालयको फैसला उल्टाउने निर्णय गर्‍यो, भारतका हिन्दू संगठनहरुले खुलेर सरकारको विरोध गरे। राजीव गान्धी सरकारका तत्कालीन गृह राज्यमन्त्री आरिफ मोहम्मद खानले समेत आफ्नै सरकारको निर्णयको विरोध गर्दै राजीनामा दिए।

हिन्दू संगठनहरुको दवावमा आएका राजीव गान्धीलाई तत्कालीन आन्तरिक सुरक्षा मन्त्री अरुण नेहरु , उत्तरप्रदेशका तत्कालीन मुख्यमन्त्री वीरबहादुर सिंह लगायतले राम मन्दिरको ताला खोलेर शाह बानो प्रकरणबाट हिन्दूहरुको ध्यान मोड्न र संसदबाट मुस्लिम महिला कानुन पास गरे मुसलमानको पनि विरोध नहुने सल्लाह दिए।

अन्ततः राजीव गान्धीले राम मन्दिरको ताला खोलेर हिन्दूहरुलाई खुशी त बनाए। तर भारतमा अल्पसंख्यक मुस्लिमको आस्थामाथि गहिरो आघात गरे। १ फेब्रुअरी १९८६ मा राम मन्दिरको ताला खुल्यो भने ५ फेब्रुअरीमा भारतको संसदमा मुस्लिम महिला (तलाक अधिकार सरंक्षण) कानून पास भयो।

इतिहासकार राम चन्द्र गुहा पुस्तक ‘इन्डिया आफ्टर गान्धी’मा लेख्छन्, ‘शाह बानो केसमा राजीव गान्धीले मुस्लिम धर्मगुरुहरुको दबाबका कारण चालेको कदमलाई हिन्दू संगठनहरुले अल्प संख्यक मुसलमानहरुलाई खुशी पार्नको लागि चालिएको कदम भनेर तीब्र विरोध जनाएपछि राजीव गान्धीले हिन्दूहरुलाई खुशी पार्न र शाहबानो मुद्दाबाट ध्यान अन्त मोड्न राज जन्मभूमि – बाबरी मस्जिदको ताला खोल्ने जस्तो कदम चाल्न पुगे। तर गान्धीको यो कदमको नतिजा बहुत घातक सिद्ध भयो। भारतमा साम्प्रदायिक शक्ति हावी भयो र बाबरी मस्जिद ढल्यो र हजारौँ मनिस धार्मिक उन्मादको भेट चढे।

भारतमा बाबरी मस्जिद तोडफोड गरिएको बिरोधमा भारतमा साम्प्रदायिक दंगा मात्र भड्किएन , करिब २००० मानिसले उक्त दंगामा परी ज्यान गुमाए भने पाकिस्तान र बंगलादेशमा रहेका हिन्दु मन्दिरहरुमा समेत तोडफोड भयो।

२०१९ को नोबेम्बरमा भारतको सुप्रिम कोर्टले बाबरी मस्जिद-रामजन्मभूमि बारेको फैसलामा उक्त विवादित जमिनमा मुस्लिम पक्षको दाबी खारेज गर्दै २.७७ एकड जमिनमा राम मन्दिर बनाउन दिने फैसला दियो। तर फैसलाले उक्त स्थानमा मन्दिर भत्काएर बाबरी मस्जिद बनाउने कुनै अधिकारिक प्रमाण नभेटिएको जनाएको छ।

भारतीय राजनीतिमा हिन्दूत्वको प्रभाव
भारतमा भाजपाको लागि हिन्दूत्व धर्म नभई राजनीतिक विचारधारा हो। भाजपाले आफ्नो राजनीति बचाउनका लागि मात्रै हिन्दू धर्मको सहारा लिएको हो। भारतीय जनता पार्टिको वर्तमान सरकारले राजनीतिमा धर्म घोलेर समस्त हिन्दू समुदायलाई एउटा विष पिलाउँदै छ। चर्को हिन्दूत्ववादको आडमा मोदी र उस्को सरकार ‘राम नाम जप्दै’ उग्रराष्ट्रवादको ओरालो यात्रामा छ। भारतमा प्रत्येक दिनजसो जय श्रीरामको नारा नलाएको अथवा गाई खाएको आरोपमा मुसलमानहरु माथि ज्यादति हुँदै आएको छ। हिन्दूहरुले कहिले कस्मिरको नाममा मुसलमानहरुमाथि अत्याचार गर्ने, रास्ट्रवादको नाममा जबरजस्ती मुस्लिमहरुलाई रामको नाम लिन लगाउने र दु:ख दिने कार्य गर्दै आएका छ्न्।

धर्मको नाममा भारतमा हुने अत्याचारको सूची लामो छ। राजनीति र धर्म घोलेर तयार गरिएको राष्ट्रवाद अन्ततः उग्रराष्ट्रवाद बन्छ जसले कालान्तरमा न हिन्दू धर्मलाई जोगाउँछ न विखन्डनबाट राष्ट्रलाई। राजनीति र धर्मलाई कुनै भगवानको नाममा जोडेर भोटब्यांक आकर्षित गर्ने भारतमा जसरी भाजपाले राष्ट्रिय स्वयंसेवक संघको मद्द्त लिएको छ , त्यसले लोकतन्त्रलाई कमजोर मात्र बनाउँदैन, देशभित्रका अरु धर्म र सम्प्रदायका मानिसहरुमा असुरक्षा र अपहेलना महसुस पनि गराउँछ। आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नको लागि धर्मलाई उपयोग गर्ने र विभिन्न आकृति, आस्था र धर्मका मानिसहरु बीच फुट ल्याउने सत्तारुढ भाजपा र मोदी मिसनले भारत या त विखण्डनको मार्गमा छ या त लामो आन्तरिक संघर्षको मार्गमा भन्ने प्रस्ट देखिन्छ।

गत चुनाव पछिको माहोलले त झन् भारतमा भाजपा मात्र होइन , स्वाधिनता आन्दोलनको विरासत बोकेको र धर्मनिरपेक्षताको पक्षधर भनेर चिनिएको भारतको काङ्ग्रेस पार्टी समेत हिन्दूत्वको राग अलाप्न थालेको छ। कांग्रेस नेताहरु समेत मन्दिरको भ्रमण गर्ने, भूमिपुजनको दिन रामको महिमा गाउने र आफूलाई कट्टर हिन्दु साबित गर्ने दौडमा सामेल हुन थालेका छन्। तर हेक्का राख्नुपर्ने कुरा के छ भने यो परिवर्तनको असर आउने दिनमा भारतको राजनीति र सामाजिक दुबै क्षेत्रमा स्पस्ट देखिने छ। देशभित्र अल्पसंख्यक समुदायले आफूलाई दोस्रो दर्जाको नागरिक ठान्ने दिने आयो भने त्यसबाट उत्पन्न हुने परिणाम कसैको लागि पनि हितकर हुँदैन।

भारतीय हिन्दूत्वको नेपालमा प्रभाव
हालै हाम्रा प्रधानमन्त्री केपी ओलीले रामको जन्मस्थान अयोध्याको बारेमा दिएको एक विवादास्पद बयानले पनि कतै हाम्रो वर्तमान सरकार भाजपा पथमा अग्रसर त छैन भन्ने सवाल पैदा भएको छ। नेपालमा पनि सत्ता जोगाउनका लागि ओली पक्षले भाजपाको बाटो समाते आश्चर्य हुनेछैन। भारतमा जसरी धर्मको नाममा विभेदकारी र अन्धाधुन्द राष्ट्रवादको भुमरीमा परेको छ , नेपालमा पनि त्यसको सिको गरिँदैछ।

हालै नेपालले जारी गरेको नयाँ नक्सासँगै नेपाल-भारत सम्बन्ध गम्भीर मोडमा पुगेको छ। भोलि मोदीले फ्याँकेको अमूक शर्तको बदला आफू पदमा टिकिराख्न वर्तमान सरकार नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउने माग उठाउने बाटोमा अग्रसर छ। नेपाललाई अहिले मोदीपथमा लागेका अतिवादी हिन्दुहरुबाट बचाउन जरुरी छ। राज्यसत्ताको आफ्नो कुनै धर्म हुँदैन र हुनु पनि हुँदैन। तर जसरी भारतीय राजनीतिले गएको एक दशकमा आफ्नो आफ्नो दिशा नरम वा कठोर हिन्दुत्वतर्फ मोड्दैछ, त्यो गल्ती नेपालले कदापी गर्नु हुँदैन। नेपालको जनकपुर र अयोध्याबीच आफ्नै सम्बन्ध छ। जनकपुर सीताको जन्मभूमि हो भने रामको जन्मभूमि अयोध्या। दुनियाँको अनुपम र सर्वश्रेष्ठ संस्कृतिको उदाहरण सीताराम सम्बन्धलाई लिन सकिन्छ।

प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्यालाई लिएर गरेको टिप्पणीले नेपाल भारत सम्बन्धलाई गहिरो संकटमा धकेल्ने मात्र होइन , यो सङ्कटबाट पार लाउन नेपालले ठूलो मूल्य चुकाउनु पर्ने पनि हुनसक्छ। अयोध्या जस्तो विवादास्पद विषयमा बिना अनुसन्धान र तथ्य  यसरी बयानबाजी हुनु राम्रो होइन। भारतमा जसरी अहिले देशको प्रधानमन्त्री एउटा मन्दिरको शिलान्यासमा जानु उपयुक्त हो कि होइन भनेर बहस गर्दै छ्न, त्यसै गरी नेपालको प्रधानमन्त्रीले रामको जन्मस्थानको बारेमा बोल्दै हिड्नु शोभनीय होइन।

भर्खरै प्रधानमन्त्रीले माडीका जनप्रतिनिधिलाई बोलाएर राम-सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्ने निर्देशन दिनु पनि एउटा अर्को अतिवाद तर्फ लम्कँदै गरेको प्रमाण हो । कोरोना महामारीले थिलथिलो पारेको बेला जनतालाई आफ्नै खर्च पिसिआर परीक्षण गराउनु भनेर उर्दी जारी गर्ने सरकारले राज्यकोषबाट देउताका मूर्ति र मन्दिर बनाउन प्रधानमन्त्रीले निर्देशन दिनु भन्दा अर्को दुर्भाग्य मुलुकका लागि केही हुनसक्दैन।

हामी नेपालीले के बुझ्नुपर्छ भने हाम्रो धर्म भारतको जस्तो अतिवाद र ‘रामनामी खास्टो’ ओडेको छैन । हाम्रो धर्म र समाज सांस्कृतिक पहिचान, उदारता र सह- अस्तित्वमा आधारित छ। धर्म, जाति र समुदायको आडमा हुने जुनसुकै अतिवाद हामीलाई अस्वीकार्य छ।

भूमिपुजनमा मोदीले नेपालको नाम लिए भनेर मख्ख पर्ने भन्दा पनि हामीले बुझ्नुपर्ने के छ भने ‘धर्मको नाममा उठ्ने अतिवादको आगोको मुस्लो बेरीतको आकाशमा देखिएको ‘मसरुम क्लाउड’ भन्दा खतरनाक हुन्छ।

धर्ममा अतिवाद घुसेपछि अन्तत त्यसले विनाश निम्त्याउन, छिमेकमा सक्किसकेको विषेशगरी हिन्दु अतिवादको अहम् नेपालमा नछिरोस्। किनभने हाम्रो धर्मले कुनै एउटा नाथ वा समुदायको धर्म वा ‘राम नामी’ भूमिपूजन र शक्तिलाई मात्र धर्म मान्दैन।

(नयाँ पत्रिका दैनिकको २०७७ साउन ३० को अङ्कमा प्रकाशित ‘हिन्दू भावनामाथिको ओली राजनीति’ शीर्षकमा सम्पादित विचारको असम्पादित संस्करण)

3 thoughts on “मोदीपथमा लागेका अतिवादीहरुबाट नेपाललाई बचाऔँ”

  1. madan bajracharya says:
    August 16, 2020 at 10:56 am

    जव सम्म नेपालको भुमि र् सार्वभौम सत्ता र् भुमिमा बलात्कार गर्ने लाईसेन्स जस्तैको त्यो सन १९५०को सन्धि खारेज हुँदैन भारतको मोदी त् के मोदिको जुत्ता सिउने मोचि पनि नेपालका ई यकले अर्कोलाई भन्न् बाँकी केही नराख्ने कोठे व्हिपको तानासाही चलायर प्रजातन्त्र र् लोकतन्त्र जमातकाको निमित श्रिराम बनिरहनेछ र् इनिहरुको पालैपालो तन्त्रमा नेपालमा भारतको स्वार्थको खेती मात्रै हुँदै गर्छ। नेपालको भुमिमा भारतको राज कबुलेर कागजमा मात्रै नेपालको नक्सा सच्यायर नेपालीलाई मुर्ख बनाउन सकियला थानेको हो भने निर्लज्ज भारतलाई अहिलेनै केही गर्न नसकियला तर इनिहरुको कुनै बिकल्प नचुनिने अर्को कुनै पनि चुनाव पुरै बहिस्कार गरेर जा तिमीहरु मोदिको सिको मात्रै किन गर्छौ मसाजनै गर्न जा भनेर लखेत्नु त् सकिहाल्छ।

    राणातन्त्र र् सक्रियराजतन्त्रमा हामी मात्र गरिव थियौ यस्तो किसिमले भारत आश्रित भयको थियन। यस्तो यकले अर्कोलाई चोर मात्रै भन्न् बाँकी नराख्नेको कुनै बिकल्प्नै नहुनेको कोठे व्हिप खाने घोडा बनिने “तन्त्र”लाई लोकतन्त्र भन्नु मान्नु लोकतन्त्रकै बदनाम गर्नु हुनेछ। अहिलेनै हेर्नुस् त् प्रचन्द्र माधव खनालले भनेको मान्नेनै हो ओलीले के पद मात्रै छोडेर पुग्छ? यदी प्रचन्द्र माधव खनालले झुथो आरोप लगायको भयमा ओलिले भारत रिसाउने अर्को कुनै कारी गर्न बाट रोक्न मात्रै ओली माथि झुथो आरोप लगायको भय अहिले इनिहरु फेरी मिले भन्दैमा खुला छोड्न मिल्छ? तर के गर्ने राणा हतायर महा राणा बन्ने राजा हतायर महाराजा बन्ने र् तिन्का नव आठप्रहरियाहरुले अपराध नगरेको के छ् र् कार्यवाही भयको कहिले छ्? इनिहरु दन्दित हुने भयमा इनिहरु बाट पीडित भयका नमरुन्जेल छानबिन समेत् नहुने;इनिहरुको भ्र्स्ताचारको पोल खुल्ने भयमा यक रुपैयाँ भ्र्स्ताचार गर्नेलाई नछोड्ने अख्तियारले इनिहरुको फाईल पनि नदेख्ने;राम्रो र् हाम्रो नेपाल भन्ने नियुक्त भयमा इनिहरुलाई अप्थ्यारो हुने पदमा इनिहरुकै भागबन्दामा नियुक्त गरिने; नागरिक मारिने बन्दुकको ट्रिगर दवाउने औन्ला इनिहरुको भयमा इनिहरुलाई होईन “गोलीलाई हत्कदी लगाईने यस्तो पनि कानुनी राज्य् हुन्छ,लोकतन्त्र हुन्छ?

    Reply
  2. nimesh says:
    August 15, 2020 at 8:53 pm

    कोरोना महामारीले थिलथिलो पारेको बेला जनतालाई आफ्नै खर्च पिसिआर परीक्षण गराउनु भनेर उर्दी जारी गर्ने सरकारले राज्यकोषबाट देउताका मूर्ति र मन्दिर बनाउन प्रधानमन्त्रीले निर्देशन दिनु भन्दा अर्को दुर्भाग्य मुलुकका लागि केही हुनसक्दैन।

    Reply
  3. Milan says:
    August 14, 2020 at 8:07 pm

    Ram mandir banauna utkhanan garda Buddha ko murtiharu bheteko mention garna chhutechha.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme