Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कान्तिपुर’ले बल्ल गर्‍यो औपचारिक घोषणा : ‘नेपाल’ र ‘साप्ताहिक’ हाललाई स्थगित, ‘नारी’ सुरु हुने

Posted on August 12, 2020August 12, 2020 by Salokya

‘कान्तिपुर मिडिया ग्रुप’ ले आफ्ना तीन प्रकाशन- ‘नेपाल’, ‘साप्ताहिक’ र ‘नारी’ बन्द गरेको समाचार अनलाइनहरुमा आएको धेरै भइसक्दा पनि उसले आधिकारिक रुपमा यो विषयमा केही पनि बताएको थिएन। कोरोना भाइरसको संक्रमणले निम्त्याएको परिस्थितिका कारण पत्रिका प्रकाशन स्थगित भए पनि अनलाइनमा अपडेट भइरहेको थियो। तर ११ असार २०७७ देखि त्यो पनि रोकिएको थियो। यी पत्रिकाका अनलाइन वा सोसल मिडियामा सम्म पनि हाललाई अपडेट नहुने, केही समय स्थगित हुने भनी जानकारीसम्म पाठकलाई नदिने ‘अनप्रोफेसनल’ काम भएको थियो। त्यसको डेढ महिनामा बल्ल आज साउन २८ गते कान्तिपुरमा सूचना प्रकाशन गर्दै औपचारिक जानकारी दिइएको छ।  यो बीचमा ती पत्रिकामा काम गर्ने  अधिकांश पत्रकारहरुले राजीनामा दिएपछि  तीन महिनादेखि चार महिनासम्मको तलब बराबरको रकम दिएर विदाबारी गरिसकिएको छ। 

आज कान्तिपुरमा छापिएको सूचनामा ‘नेपाल’ र ‘साप्ताहिक’ पत्रिकाको प्रकाशन ‘हाललाई स्थगित गर्नुपरेको’ जानकारी गराइएको छ।

यी पत्रिकाको नियमित ग्राहक रहेकाहरुले बाँकी अवधि कान्तिपुर पब्लिकेसन्सका अन्य प्रकाशनको ग्राहक बन्न सक्ने वा बाँकी रकम फिर्ता लिनसक्ने भन्दै कान्तिपुर मिडिया ग्रुपले सूचनामा यसबाट पर्न गएको असुविधाप्रति क्षमा पनि मागेको छ।

साथै, सूचनामा बन्द रहेको ‘नारी’ मासिकको पुनः प्रकाशन निकट भविष्यमा सुरु हुने जानकारी पनि दिइएको छ। आजको कान्तिपुरको ११ पेजमा यस्तो जानकारी दिइएको छ भने अन्तिम पेजमा त नारीको पुनरागमन भदौदेखि भनेर विज्ञापन नै छापिएको छ।

कान्तिपुर स्रोतका अनुसार नारीको प्रकाशन भदौ महिनामा नै गर्ने तयारीका साथ साउनदेखि नै काम सुरु भइसकेको थियो। ‘नारी’ म्यागेजिनसित विज्ञापन एजेन्सी थम्पसन नेपालले ११ पेज विज्ञापनको कन्ट्र्याक्ट जारी राखेकोले पनि कान्तिपुरलाई ‘नारी’ को प्रकाशन पुनः गर्नुपर्ने बाध्यता आइलागेको हो।

पत्रिकामा विज्ञापन व्यवस्थापन गर्ने अनुभवीहरुका अनुसार कुनै पनि म्यागेजिनको लागि ११ पेज विज्ञापन भनेको ठूलै कुरा हो। यसमा धेरै खर्च पनि थिएन। पहिलेदेखि ‘नारी’ मा सानो टिमले काम गरिरहेको थियो। यद्यपि, अब प्रकाशन हुने ‘नारी’को पेज भने घट्न सक्ने सम्भावना रहेको छ। पछिल्लो पटक चैत, २०७६ मा प्रकाशन भएको अङ्कको पेज संख्या ११८ थियो।

साप्ताहिक र नारीको टिम र नेपाल म्यागेजिनको टिमले असार १७ गते छुट्टाछुट्टै कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियासँग भेटेका थिए। उनले त्यतिबेला सबैखाले दुश्मनहरुसँग जुधेँ, तर यो कोरोनासँग जुध्न सकिएन, अब मैले धान्न सकिनँ, त्यसैले बन्द गर्न बाध्य भएँ भनेका थिए।

उनले हाललाई बन्द गरेँ, तर यी मेरा गहनाहरु हुन्, उपयुक्त परिस्थिति भएपछि चलाउँछु पनि भनेका थिए। यो अभिव्यक्तिले नै बन्द हैन स्थगित जस्तो बुझिन्थ्यो।

त्यही मिटिङमा उनले ‘नारी’ आधा आकाशका लागि प्रकाशन गरिएको पत्रिका भएकोले त्यो चलाउने आशय व्यक्त गरेका थिए। व्यवस्थापन स्रोतका अनुसार ‘नारी’ मा काम गर्नेहरुलाई नछाड्न पनि आन्तरिक रुपमा भनिएको थियो। तर ‘साप्ताहिक’ टिमको लहलहैमा लागेर केहीले राजीनामा दिएका थिए।

पुनः प्रकाशन हुने भनेपछि राजीनामा दिएका मध्ये केही फर्कन पनि चाहेका थिए। तर राजीनामा नदिनु भन्दाभन्दै दिएका भएर उनीहरुलाई पुनः भित्र्याउन व्यवस्थापन इच्छुक नभएको जस्तो देखिएको छ।

स्थगित गरिएका प्रकाशनहरुमा नयाँ सम्पादक

चैत, २०७६ को अङ्कमा प्रकाशित नारीको टिम।

कान्तिपुरले आज प्रकाशित गरेको सूचना अनुसार ‘निकट भविष्यमा सुरु हुने’ नारीका लागि नयाँ सम्पादक तय भइसकेको छ। यसअघि ‘नारी’ र ‘साप्ताहिक’ का सम्पादक राजाराम गौतम थिए।

अब प्रकाशन हुने ‘नारी’मा नारी नै सम्पादक हुने निश्चित भइसकेको छ। यसअघि सम्पादकीय संयोजकका रुपमा रहेकी उपासना घिमिरे अब सम्पादक हुनेछिन्। कान्तिपुर मिडिया ग्रुपका प्रकाशनहरुमा महिला सम्पादक हुने उनी  पहिलो हुँदैछिन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सम्पादक परिवर्तनको सूचना दर्ता भइसकेको सिडिओ कार्यालय स्रोत बताउँछ। यो सूचनाको बोधार्थ सूचना विभागमा पनि गराइसकिएको छ।

‘निकट भविष्यमा सुरु हुने’ भनिएको ‘नारी’को मात्र होइन, ‘हाललाई स्थगित गर्नुपरेको’ नेपाल र साप्ताहिकको सम्पादक पनि परिवर्तन गरिएको सूचना सिडिओ कार्यालयमा दर्ता भइसकेको छ।

‘नेपाल’ म्यागेजिनका सम्पादकमा हाल ‘काठमान्डु पोस्ट’का सम्पादक सञ्जीव सत्गैन्याको नाम राखिएको छ। प्रकाशन रोकिनुअघि बसन्त बस्नेत यसका सम्पादक थिए। त्यसैगरी ‘साप्ताहिक’ का सम्पादकमा यज्ञश पण्डितको नाम रहेको छ।

यसअघि इकान्तिपुरको सम्पादकमा बसन्त बस्नेतको नाम रहेकोमा त्यसलाई परिवर्तन गरी यज्ञशकै नाम राखिएको छ।

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme