Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सबैलाई स्तब्ध पार्ने त्यो क्रुर हत्या : प्रहरीको अनुसन्धानबाट खुलेका १६ तथ्य र अनुत्तरित पाँच प्रश्न

Posted on August 11, 2020 by Salokya

टाउको र खुट्टा टुक्राटुक्रा पारी काटेर फ्याँकेको अवस्थामा काठमाडौँको टोखा, गोंगबुमा शव भेटिएको दुई दिनमै प्रहरीले सबैलाई स्तब्ध पार्ने यो क्रुर हत्याकाण्डको धेरै रहस्य खोतल्न सफल भएको छ। आज प्रहरीले आफ्नो अनुसन्धानले मुख्य अभियुक्त देखिएकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सार्वजनिक पनि गरेको छ। अपराध इतिहासमा विरलै हुने यस्तो हत्याकान्डमा प्रहरीले आज सार्वजनिक गरेको अनुसन्धानबाट खुलेका १६ तथ्य र अझै अनुत्तिरत पाँच प्रश्न यस्ता छन्। 

प्रहरीले सार्वजनिक गरेको अनुसन्धानबाट खुलेका १६ तथ्य

१)  २०७७ साउन २५ गते बिहान अन्दाजी ७ बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टिकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको।

२) तत्काल तालीम प्राप्त जोजो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनको कुनामा फेला परेको।

३) मृतक पहिचानका लागि मिति साउन २६ गते फोटो सामाजिक संजाल तथा मिडिया मार्फत् सार्वजनिक गरिएको।

४) त्यसपछि मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको।

५) मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका वर्ष ४५ का कृष्णबहादुर बोहोरा भन्ने यकीन भएको।

६) बोहरा विगत ८ महिनादेखि उक्त होटलमा बस्दै आएको।

७) बोहरा र अभियुक्त कल्पना मुडभरी (पौडेल) बीच करिब ३।४ वर्षदेखि फेसबुकमार्फत् चिनाजानी भई सम्पर्कमा रहेको।

८)  बोहोरा अभियुक्त कल्पनाको कोठामा बेला बेलामा आई भेट्ने गरेको।

९)  बोहोराले अभियुक्त कल्पनाको फोटो राखी फेक फेसबुक आईडी खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकूल चल्नको लागि दबाब दिने गरेको।

१०) घटनाको दिन बोहोरा आफू बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको।

११) मृतकलाई अभियुक्त कल्पनाले दही, चिउरा, मासु र भोड्का खान दिएको।

१२) शवको भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको।

१३) साउन २५ गते बेलुकी बिरामी लिएर काठमाडौँ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राइभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको।

१४) अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजकी छोरी शव व्यवस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको।

१५) निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।

१६) हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको तथा थप अनुसन्धान कार्य भईरहेको ।

पक्राउ ब्यक्तिको विवरणः-


कल्पना मुडभरी (पौडेल)

ठेगाना: चितवन जिल्ला, कालिका न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने।

उमेर :- ३७ वर्ष

पेशा :- गृहिणी/अभिनय (केही टेलिशृंखलामा)

पक्राउ मिति : २०७७।०४।२६ गते ।

पक्राउ स्थान : जि. चितवन कालिका न.पा. वडा नं. ९ शक्तिखोरस्थित माइति।

 

प्रहरीले घटनास्थलबाट केही दशीका सामानहरु पनि बरामद गरेका छन्। ती हुन्-

Ø घटनामा प्रयोग भएको धारिलो हतियार

Øहिर्काउन प्रयोग भएको ह्याम्मर

Øरगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा

Øघाँटी कस्न प्रयोग गरेको कालो रंगको सल

Øसुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा

Øमृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु

Øस्लिपीङ ट्यावलेटको खोल

Øमोबाइल सेटहरु

 

प्रहरीले सार्वजनिक गरेको तथ्य र मिडियामा प्रहरीलाई उद्‍धृत गर्दै आएका समाचारहरु अनुसार घटना यस्तो भएको देखिन्छ-

लामो समयदेखि बस्दै आएको गेस्टहाउसबाट कृष्णबहादुर बोहरा बेलुकी ३/४ बजेतिर निस्कन्छन्। गेस्टहाउस सञ्चालकले दुई साताअघि ५० लाख खाएर भागेको मान्छे फेला पारें, केही दिन नआउन पनि सक्छु, नडराउनुहोला, फोन पनि नलाग्न सक्छ भनेको समाचार राजधानीमा आएको छ। अरु केही मिडियाले पनि हिजो लेनदेनको समाचार राखेका थिए। तर प्रहरीले सार्वजनिक गरेको अनुसन्धानबाट खुलेको तथ्यमा लेनदेनको विषय उल्लेख छैन। नेपाललाइभमा प्रकाशित समाचार अनुसार बोहराको आर्थिक अवस्था नराम्रो थियो। आर्थिक अवस्था खराब भएको व्यक्तिले ५० लाख कसैलाई दिने कुरा भएन।

स्कुटर लिएर गएका कृष्णबहादुर टोखास्थित कल्पना डेरा गरी बसेको घरमा पुग्छन्। कल्पनाले दही, चिउरा, मासु र भोड्का खुवाउँछन्। त्यसैमा स्लिपिङ ट्याब्लेट मिसाइदिन्छिन्। त्यसपछि लट्ठ परेको अवस्थामा ह्याम्मरले गुप्ताङमा प्रहार गर्छिन्। सलले घाँटी कस्छिन्।  पञ्जा लगाएर धारिलो हतियार प्रयोग गरेर टाउको छिनाउँछिन्। त्यसैगरी घुँडामुनि खुट्टा छिनाउँछिन्। टाउको र खुट्टा बिनाको शव सुटेकसमा पोको पार्छिन्। टाउको र खुट्टा अर्को जेब्रा झोलामा पोको पार्छिन्। नाम्लोले बोकेर घर नजिकै ५० मिटरको दूरीमा सुटकेस फ्याँक्छिन्, फर्कन्छिन्। त्यसपछि फेरि टाउको र खुट्टा भएको अर्को झोला बोकेर गई त्योभन्दा अलि पर गएर फ्याँक्छिन्। यो काममा उनकी छोरीले सघाएको भनेर प्रहरीले भने पनि अरु कुरा खुलेको छैन।

शनिबार राति त्यसरी लाश फ्याँकेपछि आइतबार बिहानै फेला परिहाल्छ। प्रहरीले अनुसन्धान सुरु गरिसक्छ। तर उनी भने त्यतिबेला डेरामै हुन्छिन्। आइतबार बेलुकी बल्ल डेरामा ताला ठोकेर उनी छोरीसहित माइती चितवन जान्छिन्। सोमबार प्रहरीले उनी डेरा गरी बसेको कोठामा छापा हान्छ। सोमबारै उनलाई चितवनमा प्रहरीले समातेर काठमाडौँ ल्याउँछ। र, मंगलबार बिहान अनुसन्धानका प्रारम्भिक तथ्यसहित सार्वजनिक गर्छ।

अनुत्तरित पाँच प्रश्न

१) कारण के हो ?

के कारणले हत्या भयो खुलेको छैन। लेनदेनको बारेमा केही मिडियाहरुमा समाचार आए पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा यसबारे केही उल्लेख छैन। कल्पनाले प्रहरीलाई कृष्णबहादुरले आफ्नो फोटो राखी फेक आइडी खोलेर आफूलाई सताउँदै आफू अनुकूल चल्न दबाब दिएको बताएकी छिन्। गुप्ताङमा ह्याम्मर प्रहार र गन्जी र कट्टुमात्रै लगाएको अवस्थामा शव भेटिएबाट पनि हत्यामा यौन जोडिएको संकेत देखिन्छ। यदि लाश त्यसरी काटेर नफ्याँकेको भए र बलात्कार गर्न आउँदा प्रतिकारमा हत्या भएको केस हुनसक्थ्यो।

यो केसमा यौन जोडिएको अर्को संकेत फेक फेसबुक खोलेर कृष्णबहादुरले आफू अनुकूल चल्न दबाब दिएको भनी कल्पनाले दिएको बयानबाट देखिन्छ। यसको अर्थ कल्पनाको अन्तरङ्ग फोटो कृष्णबहादुरसँग भएको हुनसक्छ। कल्पनाका पति विदेशमा भएको र सम्बन्ध नराम्रो भएको देखिन्छ। कृष्णबहादुरको पनि परिवारसँग सम्बन्ध नराम्रो भएको र एक्लै काठमाडौँमा बसेको देखिन्छ।  प्रहरीले अनुसन्धानले दुईबीचको सम्बन्धबारे अझ विस्तृत कुरा खोलेपछि यो प्रसंगबारे थप जानकारी आउन सक्छ।

२) कसैले थाहा नपाउनु अचम्म

तीन तल्लामाथिको कोठामा मारेर, लाश टुक्रा टुक्रा गरी काटेर, लिफ्ट त पक्कै थिएन होला त्यो घरमा, भर्‍याङबाट त्यत्रो गह्रुँगो लाश भएको सुटकेश र टाउको र खुट्टा भएको झोला बोकेर झरेर सडकमा फ्याँक्दासम्म त्यही घरमा डेरा गरी बस्ने कसैले थाहा नपाउनु चाहिँ अचम्मैको कुरा भएको छ। रातोपाटीले घरको दोस्रो तल्लामा बस्ने र माथिल्लो तल्लामा बस्ने घरधनीसित पनि सोधेको छ। दुवैले आफूहरुले केही पनि नसुनेको र थाहा नपाएको बताएका छन्। शनिबार राति पानी परेको थियो। तर पनि डेरा गरी बसेको घरमा ढुक्कैसित मान्छे मारेर, काटेर, लाश फ्याँक्न दुई चोटी ओहोरदोहर गर्दासम्म कसैले पत्तो नपाउनु शंकास्पद छ।

३) को को थिए मतियार?
घटनामा क-कसको संलग्नता थियो पनि खुलेको छैन। के एकै जनाले मारेर, लाश काटेर, तीन तल्लामाथिबाट काटिएको लाशको झोला बोकेर फ्याँक्न सम्भव छ? प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको तथ्य विवरणमा छोरीले सघाएको मात्र उल्लेख छ।

४) कृष्णबहादुरको कस्ता थिए?

हत्या गरिएका कृष्णबहादुरको विगतबारे थप जानकारी आएको छैन। आर्थिक हैसियत कमजोर भएको भए डेरा खोजेर नबसी  उनी किन लामो समयदेखि गेस्ट हाउसमा बसिरहेका थिए पनि खुलेको छैन।  कृष्ण र टेलिभिजन सिरियलमा काम समेत गरिसकेकी कल्पनाको सम्बन्ध कसरी जोडियो? उनीहरुको सम्बन्धमा दरार कसरी आयो आदि कुरा खुलेका छैनन्।

५) किन नजिकै फ्याँके शव?
हत्या गरिसकेपछि लाश काटेर सुटकेश र झोलामा पोको पारियो। तर घरबाट त्यति नजिकै किन फ्याँकियो होला त? कसैले पत्ता नपाउने सुनसान ठाउँमा फ्याँक्नु पर्ने होइन र? आत्तिएर लाश छिटो सेटल गर्न खोजेर मात्र त्यति नजिकै, भोलिपल्ट फेला पर्ने गरी फ्याँकिएको हो त? यो पनि अहिलेसम्म खुल्न नसकेको कुरा हो। हत्यारा अनुभवी होइन भन्ने त नजिकै लाश फ्याँकेकोबाट पनि देखिएको छ। यो केसमा टाउकोमात्र फेला नपरेको भए पनि प्रहरीलाई सनाखत गर्नै मुश्किल परेर अनुसन्धानका लागि क्लु भेट्टाउन गाह्रो पर्थ्यो। धन्न सग्लो टाउको नजिकै प्रहरीको तालिमप्राप्त कुकुरले भेट्टाइदियो र त्यही मिडियामा सार्वजनिक भएको आधारमा मृतकको पहिचान भयो। नत्र कृष्णबहादुर हराएको अहिलेसम्म कुनै प्रहरी चौकीमा रिपोर्टसम्म भएको थिएन।

पहिलो पटक हत्या गर्दैमा क्रुर हत्या हुँदैन कि भनेर सोच्नु गलत हुनेछ। किनभने ११ वर्षअघि ख्याति श्रेष्ठ हत्याकान्डमा पनि उनकै शिक्षक वीरेन प्रधानले हत्या गरी शरीरलाई टुक्राटुक्रा पारी काटेर फ्रिजमा राखी अलग-अलग टुक्रा अलग-अलग ठाउँमा फ्याँकेका थिए। त्यस कार्यमा उनलाई उनकै एक महिला छात्राले सघाएकी थिइन्।

प्रहरीले लाश फेला परेको दुई दिनमै घटनास्थल, अभियुक्त पहिचान गरी टेक्निकल र फिजिकल सम्बन्ध स्थापित गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ। बाँकी प्रश्नहरुको जवाफ पनि अनुसन्धानबाट आउने आशा गरौँ।

 

3 thoughts on “सबैलाई स्तब्ध पार्ने त्यो क्रुर हत्या : प्रहरीको अनुसन्धानबाट खुलेका १६ तथ्य र अनुत्तरित पाँच प्रश्न”

  1. SP says:
    August 13, 2020 at 6:30 pm

    किन हो बोहोराको स्कुटीबारे कतै उल्लेख गरिएन| उनी स्कुटीमा वारदात स्थलमा पुगेका थिए भनिएका छन|

    Reply
    1. Salokya says:
      August 13, 2020 at 11:40 pm

      स्कुटी बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो भन्ने कुरा छ। स्कुटीकै कारण पनि त्यो घरमा शंका भएको रे त

      Reply
  2. Kamal Dhital says:
    August 11, 2020 at 10:20 pm

    मान्छे को रिस पनि कस्तो खतरनाक हो? त्यत्रो मारेर टाउको खुट्टा काट्ने हिम्मत कहाँ बाट आको हो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme