Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजधानीमा विभत्स हत्या : दोस्रो दिनमै खुल्यो धेरै रहस्य, तर अनुत्तरित चार प्रश्न

Posted on August 11, 2020August 11, 2020 by Salokya

आइतबार बिहान सबेरै काठमाडौँको टोखा-गोंगबुमा टाउको र खुट्टासमेत छुट्याएर सुटकेस र झोलामा पोको पारेर फ्याँकेको अवस्थामा भेटिएको शवबारे आज दोस्रो दिन प्रहरी अनुसन्धानबाट धेरै रहस्य खुलेको छ। तर अझै पनि केही कुरा भने खुल्न बाँकी नै छ। दोस्रो दिन प्रहरीले शव कसको हो मात्रै पत्ता लगाएन, सम्भावित घटनास्थल र अभियुक्तको समेत पहिचान गरेको छ। अहिलेसम्म खुलेका तथ्य यस्ता छन्। 

१) लाशको सनाखत
सुरुमा त प्रहरीले लाश कसको हो नै पत्ता लगाउन नसकेर अलमलमा परेको थियो। तर प्रहरीले बिहानै टाउकोको फोटो सार्वजनिक गर्‍यो। मिडियामा त्यो फोटो देखेपछि यी त मेरा भान्जा हुन् भन्दै प्रहरीको सम्पर्कमा मामा पुगेपछि थाहा भयो हत्या गरिएका व्यक्ति दाङ घर भएका कृष्णबहादुर बोहरा हुन्। मान्छेको पहिचानै भएपछि त प्रहरीले महत्त्वपूर्ण क्लु भेटिहाल्यो। त्यसैका आधारमा अनुसन्धान गर्दा बोहरा नयाँ बजारस्थित गार्मेन्टमा काम गर्ने, केही समयदेखि गोंगबु मित्रनगरस्थित नर्सिङ धाम गेष्ट हाउसमा बसेको, शनिबार गेष्ट हाउस सञ्चालकसँग ‘दुई दिन आउँदिन है’ भनेर निस्किएको खुल्यो।

२) सम्भावित घटनास्थल
प्रहरीले आज सम्भावित घटनास्थल पनि पत्ता लगाउन सफल भयो- लाश फेला परेको ठाउँबाट पचास/सय मिटर पर रहेको चार तल्ले घर। प्रहरीले खानतलाशी गर्‍यो त्यो घरमा। घरको तेस्रो तल्लाको एउटा कोठा र बाथरुममा रगत भेटियो।

३) सम्भावित अभियुक्त
त्यो कोठामा डेरा गरी बस्थिन् कल्पना शाही। तर प्रहरीले कोठामा छापा मार्दा त्यहाँ उनी थिइनन्। प्रहरीले उनैलाई सम्भावित अभियुक्त मानेको छ। उनले आइतबार साँझमात्रै काठमाडौँ छाडेकी रहिछिन्। त्यसो भए पनि प्रहरीले उनलाई फेला पारिहाल्यो र चितवन टाँडीबाट उनलाई नियन्त्रणमा लिई काठमाडौँ ल्याइयो। उनले घटनामा आफ्नो संलग्नता स्वीकारिसकेको पनि समाचार आएका छन्।

नखुलेको रहस्य

१) किन गरियो हत्या ?
यति विभत्स किसिमले हत्या किन गरियो भन्ने कुरा भने खुलेको छैन। महिलाको दुई सन्तान भएको, एक छोरा एक छोरी भएको, छोरीको बिहे भइसकेको रातोपाटीले लेखेको छ भने नेपाललाइभले महिला मोडलिङ क्षेत्रमा काम गर्ने, १५ वर्षकी छोरी भएको लेखेको छ। अनलाइनखबरले बोहरा र ती महिलाको लेनदेनसम्बन्धी विवाद हुनसक्ने शंका गरेको छ। अहिलेसम्म के कारणले हत्या गरियो भन्ने खुलेको छैन।

२) किन कसैले थाहा पाएनन्?
तीन तल्लामाथिको कोठामा मारेर, लाश टुक्रा टुक्रा गरी काटेर, लिफ्ट त पक्कै थिएन होला त्यो घरमा, भर्‍याङबाट त्यत्रो गह्रुँगो लाश भएको सुटकेश र टाउको र खुट्टा भएको झोला बोकेर झरेर सडकमा फ्याँक्दासम्म त्यही घरमा डेरा गरी बस्ने कसैले किन थाहा पाएनन् होला त? रातोपाटीले घरको दोस्रो तल्लामा बस्ने र घरधनीसित पनि सोधेको छ। दुवैले आफूहरुले केही पनि नसुनेको र थाहा नपाएको बताएका छन्।

३) को को थिए मतियार?
घटनामा क-कसको संलग्नता थियो पनि खुलेको छैन। के एकै जनाले मारेर, लाश काटेर, तीन तल्लामाथिबाट काटिएको लाशको झोला बोकेर फ्याँक्न सम्भव छ? त्यसो त रातोपाटीमा पहिले विष खुवाएर मारेपछि घाँटी र खुट्टा काटेको पनि भनिएको छ। त्यसो हो भने पोष्टमार्टम रिपोर्टमा विषका कारण मृत्यु भएको वा विषको असर देखिनेछ। लाश काट्न प्रयोग भएको धारिलो हतियार पनि प्रहरीले खोज्नुपर्नेछ।

४) किन नजिकै फ्याँके शव?
हत्या गरिसकेपछि लाश काटेर सुटकेश र झोलामा पोको पारियो। तर घरबाट त्यति नजिकै किन फ्याँकियो होला त? कसैले पत्ता नपाउने सुनसान ठाउँमा फ्याँक्नु पर्ने होइन र? आत्तिएर लाश छिटो सेटल गर्न खोजेर मात्र त्यति नजिकै, भोलिपल्ट फेला पर्ने गरी फ्याँकिएको हो त? यो पनि अहिलेसम्म खुल्न नसकेको कुरा हो। प्रहरीले ती महिलालाई काठमाडौँ ल्याएर केरकार गरी थप अनुसन्धान गरेपछि यस्ता प्रश्नको जवाफ पनि भेटिने आशा गरौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme