Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकारितामा कोरोना कहर : अर्को ट्याब्ल्वाइड ‘शुक्रबार’ साप्ताहिक पनि ‘बन्द’

Posted on August 10, 2020August 10, 2020 by Salokya

“शुक्रवार साप्ताहिकबाट आजबाट बिदा लिएको छु।”

आइतबार दिउँसो अच्युत कोइरालाले फेसबुक स्टायटस लेखे।  उनले विदा लिएको लेखे पनि खासमा नेपाल रिपब्लिक मिडियाको व्यवस्थापनले यो पत्रिका बन्द गर्ने निर्णय गरेको रहेछ। यो कुरा त्यही निर्णय सुनाउन आयोजित बैठकमा सहभागी एक पत्रकारले सुनाएपछि थाहा भएको हो। नेपाल रिपब्लिक मिडिया कान्तिपुरबाट अलग्गिएपछि विनोदराज ज्ञवालीले सुरु गरेको नयाँ मिडिया हाउस थियो। यो मिडिया हाउसबाट नागरिक नेपाली राष्ट्रिय दैनिक, रिपब्लिका अङ्ग्रेजी राष्ट्रिय दैनिक, शुक्रबार साप्ताहिक ट्याब्ल्वाइड, परिवार मासिक म्यागेजिन गरी चार वटा पत्रिका प्रकाशन हुन्थ्यो। अहिले ‘नागरिक’ मात्र प्रकाशन भइरहेको छ। रिपब्लिकाको प्रकाशन कोरोना कहरपछि बन्द भइसकेको थियो भने शुक्रबार र परिवार इपेपरमा सीमित थियो।

तर इपेपरमा सीमित भएकै दुई पत्रिका पनि बन्द गर्ने निर्णय ती पत्रिकामा कार्यरत पत्रकारहरुलाई जानकारी दिइएको हो। यसबारे जानकारी दिन डाकिएको मिटिङमा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवाली उपस्थित थिएनन्। विनोदराज ज्ञवाली अहिले काठमाडौँ उपत्यकामा नै छैनन्, उनी बर्दियामा रहेको बुझिएको छ।

विनोद-शोभा पुत्री समृद्धि ज्ञवाली र सिइओ प्रकाश अधिकारीले शुक्रबार र परिवार दुवै टिमलाई बोलाएर समयमा तलब दिन सकिँदैन, यतिकै निकाल्ने भए निकाल्नुस्, नत्र हामी बन्द गर्छौ भनेका थिए। तलब बिना काम गर्ने कुरा भएन। त्यसैले अहिलेसम्मको तलबको हिसाब गरी विदा हुने उपाय बाहेक पत्रकारहरुसँग अरु उपाय रहेन। तर शुक्रबारका पत्रकारहरुले हिसाब नमिलेको भन्दै राजिनामा दिएका छैनन्।

यद्यपि, यी दुई पत्रिका बन्द गर्ने औपचारिक घोषणा भने नेपाल रिपब्लिक मिडियाले गरिसकेको छैन। त्यसो त कान्तिपुरले पनि आफ्ना प्रकाशनहरु नेपाल म्यागेजिन, साप्ताहिक ट्याब्ल्वाइड र नारी मासिक म्यागेजिन बन्द गर्ने औपचारिक घोषणा नगरी पत्रकारहरुलाई विदाबारी गरिसकेको छ। कान्तिपुरले ‘नारी’भने छिट्टै (सम्भवतः भदौ महिनामा नै) प्रकाशन गर्ने तयारी गरेको पनि सुनिएको छ।

व्यवस्थापनले शुक्रबारमा कार्यरतहरुलाई सकियो भने दुई वर्षपछि निकाल्छौँ, त्यतिबेला बोलाउँछौँ भन्ने आश्वासन दिएको छ। तर दुई वर्षसम्म त्यही पत्रिका भनेर को चाहिँ बस्छ होला। दुई वर्षसम्म त स्थिति के पो भइसक्छ। दुई जना डेस्कका, तीन जना रिपोर्टर र डिजाइनका दुई जनाको जनशक्तिले ‘शुक्रबार’ इपेपरमा भए पनि प्रकाशन गरिरहेको थियो।

त्यसो त राजनीतिक फ्लेभरका साप्ताहिक ट्याब्ल्वाइडहरु बजारमा अझै छन्। तर ‘शुक्रबार’ बन्द भएसँगै नेपाली बजारमा ठूला मिडिया हाउसले प्रकाशन गर्ने ट्याब्ल्वाइडको युग सकिएको छ। एक हप्ताअघि मात्र अन्नपूर्ण मिडिया नेटवर्कबाट प्रकाशन हुने यस्तै शैलिको ‘सम्पूर्ण’ साप्ताहिक पनि बन्द भएको थियो। त्यसअघि असार ११ मै कान्तिपुरले पनि ‘साप्ताहिक’ बन्द गरेको थियो।

एउटै शैलिका यी तीन पत्रिका कोरोनाको निहुँ पारेर बन्द भए। कोरोना भन्दा अघि नै नयाँ पत्रिकाको यस्तै शैलीको पत्रिका ‘गज्जब’ बन्द भइसकेको थियो। २०७३ मंसिरदेखि प्रकाशन थालेको ‘गज्‍जब’ २०७५ वैशाखमा बन्द भएको थियो। त्यतिबेला गज्जबलाई शनिबारे अङ्क भन्दै नयाँ पत्रिकामै मर्ज गर्ने भनिएको थियो। तर पछि त्यो नाम पनि रहेन।

नेपाल रिपब्लिक मिडियाले भने ‘शुक्रबार’ २०६८ सालमा किशोर नेपालको नेतृत्वमा प्रकाशन गरेको थियो। कान्तिपुरको साप्ताहिकको पनि संस्थापक सम्पादक उनै थिए। पछि नारायण वाग्लेले राजीनामा दिएपछि किशोर नेपालले नागरिक र शुक्रबार दुवै पत्रिकाको सम्पादकीय नेतृत्व लिएका थिए।

किशोर नेपाल सम्पादक रहेकै बेला शुक्रबार साप्ताहिकमा प्रकाशन भएको सामग्रीकै विषयलाई लिएर एक पटक नागरिकको कार्यालयमा शिव सेनाका कार्यकर्ताहरुले आक्रमण गरेका थिए।

किशोर नेपालपछि राजन नेपाल,विश्वमणि पोखरेल र केपी ढुंगाना शुक्रबारका सम्पादक भए। केपीले गत वर्ष माघमा राजीनामा दिएपछि नागरिककै सम्पादक गुणराजको नाम राखेर पत्रिका निस्किरहेको थियो। कोरोना अघिसम्म पत्रिकाले राम्रै व्यापार गरिरहेको थियो। केपीको नेतृत्वमा रंगमन्चमा भइरहेको यौन दुर्व्यवहार लगायतका केही गम्भीर विषय पनि शुक्रबारमा प्रकाशित भएका थिए। उनीसँगै शुक्रवारको मार्केटिङ हेर्ने सुरेश ढकालले समेत छाडेपछि पत्रिकाको कन्टेन्ट र रेभिन्यु दुबैमा असर परेको थियो।

यसका कन्टेन्ट पटक-पटक विवादमा परेका छन्। अन्तिम अङ्कको एउटा कन्टेन्ट ‘प्रियङ्काको गसिप’ पनि अहिले विवादमा परिरहेको छ। ‘शुक्रबार’ कै इपेपरका लागि तयार भएको गसिप कन्टेन्टमा ‘छोराछोरी बिग्रिए बिहे गरिदिनुपर्छ’ लगायतका वाक्यको अहिले चर्को विरोध भइरहेको छ।

के तपाईँका छोरी-चेली संस्कारी छन्?
छैनन्? बिहे गरिदिनुस, शरीर ढाकिदिनुस, चुलो चौको गरे र शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन्.. सपना नदेखाउनुस..'करियर' र 'एम्बिसन' जस्ता कुरामा नअल्झाउनुस..चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ…
धन्यवाद नागरिक परिवार.. pic.twitter.com/7FDf0oYGOf

— Priyanka Karki (@PriyankaKarky) August 10, 2020

रिपब्लिकाको भविष्य अन्यौलमा

नेपाल रिपब्लिक मिडियाले प्रकाशन गर्ने अङ्ग्रेजी राष्ट्रिय दैनिक रिपब्लिकाको भविष्य भने अझै अन्यौलमै छ। तलब नदिएसम्म काम नगर्ने भन्दै पत्रकारहरुले विरोध गरेपछि १५ अप्रिल २०२० देखि पत्रिकाको प्रकाशन बन्द थियो। यसमा कार्यरत केही पत्रकारहरुले राजीनामा दिइसकेका छन् भने केही बाँकी छन्। उनीहरुले अङ्ग्रेजी अनलाइन माइरिपब्लिकाका लागि कन्टेन्ट जुटाउने गरेका छन्। माइरिपब्लिका र नागरिकन्युजसहित नागरिक नेटवर्क अनलाइनको कार्यालय भने पत्रिकाको कार्यालयभन्दा बेग्लै ठाउँ कमलादीमा छ।

पत्रिकाको प्रकाशन बन्द भएपछि सुन्धारास्थित जेडिए कम्प्लेक्समा रहेको रिपब्लिकाको रिपोर्टिङ सेक्सनमा व्यवस्थापनले डिजाइनिङ टिम ल्याएर राखेका छन्। रिपोर्टिङको सेक्सनमा डिजाइनिङ आएर बसे पनि त्यहाँ एडिटर र एसोसिएट एडिटरको दुई वटा कोठा भने बाँकी नै छ।

शुक्रबार र डिजाइनिङ टिम रहेको ठाउँमा भने प्रशासन सारेर एउटा फ्लोर खाली गर्ने तयारी गरिएको छ।

रिपोर्टिङ सेक्सन मै डिजाइनिङ ल्याएर राख्नुको अर्थ चैँ रिपब्लिका निकट भविष्यमा ननिस्कने नै संकेत नै भनेर पत्रकारहरुले बुझेका छन्। पत्रिका निस्केको अन्तिम दिन वैशाख ३ को रिपब्लिकामा यस्तो सूचना थियो-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme