Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजधानीमा भएको रहस्यमय विभत्स हत्या : अहिलेसम्म हामीलाई थाहा भएका र नभएका १० तथ्य

Posted on August 10, 2020August 10, 2020 by Salokya

लकडाउन खुलेपछि राजधानीमा कोरोना जोखिम झन् बढेको छ। दिनदिनै संक्रमितहरु बढेका बढ्यै छन्। त्यही भएर सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोकसमेत लगाएको छ। यस्तो बेला पनि आइतबार कुरा सुन्दै आङ सिरिङ्ग हुने एउटा अपराधको घटना भयो। सबैभन्दा पहिला टाउको र खुट्टा नभएको लाश सुटकेशमा फेला पर्‍यो भने त्यसको केही समयमा टाउको र खुट्टा भएको झोला भेटियो। धेरै समयपछि राजधानीलाई स्तब्ध पार्ने यस्तो घटना भएको हो। संयोगले ठ्याक्कै दुई वर्षअघि (२०७५ साउन २१) काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको अवस्थामा शव भेटिएपछि प्रहरीले दुई जनालाई ‘इन्काउन्टर’ गरिदिएको थियो। आजको विभत्स हत्या बारे आइतबार रातिसम्म थाहा भएका र नभएका तथ्य यस्ता छन्।

अहिलेसम्म थाहा भएका तथ्य

१) कहाँ भेटियो?
टोखा नगरपालिकाको वडा नम्बर १० मा पर्ने गोंगबु गणेशस्थान नजिकैको नवज्योति मार्गमा पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा रातो प्लास्टिकले बेरिएको अवस्थामा एउटा सुटकेश भेटिएको थियो। प्रहरीले सुटकेश खोलेर हेर्दा टाउको बिनाको शव भेटेको थियो।

२) टाउको झोलामा
प्रहरीले तालिमप्राप्त कुकुर ल्याएर सुटकेस सँगै भेटिएको नाम्लो सुँघाएर खोज्दा करिब तीन सय मिटर पर एउटा जेब्रा झोला भेटियो। त्यसमा टाउको र खुट्टा थियो।

बेलारुसबाट किनेर ल्याइएको ब्लडहाउन्ड जातको ‘जोजो’। यही कुकुरले टाउको भएको झोला फेला पारेको थियो। फोटो : न्युज२४ स्क्रिनग्रायब

३) के-के भेटियो?
शव गन्जी र कट्टुमात्र लगाएको अवस्थामा थियो। घटनास्थल पुगेका फरेन्सिक चिकित्सकले शव अन्दाजी ४० देखि ४५ वर्षको पुरुषको हुनुपर्ने अनुमान गरेका छन्। अरु कुनै पनि पहिचान खुल्ने कागजात, मोबाइल त्यहाँ भेटिएको छैन।

४) कहिले भयो हत्या?
ठ्याक्कै यति बेला भयो भनेर बताउन त सकिन्न। तर पोष्टमार्टममा संलग्न चिकित्सकको भनाई उदृत गर्दै एसएसपी दीपक थापाले शनिबार राति हत्या गरेर शव फ्याँकिएको बताएका छन्।

अहिलेसम्म नखुलेका तथ्य

५) कसको हो लाश?
प्रहरीलाई अहिले सबैभन्दा टाउको दुखाइ नै लाश कसको हो पत्ता लगाउन नसकेर भएको छ। सनाखत भएपछि बल्ल प्रहरीले त्यसैका आधारमा अनुसन्धान अघि बढाउन सक्छ। सनाखत नभएमा अनुसन्धान गर्नै गाह्रो पर्न सक्छ।

अपडेट (साउन २६) : प्रहरी (महानगरीय प्रहरी अपराध महाशाखा) ले फोटो सार्वजनिक गरी केही जानकारी भएमा प्रहरीलाई दिन आम नागरिकमा अनुरोध गरेको छ।

अपडेट (साउन २६) : केही मिडियाले प्रहरीलाई उद्‍धृत गर्दै शवको पहिचान खुलेको  (दाङका कृष्णबहादुर बोहोरा) लेखेका छन्।

६) क्राइम सिन कता?

क्राइम सिन कता पनि अहिलेसम्म खुल्न सकेको छैन। लाश टुक्राटुक्रा पारेर एउटा टुक्रा सुटकेसमा प्याक गर्ने र टाउको र दुइटा खुट्टासहितको अर्को टुक्रा अर्कै झोलामा प्याक गरी ३ सय मिटरको दूरीमा दुई ठाउँमा फ्याँकिएको छ। अलि पर विष्णुमती नदी भए पनि खोला छेउमा, खाली ठाउँमा लाश नफ्याँकी बीच सडकमा भोलिपल्ट फेला पर्ने गरी नै लाश फ्याँकिएको छ। लाश कसैले नदेखोस् भनेर लुकाउने गरी फ्याँक्नु भन्दा पनि छिटो फ्याँकेर सेटल गर्न खोजेको देखिन्छ। त्यसैले क्राइम सिन वरपर नै कतै हुनसक्ने अनुमान गर्न सकिन्छ। तर वरपर घनाबस्ती देखिन्छ।

७) कति जना होलान् हत्यारा?
यो पनि अहिलेसम्म खुल्न नसकेको तथ्य हो। सुटकेश र जेब्रा झोला गरी दुई वटा लाशका ठूला झोला रहेको र सुटकेश नजिकै नाम्लो पनि फेला परेको हुनाले सुटकेश बोकेर ल्याएर फ्याँकेको हुनसक्ने अनुमान गर्न सकिन्छ। दुई वटा झोला एकै जनाले एक्लै बोकेर एउटा एकातिर अर्को अर्कोतिर फ्याँक्न गाह्रै पर्ने देखिन्छ। त्यसैले लाश फ्याँक्न एक जनाभन्दा बढी मान्छे प्रयोग भएका हुनसक्छन् भन्ने अनुमान गर्न सकिन्छ।

८)सिसिटिभीमा नखुलेको तथ्य
शनिबार पानी परेको, नाइटभिजनसहितको सिसिटिभी क्यामेरा नरहेको कारण लाश फेला परेको वरपरका सिसिटिभीबाट प्रहरीले क्लु फेला पार्न सकेको छैन।

९) हत्यारा अनुभवी कि के ?
प्रहरीले कसको हत्या भएको नै पत्ता लगाउन सकेको छैन भने हत्याराबारे पत्ता लगाउनु अझ टाढाकै कुरा भयो। तर हत्या गरिएको प्रकृति हेरेर अर्थात् लाशलाई टाउको र खुट्टा छिनालेको देखेर अनुभवी हत्यारा नै हो कि भन्ने अनुमान पनि गरिएको रहेछ। तर यत्तिकैको आधारमा हत्यारालाई अनुभवी भन्न सकिँदैन। वीरेन प्रधान कसले बिर्सन सक्छ र। उनी नेपालको अपराध इतिहास मै सबैभन्दा क्रुर अपराधी थिए जसले कसैले कल्पना पनि गर्न नसकेको अपराध गरेका थिए। ११ वर्षअघि ख्याति श्रेष्ठलाई अपहरण गरेर हत्या मात्र गरेनन् उनले, शरीरलाई टुक्राटुक्रा पारी काटेर फ्रिजमा राखी अलग-अलग टुक्रा अलग-अलग ठाउँमा फ्याँकेका थिए। तर उनी प्रोफेसनल किलर थिएनन्। त्यो उनको पहिलो हत्या थियो। हेर्नुस् पुरानो ब्लग कठै, यसरी मारेको रैछ पापीले ख्यातिलाई।

१०) खुँडाले काटेर मारेको?
कुन हतियार प्रयोग गरेर मारेको भनेर अहिलेसम्म प्रहरीले पनि बताउन सकेको छैन। तर कान्तिपुरको समाचारमा भने समाचार लेख्नेले आफै देखे जस्तो गरी ‘शनिबार राती खुँडा प्रहार गरी एक पुरुषको हत्या गरेर’ लेखिएको छ।

1 thought on “राजधानीमा भएको रहस्यमय विभत्स हत्या : अहिलेसम्म हामीलाई थाहा भएका र नभएका १० तथ्य”

  1. संभु says:
    August 10, 2020 at 1:41 am

    शनिबार मध्यराती चक्रपथमा एक पटक मात्र बन्दुक जस्तो पड्किएको सुनिएको थियो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme