Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कान्तिपुर’को कहाँ चुक्यो समाचार? काठमाडौँका ११ र ललितपुरका तीन संक्रमितको हिसाब गडबड

Posted on July 29, 2020July 29, 2020 by Salokya

लकडाउन खुलेपछि पछिल्लो समय राजधानी काठमाडौँमा कोभिड-१९ संक्रमणको संख्या बढ्दै गएको छ। यसै क्रममा २०७७ साउन १३ गते मंगलबार एकै दिन ठूलो संख्यामा संक्रमित भेटिए। तर मंगलबार पुष्टि भएका संक्रमितको संख्या भने मिडियाले फरक-फरक दिएका छन्।

कान्तिपुरले साउन १४ गते बुधबारको अङ्कको पहिलो पेजको  ‘कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार?’ शीर्षकको समाचारको उपशीर्षकमा ‘राजधानीमा एकै दिन ६१ लाई संक्रमण’ लेखिएको छ। जबकि सोही मिडिया हाउसको अर्को पत्रिका काठमाण्डु पोस्टको मुख्य समाचारमा भने ‘Experts warn of community spread as Valley reports 53 new Covid-19 cases’ शीर्षकमा उपत्यकामा ५३ जना मात्रै भेटिएको उल्लेख छ। यसबारे हामीले तथ्य जाँच गरेका छौँ। 

कान्तिपुरमा प्रकाशित समाचारमा राजधानीमा एकै दिन ६१ जनालाई संक्रमण भएको दावी गरिएको छ।

काठमाण्डु पोस्टमा भने ५३ जना मात्रै लेखिएको छ।

त्यसैगरी नागरिक दैनिकमा पनि ५३ जना नै लेखिएको छ।

अन्नपूर्ण पोस्टले पनि ५३ जना नै लेखेको छ।

‘कान्तिपुर’ को समाचारको सुरुमै लेखिएको छ- ‘राजधानीमा मंगलबार ६१ जना नयाँ संक्रमित फेला परेका छन् ।’ त्यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालालाई उद्‍धृत गर्दै ‘नयाँ संक्रमितमध्ये ५९ जना काठमाडौंका र भक्तपुर एवं ललितपुरका एक–एक जना छन्’ लेखिएको छ।

तर आधिकारिक तथ्याङ्क भने यो होइन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको मिडिया ब्रिफिङमा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका थिए।

मिडिया ब्रिफिङमा दिइएको प्रयोगशाला अनुसारको संक्रमितको जानकारी अनुसार जोड्दा पनि यही तथ्याङ्क निस्कन्छ। (हेर्नुस् प्रयोगशाला अनुसारको जानकारी)

यी सबै प्रयोगशालाका पुष्टि भएका संक्रमणको संख्या जोड्दा काठमाडौँमा (१‌‌+२१+६+९+११) ४८ हुन्छ भने ललितपुरमा (१‍‌+२+१) ४ र भक्तपुरमा १ हुन्छ।

तर कान्तिपुरको समाचारमा मंगलबार भेटिएका  ‘नयाँ संक्रमितमध्ये ५९ जना काठमाडौंका र भक्तपुर एवं ललितपुरका एक–एक जना छन्’ दावी गरिएको छ। ‘कान्तिपुर’को तथ्याङ्कमा काठमाडौँमा ११ जना संक्रमितको संख्या थप भएको छ भने ललितपुरका तीन जना घटेको छ।

निश्कर्ष : कान्तिपुरमा मंगलबार एकै दिन ६१ जनालाई संक्रमण भएको दावी गरी छापिएको समाचार स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्याङ्क र अरु मिडियाहरुमा आएका समाचार अनुसार गलत छ। कान्तिपुरले उद्‍धृत गरेको स्रोतले गरेको ५९ जना काठमाडौँका र भक्तपुर र ललितपुरका एक एक जना संक्रमित भएको दावी अपुष्ट छ।ती संक्रमित कुन ल्याबमा परीक्षणको क्रममा भेटिएका हुन् भन्ने समाचारमा उल्लेख छैन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme