Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘लकडाउन’ औपचारिक रुपमा मध्यरातदेखि सकियो तर सतर्क हुनुस् है

Posted on July 22, 2020July 22, 2020 by Salokya

कडा लकडाउन भएको बेला एक दिन स्वयम्भू पुग्दा त्यहाँ कुकुर र बाँदरमात्र थिए।

दोस्रो कोरोना संक्रमित भेटिएसँगै गत वर्ष चैत ११ गतेदेखि लगाइएको लकडाउन अहिले मैले यी शब्द ब्लगमा टाइप गरिरहँदा अर्थात् साउन ६ मंगलबार मध्यरातदेखि सकिएको छ। गज्जबकै अनुभव गर्न पाइयो यो लकडाउनमा। अलि दिनको कर्फ्यु र नेपाल बन्द त हामीले सहेका थियौँ। तर यो त बन्द र कर्फ्युभन्दा पनि चर्को। घरबाहिरसमेत निस्कन नमिल्ने। काम परेर बाहिर हिँड्दा सडक पूरै खाली, पसल बन्द। तीन महिनासम्म लकडाउन हटाउने तयारी नभएपछि मान्छेले आफै अवज्ञा गर्न थालेका थिए। ८० औँ दिनमा सरकारले खुकुलो पार्नुअघि नै मान्छेहरु आफैले खुकुलो पारिसकेका थिए। डर पनि हट्दै गयो। अरु देशहरुभन्दा फरक भारत र नेपालमा संक्रमितको संख्या बढ्दो क्रममा रहेकै बेला लकडाउन खुकुलो बनाइयो। 

अब अहिले १२० दिनपछि औपचारिक रुपमा लकडाउन सकिएको छ। तर लकडाउन थियो र भन्ने लाग्छ। किनभने जोरबिजोर प्रणाली बाहेक लगभग सवारी साधन चलेकै थिए। सार्वजनिक सवारी साधन पनि अलि अलि चल्न थालिसकेको अवस्था हो। सरकारले सैलुन नखोल भने पनि खुले, मलहरु नखोल्न भनिएको थियो- खुल्यो।

अहिले लकडाउन औपचारिक रुपमा हटाइयो भने पनि केही बन्देजहरु कायमै छन्। जस्तै  यी कुरा अझै खुल्ने छैनन्-

यो सूचनाका कारण आउँदो तीजमा मन्दिरहरु खुल्ने वा नखुल्ने अझै अन्यौल छ। तर यी मध्ये पनि धेरै खुलिसकेका छन्।

साउन १५ गतेदेखि होटल, रेस्टुरेन्टहरु खुल्ने भनिएको छ। तर रेस्टुरेन्टहरु खुलिसकेका छन्। अस्ति शनिबार रेस्टुरेन्टमै बसियो केही घण्टा। ठुस्स गनाउने स्यानिटाइजर राख्देको थियो। ज्वरो चैँ थर्मल गन तेर्स्याएर नापेका थिए।

ट्रेकिङ, ट्राभल र पर्वतारोहण लगायतको पर्यटन व्यवसाय पनि साउन १५ देखि सुरु हुने भनिएको छ। त्यसका लागि विदेशी पर्यटकहरु पनि आउनु पर्ने होला। अन्तर्राष्ट्रिय सीमा नाका भने साउन ३२ सम्म बन्द नै छ।

भदौ १ गतेदेखि चाहिँ बाहिर जिल्लामा पनि जान पाउने गरी निजी र सार्वजनिक यात्रुवाहक गाडीहरु चल्ने भए। त्यसैगरी आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक र अन्य उडान पनि हुने भएका छन्। विद्यार्थी भर्ना शैक्षिक र अन्य परीक्षा पनि सञ्चालन हुने भएको छ।

अन्तर्राष्ट्रिय सीमा नाका भदौ १ गतेदेखि बल्ल खुल्ला हुने भएको छ। साउन ३२ सम्म अन्तर्राष्ट्रिय नाका बन्द नै हुनेछन्।

अहिले पीसीआर परीक्षणको संख्या र संक्रमणको संख्या दुवै घटेको छ। परीक्षणको संख्या घटेर संक्रमितको संख्या घटेको हो कि के हो प्रष्ट छैन। जोखिम कायमै भएकोले लकडाउन खुले पनि सार्वजनिक ठाउँमा मास्क लगाउने, साबुन पानीले हात धुने, दूरी कायम गर्ने जस्ता सतर्कताका उपाय चाहिँ अपनाइरहनु पर्ने हुन्छ। कतिपय देशमा लकडाउन खुलेपछि संक्रमण बढेर फेरि लकडाउन गर्नुपरेको स्थिति देखिएको थियो। हाम्रोमा यस्तो नहोस्। यसका लागि हामी आफैले सुरक्षाका उपाय अपनाउँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme