Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनलाइन मिडियाहरुको ‘अनुसन्धान’ : मोटरसाइकलमा ढाड देखाउने र चढाउनेको पहिचान सार्वजनिक

Posted on July 21, 2020July 22, 2020 by Salokya

केही दिनदेखि सोसल मिडियामा एउटा फोटो भाइरल भएको थियो। फोटोमा त्यस्तो आपत्तिजनक केही थिएन- जिन्स प्यान्ट लगाएर मोटरसाइकल पछाडि बसेकी युवतीको ढाड अलिकता देखिएको थियो। यत्तिको भरमा गल्लीमा केटी जिस्काए जस्तै गरी फेसबुकमा फोटो राखेर जिस्काइरहेका थिए मानिसहरुले। यही विषयमा शनिबार एउटा छोटो ब्लग लेखेको थिएँ- ढाड हैन डाढ लागेर भाइरल भएको कुण्ठा यो विषयमा यत्तिकै सकिन्थ्यो होला भन्ने लागेको थियो।

के खाएर सकिनु! हाम्रा ‘फेसबुक ब्युरो अफ इन्भेस्टिगेसन’ (एफबिआइ) र युट्युबे डिटेक्टिभहरु ‘फेल’ भइरहेको बेलामा देखा परे अनलाइन मिडियाहरु। मिडियाडबली नामको एउटा अनलाइनले सोमबार मध्याह्न हुँदै ‘अनुसन्धान’ भन्दै समाचार राखेको थियो। 

अनुसन्धान यति गहिरो थियो कि त्यो मोटरसाइकल कुन गाउँपालिकाको मात्र होइन, फोटोमा देखिएका ती युवक र युवतीको नाम, थर र पदसमेत उल्लेख थियो। मानौँ उनीहरु ठूलै अपराधी हुन्। उनीहरुको नाम, थर, काम गर्ने ठाउँको पद सबै सार्वजनिक नगरे जनतालाई ठूलै हानी हुनेछ।

गाउँपालिकाका प्रशासकीय प्रमुखले पनि आफ्ना कर्मचारीहरुले ठूलै अपराध गरे जस्तै गरी आफ्ना कर्मचारीको सबै विवरण मिडियामा छताछुल्ल गरिदिए।

यति ठूलो अनुसन्धान भएपछि अरु अनलाइनहरु किन चुप बस्थे?

धमाधम कपिपेस्ट हुन थाल्यो। कपिपेस्ट पनि यस्तो कि मिडियाडबलीले ‘सिटरोल’ लेख्न नजानेर ‘चितोल’ लेखेको थियो। सिटरोल भरेपछि सरकारी कर्मचारीको लागि दिइने संकेत नम्बर लिन उनीहरु धादिङबाट काठमाडौं आएको त्यो अनलाइनको ‘अनुसन्धान’ले खुलेको रे।

उसले चितोल के लेखेको थियो, सबका सब चोरचार अनलाइनहरुले चितोल लेखेरै समाचारहरु बनाए। त्यतिमात्र हो र, टाइप चिप्लेर ‘ नर्देशिका २०७२ मा सरकारीरी’  लेखिएकोलाई समेत जस्ताको तस्तै कपिपेस्ट गरे।

त्यसरी गल्तीसमेत कपिपेस्ट गर्ने मध्ये एउटा थियो ‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’ गर्ने दावी गर्ने ‘नागरिक टाइम्स’। यसले त हेडलाइनमै कर्मचारीको काम गर्ने ठाउँ राखेर समाचारमा नाम, थर, पद सबै खुलाएको थियो। पछि नाम, थर भने हटाएछ।

‘लोकतन्त्र प्रतिवद्ध’ अर्को एउटा अनलाइनले त कारबाही गराउन दबाब दिने गरी हेडलाइन समेत राख्यो। के होला कारबाही रे। मानौँ कारबाही नभए आकाश खस्नेछ, पाताल भासिनेछ। त्यत्रो चिन्ता भएको अनलाइनले समाचार चाहिँ त्यही मिडिया डबलीकै कपिपेस्ट गरेको रहेछ।

चासो र चिन्ता हुँदाहुँदा एबिसी टेलिभिजनको अनलाइनलाई समेत भएछ।

भाइरल विषयको समाचार अरुले लेखेपछि नम्बर वान अनलाइन ‘अनलाइनखबर’लाई पनि भिजिटरको लोभ लागेछ। त्यही भएर अरु अनलाइनहरुले दिउँसैदेखि भाइरल गरिसकेको ‘अनुसन्धानमूलक’ समाचारलाई ‘यस विषयमा अनलाइनखबरले खोजिनीति गर्दा’ फलानो नम्बरको उक्त मोटरसाइकल फलानो जिल्लाको फलानो ‘गाउँपालिकाको भएको पत्ता लाग्यो’ भनेर लेख्यो।

अर्थात् अरु अनलाइनले दिउँसै गरिसकेको ढाड देखाउने केटी र उसलाई मोटरसाइकलमा चढाउने केटाको  ‘अनुसन्धान’ माथि ‘खोजिनीति’ गरेर राति ८ बजे बल्ल समाचार हालेछ अनलाइनखबरले।

अनलाइनखबरको खोजिनीतिमा अरुले नहालेका नयाँ कुरा पनि छन्- फोटो भाइरल पूर्व सचिव भीम उपाध्यायले अपलोड गरेर भाइरल बनाएको। उपाध्यायले सरकारी सेवामा छँदै एक पटक भूकम्पका बेला चन्द्रमा उल्टो भयो भन्ने खालको स्टायटस सामाजिक सञ्जालमा लेखेका थिए। मैले यो त गलत हो नि भनेर भन्दा हैन, सही हो भनेर सुल्टो चन्द्रमालाई जानी जानी उल्टो बनाएको देखेपछि कस्तो खालको मान्छे होला भन्ने लागेर कहिल्यै उनको कुरा सिरियसली लिएको थिइनँ। तर अहिले उनी निकै भाइरल बनेका छन्। भाइरलहरुको समस्या हुन्छ- कसरी धेरै भाइरल हुने कन्टेन्ट पोस्ट गर्ने भन्ने। त्यही दबाबका कारण उनीहरु भेरिफाइ नगरी जे आयो त्यही हाल्दिन्छन्। यसले कस्तो असर पार्छ उनीहरुलाई पटक्कै मतलब हुँदैन।

अनलाइनखबरको समाचारमा गाउँपालिकाका अध्यक्षले केटीको ‘पछाडि ढाड तलसम्म देखिएको छ’ भन्ने कोटदेखि  निर्मला शर्माको ‘पब्लिक व्यक्ति भइसकेपछि ड्रेसअपमा चाहिँ हामीले ध्यान दिनुपर्छ’ सम्मको कोट छन्। समाचार धेरै बिकेको छ, समाचार लेख्ने र बेच्नेहरु दङ्गै होलान्।

मूलधारको एक नम्बरको अनलाइनले समेत लेखिसकेपछि सोसल मिडियाबाट यो केस अनलाइन मिडियासम्म आइपुगेको छ। अब त राष्ट्रिय दैनिकले मात्रै लेख्न बाँकी छ। जसले जति लेखे पनि मलाई चाहिँ यो ढाड देखेर हैन डाढ लागेर इस्यु भएको जस्तो लाग्छ। पहिले लेखे जस्तै यो फोटो होइन मान्छेको कुण्ठा भाइरल भएको हो।

उनीहरुले सुरुमा त फोटोमा अर्काको शरीर हेरेर मज्जा लिए। ढाड माथिदेखि तलसम्म हेरे। कालो पोशाकलाई आफ्नै कल्पनामा हटाए। कल्पनामै हटाएपछि भएको कपडा पनि देखिएन।  त्यसपछि ईर्ष्या जाग्यो- ‘यसले जस्तो केटी मैले घुमाउन पाइनँ।’ त्यसपछि बल्ल फोटोमा अलि तलतिर आँखा गयो, मुन्तिर नम्बर प्लेट सेतोमा रातो थियो। अर्थात् सरकारी। अब अर्को बहाना पनि पाइयो- सरकारी नम्बर प्लेटमा यसरी केटी घुमाउन पाइन्छ?

यिनै अनलाइनहरुको ‘अनुसन्धान’ हेर्ने हो भने पनि थाहा हुन्छ, उनीहरु अफिसको काममा थिएनन्। निजामती किताबखानामा सिटरोल भर्न गएका थिए। यो पनि हो कि होइन थाहा भएन, स्थानीय तहमा करारमा इन्जिनियरहरु राख्ने प्रचलन धेरै छ। करारका कर्मचारीहरुको सिटरोल भर्न नपर्ने हो।

अहिलेको बहस हेर्दा त सरकारी कर्मचारी भएपछि सार्वजनिक स्थानमा निस्कनलाई यस्तो यस्तो खालको ड्रेस लगाउनै पर्छ भनेर अनिवार्य गरिदिनु पर्ने भयो अब। त्यसैगरी सरकारी नम्बर प्लेटको सवारी साधनमा ककसलाई चढाउन पाइने, ककसलाई नपाइने, सारी लगाएकोलाई चढाउन पाइने कि नपाइने, जिन्स प्यान्ट लगाएकोले पाउने कि नपाउने, प्वाल परेको जिन्सको पाइन्ट लगाएकोलाई नि? अनि मिनी स्कर्ट लगाएकोलाई पाइने कि नपाइने- त्यो पनि नियम बनाएर लागू गरिहाल्नु पर्ने भो।

 

 

6 thoughts on “अनलाइन मिडियाहरुको ‘अनुसन्धान’ : मोटरसाइकलमा ढाड देखाउने र चढाउनेको पहिचान सार्वजनिक”

  1. madan bajracharya says:
    July 26, 2020 at 8:35 am

    केटीले आफ्नो ढाड देखिने लुगा लगायो; यौन अङ नै देखिने लुगा त् लगायको होईन तर आँखानै यौनाङ भयको सन्किर्ण र् आजको युगमा पनि महिलालाई पुरुशको सम्पत्ति मान्ने ढाड देखिने लुगा लगाउनु पनि आपतिजनक लागेर फोटो खिच्ने ब्यक्ति यौन-पागल अर्ध मानव हुन। त्यो फोटो खिच्ने ब्यक्ति पहिला सरकारको उच्च पदमै रही सकेको थियो रे। यस्तै ब्यक्तिले सरकार चलायकोले त् होलानी उहिले महिलालाई मानवको दर्जा नदियको।

    Reply
  2. Bishnu Baral says:
    July 22, 2020 at 6:42 pm

    नेपामा यौन विचलन भएका मानसिक रोगीहरु धेरै भएछन् । एउटी केटीले लगाएको लुगा र देखिएको ढाडको विषयलाई पुर्व सहसचिव देखि गाउपालिका अध्यक्ष अनि के के जाति भन्ने हरुले दिएको भनाई पढेर आठौं आश्चार्य लाग्यो । मलाई लाग्छ जजस्ले ती युवतीले यस्तो लुगा लगाइ छन् येस्ती रेहेछिन् भनेर कमेन्ट गरे तिनीहरुका दिदि बहिनी वा छोरीहरुले त्यस्तै ड्रेस पक्का लगाउने गरेका छन् । किनकी यस्तो पहिरन ती मोटरसाइकलमा चढेकी युवतीको लागि मात्र बनाएको त हुदै होइन रेडिमेड कपडा व्याबसायी कम्पनीहरुले!!

    Reply
  3. likang says:
    July 22, 2020 at 12:45 pm

    नेपामा यौन विचलन भएका मानसिक रोगीहरु धेरै भएछन् । एउटी केटीले लगाएको लुगा र देखिएको ढाडको विषयलाई पुर्व सहसचिव देखि गाउपालिका अध्यक्ष अनि के के जाति भन्ने हरुले दिएको भनाई पढेर आठौं आश्चार्य लाग्यो । मलाई लाग्छ जजस्ले ती युवतीले यस्तो लुगा लगाइ छन् येस्ती रेहेछिन् भनेर कमेन्ट गरे तिनीहरुका दिदि बहिनी वा छोरीहरुले त्यस्तै ड्रेस पक्का लगाउने गरेका छन् । किनकी यस्तो पहिरन ती मोटरसाइकलमा चढेकी युवतीको लागि मात्र बनाएको त हुदै होइन रेडिमेड कपडा व्याबसायी कम्पनीहरुले ।

    Reply
  4. Tika Gurung says:
    July 22, 2020 at 11:32 am

    Haha ramailo, yeso support chahiyeko bhaye gofundme wa paypal share gare hune. Keep it up

    Reply
  5. Daya Kharel says:
    July 21, 2020 at 5:28 pm

    यो मेमोरी किङ्ग को बारेमा पनि लेख्नु पर्यो।

    Reply
  6. Ramesh Neupane says:
    July 21, 2020 at 3:47 pm

    UmeshJee Jagir chhodera basnuvako chha ra yasto Blog Padhna painchha..
    Achel ta kunai news aayo ki tyasko satya tathya bujhna Umeshjeeko Blog herne bani nai parisakyo.
    Afno ghar kharcha kasari chalaunuvako hola kunni. Yasai bata ghar kharchha chalaune ra kamaune din aaos Subhakamana !!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme